‘किन घुम्नु, किन डुल्नु, किन हिँड्नु, किन जानु? नगए हुन्न र! जानै पर्ने के छ?’
प्रश्नैमाथि प्रश्नका बिच सुरु भएको यात्रा अन्त्यसम्म पनि विभिन्न प्रश्नहरू उब्जिरहे। मैले मनास्लु पदयात्रामा जाने एकल निर्णय गरेँ। पदयात्राको सिजन भएकाले जानको लागि कोही व्यक्ति इच्छुक हुनुहुन्छ भनी सामाजिक संजालमा पोस्ट गरेँ र त्यसको लागि आवश्यक सामाग्री सहितको आइटिनेररी पनि थपिदिएँ। जसमा विभिन्न प्रतिक्रियाहरू प्राप्त भए जुन पढ्दा रमाइला किसिमका थिए। तीमध्ये केही यस्ता थिए; जान त जाने तर फ्री (पैसा नलाग्ने) भए, त्यति धेरै दिन हिँडेर कि बाइकमा? कति धेरै सामान आवश्यक...
एउटा प्रतिक्रिया चाहिँ अलि फरक थियो, साँच्चै नै जानेजस्तो गरी आएको थियो।
म सोलो (एकल) भए पनि जाने निर्णयमा पुगिसकेको थिएँ। सोलो ट्रेक जान सकिन्छ कि सकिँदैन भनेर ट्रेकिङ गाइडहरूलाई सोधेर सक्छु भन्ने आधारमा म विश्वस्त थिएँ। तर फेसबुकमा आएको एउटा प्रतिक्रियासँगै जानको लागि कन्फर्म गर्न फेरि फोन आएकोले उहाँहरूकै ग्रुपसँग ४ जना जाने निर्णय गर्यौँ। जाने निश्चित भयो तर मलाई केही दिन अगाडिदेखि लागेको सामान्य रुघाखोकी र बाइक एक्सिडेन्टमा परेको देब्रे खुट्टाको चोटको कारण हिँड्न सक्छु कि सक्दिनँ भन्ने थियो।
हामीले १२ दिनको मनास्लु सर्किट पदयात्राको आइटिनरी तयार पार्यौं। आवश्यक सरसामान जुटाउनतर्फ लाग्यौँ। हाम्रो पदयात्रा अप्रिल ७ देखि अप्रिल १८ सम्म हुने निश्चित भयो। त्यसको लागि अघिल्लो दिन नै हामीले काठमाडौँ नयाँबसपार्क गएर माछाखोला गोरखासम्मको लागि बसमा टिकट लियौँ।
यो वर्ष वस्न्त ऋतुमा धेरै वर्षा र हिमपात भएकोले हामीले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र हिँड्न सुरु गर्नुपर्ने थियो। धेरै दिनको पदयात्रा भएकोले यात्रा गर्ने सुरुका दिनहरूमा पानी पर्ने सम्भावना धेरै थियो भने त्यो समयमा उच्च हिमाली क्षेत्रहरू र पास गर्नुपर्ने ठाउँमा हिमपातको सम्भावना उच्च थियो। यदि पानी र हिउँ लगातार परिरहे मनास्लु सर्किट ट्रेक पूरा गर्न सम्भव थिएन। हामीले सोही अनुसार तयारी गर्यौँ। पदयात्राका क्रममा सकेसम्म अति आवश्यक सामान मात्र लिएर जान उपयुक्त हुन्छ। हाई अल्टिच्युडको कारणले केही नबोके पनि हिँड्न गाह्रो हुन्छ। तर मैले गरेका पदयात्रामा मेरो ब्यागप्याक कहिल्यै हलुका भएन।
पहिलो दिनको यात्रा बसमा काठमाडौँदेखि माछिखोला गोर्खासम्म थियो। मलेखु, धादिङबेसी, आरुघाट बजार हुँदै अथवा मुग्लिन, गोर्खा बजार, आरुघाट बजार हुँदै यात्रा गर्न सकिन्छ। धादिङबेसी हुँदै छोटो बाटो भए पनि पब्लिक बस गोर्खा बजार हुँदै जाने भएकोले हामी सोही बाटोबाट गन्तव्यमा पुग्यौँ। आरुघाटसम्म पिच बाटो भएकोले यात्रा सहज नै थियो। पहिले-पहिले आरुघाटभन्दा माथि रोडको सुविधा नहुँदा पदयात्रीहरू त्यहीँबाट आफ्नो पदयात्रा सुरु गर्दा रहेछन्। अहिले भने कच्ची सडक सञ्जालले एक-दुई दिनको बाटो छोटाएको रहेछ। आरुघाट देखिनै बुढीगण्डकी नदीको किनारै-किनार गरिने बसको यात्रा र त्यसपछिको हप्तादिन साम्दोसम्म नै पदयात्राको क्रममा कहिले वारि त कहिले पारि हुँदै बुढीगण्डकीलाई पछ्याई रहन्छौँ। सोतीखोला हुँदै माछाखोला सम्मको करिब १६० किलोमिटरको बसको यात्राबाट हाम्रो पहिलो दिनको यात्रा पूरा हुन्छ।
