यतिखेर म मुटुको अपरेसनपछि निरन्तर खाइरहनुपर्ने औषधि 'वारफारिन' ले रगत धेरै पातलो भएर आन्तरिक रक्तस्राव भएका कारण हो या नियतिको अरू नै कुनै क्रूर खेल 'दुवै कान बन्द भएर निशब्द दुनियाँमा छु। केही सुनिरहेको छैन।
यति मात्र कहाँ हो र? रिगाटाले संसार फनफनी घुमाइरहन्छ। आफ्ना हरेक पाइला र क्रियाकलापमा शारीरिक सन्तुलन कायम राख्न धौ-धौ परिरहेछ। डिप्रेसनको औषधिको सहारामा जसोतसो मानसिक सन्तुलन जोगाएर बसेको छु र त आफ्ना यी छताछुल्ल भावनाहरूलाई शब्दमा उतार्ने कोसिस गरिरहेको छु।
आन्तरिक रक्तस्रावपछि एकाएक यो कानको आवाज कसरी खोसियो? डाक्टरहरू आफैँ ठ्याक्कै कारण भन्न सकिरहेका छैनन्। जब पढे-लेखेका विज्ञहरूकै उत्तर अस्पष्ट छ भने, मजस्तो साधारण मानिस अनभिज्ञ हुनु स्वाभाविकै हो।
उपचार महँगो छ। कूल १६ देखि १८ लाख भनिएकोमा सरकारी अनुदान र अन्य प्रक्रिया मिलाउँदा करिब १० लाख जतिमा उपचार हुनसक्ने र मेरो कानले पुनः सुन्न सक्ने आशा डाक्टरहरूले देखाइरहनुभएको छ।
उपचारका लागि त्यो १० लाख रकम जुटाउन सकिएला/नसकिएला, त्यो त भविष्यकै गर्भमा छ। तर यो खबरले मेरो विक्षिप्त मनलाई यति राहत पक्कै दियो, म सदाका लागि बहिरो भइसकेको चाहिँ रहेनछु। के थाहा, भोलि कुनै सोचेजस्तै सहृदयी सरकार आएर निःशुल्क उपचार पो गरिदिन्छ कि?
अथवा म त उही मान्छे त हुँ, जस्तोसुकै आँधीहुरीमा पनि सङ्घर्ष गरिरहने! सर्वस्व गुमे पनि आशाको अन्तिम दियो जोगाइराख्ने! के थाहा, समयको कुनै अप्रत्याशित मोडमा नतिजा मेरो पक्षमा पो आइदिने हो कि?
यस्तै-यस्तै झिनो आशाका धागोहरू समातेर म आफूलाई सदाका लागि पूर्ण रूपमा बहिरो घोषित गर्न सकिरहेको छैन। किनकि उपचार सम्भव छ, अवश्य सम्भव छ!
जाबो पैसा त नभएको हो नि नभएको!
जाबो पैसा त हो नि!
अहो! कति मूर्ख र अव्यावहारिक हृदय पालेर बसेको रहेछु म! जबकि त्यही पैसाको अभावले करिब सात वर्षदेखि कानको आवाज गुमाएर, फनफनी घुमिरहेको टाउको बोकेर भौँतारिइरहेको छु। कति-कति सपनाहरूलाई आफ्नै हातले तिलाञ्जलि दिनुपरेको छ।
यही पैसाकै अभावमा आफन्त भनिएकाहरूको पन्छाउने नजर भोगिसकेको छु। तर पनि त्यसै पैसालाई ‘जाबो पैसा त हो नि’ भनिदिने मेरो यो सोझो हृदय, म बाँचिरहेको निर्दयी समाजमा म र मेरो परिवारका लागि कति घातक छ, त्यो नबुझेको होइन। तर खै किन हो, मेरो भित्री चेतनाले अझै यही भनिरहन्छ!
