तपाईंले मान्छेका कोठामा पुस्तकका चाङ देख्नुभएको होला, महँगा कपडा वा सङ्गीतका साधन देख्नुभएको होला। तर काठमाडौँको एउटा साँघुरो डेराभित्र सिङ्गो हिमालका अस्थिपञ्जरहरू, करोडौँ वर्ष पुराना पहाडका अवशेषहरू र नदीका प्राचीन इतिहासहरू कङ्क्रिटको भित्तासँगै सुतिरहेका छन् भन्दा सायद धेरैलाई पत्यार नलाग्न सक्छ।
म मान्छे भूगर्भशास्त्रको। त्यसैले मेरो कोठा कुनै आलिसान बेडरुम थिएन, एउटा जीवन्त 'जियोलोजिकल म्युजियम' थियो। तर यो म्युजियम मेरो घरबेटी बाका लागि भने एउटा कसिङ्गरको थुप्रो र टाउको दुखाइको विषय मात्र थियो।
जुन दिनदेखि मैले त्रि-चन्द्र कलेजमा ब्याचलर्सको पढाइ सुरु गरेँ, त्यही दिनदेखि मेरो कोठाभित्र भूगोल र पुस्ताको एउटा रोचक 'ठुस्काठुस्की' पनि सुरु भएको थियो।
मेरो ढुङ्गाप्रतिको यो लगाव आजको होइन। स्मृतिहरू केलाउँदा म जहिले पनि माटोकै वरिपरि हिलो लतपतिएको अवस्थामा भेटिन्छु। सानैदेखि मलाई बालुवा र माटो असाध्यै मन पर्ने। माटोकै आगो नबल्ने चुल्हो, माटोकै थाल-चम्चा, र माटोकै अमूल्य रत्नहरू। हाम्रो त्यो बालसंसारमा हामी दुई जना भएपछि संसारका अरू कुनै वैभव चाहिँदैनथ्यो।
नाताले उनी मेरी फुपू पर्ने तर म सधैँ बहिनी भन्थेँ, मेरी प्रिय बहिनी सुस्मिता आचार्यलाई। वडहरेको डाँडाकाँडामा त्यही बहिनीसँग धूलो माटो खेल्दै, ‘सातढुङ्गे’ र ‘गम्फु’ का चाङहरू लगाउँदा लगाउँदै कति बेला माटो र चट्टानप्रतिको आकर्षण मेरो नसा-नसामा भूगोल बनेर बग्न थाल्यो, म आफैँले पत्तो पाइनँ। बाल्यकालको त्यही 'सात्ढुङ्गे' जगले मलाई कलेजको 'जियोलोजी' सम्म डोर्यायो।
६० वर्ष नाघेका एकल वृद्ध घरबेटी बा, जो महिना दिन पुगेपछि कोठाको भाडा लिन ढोका ढकढक्याउन आउँथे, उनका लागि ती ढुङ्गाहरू मेरो 'करियर' नभएर शत्रु थिए। बा कोठाभित्र छिर्दा कहिले डोलोमाइटसँग ठोक्किएर खुट्टा खोच्याउँथे त कहिले स्यान्डस्टोनको धूलो सरेर उनको दौराको फेरो नै सेतो हुन्थ्यो। अरू बेला शान्त रहने बा कोठाको यो हालत देखेपछि रिसले आगो हुन्थे र मलाई र्याखर्याख्ती पार्थे।
एक दिन त पराकाष्ठा नै नाघ्यो। बा कोठामा छिर्दा अलिकति के भएको थियो, लुकाएर राखिएको कडा र तिखो क्वार्जाइट को कुनाले उनको गोडामा दह्रो चोट लाग्यो। बुढेसकालको शरीर, गोडाबाट रगतको टाटा देखिन थालेपछि बाको पारो सातौँ आसमानमा पुग्यो। अनि सुरु भयो हाम्रो डेराभित्रको महाभारत!
‘के खप्पर राखेको यो कोठाभरि? मान्छे बस्ने ठाउँ हो कि मसानघाट?’ बाले आक्रोशको ज्वालामुखी विस्फोट गरे।
म हडबडाउँदै उठेँ, तर आफ्नो विषयको बचाउ गर्दै बिस्तारै भनेँ, ‘खप्पर होइन बा, यो त क्वार्जाइट हो। यसको हार्डनेस अलि बढी हुन्छ के!’
‘जुनसुकै टाइट होस्! यो के धुलैधुलै बनाएर राखेको कोठा? फोहोरी!’ बाले भुइँको धूलो देखाउँदै कड्किए।
मैले मुस्कुराउँदै बाको आँखाको भ्रम चिर्न खोजेँ, ‘बा, तपाईंको आँखाले पनि धोका खायो। यो जाबो धूलो होइन, सुनजस्तै टल्किएको पाइराइट र मस्कोभाइट को चमक पो हो त!’
बाको रिस झन् चुलियो, ‘अझै बढी बोल्छस्? पढेको घमन्ड देखाउँछस्? अहिल्यै यो घर सफा गर्!’
मैले भावुक हुँदै ढुङ्गाहरूलाई सुमसुम्याएँ, ‘बा, यिनीहरू मेरा ढुङ्गा मात्र होइनन्, मेरो जीवनका पाना हुन्, मेरो जीवनी हुन्। कसरी बढारेर फालौँ म मेरो जिन्दगीलाई?’
