साहित्यकार अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक 'सेतो धरती' अब पोखरामा मञ्चन हुने भएको छ।
काठमाडौंमा १०१ शो पूरा गरिसकेको नाटकले विराटनगरमा पनि हाउसफुल मञ्चनसहित सफलता पाएको थियो।
नाटक भदौ २६, २७, २८ र २९ गते पोखरा थिएटर, गैह्रापाटनमा मञ्चन हुने भएको हो। भदौ २६ गते साँझ ५ बजे पहिलो शो हुनेछ भने २७ देखि २९ गतेसम्म बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी दैनिक तीन शो मञ्चन गरिनेछ।
कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीका अनुसार काठमाडौंमा मञ्चन भइरहँदा पोखरेली दर्शकबाट नाटक पोखरा ल्याउन आग्रह गर्दै ठूलो संख्यामा फोन तथा सन्देश आएपछि पोखरामा प्रदर्शन गर्न लागिएको हो। रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ पनि पुर्याउने उद्देश्य रहेको उनले बताए।
पोखरा मञ्चनका क्रममा लेखक अमर न्यौपाने र सञ्चारकर्मी टिकाराम यात्रीको समेत उपस्थिति रहनेछ। हरेक शोमा दर्शकसँग अन्तरक्रिया, साहित्य मन्थन तथा पुस्तक हस्ताक्षर कार्यक्रमसमेत गरिने जनाइएको छ।
विराटनगरको आरोहण गुरूकुलमा भदौ १२, १३ र १४ गते मञ्चन गरिएको नाटकका सबै शो हाउसफुल भएका थिए। विराटनगर मञ्चनबाट प्राप्त रकममध्ये रसुवा–भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नाटक समूहले १ लाख १ हजार रूपैयाँ सहयोगसमेत गरेको जनाएको छ।
सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा एड्रिन धमलासहित गीता विष्ट, सुहाना आचार्य, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, विरान दाहाल, प्रतीक चौधरीलगायत कलाकारहरूको अभिनय छ।
१ घण्टा ४० मिनेट लामो नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ।
टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिनेछ।