बिहानको ६ बजेको हुँदो हो। ‘नानी उठिहाल त... म कपाल कोरिदिएर हिँड्छु, मलाई हतार भइसक्यो’ भनेर ममीले एकापट्टिको कपाल मात्र बाटिदिएर, ‘अर्को यसरी नै बाट्नु’ भन्दै खाँदबारीबाट मत्स्यपोखरीको बलौटेमा १० बजेको स्कुल भ्याउन दौडनुहुन्थ्यो।
सायद म २ कक्षामा थिएँ। दुईपट्टि कपाल बाटेर जानुपर्ने नियम थियो। जसोतसो बिहानभरि लगाएर बटारेर अड्काउँथेँ। दुईपट्टि दुई खाले कपाल हुन्थे।
हामी खाँदबारीमा बस्थ्यौँ। ममी-बाबा कार्यरत स्कुल मत्स्यपोखरीमा (पाख्रीबास) थियो। बाबाले एसएलसी सक्ने बित्तिकै शिक्षण पेसा अङ्गाल्नु भयो। ममीले बालशिक्षिकाबाट १००० रुपैयाँको तलब लिएर आफ्नो शिक्षण यात्रा सुरु गर्नु भयो।
सुनेको थिएँ, 'शिक्षक मैनबत्ती हो, जो आफू पग्लेर अरूलाई उज्यालो देखाउँछ।' यो मैले मेरो अभिभावकबाट बुझ्दै गएँ। ममी-बाबा करिब दुई दशक भयो यो पेसामा आबद्ध हुनुहुन्छ। बाबाले यो अवधिमा करिब ४/५ वर्ष प्र.अ.को भूमिका निर्वाह गर्नुभयो।
विद्यालयको नयाँ संरचना बन्दै गर्दा, भवनहरू निर्माण हुँदा बेलुकाको ७ बजे मात्र स्कुलबाट हिँडेको धेरै पटक थाहा पाएकी छु। बिहानै उठेर चिया खाँदै खाँदै चियाको कप बाटो मास्तिरको डिलमा राखेर स्कुलको नवनिर्मित सिमेन्टेड भवनमा पानी हाल्न जानुहुन्थ्यो। सायद बाबाले विद्यालय, विद्यार्थी र आफ्नो कर्तव्यलाई परिवार, समाज भन्दा माथि राख्नुभएको थियो।
धेरै पटक सोध्थे— ‘अरूको भन्दा तपाईंको डबल तलब हुन्छ हो? त्यही भएर तपाईंले यसरी स्कुलको काम गर्नुपर्छ?’
बाबाको उत्तर हुन्थ्यो, ‘अ.... मेरो बढी आउँछ।’
‘कति बढी बाबा?’
‘.............’
उत्साहित म बाबाको मौनताले एकैचोटि हतोत्साहित हुन्थेँ।
कलिलो मस्तिष्कले खासै धेरै प्रश्न गर्न सकेन।
ममी पनि विद्यालय र विद्यार्थी भनेपछि सारै जाँगरिली। छोराछोरी, भान्सा, गाईबस्तु, घर व्यवहार सबै सम्हालिसक्दा राती सुत्न सधैँ ढिलो हुन्थ्यो। म निदाइसकेकी हुन्थेँ। ममी भने भोलि पढाउने पाठ (कविता इत्यादि) लाई लय, भाका बुनेर, गुनेर, युट्युबमा 'विद्यार्थीलाई कसरी असल बनाउने, कसरी सक्रिय तरिकाले पढाउने' हेरेर राती १२ बजाउनुहुन्थ्यो। कति पटक त स्कुल जान ढिलो हुन्छ भनेर खाना नखाई, बाटोमा कपाल कोर्दै जानुहुन्थ्यो।
मसँग हुर्केका साथीहरूका अभिभावक पनि सरकारी कर्मचारी हुनुहुन्थ्यो तर शिक्षक हैन, जे भए पनि मेरा अभिभावक शिक्षक हो भन्दै म गर्व गर्थेँ। अब म सरकारी कर्मचारी, सरकारी शिक्षक र अन्य सरकारी जागिरेहरूको तलब स्केल, सेवा, सुविधा, भत्ता, बढुवाका कुरा बुझ्ने भएँ। स्कुलको रिजल्ट प्रकाशनमा ढिलो हुन्छ भनेर एक दिन, एकछिन पनि बिदा लिन नसकेर हाम्रो रिजल्टको दिन एक्लै पठाएको थाहा पाएकी छु।
अरूको मासिक शुल्क हिसाब गरेर दिन बिताउनु हुन्थ्यो तर हामीलाई अलिकति बढी रकम दिएर ‘आफै सरलाई सोध कति भएको छ गएर देऊ अनि बाँकी भएको फिर्ता ल्याउनु’ भन्नुहुन्थ्यो। आफै पैसा तिर्न जाँदा कति पटक सरहरूले- ‘तिम्रो अभिभावक खै’ भन्नुहुन्थ्यो। म स्कुलबाट फुर्सद नपाउने बाबा ममी याद गरेर भन्थेँ- ‘आउन भ्याउनुहुन्न रे...’