मुटुको अपरेसनपछि डाक्टरले ‘दैलेख घर फर्किए हुन्छ’ भनेकै हुन्। तर मैले करिब तीन महिना काठमाडौँमै अड्किने निर्णय गरेँ। कारण ताजा अपरेसन थियो, एक्कासि केही जटिलता आए त्यति टाढाबाट हत्तपत्त काठमाडौँ धाउन सम्भव थिएन। तीन महिना यतै बसेर पूर्ण रूपमा तङ्ग्रिएपछि मात्रै घर जाउँला भनेर बाबालाई घर पठाएँ र म भान्जाको कोठामा बसेँ।
काठमाडौँमा तीन महिना बसिनुको पछाडि मेरो स्वास्थ्य मात्र कारण थिएन, त्योभन्दा ठूलो एउटा सपना थियो। काठमाडौँको गल्लीमा कतै सानोतिनो काम पाउने हो कि? काम पाइहाले छोराछोरीलाई यतै ल्याएर अलिक राम्रो विद्यालयमा पढाउने भित्री तृष्णा थियो। त्यही आशाको भारी बोकेर भर्खरै सिलाइएको मुटु र कमजोर शरीर लिएर काठमाडौँका गल्ली-गल्ली धाउन थालेँ।
हरे दैव! म कति काँचो र सोझो सोच्दो रहेछु! म आफैँ जन्मिएको र हुर्किएको मुलुकको कठोर यथार्थलाई मैले बुझेकै रहेनछु। यदि स्वदेशमै पसिनाको मूल्य र काम पाइने भए दैनिक हजारौँ युवाहरू खाडीको भट्टीमा किन होमिन्थे होला? त्यसमाथि म त भर्खरै मुटुको अपरेसन गरेर उठेको मान्छे, मलाई कसले र कसरी दिन्थ्यो मेरो अवस्था सुहाउँदो काम?
डल बनाउने कम्पनीमा महिनाको ४० हजार कमाउन सकिन्छ भन्ने पर्चा सडकको पेटीमा उभिएकी एउटी दिदीले मेरो हातमा थमाइदिइन्। महिनामा ४०-५० हजारको लोभ देखाउने विज्ञापन बाँड्ने ती दिदीको सुकेको अनुहार र जीर्ण शरीर हेर्दा लाग्थ्यो, उनी आफैँ दिनमा एक छाक मात्रै भात खान्छिन् होला।
'होला' भन्ने मेरो सोझो अनुमान न हो! के थाहा, सहरको बजारिया सुगर-प्रेसरको डरले पो शरीर पातलो बनाएकी हुन् कि? मान्छेको शरीर त प्रकृतिले नै पातलै बनाएको पनि त हुनसक्छ नि, होइन?
तर लुगा नि? अरूलाई लाखौँको रोजगारी बाँड्दै हिँड्ने कम्पनीको मान्छेले अलि सुहाउँदो लुगा त लगाउनुपर्ने होइन र? अझै चित्त बुझेन, कोही म जस्तै गाउँबाट सपनाको पोको बोकेर भर्खरै आएकी दिदी पो हुन् कि? पहिलो महिनाको तलब नै नबुझेकी हुन् कि? मान्छेको बाध्यता बाहिरबाट कहाँ देखिन्छ र!
'हेरौँ न त एक पटक' भनेर पर्चाको नम्बरमा घण्टी बजाएँ। चक्रपथ बोलाइयो। म गएँ र ३,५०० रुपियाँ दाखिला गरेर काममा जोडिएँ। तर महिनाको ४० हजार त के, महिनाभरि खट्दा ४० रुपियाँ पनि नकमाइने ठगीको जालो रहेछ त्यो!
गाउँबाट पसिना बगाउने आश लिएर आएका सोझा मानिसहरूलाई यसरी नै लुट्ने गिरोहहरू काठमाडौँमा छ्यापछ्याप्ती छन्। यिनीहरूलाई कानुनको दायरामा ल्याउन सके ठूलो पुनीत काम हुन्थ्यो होला, तर म जस्तो आर्थिक र शारीरिक रूपमा थकिएको मानिस यो लडाइँ लड्न कसको आडमा जाऊँ?
