नयाँ शैक्षिक सत्रको सुरूआतसँगै मुलुकभरका विद्यालयहरूमा नयाँ उत्साह र चहलपहल छाएको छ। काँधमा झोला भिरेर, रंगीचंगी पोसाकमा सजिएर विद्यालय जाने बालबालिकाको अनुहारले भोलिको सुन्दर नेपालको तस्बिर झल्काउँछ। तर यही उत्साहका बीच हरेक बिहान र बेलुका सडकमा देखिने एउटा कहालीलाग्दो दृश्यले हामी सबैलाई झस्काउने गर्छ।
त्यो दृश्य हो, मोटरसाइकल वा स्कुटरको अगाडि र पछाडि खादिएर, बिनाकुनै सुरक्षा कवच अर्थात् हेल्मेट विद्यालय जाँदै गरेका अबोध बालबालिका र उनीहरूलाई लापरबाहीपूर्वक गुडाइरहेका अभिभावकहरू।
केही औंलामा गन्न सकिने सामुदायिक र संस्थागत विद्यालयबाहेक नेपालका अधिकांश विद्यालयहरूमा विद्यालय बसको सुविधा छैन। यातायातको सहज विकल्प नहुँदा अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पुर्याउन निजी दुई पाङ्ग्रे सवारी साधनको प्रयोग गर्नु बाध्यता बनिसकेको छ। परिणामतः धेरै अभिभावक आफ्ना बालबालिकालाई मोटरसाइकल वा स्कुटरमा राखेर विद्यालय पुर्याउने गर्छन्। अझ कतिपयले आफ्नै छोराछोरीसँगै छिमेकीका बालबालिकालाई समेत एउटै मोटरसाइकलमा कोचेर लैजाने गरेका दृश्य अहिले सामान्यजस्तै बनेका छन्। तर बाध्यताको आवरणमा भइरहेको लापरबाही र हेलचेक्य्राइँ भने अक्षम्य छ।
सबैभन्दा दुःखद् पक्ष के छ भने, यस्ता अधिकांश यात्रामा बालबालिकाको टाउकामा हेल्मेट हुँदैन। आँखा जोगाउने चश्मा हुँदैन। कतिपय अवस्थामा त स्वयं चालक अभिभावकले पनि हेल्मेट लगाएका हुँदैनन्। ट्राफिक नियम उल्लंघन गर्दै, जोखिमलाई बेवास्ता गर्दै 'विद्यालय पुर्याइदिए पुग्यो' भन्ने मानसिकता बढ्दो छ। तर प्रश्न उठ्छ- के बालबालिकालाई विद्यालय पुर्याउनु मात्र अभिभावकीय दायित्व हो? कि सुरक्षित रूपमा पुर्याउनु पनि उत्तिकै ठूलो जिम्मेवारी हो?
सडक दुर्घटना पूर्वसूचना दिएर आउने विपत्ति होइन। एक क्षणको लापरबाहीले जीवनभरको पीडा दिन सक्छ। विशेषगरी मोटरसाइकल दुर्घटनामा टाउकोमा लाग्ने चोट सबैभन्दा घातक मानिन्छ। सडकमा हुने सानोभन्दा सानो दुर्घटनाले पनि सबैभन्दा पहिले टाउकोमा गम्भीर चोट पुर्याउँछ। वयस्कको तुलनामा बालबालिकाको शारीरिक बनावट अझै संवेदनशील हुने भएकाले सामान्य दुर्घटनाले पनि उनीहरूको ज्यान जान सक्छ वा जीवनभरका लागि अपाङ्ग बन्नुपर्ने अवस्था आउन सक्छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सही रूपमा प्रयोग गरिएको हेल्मेटले मोटरसाइकल चालक तथा पछाडि बस्ने यात्रुको मृत्युको जोखिम करिब ४० प्रतिशतसम्म र गम्भीर टाउको चोटको जोखिम ७० प्रतिशतसम्म कम गर्न सक्छ। यसको अर्थ हेल्मेट केवल ट्राफिक कारबाहीबाट बच्ने साधन होइन, दुर्घटनाको क्षणमा जीवन र मृत्युबीच उभिने सुरक्षा कवच हो। तर दुर्भाग्य, हामीकहाँ हेल्मेटलाई अझै पनि 'प्रहरी छल्ने वस्तु' का रूपमा हेर्ने गलत सोच कायम छ।
