बाहिर अहिले सिमसिम पानी परिरहेको छ। झ्यालबाट नमोबुद्धको सुवास बोकेको चिसो हावा आइरहेको छ। त्यो हावा म बसेको कोठा हुँदै अमरनिवास अखण्ड सङ्कीर्तनतिर बहिरहेजस्तो लाग्छ। म भने काखमा एउटा कापी र कलम लिएर पुराना दिनहरू घोत्लिइरहेछु।
कहिलेकाहीँ यस्तै मौसमले मान्छेलाई अनायासै धेरै पछाडि फर्काइदिन्छ। मनमा थुप्रिएका सम्झनाहरू एकाएक ब्युँझिन्छन्। आज पनि त्यस्तै भयो। मकै छर्ने कुरा सम्झिँदा सम्झिँदै मन पुरानो गाउँतिर, पुराना मान्छेतिर र बितिसकेको समयतिर पुग्यो।
यो पटक मकै समयमै छरिसक्यौँ। बारीभरि बग्रेल्ती मकै उम्रिन थालिसकेछन्। पानीले पनि साथ दिएको छ। हरियो बोटहरूले बिस्तारै बारी ढाक्न थालेपछि मनमा अनौठो सन्तोष जाग्दो रहेछ। तर त्यो सन्तोषसँगै कता-कता एउटा खालीपन पनि सँगै आउँदो रहेछ।
धेरै सालपछि यो पटक मैले पनि आफ्नै हातले मकै छर्न पाएँ। पहिला जस्तो प्वाले, बहादुरे, तारे र माले हाल गोरुको पछिपछि लागेर मकै छर्दा जुन रमाइलो हुन्थ्यो नि, त्यो भटभटे ट्र्याक्टर पछाडि दौडिँदा कहाँ आउँदो रहेछ र?
पहिला मकैको बिउ खसाल्दै जाँदा हातमा माटोको रङ लाग्थ्यो अनि थाहै नपाई जीवन पनि रङिन हुन्थ्यो। पसिनाको गन्ध, माटोको स्पर्श, मान्छेहरूको हाँसो, यी सबैले मनभित्र कता-कता उज्यालो भरिदिन्थे। काम दुःखकै हुन्थ्यो, तर त्यो दुःखमा पनि आफ्नोपन मिसिएको हुन्थ्यो।
अहिले भने समय यस्तो आएछ, जीवनका रङहरू मनसम्म पुग्नै छाडेका छन्। रङ अब भावनामा होइन, खाली हातमा मात्रै टाँसिन्छन्, त्यो पनि कुनै केमिकलमार्फत। पहिला माटोले हात रङाउँथ्यो र मन उज्यालो बनाउँथ्यो, अहिले रसायनले हात त रङिन्छन् तर जीवन भने दिनदिनै फिक्का हुँदै गएको जस्तो लाग्छ।
बारी उस्तै छन्, माटो उस्तै छ, आकाश उस्तै छ। फेरिएको त मान्छेको चालचलन हो। बाँच्ने तरिका फेरिएको छ। खुसी महसुस गर्ने शैली फेरिएको छ।
मेलो सकिने बेलामा बहादुरलाई डेक्चीमा पिठो र नुन दिएझैँ अहिलेको भटभटेलाई हवलदारले पेट्रोल खुवाए पुग्ने रहेछ। न ‘हा हा तारे’, न ‘हा हा माले’, न ‘हो रा, आइजो, घुम’ भन्ने आवाज। खाली एकोहोरै भटभटभटभट… त्यही आवाज मात्रै।
जबरजस्ती तानेको, घिसारेको जस्तो लाग्यो मलाई यो भटभटे पछाडि दौडिँदा। पहिला बारीमा काम गर्न जाँदा जाँगर हुन्थ्यो, रस हुन्थ्यो, मेलो हुन्थ्यो। अहिले भने काम सकाउन मात्रै गएको जस्तो लाग्छ। अचेलको मेलो कस्तो वाक्कलाग्दो हुँदो रहेछ।
