'सेतो धरती'को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले अर्को नाटक 'महाभारत' मञ्चन गर्ने भएको छ।
हाल अन्तिम चरणको रिहर्सल भइरहेको नाटक यही जेठ १४ गते (बिहीबार)देखि मञ्चन हुन लागेको हो।
'महाभारत'मार्फत हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल नाटकमा डेब्यु गर्दैछन्। साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटक थप अपेक्षित हुने अनुमान गरिएको छ। सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० भन्दा बढी कलाकार ‘महाभारत’मा अभिनय गर्दैछन्।
भारतीय लेखक कुलदिप कुणालको मूल नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका हुन्।
नाटकको सेट डिजाइनर तुफान थापा, प्रकाश डिजाइनमा दीपेश गजुरेल छन्। संगीत संयोजन तथा गायन अनुप तिमिल्सिनाले गरेका छन्। कोरियोग्राफी अनिष क्षेत्रीको रहेको नाटकका निर्माता रमेश पुरी हुन्।
बिहीबारदेखि हरेक दिन बुधबार बाहेक साँझ ५ः१५ बजे र बिदाको दिन तथा अन्य दिन अतिरिक्त शो दिउँसो १ः१५ बजे कान्तिपुर थिएटर, गैह्रीधारामा नाटक मञ्चन हुनेछ। नाटकको अनलाइन टिकट बुकिङ खुलिसकेको थिएटरले जनाएको छ।
यसअघि कान्तिपुर थिएटरले 'मीरा', 'शिरीषको फूल', 'महारानीको जात्रा' र 'सेतो धरती' जस्ता नाटक मञ्चन गरिसकेको छ। ती नाटकबाट छुट्टै दर्शक वर्ग निर्माण गर्न सफल भएको थिएटरले 'महाभारत'मा पनि उल्लेखनीय दर्शक सहभागिता हुने विश्वास लिएको छ।
यस्तै, 'महाभारत'पछि कान्तिपुर थिएटरले सुविन भट्टराईको चर्चित उपन्यास 'समर लभ'मा आधारित नाटक मञ्चन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।



