‘स्वर्गको ढोका खोल्न सन्तान चाहिन्छ। बाबाआमालाई बुढेसकालमा दबाई मुलो गर्न पैसा नै चाहिन्छ, सन्तानले मात्र पुग्दैन। बुढेसकालमा बुढाको सहारा बुढी, बुढीको सहारा बुढा हो। सन्तान बाटो लाग्छन्, चर्न जान्छन्। महँगाई छ, बाआमा रुँगेर कसले खान दिने तिनलाई? केटाकेटी हुर्काउन महँगो छ। यस कारण जहाँ पाइन्छ, त्यही जान्छन्। के भन्ने रोकाउन मिल्दैन। उनीहरूको जिन्दगीको सवाल छ। यस्तै छ संसारको रित।’
एकजना वृद्ध बुबाको भनाइ हो यो। भनाइमा कटु सत्यता छ। यथार्थ छ र पनि हामी समाज घर-परिवारलाई पाच्य छैन। तर सत्य त्यही नै हो उहाँले प्रस्ट पार्नु भएको छ।
बुढेसकालको सहारा लट्ठी भन्नेहरू पनि थिए। आजकल लट्ठीको चलन हरायो, सबै सुविधा छ। घरबाट निस्कनै पर्दैन, सबै कुरा पैसा तिरेपछि घरै आउँछ।
किन्न नपाइने बाबुआमा मात्र हो भन्न त कसैलाई बा-आमा भनेर बोलाउँदा नि हुन्छ तर बाबु आमाको साँचो माया कहीँ किन्न पाइन्न। यो भनाइ सबैतिर आउँछ। हुन त बा-आमाको टुपी बिकाएर बाइक किन्ने छोराले पनि बाइकको पछाडि ‘आई लभ माई मम ड्याड’ लेख्छ। लेख्न त पाइयो, देखाउने छुट छ, कसैले मुद्दा गर्दैन। तर साँच्चै हो त माया गर्ने कि देखावा हो।
अस्ति एयरपोर्ट जाँदै थिएँ, ट्याक्सी ड्राइभर भाइले भने, ‘भगवानकहाँ जानै पर्दैन, घरमा बा-आमा छन्। साँच्चै भगवान् त तिनीहरू हुन्। मेरी असी वर्षकी आमा हुनुहुन्छ। अहिले पनि खाना पकाउनुहुन्छ। म उहाँले पकाएको खाँदै छु।’
तर्पन पिण्ड दिने छोरा, पाल्ने छोरा, वृद्धाश्रम पठाउने छोरा, बिदेसिने छोरा, सँगै रहने छोरा, सबै आखिर नौ महिना गर्भमा राखेर आमाले जन्माएकै हुन् र पनि व्यवहार फरक छ। कारण समय, काल, जमाना अनुकूल फेरिएको छ। सन्तानको चाहना, भावना र बिचारले मात्र काम गर्दैन। सबै कुरा पैसामा अड्किएको छ, धेरथोर नियतमा खोट होला।
आखिर सन्तान, श्रीमती र सम्पत्ति कसले गर्छ बुढेसकालमा देखभाल?
प्रश्न जटिल छ। आखिरमा गर्ने त सन्तानले हो तर सन्तानसँग त्यो गर्न मन हुन पर्यो अनि धन हुनुपर्यो। मन हुनेको धन हुन्न, धन हुनेको मन हुन्न। कतै न कतै खोट छ- धन र मन दुवै हुने कमै छन्।
एकजना आफन्तको भनाइमा मरेपछि जे त होला, कोही नभए लास गनाउँछ भनेर नगरपालिकाको ट्याक्टरले फाल्न लैजाला। मरेपछि फाल्न, जलाउन, पोल्न, क्रिया गर्न मात्र छोरा किन चाहियो र?