दोस्रो दिनबाट हाम्रो पदयात्रा सुरु हुन्छ। जगतसम्म रोड पुगेकोले हामी रोडको बाटो भएर पदयात्रा गर्छौँ। निजी सवारीसाधनमा आउनेहरू भने जगतसम्म नै आफ्नो सवारीसाधनमा जान सक्छन्। तर हामी जाने समयमा भने दोभान नजिकै पहिरो गएको कारण त्यो सम्भव थिएन। सुन्दर प्रकृतिको अनुभूति गर्दै हामी अगाडि बढ्छौँ। माछाखोलाबाट पदयात्राको क्रममा करिब दुई घण्टामा तातोपानी भन्ने ठाउँमा पुगिन्छ। जहाँ प्राकृतिक तातोपानीको कुण्ड, धारा छ। त्यहाँको तातोपानीले नुहायो भने शरीरको छाला रोग हट्नुको साथै स्वास्थ्य लाभ हुन्छ भन्ने जनविश्वास छ। पदयात्रा गर्ने सिजन भएकोले बाटोभरि नै बाह्य देशका पर्यटकको साथसाथै गाइड, पोर्टरहरूको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो। यारुबगरमा रहेको क्यान्टिलिभर पुलले हाम्रो यात्रालाई थप रोमाञ्चित तुल्यायो जहाँ पहरा खोपेर स्टिल पुल निर्माण गरिएको छ।
अर्को दिन चुमनुब्री गाउँपालिकाको केन्द्र रहेको ठाउँ सिर्दिबास भएर जान्छौँ। बाटोमा पर्ने फिलीम गाउँ त्यहाँको ठुलो बस्ती भएको ठाउँ हो। जहाँ टुरिस्ट चेक प्वाइन्ट, होटेल, विद्यालय आदि रहेको छ। मनास्लु सर्किट ट्रेकको रुटमा पर्ने यो ठाउँको पारिपट्टि (बुढीगण्डकीको अर्को साइड) नेपाली सेनाको सहयोगमा सडक निर्माण कार्य भइरहेको रहेछ। ठुला-ठुला चट्टानहरूबाट बनेको अप्ठ्यारो पहरोमा ब्लास्टिङ गर्दै सडक निर्माण कार्य हुँदै गरेको देखिन्थ्यो। सो सडक देङसम्म पुर्याउने लक्ष्यसाथ बनाउन लागिएको रहेछ। यदि देङसम्म सडक सञ्जालले जोड्ने हो भने पदयात्रीलाई ट्रेकिङ रुट दुई/तीन दिन छोटिन्थ्यो। जसले गर्दा छोटो समयमा ट्रेकिङ गर्न आउने पर्यटक पनि बढ्न सक्छन्। चुमनुब्री गाउँपालिकाको दुई वटा भ्यालीहरू चुम भ्याली र नुम भ्याली न्याक फेदी नजिकबाट छुटिन्छ। चुम भ्यालीको लागि दायाँतर्फ स्यारखोलाको किनारबाट लोक्फा हुँदै जान सकिन्छ। हामी भने मनास्लु सर्किटको बाटो बुढीगण्डकीको किनार हुँदै नुब्री भ्यालीतर्फ बायाँतिर लाग्छौँ। त्यो दिनको हाम्रो यात्रा देङसम्म हुन्छ।
त्यसपछिको यात्रा देङदेखि नाम्रुङसम्मको थियो। देङबाट सेराङ गुम्बा घुम्न जान पनि सकिन्छ। त्यसको लागि थप एक दिन आवश्यक हुन्छ। धेरै वटा झोलुङ्गे पुलहरू पार गर्दै हामी अगाडि बढ्छौँ। यो पदमार्गलाई झोलुङ्गे पुलको पदमार्ग भन्दा फरक पर्दैन। पदयात्राको सुरुको दिनदेखि अन्त्यसम्म पनि पुलहरू देख्न सकिन्छ। जसले यात्रालाई छोटो र सहज बनाइदिएको छ। तीन/चार दिनसम्मको यात्रा लो अल्टिच्युडमा हुने गर्दछ। पाँचौँ दिनमा हामी नाम्रुङ, ल्हि हुँदै ल्होसम्म पुग्छौँ। त्यसपछि मात्र हिमाली क्षेत्रतिर ट्रेक आएको अनुभूति गर्न सकिन्छ। ल्हिबाट देखिने ल्हो गाउँ र पृष्ठभूमिमा भएको हिमाल देख्दा मन प्रफुल्लित हुन्छ।
