नाटक 'केसामी-नाम्सामी' साउन १८ गतेदेखि मञ्चन हुने भएको छ।
एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक साउन १८ देखि भदौं १३ गतेसम्म मञ्चन हुने भएको हो।
अनिल सुब्बाको निर्देशन रहने नाटकको नाट्य रूपान्तरण यासेली योङ्हाङले गरेका हुन्। नाटकको पोस्टरसँगै निर्माण टिमले प्रदर्शन तालिका पनि सार्वजनिक गरेको हो।
निर्माण टोलीका अनुसार 'केसामी-नाम्सामी' पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने सिर्जनात्मक प्रयास हो।
निर्देशक सुब्बाका अनुसार नाटकले परम्परा र वर्तमानबीच अर्थपूर्ण संवाद, मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको सम्बन्ध, मानवीय संवेदना र पहिचानका विविध आयामहरूलाई रंगमञ्चमार्फत पस्कने प्रयास गर्छ।
साउन १८ देखि बुधबारबाहेक नियमित रूपमा बेलुका ५:३० बजे नाटक मञ्चन हुने थिएटरले जनाएको छ।
शनिबार १:३० बजे अतिरिक्त मञ्चन समेत तय छ।