सन्तान क्रियाकाज गर्न, श्राद्ध गर्न, पिण्ड दिन मात्र होइन, जिउँदै रहँदा स्याहारसुसार गर्न, माया प्रेम गर्न, मिठो चोखो खान दिन चाहिने हो। मर्ने त आखिर एक दिन हो तर बाँचुन्जेलसम्म चाहिने अन्य कुरा सन्तानबाट हरेक बाबुआमाको आशा र भरोसा हुन्छ।
पहिलाको समयमा उमेर हद थिएन। आठ वर्ष र बिस वर्ष बिच पनि विवाह हुन्थ्यो। प्रायः श्रीमान् बुढो र श्रीमती तरुनी हुन्थे। स्याहार गर्न मिल्थ्यो। उमेरको कारणले अहिले सँगै हाराहारी उमेरकाले बिहे गर्छन्। कसले कसको स्याहार गर्ने? छोरा मान्छे बाहिर घुमफिर गर्ने जोखिम लिने हुन्छन्। उता छोरी मान्छे घरकाज, परिवार भान्सा तिर भुल्छन्। यस कारण श्रीमानको स्याहार श्रीमतीबाट भन्ने कुरा पनि झुटो जस्तो लाग्छ, यदाकदा भेटिन्छन्।
फेरि सम्पत्तिले सहारा दिन्छ भनौँ भने दराजभरि पैसा छ किन्न जान सकिन्न। पैसाले काम गर्यो त? गरेन, पैसाको हात खुट्टा छैनन्। किन्न जान मान्छे चाहियो। यस कारण धन नै भए पनि सन्तान त चाहियो नै।
श्रीमान्-श्रीमती एक आपसमा मिलेर सहयोग र हेरचाह गर्न सकिन्छ तर उपचार गर्न पैसा र सन्तान दुवै चाहियो। विदेशमा जस्तो सुविधा यहाँ छैन। कर तिरे पनि बुढेसकालमा पाउने दुख उत्तिकै छ। सरकारले सहयोग गर्दैन।
‘जसका छोरा उसका धन’ भन्ने कहावत त छ नै। यद्यपि छोरा मात्र होइन, अब छोरी पनि रहेनन् किनकि बाह्र पास हुनासाथ विदेश जानुपर्ने बाध्यता छ। यस कारण सन्तानको स्याहार, माया र हेरचाह पाउन बाबुआमालाई कठिन छ। सन्तानको माया पाउनु दुर्लभ भइसक्यो।
बाआमालाई फिक्स्डमा आठ/दश लाख रुपैयाँ राखिदिएको छ। ब्याजले पाल्छ। दबाईमुलो खान पैसा पुग्छ। ठुलै रोग लागे खर्च गर्न पर्ला भन्ने सन्तान पनि धेरै नै छन्। तर म मुलुकमै बस्छु, बाआमाको सेवा गर्छु भन्ने सन्तान अब भेटिन्नन्। जबकि ‘गर्नी बेलामा हाम्लाई कुरेर नबस्, जा तँ पनि पछि दुख पाउलास्। हामी त जसोतसो निर्वाह गरौँला’ भन्ने आमाबुबा धेरै छन्।
सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ। त्यही पनि प्रेसर, सुगर, बाथ र दमको दबाई किन्न पुग्दैन। परिवार महँगो उपचार गर्न समर्थ छैनन्, बुढेसकालमा कठिन नै छ भन्छन् बूढाबूढीहरू।
कतै धनको आसले सन्तानले सेवा गरेको पनि भेटिन्छ, कतै बूढाबूढीहरू काम गर्ने मान्छेले सहारा दिने, सहयोगी र आफन्तलाई सम्पत्ति लेखेर दिने पनि गर्छन् तर यो अभ्यास कमै छ।
आखिर किन सन्तानको मायाबाट वृद्धवृद्धाहरू विमुख रहे त? सन्तानको नियत, सन्तानको बाध्यता, नियम कानुनको अभाव, धन-सम्पत्तिको अभाव, आधुनिकताको प्रभाव, एकल परिवारको संस्कार, नैतिक शिक्षाको कमी, समाजको विकृति आदि हुन्।
यी सबैको उपचारमा सन्तान, सम्पत्ति र श्रीमतीबाट हुन्छ त?
श्रीमती श्रीमानभन्दा छिटो बित्ने हुन पनि सक्छ। अर्कोतर्फ श्रीमती रोगी पनि हुन सक्छन्। सन्तान बिदेसिने बढेको छ, मुलुकमै भए पनि हेर्न नभ्याउने, झिजो मान्ने, समय अभाव, कर्तव्यच्युत, कमाइले नभ्याउने, उपचार महँगो आदि पनि छन्।
सम्पत्तिको सहारा हुन्छ नै तर आखिर त्यो सम्पत्तिले मात्र सहारा दिने मानिसलाई तिर्न पुग्छ, तलब दिन पुग्छ। त्यहाँ भावना हुँदैन, केवल पेसा, जागिर, काम हुन्छ जुन तलब लिए बापत गरिन्छ। त्यो सहयोग, संरक्षण, सेवा र स्याहार दिगो हुँदैन।
यस कारण एक मात्र उपाय ऐन, नियम, कानुन तथा कार्यविधि जसमा ज्येष्ठ नागरिक उमेरका बाआमालाई सन्तानले आवश्यक हेरचाह, देखभाल, स्याहारसुसार नगरेको अवस्थामा बुबाआमाबाट सन्तानलाई स्थानीय निकायमा उजुरी दिएमा दण्डसजाय तथा कैद हुने कानुनी प्रावधान अनिवार्य चाहिन्छ। ‘लातका भूत बातले मान्दैनन्’ भन्ने अवस्था भएकोले कानुनले प्रस्ट संरक्षण गर्नुपर्छ जहाँ नैतिकता, धर्म, संस्कार बिलाउँदै गएको छ।