जापानमा बसाइँ सर्दै हुनुहुन्छ वा यात्रा गर्ने योजना बनाइरहनुभएको छ भने, त्यहाँको समाजमा स्वीकार्य हुने आचरणबारे केही आधारभूत जानकारी हुनु अत्यन्त उपयोगी हुन्छ।
जापानमा अन्य देशहरूमा जस्तै सामाजिक व्यवहारका केही नियमहरू छन्, जसको पालना गर्दा आफ्नो दैनिक जीवन सहज मात्र हुँदैन तपाई आफू सभ्य भएको परिचय पनि दिनु हुनेछ।
जापानीहरूको विशेषता भनेको, उनीहरू प्रायः कसैको व्यवहारबारे प्रत्यक्ष रूपमा टिप्पणी गर्न रुचाउँदैनन्। त्यसैले तपाईंले अनजानमै कसैलाई असहज बनाइरहनुभएको भए पनि कसैले त्यसबारे नभन्न सक्छ।
कहिलेकाहीँ तपाईंको अपार्टमेन्टको ढोका वा हुलाक बाकसमा सूचना टाँसिएको देखेपछि मात्र आफ्नो गल्ती थाहा हुन सक्छ।
चाहे तपाईं ‘ल्यान्ड अफ द राइजिङ सन’ अर्थात् जापान भ्रमण गर्दै हुनुहोस् वा त्यहाँ बसाइँ सर्दै हुनुहोस्, पहिले नै केही आधारभूत शिष्टाचारबारे जानकारी राख्नु उपयोगी हुन्छ।
यहाँ जापानमा प्रायः देखिने केही व्यवहारगत गल्तीहरू प्रस्तुत गरिएको छ, जसबाट जोगिनु जरुरी मानिन्छ।

रेलमा खाने वा पिउने बानी
सामान्यतया जापानमा सडकमा हिँड्दै खाना खाने वा भिडभाड हुने यात्रुवाहक रेलमा खाने चलन छैन। यसलाई पूर्ण असभ्य व्यवहार मानिँदैन, साथै यसले राम्रो प्रभाव पार्दैन र अन्य यात्रुलाई असहज महसुस गराउन सक्छ।
तर, ‘शिन्कानसेन’ (बुलेट ट्रेन) वा यात्राका क्रममा खाना उपलब्ध गराइने विमानमा भने आफ्नै खाना वा पेय पदार्थ सेवन गर्न स्वीकार्य मानिन्छ।
रेलमा ठुलो स्वरमा बोल्ने
रेल वा अन्य सार्वजनिक यातायातमा ठुलो स्वरमा कुरा गर्नु पनि धेरैलाई मन नपर्ने व्यवहार हो। विशेष गरी रेलभित्र मोबाइल फोनमा कुरा गर्नु अनुचित मानिन्छ।
धेरैजसो मानिसहरू फोन आएको खण्डमा अर्को स्टेसनमा ओर्लिएर कुरा गर्न रुचाउँछन्, ताकि सहयात्रीहरूको असन्तुष्टि सामना गर्न नपरोस्। रेल चढ्दा या सार्वजनिक नगर बसहरूमा यात्रा गर्दा अगाडि नै फोनको घण्टी साइलेन्ट (मन्द) मोडमा राख्ने गर्नु उचित मानिन्छ।
पश्चिमा मुलुकका केही मानिसहरूको तुलनामा जापानीहरू सार्वजनिक स्थानमा कम बोल्ने र आफ्ना भावना कम अभिव्यक्त गर्ने प्रवृत्तिका हुन्छन्। त्यसैले सार्वजनिक यातायातमा आवाज कम राख्नु उचित हुन्छ।
चपस्टिक (जापानी शैलीको चम्ची) प्रयोगसम्बन्धी आचरण

चपस्टिक प्रयोग गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ।
गर्नुपर्ने काम
- खाना नखाइरहेको बेला चपस्टिकलाई त्यसका लागि बनाइएको ‘स्ट्यान्ड’मा राख्नुहोस्।
- सकेसम्म चपस्टिककै प्रयोग गर्नुहोस् र औँलाले खाना समात्ने नगर्नुहोस्।
गर्न नहुने काम
- चपस्टिकसँग खेल्ने वा अनावश्यक चलाइरहने नगर्नुहोस्।
- एउटा चपस्टिकबाट अर्को चपस्टिकमा खाना सार्ने काम नगर्नुहोस्। यो बौद्ध अन्त्येष्टिपछि परिवारका सदस्यहरूले मृतकका अस्थि चपस्टिकबाट एकअर्कामा सार्ने परम्परासँग सम्बन्धित भएकाले अशुभ मानिन्छ।
- चामलको भातमा चपस्टिक ठाडो गरी गाडेर नराख्नुहोस्। यसले मृतकका लागि बालिने धूपको सम्झना गराउँछ।
फोहोरको सही वर्गीकरण

जापानमा फोहोर व्यवस्थापनसम्बन्धी नियमहरू अत्यन्त स्पष्ट र कडाइका साथ लागू गरिन्छ। नियम पालना नगरेमा तपाईंको घरको ढोकामा नोट टाँसिन सक्छ वा तपाईंले फालेको फोहोर पुनः तपाईंको ढोका अगाडि फिर्ता ल्याइदिन पनि सक्छन्।
प्लास्टिक, जलाउन मिल्ने, कुहिने, सिसा र टुटे फुटेको, प्लास्टिक बोतल, टिनको क्यान जस्ता फोहोरहरू छुट्टाछुट्टै रंगको ५, १०, २० र ४५ लिटरको झोलामा छुट्ट्याएर फाल्नु पर्छ। कुन खालको फोहोर हप्ताको सही फोहोर सङ्कलन गर्ने स्थानमा, तोकिएको दिनमा मात्र फाल्नुपर्छ।
सामान्यतया अपार्टमेन्ट व्यवस्थापनले फोहोर कसरी वर्गीकरण गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धी अग्रिम जानकारी दिने गर्छ। छिमेकीसँग अनावश्यक समस्या नआओस् भनेर ती नियमहरू ध्यानपूर्वक पढेर सम्झनु उचित हुन्छ।
अन्तिम कुरा
निःसन्देह, यहाँ उल्लेख गरिएका कुराहरू मात्र जापानी शिष्टाचारका सम्पूर्ण नियम होइनन्। समयको पालना गर्ने, अनावश्यक बहाना नबनाउने वा कुनै भोजमा आफ्नै लागि आफैँ बियर नहालेर पहिले नजिकको मित्रको गिलासमा हालिदिनेजस्ता अन्य धेरै अलिखित सामाजिक नियमहरू पनि छन्।
तर हामी नेपालीहरूले बिर्सन नहुने संसारको जुनसुकै ठाउँको यात्रा गरे पनि स्थानीय संस्कृतिप्रति सचेत रहनु, सामान्य विवेक प्रयोग गर्नु र अरू मानिसप्रति सम्मानजनक व्यवहार गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।