दसैँ आउँथ्यो, अरू समयभन्दा बढी खर्चिलो समय। शिक्षक बाहेक अरू सरकारी कर्मचारी, जो घरको एक जना मात्रै जागिरे छ, उसले मज्जाले खर्च गर्ने अवस्था हुन्थ्यो। तर हाम्रोमा पहिला हिसाबकिताब अनि मात्र खर्च। अधिकांश दसैँहरूमा आफूसँग सम्बन्धित विषयका खर्च बिचमै दबाएको मैले देखेकी छु।
तर यति अभाव खड्किँदा पनि मेरा शिक्षक अभिभावक म शिक्षक हुँ, म दिनभर गला सुकाएर, भोकै, उभिएर पढाउँछु। च्यातिएको झोला सियो धागोले सिलाउँछु, स्कुल जाँदा पेट्रोल सकिएर के भयो त? एक हप्ता भोकै पढाएर पेट्रोल भर्छु भन्दै गर्व गरेको देखेकी छु।
त्यति मात्र होइन, टाउको दुख्दा दुई वटा सिटामोल खाएर स्कुल गएको, छोराछोरी बिरामी हुँदा अस्पतालको गेटबाट यता जाऊ, उता जाऊ भनेर बिचमै छाडेर स्कुल गएको देखेकी छु। घरमा सरसफाइमा मतलब नगर्ने मेरो बाबालाई कार्यमलय सहयोगीको अनुपस्थितिमा आफैले बढारेको देखेकी छु।
लकडाउनमा सबैको बिदा हुँदा बाबा विद्यालय जानुहुन्थ्यो (प्र.अ. कार्यकालमा)। एक दिन हामीलाई (भाइ र म) पनि बोलाएर स्कुल वरिपरि उम्रिएका घाँस काट्न लगाउनुभयो। ‘स्कुलको कति मतलब हो र? पछि काटे हुन्छ होला’ भन्दा, ‘यो त मेरो जीवन हो, मेरो कमाइ हो, मेरो गर्व गर्ने थलो हो’ भनेको पनि सुनेकी छु।
मान्छेहरू शिक्षण दुखिया पेसा हो भन्छन्। तर मैले यही पेसामा मेरा अभिभावक रमाएको देखेको छु। अझ बाबालाई त मलाई पनि शिक्षक बनाउने रहर छ रे।
मलाई लाग्छ, शिक्षक खुसी भए विद्यार्थीले राम्रो शिक्षा पाउँछन्, शिक्षा प्रणाली मौलाउँछ। दक्ष जनशक्ति उत्पादन हुन्छन्, समाज बन्छ र राष्ट्र बन्छ। विकास र परिवर्तनमा सबैभन्दा ठुलो हात शिक्षककै छ। यो मेरो घरको मात्र कथा होइन। उहाँहरू जस्तै परिवर्तनको आशा राखेर बस्नुभएका लाखौँ शिक्षकहरूको हो। यस्ता थुप्रै घरका शिक्षकहरूका कथा छन्, २० वर्ष पढाएर निकालिएका शिक्षकको कथा छन्, मावि पढाएर प्रावि स्केलमा तलब पाउनेका कथा छन्।
एउटा छोरी/छोराको एउटा शिक्षक बाबाआमा हुन्छन् तर एउटा शिक्षकको लाखौँ, हजारौँ छोराछोरी हुँदा रहेछन्। जति बुझ्ने हुँदै छु त्यति धेरै गर्व लाग्दै छ आफ्ना कर्तव्यनिष्ठ अभिभावकप्रति। कथाहरू कथा नै रहँदा राम्रो लाग्ने, वास्तविकतामा तितो। यही तितो यथार्थ भित्रै पनि एउटा कुरा उज्यालो छ- एक पुस्ताले अर्को पुस्तालाई सिकाएको मूल्य, त्याग र कर्तव्यको भावना, जुन कुनै तलब स्केलले नाप्न सकिँदैन। यही नै एउटा शिक्षकको सबैभन्दा ठुलो सम्पत्ति हो।
अन्ततः यो लेख एउटा छोरीले आफ्ना शिक्षक अभिभावकलाई देखेर बुझेको जीवनको साक्षी हो। यहाँ न कुनै गुनासो छ, न कुनै आक्रोश; बरु त्याग र कर्तव्यले भरिएको एउटा शान्त गर्व छ। बिहानै हतारमा कपाल बाट्दै स्कुल दगुर्ने आमा, पेट्रोलको खर्च जोगाउन एक हप्ता भोकै बसेर पढाउने बाबा र यी सबैका बिचमा पनि ‘यो मेरो जीवन हो, मेरो गर्व गर्ने थलो हो’ भन्ने विश्वास- बोकेका नेपालका हजारौँ शिक्षक परिवारको साझा कथा हो।