केही वर्ष अघिसम्म नेपालमा फेसबुक अधिकांशका लागि मनोरञ्जन, समाचार, साथीभाइसँग सम्पर्क र आफ्नो विचार व्यक्त गर्ने माध्यम थियो। अहिले त्यही फेसबुक धेरै नेपालीका लागि सम्भावित आम्दानीको स्रोत बनेको छ।
मोबाइलको स्क्रिनमा देखिने केही सेकेन्डको भिडियो हजारौँ मानिससम्म पुग्न सक्छ र त्यसबाट पैसा कमाउने सम्भावना पनि खुला भएको छ। नेपालमा होस् वा विदेशमा, हिजोआज फेसबुक मोनिटाइजेशनको भूत यसरी सवार भएको छ कि जसलाई पनि केवल ‘रिल्स’ बनाउनु छ र पैसा कमाउनु छ।
गाउँका खेतबारीदेखि सहरका चिया पसलसम्म अहिले एउटै प्रश्न सुनिन्छ- ‘भिडियोमा भ्युज कसरी बढाउने?’
आफ्नै सिर्जना र प्रतिभाबाट घरमै बसेर पैसा कमाउन पाउनु एउटा सुनौलो अवसर हो। यसले धेरै युवायुवतीलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ। तर यसको अर्को पाटो भने निकै कुरूप र चिन्ताजनक बन्दै गएको छ।
डलरको लोभमा सामाजिक मर्यादा, व्यक्तिगत गोपनीयता र संवेदनशीलतालाई तिलाञ्जली दिने होडबाजी पनि उत्तिकै चलेको छ। अस्पतालका बेडमा तड्पिएका बिरामी हुन् वा कसैको व्यक्तिगत मामिलामा क्यामेरा सोझ्याइहाल्ने प्रवृत्ति बढेको छ। भ्युजका लागि मानिसहरू जे पनि गर्न तयार देखिन्छन्। भ्रामक शीर्षक, अश्लील सामग्री र मानमर्दन त सामान्यजस्तै भइसकेको छ।
यसको एउटा पछिल्लो उदाहरण रोल्पाका तीन स्कुले बालिकाको वर्षामा विद्यालय जाँदै गरेको सामान्य भिडियो हो। उनीहरू वर्षामा झोला बोकेर हिँडिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो भाइरल भएपछि ती बालिकाको खोजी गर्दै केही कन्टेन्ट क्रिएटर उनीहरूकै घरसम्म पुगे। उनीहरूलाई फेरि क्यामेरासामु हिँड्न लगाएर भिडियो बनाइयो र त्यसैबाट सामाजिक सञ्जालमा थप सामग्री तयार गरियो।
बालबालिकाको सामान्य जीवनको एउटा दृश्य भाइरल हुनु आफैँमा समस्या थिएन। समस्या त्यसपछि सुरु भयो, जब उनीहरूको निजी जीवन र पहिचान नै थप भ्युज र लोकप्रियताको माध्यम बन्न थाल्यो। बालअधिकारकर्मीहरूले समेत यस्तो घटनामा बालबालिकाको गोपनीयता र दीर्घकालीन प्रभावबारे प्रश्न उठाएका छन्।
यस्तै, सामाजिक सञ्जालमा ‘पत्रकार’ वा ‘कन्टेन्ट क्रिएटर’को नाममा सरकारी कर्मचारी तथा सार्वजनिक व्यक्तिलाई क्यामेरा तेर्स्याएर अचानक प्रश्न गर्ने र त्यसलाई भिडियो बनाएर भ्युज बटुल्ने प्रवृत्ति पनि बढ्दो देखिन्छ। अर्कोतर्फ, मानिसको पारिवारिक दुःखसमेत ‘कन्टेन्ट’ बन्न थालेको छ।
काभ्रेका एक वृद्ध दम्पतीबिचको पारिवारिक विवादलाई लिएर विभिन्न युट्युब च्यानल र फेसबुक पेजहरूले लगातार भिडियो तथा अन्तर्वार्ता सार्वजनिक गरे। पारिवारिक समस्या समाधानका लागि सहयोग आवश्यक पर्ने ठाउँमा क्यामेरा र माइक्रोफोन पुग्नुले एउटा गम्भीर प्रश्न उठाउँछ। के कसैको निजी पीडा पनि हाम्रो भ्युज र कमाइको सामग्री बन्न सक्छ?