अभिभावक स्वयंले हेल्मेट नलगाउँदा बालबालिकाले कस्तो शिक्षा पाउँछन्? बच्चाहरूले किताबभन्दा व्यवहारबाट बढी सिक्छन्। घर र समाज उनीहरूका पहिलो विद्यालय हुन्। यदि बाबुआमा नै ट्राफिक नियम उल्लङ्घन गर्दै हिँड्छन् भने, बालबालिकाले नियम पालना गर्नु आवश्यक छैन भन्ने सन्देश ग्रहण गर्छन्। आज हेल्मेट बिना मोटरसाइकलमा चढेको बच्चाले भोलि ठूलो भएपछि पनि त्यसैलाई सामान्य व्यवहार ठान्ने सम्भावना रहन्छ। यसरी एउटा पुस्ताबाट अर्को पुस्तामा असुरक्षित सडक संस्कार हस्तान्तरण भइरहेको छ।
अहिले सडकमा देखिने अर्को डरलाग्दो दृश्य हो- एउटै मोटरसाइकलमा चार–पाँच जनासम्म चढेर विद्यालयतर्फ गुडिरहेका परिवार। चालक, पछाडि श्रीमती, बीचमा एउटा बच्चा, अगाडि अर्को बच्चा, अनि कहिलेकाहीँ झोला समेत। यस्तो अवस्थामा सन्तुलन गुमेमा दुर्घटना हुनु समयको मात्र कुरा हो। तर धेरैले यसलाई जोखिम होइन, 'व्यवस्था मिलाएको' रूपमा लिन्छन्। वास्तवमा यो बाध्यता कम र चेतनाको अभाव बढी हो।
यता ट्राफिक प्रहरीको जनशक्ति सीमित छ। देशभरका हरेक गल्ली, चोक र विद्यालय क्षेत्रमा चौबीसै घण्टा निगरानी राख्नु सम्भव छैन। त्यसैले मात्र कानुन र कारबाहीले समस्या समाधान गर्न सक्दैन। सडक सुरक्षा अन्ततः व्यक्तिगत अनुशासन र नागरिक जिम्मेवारीसँग जोडिएको विषय हो। जबसम्म मानिसले 'मेरो सुरक्षा, मेरो जिम्मेवारी' भन्ने भावना विकास गर्दैन, तबसम्म दुर्घटना न्यूनीकरण कठिन रहन्छ।
यही सन्दर्भमा विद्यालय प्रशासनको भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ। विद्यालय ज्ञानको मन्दिर मात्र होइन, संस्कार निर्माण गर्ने संस्था पनि हो। तर विद्यालय पुग्नुअघि नै आफ्नै अभिभावकबाट बालबालिकाले नियम मिच्ने पहिलो व्यावहारिक पाठ सिकिरहेका हुन्छन्। बालबालिका त्यो सिक्दैनन् जो हामी उनीहरूलाई सिकाउँछौं, उनीहरू त त्यो सिक्छन् जो हामी आफै गर्छौं। यदि विद्यालयहरूले हेल्मेट नलगाई बालबालिकालाई ल्याउने अभिभावकप्रति कडाइ गर्न थाले भने त्यसले समाजमा सकारात्मक दबाब सिर्जना गर्न सक्छ।
सडक सुरक्षाको यो गम्भीर समस्यालाई समाधान गर्न अब विद्यालय प्रशासनले पनि केवल किताबी ज्ञानमा सीमित नभई व्यावहारिक र साहसिक कदम चाल्न आवश्यक छ। चाहे सामुदायिक विद्यालय होस् वा संस्थागत, प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीको सुरक्षाका लागि एउटा रचनात्मक अभियान सञ्चालन गर्न सक्छ।
कल्पना गरौँ, कुनै विद्यालयले स्पष्ट नियम बनायो- 'हेल्मेट बिना आउने अभिभावकलाई बालबालिका त्यस दिन कक्षामा सहभागी गराइने छैन।'