समय आएछ भने अरू कुनै दिन लडौँला, अहिलेलाई यो झमेला छाडिदिऊँ भन्ने मात्र लागेन, काठमाडौँमा काम पाउनु भनेको मरुभूमिमा पानी भेटिनुसरह रहेछ भन्ने बोध भयो। पाइहाले पनि दिन-रात घोटिनुपर्ने शारीरिक श्रम हुन्थ्यो, जुन मेरो कमजोर मुटुका लागि असम्भव थियो। त्यसैले, स्वास्थ्य ठिक भएपछि अरू कुनै दिन काठमाडौँ फर्कौँला भनेर म दैलेख घर फर्किएँ।
घर फर्किएको केही हप्तामै नियतिले अर्को प्रहार गर्यो। वारफारिन औषधिको असरले मेरो खुट्टाको भित्री भागमा रक्तस्राव भएर रगत बग्न थालेछ। खुट्टा असह्य रूपमा दुख्न थाल्यो।
श्रीमतीले अस्पताल जाऔँ भन्दा घरमा भएको त्यही ८-१० हजार सम्झिएँ। मुटु त दुखेको छैन नि, खुट्टा न हो! अपरेसनपछिको नयाँ शरीर भएर हिँडडुल गर्दा सड्किएको होला, बिस्तारै ठिक हुन्छ भनेर पन्छाएँ। फेरि त्यतिबेला कोरोनाको कडा लकडाउन थियो, भोलि परिवारमा अझै ठूलो विपत्ति आए यो १० हजारले ज्यान जोगाउनुपर्छ भन्ने सोचेर दुखाइ सहेरै बसेँ।
तर दुखाइ साम्य भएन, झन्-झन् उग्र बन्दै गयो। एक दिन त सहनै नसकिने गरी बिछोडको दुखाइ भयो। म चिच्याएँ- मलाई बचाऊ! तर तुरुन्तै उपचारमा लैजान खल्ती रित्तो थियो। घरका सबै रुन थाले। रोदन छिमेकसम्म पुग्यो। म छटपटाइरहेको थिएँ, जसरी नि मलाई अस्पताल लैजाऊ! नजिकै उपचार थिएन, टाढा लैजान सुको पैसा थिएन।
हरे! विकट गाउँमा कर्मले होइन, भाग्यका भरमा बाँचिरहेका जिन्दगीहरू कतिसम्म र कहिलेसम्म यसरी छटपटाउने? त्यतिबेला मैले आफ्नो मृत्यु मात्रै देखिरहेको थिइनँ, एउटी श्रीमतीले श्रीमान्को अन्तिम सास कुरिरहेकी थिइन्, बाआमाले आफ्नै अगाडि छोराको अवसान कुरिरहेका थिए! आज सम्झिँदा पनि छाती चिरिएर आउँछ, कस्तो निष्ठुरी क्षण थियो त्यो!
खबर सल्कँदै कान्छी र माइली दिदीको कानसम्म पुगेछ। उहाँहरू दौडिँदै आउनुभयो। गरिबकी छोरीहरू, उहाँहरूसँग रुने आँसुबाहेक के नै थियो र? तर कान्छी दिदीको घाँटीमा २ आना जतिको सानो तिलहरी रहेछ। उहाँले बिनाहिचकिचाहट त्यो फुकालेर दिनुभयो। त्यही तिलहरीको सहारामा बाबा र म उपचारका लागि निस्कियौँ।
नगरपालिकाको मेडिकलमा पुगेर दुखाइ कम गर्ने सुई लगाइयो, तर अहँ! पीडा बीसको उन्नाइस भएन छट्पटाउनु बाहेक विकल्प थिएन। नगरपालिकाको एम्बुलेन्स मिलाउन २-४ घण्टा कुर्नुपरे पनि धन्न एम्बुलेन्स पाइयो।
यदि त्यो एम्बुलेन्स नपाइएको भए सुर्खेत पुग्न सम्भवै थिएन, किनकि दिदीको २ आनाको तिलहरी नगरकै सुनचाँदी पसलमा बेच्दा जम्मा १० हजारजति भएको थियो। त्यसले प्राइभेट गाडीको भाडासम्म पुग्दैनथ्यो। एम्बुलेन्सले निःशुल्क सुर्खेत पुर्याइदियो।
नेपालगन्ज लैजाने इच्छा थियो, तर गोजीको हैसियत र सुर्खेत क्षेत्रीय अस्पतालको अग्लो भवन देख्दा उपचार राम्रै होला भन्ने भ्रम भयो। तर राम्रो उपचार त परको कुरा, अस्पतालले डिस्चार्ज पनि गरिदिएन। अत्यधिक रक्तस्रावका कारण म एकाएक बेहोस भएछु। म होसविहीन भएको त्यो भयावह समयमा मेरो बाबा, आमा, श्रीमती र बहिनीहरूको छाती कसरी फाट्यो होला? म कल्पनासम्म गर्न सक्दिनँ।
