जीवनमा गोडा २५ वर्ष जति सामाजिक संघ-संस्थामा दरबानी गरियो, जीवन चलाइयो। धेरथोर काम गरियो होला। देखाउने/भन्ने संख्यात्मक तथ्य, अंक, परिणाम भने ठ्याक्कै भन्न सक्दिनँ। भगवान् छन् भन्छन्, हिसाब राखेका होलान् सायद।
यही जागिर खाने काम गर्ने मेसोमा अनेकन् हाकिम, मालिक र साहु भेटियो, देखियो, भोगियो, सिकियो, सिकाइयो, अर्थ्यायो होला। हुन त साहुभन्दा कति जनालाई अप्रिय लाग्ने रहेछ तर आखिर साहु त साहु नै हो। खैर उनीहरूको फेहरिस्त जे जस्तो भए पनि मनकारी, दयालु, विवेकी मानिस पनि भेटिए जो जीवनभर यादगार छन्। भगवानको ती मालिकहरूको पनि जय गर्लान् अवश्य।
सबैजना सधैँ सबैको लागि गर्ने हुन सक्दैन; खास-खास समयमा, खास-खास व्यक्ति विशेष परिस्थितिमा, खास-खास सहयोग गरेका हुन्छन् पनि। यसैले भाग्य भन्ने चिज पनि छ कि जस्तो लाग्छ ।कतै कामै नगरी, यत्न बिना त भाग्य कहाँ जन्मेला र? तर काम, यत्न, प्रयत्न र प्रयास गरिरहेको अवस्थामा कहीँ कतै भाग्य भन्ने कुराले साथ पनि दिन्छ कतिपय मान्छेले यसबाट लाभ पाएका छन्।
धेरैजसो विदेशी मालिक बेहोरेँ। एक हिसाबले अजीव पनि थिए, अर्को हिसाबले दयावान् पनि। कसैले ज्याकेट ल्याइदिन्थे, कसैले अतिरिक्त काम मिलाइदिन्थे जहाँबाट पैसाको जोहो हुन्थ्यो। कतै बच्चा जन्माउन नर्सिङ अस्पतालको खर्च बेहोर्दछु, त्यही जन्माऊ भन्दथे। परिवारलाई पनि जागिर लगाइदिन्छु भन्दथे। कतै कहीँ कुनै समयमा ती मालिकका उपल्लो दर्जाका गोठालोहरूले दुःख पनि दिन्थे। जीवनमा अनेकन् भोगाइ हुन्छन्।
गोराहरूको संगत राम्रै गरियो तर गोराहरू पनि नेपाल बसेर हो या नेपालीको संगतले हो नेपाली जस्तै पनि लाग्दथे। तर मलाई व्यक्तिगत रूपमा राम्रै गरे। त्यो गुन बिर्सन त सकिन्न तर त्यही गुनमा भुलेर अन्य अवसर, मौका, भविष्य, जीवन पनि अँध्यारोतिर मोडियो। क्षणिक लाभमा हिँडियो, भाग्य बिगारियो पनि। यसमा आफ्नै अर्कमन्य भन्नुपर्छ किन्तु परन्तु भन्दै कसैमाथि दोष थोपार्न पाइन्न।
अति भए खती हुन्छ भन्दछन्, अति इमानदारिता पनि रोग नै हो, यसले घाट पुर्याउँछ। इमानदारिता भन्ने कुरा हराउँदै गएको र इमानदारितालाई कायरता मान्ने समाजमा त्यो कोट नै भारी पर्यो।
कसैले नचाहेको, कसैलाई नचाहिएको, बिना मागको आदर्श बोक्दा भारी पर्यो। न त कसैले आदर्शवान् नै भन्दछ न त त्यो आदर्शले पहिचान बनायो। केवल कमजोर, लाछी, लुते, काम नलाग्ने, निरीह निकम्मा मात्र बनायो। केबल यसरी लेख्न सुनाउन मात्र काम लागेको छ, अन्य कुरा शून्य छ।
एकजना साथीले भन्दै थिए- धेरै वर्ष गोराको संगत गरियो तर कसै-कसैलाई दुई/चार दिनकै भेटमा चमत्कार गरिदिएका छन्। कसैलाई त्यो लाभ कदापि मिलेन। हुन त अरूको आशा र भरोसामा कहिल्यै बाँच्न नपरोस् पनि। कतै-कतै जागिर गर्दा तलब झट्ट दोब्बर जस्तो भएको पनि अनुभव छ। फेरि काम गरेरै मालिकको राम्रो होइन्छ, बनिन्छ भन्ने भ्रम पनि नपालौँ। मालिक र नोकरको सिलसिलामा अनौपचारिक संगठन पनि अहम् भूमिका राख्छ। मितलाई मैले एक पाथी धान सित्तै दिएँ, मितले मलाई हलो सित्तै दिए भन्ने फर्मुला यहाँ लागु हुँदैन।
मनकारी मालिकले धेरै कारिन्दालाई जीवनमा कायापलट पनि गराएका उदाहरण छन् तर म त्यो कित्तामा परिनँ। त्यो आत्मसम्मान, अहम्, घमन्ड, अहंकार स्वाभिमानले पनि कहीँ कतै धोखा दिएकै हो। लामो समय बेहोरेका हाकिम मालिकको गुन, माया, सद्भाव, प्रेम यादगार छ तर कहीँ कतै कुनै बेला उनले केही कुरामा गुन भुलेका हुन् कि जस्तो लाग्छ पनि; आखिर उनी पनि मानिस नै हुन् कतै भुलचुक पनि हुन सक्छ।
अन्त्यमा, मैले भोगेका, बेहोरेका, सँगै काम गरेका मालिकहरूमा साधुवाद छ। साथै मनकारी मनलाई बढाउन, फैलाउन, जोगाइराख्न अनुनय विनय मात्र गर्न सक्छु, मर्जी उहाँको। तर निश्चित रूपमा मनकारी भावना व्यवहार अपवाद बाहेक खेर जाँदैन, पोखिन्न।