डिजिटल युगमा प्रविधिको प्रयोग गरेर आम्दानी गर्नु गलत होइन। तर आम्दानीको नाममा सामाजिक अराजकता र विकृति फैलाउनु कदापि स्वीकार्य हुन सक्दैन। पैसा कमाउने धुनमा हामीले आफ्नो विवेक र सामाजिक उत्तरदायित्व गुमायौँ भने के हुन्छ? यस्तो अवस्थामा मोनिटाइजेशन हाम्रा लागि अवसर होइन, ठुलो सामाजिक अभिशाप साबित हुन सक्छ।
अझ डरलाग्दो कुरा त के छ भने, अहिले विषयवस्तुको गुणस्तरभन्दा सनसनीलाई प्राथमिकता दिइन्छ। पारिवारिक झगडा, सडक दुर्घटना र व्यक्तिका निजी जीवनलाई ‘कन्टेन्ट’ बनाएर सस्तो लोकप्रियता कमाउने होड चलेको छ।
पैसाको पछि दौडिएका केही ‘कन्टेन्ट क्रिएटर’हरूले गलत र भ्रामक सूचना फैलाएर समाजमा त्रास र भ्रम सिर्जना गरिरहेका छन्। कोही भने कसैको गरिबी, दुःख वा आँसुलाई भिडियोमा कैद गरी आफ्नै गोजी भर्ने प्रवृत्तिमा लागिपरेका छन्, जसले मानवीय संवेदनालाई नै असर पुर्याएको छ।
सामाजिक सञ्जालले हामीलाई अभिव्यक्तिको अधिकार दिएको छ, तर अरूको गोपनीयता भङ्ग गर्ने अधिकार दिएको छैन। कसैको घरभित्रको समस्या, वैवाहिक विवाद, प्रेमसम्बन्ध, पारिवारिक झगडा वा व्यक्तिगत कमजोरीलाई अनुमति बिना सार्वजनिक गर्नु कुनै उपलब्धि होइन। तर केही क्रिएटरहरूका लागि अहिले मानिसको व्यक्तिगत जीवन नै सामग्री अर्थात् ‘कन्टेन्ट’ बन्न पुगेको छ।
पैसा कमाउनु गलत होइन, तर नैतिकता गुमाएर कमाएको पैसाको कुनै मूल्य हुँदैन। आफूले बनाएको भिडियोले समाजमा के सन्देश दिइरहेको छ र कसैको भावनामा चोट त पुर्याएको छैन भन्ने कुरामा सर्जक स्वयं संवेदनशील हुनुपर्छ। भ्युज र लाइककै कारण यस्ता सामग्रीहरू झन् मौलाउँदै गएका छन्। जबसम्म हामी दर्शकहरूले सनसनीपूर्ण, भ्रामक र कसैको निजी जीवन उदाङ्गो पार्ने भिडियो हेर्न, सेयर गर्न र कमेन्ट गर्न छाड्दैनौँ, तबसम्म यो प्रवृत्ति रोकिँदैन।
त्यसैले यस्ता सामग्रीलाई ‘रिपोर्ट’ र ‘अनफलो’ गर्ने संस्कार बसाल्नुपर्छ। राज्यका नियामक निकायहरूले डिजिटल प्लेटफर्ममा प्रवाह हुने सामग्री, साइबर अपराध र व्यक्तिगत गोपनीयताको हकसम्बन्धी कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ। विकृति फैलाउने र भ्रामक सूचना दिने पेज वा अकाउन्टलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक छ।
सामाजिक सञ्जाल आफैँमा खराब होइन, यसको प्रयोग कसरी गरिन्छ भन्ने कुराले यसको दिशा तय गर्छ। फेसबुक मोनिटाइजेशन नेपाली युवायुवतीका लागि प्रतिभा प्रस्फुटन गर्ने र आर्थिक रूपमा सबल बन्ने एउटा ठुलो मञ्च बन्न सक्छ। गाउँमा बसेर सिर्जना गरेका सामग्री संसारभर पुर्याउने, आफ्नो प्रतिभा देखाउने र आफ्नै मेहनतबाट आम्दानी गर्ने अवसर यसले दिएको छ। तर यसलाई अराजकताको कारखाना बन्न दिने कि सिर्जनाको चौतारी बनाउने भन्ने निर्णय हाम्रै हातमा छ।
पैसाको लोभले हाम्रा सामाजिक मूल्य, मान्यता र मानवीय संवेदनालाई आघात नपुर्याओस्। मोनिटाइजेशनको यो यात्रामा पैसाभन्दा माथि उठेर विवेक र सामाजिक उत्तरदायित्वलाई राख्न सक्यौँ भने मात्र प्रविधिको यो युग हाम्रा लागि फलदायी हुनेछ। अन्यथा, हामी आफ्नै हातले सामाजिक सद्भावको विनाश गरिरहेका हुनेछौँ।
अन्ततः प्रश्न फेसबुकले हामीलाई कति पैसा दिन्छ भन्ने होइन। प्रश्न यो हो, पैसा कमाउने क्रममा हामीले आफ्नो समाजलाई कति मूल्यमा बेचिरहेका छौँ?
सायद आजको सबैभन्दा गम्भीर प्रश्न यही हो।
‘हामी फेसबुकलाई मोनिटाइज गर्दै छौँ कि फेसबुकले हाम्रो समाजलाई मोनिटाइज गर्दै छ?’