म सदाका लागि अस्ताइनँ, होस फर्कियो। तर कान? आज ७ वर्षपछि यो शब्द कोरिरहँदा पनि ती कानहरूले संसारको कुनै शब्द सुन्न सकेका छैनन्।
खुट्टाको दुखाइ उस्तै थियो। आफैँ डिस्चार्ज मागेर नेपालगन्जको भेरी अस्पताल पुग्यौँ। धन्न! एक महिनाको कठिन उपचारपछि खुट्टा केही लुलो भए पनि दुखाइ कम भयो। कान खोसिए पनि छोराछोरीले बाबु गुमाउनुपरेन, श्रीमतीको सिउँदो पुछिएन, बाआमाको काँध खाली भएन। रिगाटा र डिप्रेसनको भारी बोकेरै भए पनि मैले अधुरै सही, पुनर्जन्म पाएँ।
यसरी मृत्युको मुखबाट खोसेर ल्याएको यो नयाँ जीवन सोकेसमा सजाएर राख्न कहाँ मिल्थ्यो र? च्यातिएको मुटुभित्र पनि धड्कन त बाँकी नै थियो! धुजाधुजा भएको मनभित्र पनि केही सपनाहरू जिउँदै थिए। फनफनी घुम्ने टाउकोभित्र पनि चेतना त थिई नै। लुलो भएकै खुट्टा भए पनि अधुरा यात्राहरू पूरा गर्नुपर्ने दायित्व थियो। मलाई मभित्रको बाबुले शान्तसित बस्न दिएन।
काठमाडौँमा भान्जाको कोठामा छँदा टिभीमा 'भ्वाइस अफ नेपाल' हेर्ने गर्थ्यौँ। एक दिन 'भ्वाइस अफ नेपाल किड्स'को डिजिटल अडिसन खुलेको थाहा पाएँ। मलाई लाग्यो- मेरो सानी छोरीको प्रतिभालाई यो मञ्चसम्म पुर्याउनै पर्छ।
तर रियालिटी शोको यात्रा सहज कहाँ हुन्छ र? त्यसका लागि त सङ्गीतको शास्त्रीय ज्ञान अनिवार्य हुन्छ। यो कुरा श्रीमती 'लोक स्टार'मा भाग लिँदा नै मैले बुझिसकेको थिएँ। तर कसरी? हाम्रो दुर्गम दैलेखमा त सङ्गीत सिकाउने कुनै पाठशाला नै थिएन! अहो! गरिबका सपनाहरू पनि कति ठूला-ठूला पर्खालहरूसँग ठोक्किँदा रहेछन्!
ठिकै छ, मोबाइलकै भरमा साधना गराउँछु भन्ने आँट गरेँ। एउटा सानो बुफर किनेर ६ वर्षकी सानी छोरीलाई बिहान-बिहान एक घण्टा गाउन लगाउन थालेँ र डिजिटल अडिसनका लागि भिडियो पठाइदिएँ। म कान गुमाएर, घुमिरहेको टाउको र लुलो खुट्टा घिसार्दै घर फर्किएको केही हप्तामै जिमेलमा एउटा बधाई सन्देश आयो:
‘कङ्ग्राचुलेसन टेरेसा विश्वकर्मा, यु आर सेलेक्टेड इन भ्वाइस अफ नेपाल किड्स सिजन-१ डिजिटल अडिसन।’
म अशक्त र बहिरो भएकामा चिन्तित परिवारमा यो सन्देशले आशाको नयाँ किरण छरिदियो। सङ्गीतको औपचारिक शिक्षा नभए पनि ५-६ महिनाको मोबाइल साधनाले नै छोरीको स्वरमा अनौठो जादू भरिसकेको थियो, जुन कुरा अरू मानिसहरूको प्रशंसाबाट मैले महसुस गर्थेँ।
अर्को राउन्ड पनि डिजिटल अडिसन नै थियो, त्यो पनि सजिलै पार भयो। ६ वर्षकी सानी छोरीको सफलताले मन हर्षले विभोर भयो, तर काठमाडौँ कसरी पठाउने? चिन्ताको अर्को हिमाल अगाडि उभियो।
अघिल्लो पटक दिदीको तिलहरी बेचेर अस्पताल धाउँदा डेढ-दुई लाख ऋण लागिसकेको थियो। दिदीहरू र केही आफन्तको सहयोगले ज्यान त बचेको थियो, तर अब छोरीलाई गाउन काठमाडौँ पठाउन कसले दिन्थ्यो पैसा? गरिबको इच्छाशक्तिलाई सघाउने सहृदयी हातहरू कहाँ सजिलै भेटिन्छन् र?