बाले कान थुन्दै भने, ‘मलाई तेरो गफ सुन्नु छैन। पानी लगाएर हुन्छ कि कुचो लगाएर हुन्छ, यो कोठा तत्काल सफा हुनुपर्छ, बस।’
मैले भूगर्भशास्त्रको ब्रह्माण्ड पल्टाउँदै अन्तिम अस्त्र फ्याँकेँ, ‘बा, मैले यहाँ पानी लगाएर सफा गरे पनि यहाँ त 'इरोजन्' मात्र हुने हो, यसको 'डिपोजिसन्' त फेरि तपाईंको घरको पछाडिको आँगनमै गएर थुप्रिने त हो नि!’
मेरो यो 'जियोलोजिकल' जवाफ सुनेर बा अक्कबक्क भए। गालाका चाउरीहरू अझ खुम्च्याउँदै रिसकै झोँकमा भने, ‘यो गाईखाने अनौठो भाषा नबोल् है मलाई! घर सफा राख्, नत्र सुख पाउने छैनस्।’ यति भन्दै बा कटकटिँदै कोठाबाट बाहिरिए।
बा गइसकेपछि म खाटको कुनामा थुचुक्क बसेँ। बाको गोडाको घाउ र मेरो कोठाको वैभवलाई दाँज्न थालेँ। मनमनै सोचेँ, कास! यो शिवालिकदेखि 'एसटीडीएस' सम्मका चट्टानहरूमा ढुङ्गाका ठाउँमा हिरा भइदिएको भए, मेरो यो कोठा बालाई कति प्रिय लाग्थ्यो होला! उनले कति जतनले सुमसुम्याउँथे होलान् ती हीराका टुक्राहरूलाई। कास! त्यो 'एमबीटी' (मेन बाउन्ड्री थ्रस्ट) को गहिराइमा मैले सङ्कलन गरेका ढुङ्गाहरूमा रुबी वा निलम भइदिएको भए, मेरो यो कोठा बाका लागि संसारकै स्वर्ग बन्थ्यो होला र उनी हरेक महिना भाडा माग्न होइन, मेरो कोठाको ढोका ढोग्न आउँथे होलान्।
यहीँनिर म एउटा विरोधाभास सम्झिन्छु। जुन बा कोठामा क्वार्जाइट र डोलोमाइट देख्दा मलाई मसानघाटको संज्ञा दिन्थे, तिनै बाले एक दिन मेरो कोठाको कुनामा सजाइएको कालीगण्डकीको 'शालिग्राम' मलाई नै नसोधी सुटुक्क आफ्नो पूजाकोठामा लिएर गएछन्। पछि मैले थाहा पाएर सोध्दा उनले गर्विलो हुँदै भनेका थिए, ‘लौ, यो भगवान् जस्तो पवित्र चिज कोठाको कसिङ्गरमा राख्ने हो त? मैले त राम्रो काम गरेँ नि!
म मनमनै हाँसेँ। बालाई 'जियोलोजी' को के अर्थ र महत्त्व बुझाउनु! जसलाई वैज्ञानिक आँखाले नहेरी धर्मको चस्माले मात्र हेरिन्छ। यो विडम्बना केवल मेरा घरबेटी बा र मबिचको मात्र होइन, सिंगो नेपाली समाज र राज्यकै नियति हो। हाम्रो समाज र नीति निर्माताहरू पनि घरबेटी बा जस्तै छन्, भुइँमा छरिएका रैथाने चट्टान र खनिजलाई 'कसिङ्गर' देख्छन्, तर त्यही चिज विदेशीले प्याक गरेर पठाउँदा भगवान् वा अमूल्य रत्न मानेर ढोग्छन्।
नेपालमा केवल शालिग्राम मात्र छैनन्। यहाँ मलेखुको चुनढुङ्गा छ जसले देशलाई सिमेन्टमा आत्मनिर्भर बनाउन सक्छ; यहाँ यस्ता थुप्रै चट्टान, तामा, फलाम र खनिजका खानीहरू छन्, जसको सही उत्खनन र पहिचान गर्ने हो भने यो देशको रङ्गरूप र मुहार नै फेरिन सक्छ। तर दुःखको कुरा, हामीले आफ्नो जगको ढुङ्गा चिन्न सकेका छैनौँ।
घरबेटी बासँगको आजको त्यो सानोतिनो 'ढुङ्गे महाभारत' त साम्य भयो होला, बा आफ्नो बाटो लागे होलान्। तर यो देशसँग, देशको परम्परागत सोचसँग र खनिजलाई केवल कसिङ्गर देख्ने राज्यको दृष्टिसँग मेरो भूगर्भीय महाभारत अझै जारी छ। यो देशलाई जियोलोजी बुझाउनु छ, यसको अथाह आर्थिक महत्त्व बुझाउनु छ र यही जगमा उभिएर समृद्ध देश निर्माणको यात्रामा अगाडि बढ्नु छ। चेत नभएकाहरूका लागि ढुङ्गा केवल ठक्कर खाने माध्यम होला, तर एउटा भूगर्भशास्त्रीका लागि यो देश बनाउने बलियो इँटा हो। आफ्नो भूगोलको महत्त्व यो समाजलाई नबुझाएसम्म, देशसँगको यो वैचारिक महाभारतमा म लडिरहनेछु, अन्तिम दिनसम्म।