ट्रेकको पाँचौँ दिनसम्म ब्यागमा थन्किएको मेरो क्यामेरा निकालेर मैले यो ट्रेकमा पहिलो पटक हिमालको फोटो ल्हि गाउँबाट खिँचे। ल्हो गाउँमा हाम्रो आइटिनरी अनुसार एक दिनको बास भए पनि हामी त्यहाँ नबसी मौसम प्रतिकुल हुन्छ भन्ने डरले स्याला बस्न गयौँ। ल्हो गाउँ मनास्लु हिमाल अवलोकनको लागि सबैभन्दा उपयुक्त ठाउँ हो। घाम उदाउँदा मनास्लु हिमालमा पर्ने पहेँलो लाइट हेर्नको मज्जा लिन पनि पर्यटकहरू यहाँ बस्ने गर्दछन्। मनास्लु सर्किट ट्रेकको फोटो भिडियोमा देखिने र खिचिने सबैभन्दा बढी मनास्लु हिमालको फोटो यहीँबाट लिने गर्दछन्। म ल्होमा बास नबसेको कारण उदाउँदो घामको फोटो खिच्न नपाएकोमा पछुतो लाग्यो। ल्हो गाउँमा बौद्ध धर्मावलम्बीहरूको बसोबास रहेको छ। जहाँ बौद्ध धर्मसँग सम्बन्धित धार्मिक/सांस्कृतिक परम्पराको अभ्यास प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। ल्हो मा रहेको रिवुङ (ल्हो ) मोनास्ट्री, छोर्तेन, स्तुपाहरू त्यहाँका आकर्षणका केन्द्र हुन्।
हामीभन्दा दुई/चार दिन अगाडि लार्के पास गर्न गएका पदयात्रीहरू हामीले बाटोमा आउने क्रममा फर्किएको भेट्यौँ। दुई दिन अगाडिसम्म हिउँ परेको थियो। स्यालामा हिउँ पग्लेको थिएन। मौसम असामान्य थियो। पास गर्न सम्भव थिएन। स्यालामा गुम्बा, मनिवाल, स्तुपा भ्रमण गर्न सकिन्छ। यहाँबाट पनि मनास्लु हिमाल नजिकबाट हेर्न सकिन्थ्यो। बिहान पाँच बजे उठेर हिमाल हेर्नको लागि क्यामेरासहित एक घण्टा पर्खिएँ। तर कुहिरो (बादल) ले हिमाललाई ढाकिदियो। मेरो मनास्लु हिमालमा घाम उदाएको भएको फोटो खिच्ने रहर समाप्त भयो। त्यसपछि हामी सामागाउँतर्फ अगाडि बढ्यौँ। सामागाउँ स्यालाबाट करिब दुई/तिन घण्टाको यात्रा गरेर पुग्न सकिन्छ। पर्यटकहरू करिब ४००० मिटर माथि अवस्थित पुङ्गेन गोम्पा घुमेर पनि सामागाउँ आउने गर्दछन्। हामी भने गह्रौँ ब्यागप्याकको कारण सिधै सामागाउँ गयौँ।
सागागाउँ ठुलो भ्यालीमा अवस्थित छ। चारैतिर हिमाल नै हिमालले घेरिएको गाउँ यो पदमार्गकै सबैभन्दा प्रख्यात ठाउँ हो। पर्यटकहरू एक्लीमेटाइजेसनको लागि थप एक दिन बस्ने गर्दछन्। यस ठाउँ नजिक रहेको मनास्लु बेस क्याम्पको फेदीमा अवस्थित सुन्दर वीरेन्द्र लेकले यहाँको सौन्दर्य झन् बढाएको छ। यस ठाउँबाट नै मनास्लु बेस क्याम्प र मनास्लु सर्किट ट्रेक जाने बाटो छुटिन्छ। करिब ६/७ घण्टा हिँडेर ४८०० मिटरमा अवस्थित बेस क्याम्प पुग्न सकिन्छ।