पहिलो पटक मैले मकै छरेको २०५६ सालमा। त्यो पनि पछाडि भिर्ने झोला किनिदिने सर्तमा। धोक्रो सिलाएर बनाएको झोला बोकेर हैरान भइसकेको थिएँ म। मलाई पनि फस्नर भएको ‘घ्वाइँ घ्वाइँ’ गर्दै खोल्ने र बन्द गर्ने झोला बोक्ने रहर कम थिएन। त्यो बेला सानो रहर पूरा हुँदा पनि आफूलाई संसार जितेजस्तो लाग्थ्यो।
अहिलेका बच्चाहरूलाई हेर्छु, रहरका टुसा पलाउन नपाउँदै सामान हातमा पुगिसकेको हुन्छ। हामीले त रहरलाई धेरै दिन मनभित्र लुकाएर राख्नुपर्थ्यो। सायद त्यसैले होला, साना कुराको खुसी पनि यति ठुलो हुन्थ्यो।
फेरि मकैकै कुरा गरौँ। झोला बोकेर हल गोरुको पछिपछि दौडिँदा आउने त्यो मजा अब सम्झनाको थैलोमा मात्रै ताजा छ। त्यो माटोको सुवास… हवलदारले उडाएको देउराली चुरोटको धुवाँ… सबै पुराना सम्झना आँखा अगाडि झलझली आइदिन्छन्। ती आवाजहरू अहिले पनि कानमै गुन्जिरहेजस्ता लाग्छन्।
गोरुले मेलो बिराउँदा वा यताउति लाग्दा लट्ठी चार्ज हुन्थ्यो। म भने आफ्नो मन ‘कुटुक्क’ खाएको महसुस गर्थेँ। त्यो हरेक पलमा दुःख पनि थियो, थकान पनि थियो, तर आफ्नोपन चाहिँ भरिभराउ थियो।
अहिले त न डल्ला फुटाउनुपर्छ, न बारीका छेउकुना खन्ने झन्झट नै हुन्छ। काम धेरै सजिलो भएको छ, छिट्टै सकिन्छ, समय पनि बचत हुन्छ। बाहिरबाट हेर्दा त जीवन पहिलेभन्दा धेरै सहज, हल्का र ‘सुविधाजनक’ जस्तो लाग्छ।
तर खोइ किन हो, यही सजिलोपनसँगै मनभित्र कता-कता एउटा खालीपन बस्न थालेजस्तो लाग्छ। पहिले सानो काम गर्दा पनि पसिनासँगै हाँसो मिसिन्थ्यो, थकानसँगै एउटा आफ्नोपन हुन्थ्यो र काम सकिँदा मनभरि सन्तोष फैलिन्थ्यो।
अहिले भने काम छिट्टै सकिन्छ, शरीर उति बेला जस्तो थाक्दैन तर मन कता-कता अधुरो जस्तो लाग्छ। केही छुटेझैँ, केही हराएझैँ जुन कुरा शब्दमा भन्न नसकिने तर मन भित्र कतै खल्लो भएर बसिरहने। सजिलो त बढेको छ तर जीवनसँगै जोडिएको त्यो न्यानोपन, त्यो माटोको सुगन्ध र मनभरि फैलिने खुसी भने बिस्तारै टाढा हुँदै गएको जस्तो लाग्छ।
अहिले ती सबै कुरा तस्बिर र स्मृतिमा मात्रै सीमित भएका छन्। तर कहिलेकाहीँ यस्तो सिमसिम पानी पर्दा, चिसो हावा चल्दा, मन भने फेरि त्यही बारीमै पुगिहाल्छ जहाँ हल गोरु अगाडि हुन्थे, हामी पछाडि र जीवन यति छिटो थिएन। अनि यस्तै बेला मनभित्र कतै टाढाबाट एउटा हिन्दी गीत बिस्तारै बज्न थाल्छ:
‘आहिस्ता चल ऐ जिन्दगी,
अभी कुछ कर्ज चुकाना बाकी है,
कुछ दर्द मिटाना बाकी है…’
साँच्चै, जिन्दगी धेरै अगाडि दौडिसकेछ तर मन भने अझै पनि त्यही पुरानो बारीको कान्लामा बसेर माटोको सुवास सास फेरिरहेछ।