२०४० साल भदौको पहिलो हप्तामा रोल्पाबाट काठमाडौँ प्रवेश गरेपछि मलाई काठमाडौँ आफूले सोचेभन्दा धेरै फरक भएको पाएको थिएँ। सडकमा गाडीका ताँती, नागरिकहरूको आवतजावत, असन बजारमा उपभोक्ताहरूको चहलपहल आदि आदि देखेर छक्क परेको थिएँ।
त्यो सालमा पाटन ढोका छेउमा दुग्ध विकास संस्थानले बिक्री गर्ने एकै किसिमको दूध मात्र पाइन्थ्यो बोतलबन्दी। केही वर्षअघिदेखि भने संस्थानले तीन किसिमका दूध बजारमा ल्याएको छ। त्यो बेला दूधको बोतलको मुखमा सिलेबर कलरको कागजको हल्का सिल हुन्थ्यो।
अघिल्लो दिन दूध लगेको खाली बोतल फिर्ता ल्याएर पुनः भरी बोतलको दूध लैजानुपर्दथ्यो। दूध किन्नका लागि उपभोक्ताहरूको हल्का लाइन देखिन्थ्यो त्यो बखत। प्रतिबोतल डेढ रुपैयाँमा पाइने दूध अहिलेको तुलनामा ढुक्क भएर उपभोग गर्ने अवस्था थियो। अहिले बजारमा पाइने दूधको गुणस्तर खस्किएको पाइन्छ।
त्यति बेला व्यवसायीहरूले धर्मको पालना गर्दथे र विश्वासिलो किसिमले कारोबार हुन्थ्यो। अहिले छाडा प्रवृत्तिका कारण व्यवसायीहरूले धर्म पालनाभन्दा पनि कसरी हुन्छ आर्थिक लाभ लिने गरेको पाइन्छ।
त्यस बखत डेढ रुपैयाँको सामान्य पाउरोटी र सवा दुई रुपैयाँको स्पेसल पाउरोटी पाइन्थ्यो। कुपण्डोलमा रहेको बलराम केकको विज्ञापन रेडियोबाट बज्दथ्यो। बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगले उत्पादन गरेको ‘सुपर बिस्कुट’ को विज्ञापनको अन्तिममा ‘द टेस्ट इन टाउन’ भनेर भनिन्थ्यो, सो बिस्कुट खाँदा दूधयुक्त लाग्दथ्यो। ने
बिकोका बजारमा पाइने बिस्कुटहरूमा ग्लुकोज बिस्कुट बढी मात्रामा बिक्री हुन्थ्यो। सिनेमा हेर्नका लागि बेलाबेलामा टिकट काउन्टरमा दर्शकहरूको भीड र लामो लाइन भएका कारण त्यहाँ प्रहरीको उपस्थिति पनि देखिन्थ्यो। ठेलमठेल गरेर पनि टिकट नपाएपछि दर्शकहरूलाई ब्ल्याकमा टिकट किनेर सिनेमा हेर्नुपर्ने बाध्यता थियो।
काठमाडौँको बसाइ निकै कष्टकर हुने मलाई पनि अनुभव हुँदै गयो। त्यति बेला नै महँगीको सहर भनेर चिनिने काठमाडौँलाई अहिले पनि महँगीकै सहर नै भन्न मिल्छ। दाङमा प्रतिकिलो पच्चिस रुपैयाँमा पाइने कुनै तरकारी यहाँ सत्तरीदेखि एक सय रुपैयाँसम्म पर्दछ।
आ.व. २०५७।५८ सालअघि सरकारी कर्मचारीहरू काठमाडौँमा कार्यरत रहन नचाहने र घरपायक मिलाएर आफ्नो जिल्लातिर सरुवा गराउनेतिर लाग्दथे तलब थोरै भएका कारण। सो आ.व. मा सरकारी कर्मचारीहरूको तलब उल्लेख मात्रामा बढेपछि कर्मचारीहरूले राहत महसुस गरेका थिए।