सुरूमा यसले केही असहजता सिर्जना गर्न सक्छ। कतिपयले विरोध पनि गर्न सक्छन्। तर यो एउटा कडा औषधिजस्तै कदम हुनेछ, जसले लापरवाह अभिभावकहरूको चेत खुलाउन मद्दत गर्नेछ। आफ्नो बच्चाको पढाइ प्रभावित हुने डरले नै सही, अभिभावकहरू बिस्तारै जिम्मेवार बन्न बाध्य हुनेछन्। यो कदम दण्ड दिने उद्देश्यले होइन, सडक सुरक्षाप्रति संवेदनशील बनाउने सामाजिक अभियानका रूपमा लिनुपर्छ।
यस्तो अभियानलाई दण्डात्मकभन्दा पनि प्रतिकात्मक र रचनात्मक रूपमा सञ्चालन गर्न सकिन्छ। विद्यालयहरूले 'नो हेल्मेट, नो एन्ट्री' अभियान चलाउन सक्छन्। विद्यालय प्रवेशद्वारमै ट्राफिक सचेतना बोर्ड राख्न सकिन्छ। अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
ट्राफिक प्रहरीसँग सहकार्य गरी सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गर्न सकिन्छ। बालबालिकालाई नै 'आमा–बुवा, हेल्मेट लगाउनुस्' भन्ने सन्देश सहित अभियानमा सहभागी गराउन सकिन्छ। जब बच्चाले आफ्ना अभिभावकलाई सम्झाउन थाल्छन्, त्यसको प्रभाव अझ गहिरो हुन्छ।
यसका साथै स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र समुदाय पनि यस अभियानमा जोडिनुपर्छ। सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन, यो साझा सामाजिक दायित्व हो। समाजले असुरक्षित व्यवहारलाई सामान्य मान्न छोड्नुपर्छ। हेल्मेट नलगाई बालबालिका बोकेर हिँड्नेलाई 'सजिलो उपाय' होइन, 'जोखिमपूर्ण कार्य” का रूपमा हेर्ने संस्कार विकास हुनुपर्छ।
हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, बालबालिकालाई राम्रो विद्यालयमा भर्ना गर्नु मात्र पर्याप्त छैन। उनीहरूलाई सुरक्षित भविष्य दिनु अझ ठूलो दायित्व हो। एउटा हेल्मेटले केवल टाउको मात्र जोगाउँदैन, परिवारको भविष्य पनि जोगाउँछ। केही मिनेटको हतार वा थोरै असुविधाका कारण जीवनभरको पीडा निम्त्याउनु बुद्धिमानी होइन।
बालबालिका देशका कर्णधार र भविष्य भएकाले उनीहरूको सुरक्षा राज्य, समाज र अभिभावक सबैको पहिलो प्राथमिकता हुनुपर्छ। सवारी साधन चलाउँदा हेल्मेट लगाउनु, गति सीमित राख्नु र ट्राफिक नियमको पालना गर्नु कसैको दबाबमा गरिने कार्य होइन, यो त आफ्नो र आफ्नो परिवारको जीवन रक्षाको अचूक उपाय हो।
विद्यालय प्रशासनले चाल्ने एउटा साहसिक र रचनात्मक कदमले धेरै घरपरिवारलाई सम्भावित दुर्घटना र पीडाबाट जोगाउन सक्छ। आउनुहोस्, यो नयाँ शैक्षिक सत्रमा हामी सबैले प्रतिज्ञा गरौँ- विद्यालय जाँदै गरेका कुनै पनि बालबालिकाको यात्रा असुरक्षित हुने छैन। कानुनको डरले होइन, नागरिक दायित्व र अभिभावकीय कर्तव्य सम्झेर सधैं सडक सुरक्षाको पालना गरौँ । सचेत अभिभावक र जिम्मेवार विद्यालय नै सुरक्षित भविष्यका बलिया आधार हुन्।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख हुन्।)