तैपनि मसँग मेरो ७० वर्षे वृद्ध बाबा हुनुहुन्थ्यो। उहाँको आडमै मैले यो ठूलो सपना देख्ने हिम्मत गरेको थिएँ।
खै कताबाट हो, बाबाले ३० हजार रुपियाँको जोहो गर्नुभयो। त्यही रकम हातमा थमाएर, काठमाडौँको मुखै नदेखेकी श्रीमती र ६ वर्षकी छोरीलाई गाडीमा बसालेर पठाएँ। एकातिर म बिरामी पतिको चिन्ता, अर्कोतिर अन्जान सहरको भय; उनीहरू रुँदै बिदा भए। मसँग अरू कुनै विकल्प पनि त थिएन!
राति ११ बजे बसले काठमाडौँ बसपार्कमा ओरालेको फोन आयो। उनीहरू सडकमै अलपत्र परे। हाम्रो देशको बसपार्क कति असुरक्षित र अव्यवस्थित छ भन्ने मलाई थाहा थियो। चिन्ताले मेरो छाती फुट्लाजस्तै भयो।
बाबालाई भने आयोजक टिमलाई फोन गर्नुस्। 'भ्वाइस अफ नेपाल'का मानिसहरूले बसपार्कमा चिनेको मान्छेमार्फत ट्याक्सी मिलाएर उनीहरूलाई अफिससम्म पुर्याइदिएछन्। केही समयपछि बाबाले फेरि फोन गरेर सोध्नु भयो, ‘पुग्यौ भ्वाइस अफ नेपालको अफिसमा?’
आवाजमा बेग्लै खुसी थियो- ‘हामी त पुगेर पनि ठूलो बिल्डिङको माथिल्लो तलामा छौँ, बाहिर त बत्तीको झिलिमिली छ...’ म टाढा दैलेखको अध्याँरो कुनामा बसेर आफ्ना प्यारा मान्छेहरूको त्यो खुसी कल्पना गरिरहेको थिएँ।
ब्लाइन्ड अडिसन भयो। छोरीले कोचहरूको चेयर मात्र घुमाइनन्, आफ्नो सुमधुर स्वरले लाखौँ नेपालीको मन जितिन्। केही अभावको पीडा, केही अनौठो खुसीले गर्दा स्टेजमा श्रीमती डाको छोडेर रोएको दृश्य आज भिडियोमा हेर्दा पनि मेरो मन भक्कानिन्छ। भिडियोको कमेन्ट बक्सभरि मानिसहरूले पोखेको मायाले हाम्रो दुःखमा मलम लगाइरहेको थियो।
म यता कानको बहिरोपन र रिगाटासँग लड्दै थिएँ। छोरीको प्रतिभा देखेर देश-विदेशबाट केही सहयोगी हातहरू अगाडि बढे। म पनि कान र मस्तिष्कको परीक्षणका लागि काठमाडौँ आएँ। 'भ्वाइस अफ नेपाल'को होस्टेलमा बसौँला सोचेको थिएँ, तर बच्चासँग एउटा मात्र अभिभावक बस्न पाइने नियम रहेछ। म भक्तपुर दाइको कोठामा बस्न गएँ।
छोरी टप १६ सम्म पुगिन्। तर जब भोटिङको चरण आयो, पैसाको अभावमा भोट पुगेन र उनी बाहिरिनुपर्यो। जब-जब कला र पैसाको तुलना हुन्छ, तब-तब पैसाकै अगाडि असल प्रतिभाहरू हार खान बाध्य हुन्छन्। यो मेरो छोरीको मात्र होइन, यो सिङ्गो देशको विडम्बना हो!