कतिपयले मलाई सरुवा मिलाएर जिल्ला जान सुझाव पनि दिने गर्दथे। काठमाडौँ सहर महँगी मात्र नभएर बेलाबखतमा केही उपभोग्य वस्तुहरूको अभाव मात्र होइन चरम अभाव नै हुने गर्दथ्यो। कहिले चिनी नपाइने त कहिले मट्टितेल नपाइने अवस्थाहरू आई नै रहन्थ्यो।
कुनै बखत भारतले नाकाबन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको सङ्कट परेको थियो। सबैभन्दा बढी मार मट्टितेलको स्टोभमा खाना पकाउने उपभोक्ताहरूलाई परेको थियो। त्यो समयमा हामी जर्किन वा अन्य कुनै भाँडो बोकेर मट्टितेलको लाइनमा बस्ने क्रममा कहिले घण्टौँसम्म त कहिले दिनभर नै लाइनमा बस्नुपर्दथ्यो, मट्टितेलको लाइन कतै सिधा त कतै नागबेली आकारमा देखिन्थ्यो।
तमाम उपभोक्ताहरूले मट्टितेलको पालो कुरिरहेका बखत कोही कोही लाइन मिच्ने उपभोक्ताहरू पनि देखिन्थे र विवाद उत्पन्न हुन्थ्यो। २०४४ पछि काठमाडौँमा फाट्टफुट्ट ग्यासको बिक्री र उपभोग हुन थालेको मैले थाहा पाएँ। त्यति बेला प्रति सिलिन्डर ग्याँस एक सय असी रुपैयाँमा भएको मलाई जानकारी छ। २०५५ सालमा आएर मात्र हामीले ग्यासको प्रयोग गर्न थाल्यौँ।
हामी बालुवाटारको चुनदेवीमा बस्दा पहिलो पटक ग्यास स्टोभमा आगो बालेर खाना पकाउन थालेका थियौँ। हामीले प्रयोग गरेको पहिलो पटक ग्यासको मूल्य प्रति सिलिन्डर तीन सय रुपैयाँ थियो। त्यसपछि मट्टितेल स्टोभको तुलनामा खाना बनाउन केही सुविधा भएको महसुस भयो। मट्टितेल स्टोभको कहिले बर्नर फेर्नुपर्ने त कहिले वासर। बर्नरको प्वालमा पिनले कोट्याइरहनुपर्ने झन्झटबाट मुक्ति मिल्यो।
विकल्पमा भुसे चुलो
मट्टितेलको लाइनमा बस्नुभन्दा बरु भुसे चुलो किनेर त्यसैमा खाना बनाउन ठिक होला भनेर भुसे चुलो किन्ने काम पनि भयो। काठ गोदाम वा फर्निचर उद्योगमा गएर काठको भुस र काठकै टुक्राटाक्री किनेर आगो बालेर खाना बनाउँदा धुवाँले आँखाबाट घरीघरी आँसु नझर्ने कुरै थिएन। काठमाडौँ एक त महँगी ठाउँ त्यसमाथि पनि समयमा उपभोग्य सामग्री उपलब्ध नहुनु पनि राजधानीबासीहरूका लागि दुःखको कुरा हो।
ग्यासको अनावश्यक भण्डारण
ठुला निजी विद्यालयका कम्पाउन्डमा दर्जनौँ संख्यामा ग्यासका सिलिन्डरहरू देखिन्छन्। सायद होस्टेलमा बस्ने विद्यार्थीहरूलाई भोजन गराउन सहज होओस् भनेर जगेडा राखिएको हुनसक्छ। सहज रूपमा ग्यास उपलब्ध नहुनुका कारणहरूमा अनावश्यक रूपमा धेरै संख्यामा ग्यास भरिएको सिलिन्डर भण्डारण गर्नु पनि एक हो।
नो क्यास नो ग्यास
