सहिद परिवार
भदौ २४ गते दिउँसो १ बजेसम्म ४९ वर्षीय निरज पन्त घरमै थिए।
काठमाडौंको टोखा नगरपालिका–७ ग्राण्डीचोकमा बस्ने उनी बुढानिलकण्ठ नगरपालिका–१ हात्तिगौंडामा पतञ्जलीका सामानको डिलर पसल चलाउँथे।
काम छ भनेर उनी दिउँसो सवा एक बजेतिर पसल जान निस्किए।
निस्केको डेढ/दुई घन्टासम्म पनि श्रीमती कमला अवस्थीलाई जानकारी गराएनन्। किनभने पसल पुगेपछि प्रायः उनी जानकारी गराउँथे।
बाटोतिर केही काम परेर अलमलिएको हो कि भन्ने सोचेर कमलाले एक/डेढ घन्टा पर्खिइन्।
निरजको फोन आएन। धेरैबेरपछि कमलाले आफै गरिन्। लागेन। कतै व्यस्त भएर नलागेको हो कि भन्ने सोचिन्।
'एकछिन कतै व्यस्त हुनुभयो होला भन्ने सोचेर एक–डेढ घन्टाको फरकमा फेरि फोन गरेँ,' कमलाले भनिन्, 'दोस्रो पटक फोन गर्दा पनि लागेन।'
कमलाले बेला बेला फोन गरिरहिन्। लाग्दै लागेन।
निरज जहाँ पुगे पनि राति ८ बजेसम्म घर फर्किन्थे। त्यस दिन दिउँसो ९ बजेसम्म पनि फर्किएनन्। ढिलासम्म घर नआएपछि उनको खोजी सुरू भयो।
'त्यो दिन जताततै आन्दोलन र आगलागी भइरहेको थियो, हामीलाई पनि केही भइहाल्यो कि भन्ने डर भयो,' उनले भनिन्, 'कहिल्यै आन्दोलनमा नहिँड्ने भएकाले कुनै काममा व्यस्त हुनुभएको होला भनेर मन बुझाइरहेका थियौं।'
कमला यति भनेर भक्कानिइन्, बोल्न सकिनन्।
निरजका बुबा कृतिवल्लभले भने, 'सधैं समयमा आउने छोरा ढिलासम्म नआएपछि पिर पर्यो। आसपासका मानिससँग फोनबाटै सोधपुछ गर्यौं। छोराको नम्बरमा बारम्बार फोन गरिरह्यौं। तर लाग्दै लागेन। रातिदेखि नै खोज्न थाल्यौं।'
कृतिवल्लभका अनुसार भदौ २५ गते बिहानसम्म पनि निरज कतै फेला परेनन्।
खोजीकै क्रममा उनीहरूले थाहा पाए — निरजले आफ्नो मोटरसाइकल चक्रपथमा साथीकोमा राखेका छन्।
परिवारलाई अनुमान भयो, उनी प्रदर्शनमा गए कि!
बुझ्दै जाँदा प्रहरी वृत्त महाराजगञ्जमा प्रहरीसँगै केही प्रदर्शनकारी पनि गोली लागेर घाइते भएको जानकारी आएको कृतिवल्लभले बताए।
'प्रहरी वृत्त महाराजगञ्जमा गोली लागेकालाई त्यहीँ अगाडिको मेट्रो अस्पतालमा लगिएको जानकारी आयो। त्यसपछि हामी त्यहाँ पुग्यौं,' उनले भने, 'अस्पतालले ३/४ जना गोली लागेर ल्याइएको थियो, उनीहरूको मृत्यु भएकाले टिचिङ अस्पताल पठाएका छौं भन्यो।'
त्यसपछि निरजलाई खोज्न उनका परिवार टिचिङ अस्पताल पुग्यो। उनीहरूले चिनेका एक चिकित्सकलाई छोरा खोजिदिन आग्रह गरे।
खोज्दै जाँदा साढे ५ बजेतिर शवगृहमा निरज भेटिए।
'सुरूमा हामीले पत्याउनै सकेनौं। तर सत्य त्यही थियो,' उनले भने।
चिकित्सकसँग सोधपुछ गर्दा निरजको २४ गते नै मृत्यु भएर टिचिङ ल्याइएको थाहा भयो। त्यसपछि परिवारले छोरालाई कहाँ, कसरी गोली लागेको भनेर बुझ्न प्रयास गर्यो।
साथीहरूले कृतिवल्लभलाई बताए अनुसार निरज पसल जाँदै गर्दा चक्रपथमा प्रदर्शनकारीहरूको भिड थियो। त्यसैले साथीकहाँ मोटरसाइकल राखेर आन्दोलन हेर्न गएका थिए।
'प्रहरी वृत्त अगाडि प्रदर्शन हेर्न जाँदा भदौ २४ गते २ बजे नै गोली लागेको रहेछ। त्यति बेला थाहै भएन,' उनले भने, 'पसल जान्छु भनेर हिँडेको थियो, गोली लागेर मृत्यु भएको भोलिपल्ट थाहा भयो।'
उनले थपे, 'यहीँ नजिकै घटना हुँदा पनि थाहा पाउन २४ घन्टा लाग्यो। छाती र पेटमा दुई वटा गोली लागेको रहेछ।'
निरजको मृत्यु भएको केही दिनपछि उनीहरूले पशुपतिमा लगेर अन्त्येष्टि गरे।
७७ वर्षीय कृतिवल्लभ र ७३ वर्षीया सीतादेवीका दुई छोरा र दुई छोरीमध्ये निरज दोस्रो सन्तान हुन्।
बैतडी दशरथचन्द–६ मा जन्मिएका निरज महेन्द्रनगरमा हुर्के–बढे। पुर्ख्यौली घर बैतडी भए पनि तीन/चार दशकअघि नै बसाइ सरेर महेन्द्रनगर आएका थिए।
निरज केही समय भारतमा पनि पढे। पछि साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक गरे। निरज योग र आयुर्वेदका जानकार रहेको कृतिवल्लभ बताउँछन्।
करिब १२/१३ वर्षअघिदेखि उनी आयुर्वेदिक व्यवसाय चलाउँदै आएका थिए। उनका दिदी र भाइ विदेशमा छन्। उनलाई भने स्वदेशमै बसेर केही गर्ने रहर थियो।
दुई सन्तानका बुबा निरजका छोरा विदेशमा छन् भने छोरी यहीँ पढिरहेकी छन्।
'छोराछोरीसँगै व्यवसाय पनि हुर्काएको थियो। देशको चिन्ता पनि छोरामा देखिन्थ्यो,' बुबा कृतिवल्लभले भने।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारको मागबारे सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
***