तैपनि छोरीको क्षमता कसैले खोस्न सक्ने थिएन। देश-विदेशका नेपालीहरूले उनलाई चिनिसकेका थिए। यदि मैले सही मार्गदर्शन दिन सकेको भए उसको भविष्य अझै चम्किन सक्थ्यो।
तर कसरी? म आफू कान र टाउकोको गम्भीर समस्याले ग्रस्त थिएँ, कसैसँग भेटेर रणनीतिक योजना बनाउन सक्ने अवस्थामै थिएन।
त्यतिबेला छोरीलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने र मेरो कानको सम्पूर्ण उपचार गरिदिने ठूला-ठूला अफरहरू नआएका होइनन्। आर्थिक अभावले थिचिएको म केही क्षण लोभिएँ पनि! तर मभित्रको बाबुले मान्दै मानेन- त्यो ६ वर्षकी अबोध छोरीलाई अरूको हातमा सुम्पिएर बजारको 'भाइरल मसला' बनाउन! किनकि भाइरल बनाउने नाममा बालबालिकाहरूको कलिलो मस्तिष्कमा कति गहिरो मानसिक चोट पुर्याइन्छ भन्ने मैले निकटबाट बुझेको थिएँ।
उफ्! त्यसपछि त मेरो यो अडान धेरैका लागि बिझाउने काँडा बन्यो। मेरा लागि अघिसम्म देखा परेका सहयोगी हातहरू स्वार्थी हातमा परिणत भए! केही कहलिएका 'भगवान्'हरू एकाएक कंसमा बदलिए! केही प्रिय भनिएका आफन्तहरू दुष्टझैँ व्यवहार गर्न थाले!
हो, समाजको नजरमा म गलत थिएँ होला! किनकि मलाई सहयोग त चाहिएको थियो, तर सौदाबाजी बिनाको निःस्वार्थ सहयोग चाहिएको थियो।
मलाई मद्दतको माया नलागेको होइन, तर मलाई त्योभन्दा बढी आफ्नी छोरीको आत्मसम्मान र मानसिक भविष्यको माया लाग्थ्यो।
म आफू शारीरिक रूपमा आधा मानिस भएर जिए पनि, आफ्ना सन्तानले समाजमा कहिल्यै हीनभावना र अपमान भोग्नु नपरोस् भन्ने मेरो एक मात्र धोको थियो।
ठिकै छ, भत्किएकै शरीरले पचासौँ लाख ऋण बोकेकै भए पनि आज छोरी प्रभात इङ्ग्लिस सेकेन्डरी स्कुलमा छात्रवृत्तिमा निःशुल्क पढिरहेकी छिन्। दुई वटा छोराहरू सरकारी स्कुलमा पढ्दैछन्। ७० वर्षका वृद्ध बुबा र श्रीमतीको दिनरातको अथक पसिनाले परिवारको खान-लाउन धौ-धौ त छँदैछ। केही समयपछि यो सानो उपायले पनि नधान्ने निश्चित छ। त्यसैले जीविकोपार्जनका लागि केही न केही त गर्नैपर्छ। तर यो भत्किएको शरीर लिएर तत्काल म के पो गर्न सक्छु र!
अरू कुनै दिन गरौँला!
अरू कुनै दिन?
हो, अरू कुनै दिन!
अरू कुनै दिन केही गरौँला,
अरू कुनै दिन पेटभरि खाऔँला,
अरू कुनै दिन उन्मुक्त हाँसौँला,
अरू कुनै दिन खुसी भएर रमाऔँला।
अरू कुनै दिन! यही एउटा ओझेल परेको वाक्य त हो, अभाव गरिबीको भुङ्ग्रोमा पिल्सिएका हामीजस्ता मानिसहरू बाँचिरहनुको एकमात्र आधार!
अरू कुनै दिन...।ब