ग्यास अभाव भइरहेको अवस्थामा घरघरमा ग्यास पुर्याउनेहरूलाई चिया खर्च वा खाजा भनेर दिएमा पनि ग्यास पाइने कताकतै सुन्न पाइन्छ, घुस्याहा कर्मचारीलाई घुस खुवाएर काम गराए झैँ। सरकारी अनुगमन वा निरीक्षणको कमजोर अवस्थाले गर्दा पनि बजारमा लापरबाही भइरहेको आभास मिल्छ। ‘नो क्यास नो ग्यास’ एउटा उखान बन्ने अवस्था छ।
अभागी हामी नेपाली
भूपरिवेष्टित राष्ट्र भएकै कारण नेपालीहरूले बेलाबेलामा हन्डरहरू खानु परिरहेको छ। नेपालको भूभाग कम से कम कतै एक ठाउँ समुद्रले छोएको भए कतिपय उपभोग्य सामग्रीहरूका लागि भारत र चीनमा मात्र निर्भर रहनुपर्ने अवस्था आउँदैनथ्यो। तेस्रो राष्ट्रसँग कारोबार गर्न नपाउनु हाम्रा लागि दुःखको कुरा हो। सुन्दर देश भएर के गर्नु? जब जनताले राहतको महसुस गर्न पाउँदैनन् र घरीघरी दुःखको सामना गरिरहनुपर्छ भने।
मैले ग्यासको खाली सिलिन्डर पसलमा दर्ता गराएको एक महिना पुग्न लाग्यो। आफ्नो भान्सामा रहेको सिलिन्डरको ग्याँस धिपधिप गरिरहेको छ, कुन बेला सकिने हो ठेगान छैन। उता पसलबाट साहुजीले खबर गरेपछि मात्र ग्यास लिन जानुपर्ने रे, दिनहुँजसो ग्यास अभावको समाचार आइरहेका छन्।
सभ्यताका केही कुरा
काठमाडौँ सहरमा कोलकाताका सभ्यताका दस कुराहरू मात्र लागू भएमा पनि काठमाडौँ धेरै सुन्दर र सफा हुनेमा कुनै शंका छैन। सोह्र वर्षअघि त्यहाँको भ्रमण गरेपछि मैले बटुलेका अनुभवहरूका आधारमा कोलकातामा राम्रा पद्धतिहरू छन्। सार्वजनिक यातायातका साधनहरूमा होस् कि सार्वजनिक स्थलहरूमा त्यहाँका नागरिकहरूले नियम पालना गरेको पाइन्छ, काठमाडौँ जस्तो गन्जागोल कोलकातामा देखिँदैन।
काठमाडौँमा त पाँच रुपैयाँ भाडाका लागि सहचालकले वृद्धहरूमाथि असभ्य शब्द प्रयोग गरेको पनि सुनिन्छ भने कोही कोही यात्रु र सहचालकबिच हातपात वा कुटाकुटका दृश्यहरू पनि देखिन्छन्। संयम र धैर्य नदेखिनु नेपालीहरूको विशेषता हो भनेर भन्न सकिन्छ, तथापि यो भनाइ सबैमा लागू भने हुँदैन। मान्छेमा समस्या समाधानका लागि उपायहरू सोच्दैन, तत्काल आक्रोश पोखेर बदला लिन खोज्दा कसेको ज्यान पनि जान सक्छ, घाइते हुन सक्छन्। अनावश्यक रूपमा अस्पतालको इमर्जेन्सीमामा जानुपर्ने हुन्छ विवादका कारण कुटपिट हुँदा यदि गम्भीर घाइते भएको अवस्था छ भने।
असुरक्षित ग्यास
ग्यासको प्रयोगमा सावधानी नअपनाउँदा वर्षौँ पहिले एकजना सांसदको ज्यान गएको थियो भने केही वर्षअघि अर्का सांसदको शरीर जलेको थियो। लापरबाहीपूर्वक ग्यासको प्रयोग गर्नाले र प्रयोग नभएको बखत रेगुलेटर बन्द नगर्नाले पनि यस्ता खालका दुर्घटना हुनसक्छ।
