नाटक 'सेतो धरती' ले आफ्नो मञ्चन यात्राको ५१ औं दिन पूरा गर्दै १०१ औं शो गर्ने भएको छ।
कान्तिपुर थिएटरका अनुसार दर्शकहरूको निरन्तर माग र उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै नाटकको मञ्चन अवधि श्रावण १६ गतेसम्म थप गरिएको हो।
अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित यस नाटकको पुनःमञ्चनपछि समेत तीन पटक शो थप गरिसकिएको छ।
हाल नाटक नियमित रूपमा हाउसफुल दर्शकका साथ मञ्चन भइरहेको छ।
हरेक दिन दुईवटा तथा बिदाका दिन तीनदेखि चारवटासम्म शो सञ्चालन भइरहेका छन्। बिहान ९ बजेदेखि राति ८ बजेसम्म विभिन्न समयमा शो आयोजना गरिँदा पनि अधिकांश टिकट अग्रिम रूपमा बिक्री भइसकेको थिएटरले जनाएको छ।
कान्तिपुर थिएटरका अनुसार 'सेतो धरती' ले नेपाली रंगमञ्चमा लोभलाग्दो आकर्षण हासिल गरेको छ।
नाटक अवलोकन गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्रीपत्नी सबीना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम, पूर्वमन्त्रीहरू हिसिला यमी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भानुभक्त ढकाल, सांसदहरू गणेश कार्की र अनुष्का श्रेष्ठ लगायत साहित्य, कला, सञ्चार तथा राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरू कान्तिपुर थिएटर पुगिसकेका छन्।
गैह्रीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको 'सेतो धरती'को परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका हुन्।
नाटक श्रावण १६ गतेसम्म बुधबार बाहेक हरेक दिन साँझ ४ः१५ र ७ः१५ बजे तथा बिदाका दिन अतिरिक्त दिउँसो १ः१५ बजे मञ्चन हुनेछ।