ग्यासको सिलिन्डरमा दिइएको निर्देशन अनुसार सिलिन्डरको सिल खोलेर सुरक्षित किसिमले प्रयोग गर्नुपर्दछ। कहिलेकाहीँ सिलिन्डरबाट ग्यास चुहावट भएर गन्ध आइरहेको हुन्छ। ग्यास आगोको सम्पर्कमा आउँदा बित्तिकै प्रज्वलित हुन्छ। धेरै नै ग्यासको गन्ध आएको छ भने विशेष सतर्कता अपनाउनुपर्दछ र हत्तपत्त आगो बाल्नुहुँदैन।
बिजुली बत्ती बाल्दा स्विचमा आउने झिल्काले पनि ग्यास दन्किने हुन्छ, त्यसैले विचार गरेर मात्र बेलुका भान्सामा बत्ती बाल्नुपर्दछ। कहिले आधा सिलिन्डर ग्यास वितरणको कार्य रोकेर पूरा सिलिन्डरको ग्यास उपलब्ध भएमा सुविधा हुने थियो। निलो र रातो सिलिन्डरको व्यवस्थाको प्रयास असफल भइसकेको छ।
भनाइ अनेक अनेक
कतिपयको भनाइ अनुसार सबैभन्दा मीठो त दाउरामा पकाएको लाग्छ, त्यसपछि ग्यासमा पकाएको मीठो, सबैभन्दा बढी नमिठो विद्युतीय उपकरणमा पकाएको रे। ‘कुरो र कुलो जता बगाए पनि हुन्छ’ भने झैँ एउटाले भनेको कुरा अर्कोले टिपेर अरूलाई भन्दै जाँदा नभएको कुरा अनावश्यक रूपमा फैलिँदै जाने गर्दछ कसैले बनाएको उखानहरू फैलिए झैँ।
गोबरग्यास
रोल्पाको सदरमुकाम लिबाङमा एकजना राजनीतिज्ञको घरमा गोबरग्यास प्लान्ट देखेको थिएँ भने प्यूठानको क्वाडीमा बहिनीको घरमा दोस्रो पटक देखेको थिएँ। उहिले हाम्रो घरको भित्तामा कृषि प्रचारका लागि बनाइएको पम्पलेट टाँसिएको थियो, जसमा गोबरग्यास प्लान्टको चित्र देखिन्थ्यो। पछि मात्र गोबरग्यास प्लान्ट प्रत्यक्ष देख्न पाएँ।
गोकर्ण डम्पिङ साइटको ग्यास
कुनै बखतसम्म काठमाडौँ सहरको फोहोर विसर्जनका लागि डम्पिङ साइट गोकर्णमा थियो। त्यहाँ फोहोर थुपार्दा थुपार्दा जमिनमुनिबाट ग्यास निस्किएपछि मुलपानीका बासिन्दाले पाइपबाट घरघरमा ग्यास पुर्याएर इन्धनको रूपमा प्रयोग गरेका समाचारहरू आएका थिए।
हालका दिनहरूमा ग्यास पसल वा डिपोमा उपभोक्ताहरूको भीड वा पङ्क्ति देख्दा लाग्छ कि नेपालीहरूका लागि यो एउटा नियति नै बनिसकेको छ। जलस्रोतमा धनी भनिने नेपालका जनताहरूले विद्युतीय उपकरणमा खाना बनाउने र आयातित ग्यासलाई प्रतिस्थापन गर्न सकेमा हाम्रा लागि गौरवको कुरा हुने थियो। २०४६ सालदेखि बेलाबेलाको मट्टितेलको त्यो लाइन र केही वर्षयतादेखि बेलाबेलाको ग्यासको यो लाइन देख्दा लाग्छ कि हाम्रो देश जलस्रोतमा धनी भन्नुको कुनै अर्थ छैन।