पदयात्रा कि सुरुका दिनहरूमा गाह्रो हुन्छ कि त अन्तिम पास गर्ने ठाउँमा। हाम्रो सामागाउँदेखि साम्दोसम्मको यात्रा ४/५ घण्टाको भए पनि धेरै उकालो बाटो नभएको कारण सहज भयो। थोरै संख्यामा तर धेरै पर्यटक अटाउन सक्ने क्षमता भएका होटेलहरू यहाँ रहेछन्। नेपाल टेलिकमको टावर भएको कारण फोन र इन्टरनेट प्रयोग गर्ने सुविधा थियो। साम्दो नजिकै रहेको लार्के बजारबाट एकदिनको बाटो पार गरी तिब्बेतियन बोर्डर पुग्न सकिन्छ। हामी भने यो पदयात्राको मुख्य गन्तव्य लार्के ला/पास ५१०६ मिटर पार गर्न लार्के फेदी (धर्मशाला) गयौँ।
धर्मशाला धर्म गर्न नै बनाएको रहेछ। जम्मा २ वटा होटेल, पर्यटकहरू भने खचाखच। पदयात्राको सिजन भएर होला पर्यटक, गाइड, पोर्टरहरू सबै गरेर डेढ/दुई सय मानिस त्यहाँ देखिन्थे। एउटै रुममा धेरै जना सुत्नुपर्ने अनिवार्य जस्तै थियो। होटेलले टेन्टको पनि व्यवस्थापन गरेको रहेछ। म चाहिँ टेन्टमा नसुती डाइनिङहलमा सुतेँ। बिहानै ३ बजेदेखि नै पर्यटकहरू आफ्नो ब्यागप्याक मिलाउन व्यस्त थिए। साँढे तीन बजेदेखि ब्रेकफास्ट खान सकिने अघिल्लो दिन नै नोटिस गरिएको थियो। पदयात्रीहरू हेडल्याम्पको सहारामा लार्के पास गर्न ४ बजे नै हिँड्न सुरु गर्दा रहेछन्। हामी भने साँढे चार बजे हिँड्यौँ। बाटो ठाडो उकालो पनि रहेनछ तर पास भेट्न भने हामीलाई ४/५ घण्टा नै लाग्यो। नेपालको पासहरूमध्ये लङ्गेस्ट पासको रूपमा यो परिचित छ। जसको कारण गाह्रो पनि छ।
बाटोमा अघिल्ला दिनहरूमा कहिल्यै नभेटेका ग्रुपहरू पनि भेटिए। २०/३० वटा ग्रुपमध्ये दुई वटा ग्रुप नेपाली ट्रेकर्सहरूको थियो। अधिकांश पदयात्री विदेशी थिए। ती ग्रुपहरूमा नेतृत्व गर्ने महिला गाइड ४ जना भेटेँ। पछिल्लो समयमा धेरै महिला गाइडहरू ट्रेकिङ गाइडको रूपमा आबद्ध हुनु हामी सबैको लागि गौरवको विषय हो। ट्रेकिङ गाइड हाई अल्टिचुडमा गरिने हुनाले चुनौतीपूर्ण हुने गर्दछ। पाससम्म जान सहज थिएन र हुँदैन पनि। हिमाल चढ्ने आरोही हिमालको टुप्पोमा समिट गर्दा जति खुसी हुन्छ, पदयात्री पास गर्दा त्यति नै खुसी हुन्छ। लार्के पासमा सबैजना खुसी साटासाट गर्दै सेलिब्रेसन गरी फोटो खिच्नमा व्यस्त देखिन्थे।
पास गरेपछिको बाटो कति खतरा छ जुन शब्दबाट व्यक्त गरेर थाहा हुँदैन। पास गरेपछि हामी गोर्खाबाट मनाङ जिल्ला पुग्छौँ। हिउँ नै हिउँले ढाकिएको ओरालो बाटो क्राम्पन बिना हिँड्न असम्भव जस्तै नै छ। क्राम्पन लगाए पनि एक बल्ड्याङ त म पनि लडेँ। यति ओरालो छ कि त्यहाँ खुट्टा अडिने चान्स पनि छैन। पर्यटकहरू चिप्लँदै, रमाउँदै करिब दुई घण्टामा हाई क्याम्पमा पुग्छन्। यसको नजिकै पोन्कर लेक रहेको छ। पास गरेको दिनको लन्च हाइक्याम्पमा खाएर हामी भिमथाङमा बास बस्नको लागि ओरालो लाग्छौँ। वरिपरि हिमाल नै हिमाल मनास्लुको पछाडिपट्टि होटेलहरू मात्र रहेको सुन्दर गाउँ भिमथाङ हो।
यसको नजिकै रहेको दुधखोला पछ्याउँदै हाम्रो पदयात्राको अन्तिम दिन सुरु हुन्छ। पास गरेपछिको यात्रा त्यति महत्त्वपूर्ण हुँदैन तर यस पदयात्रामा त्यसपछिका ठाउँहरू झनै सुन्दर भएको हुनाले यात्रा झनै रमाइलो हुने गर्दछ। सुर्की खोलामा लन्च खाएर अघि बढेपछि पुग्ने ठाउँ गोआ मलाई यो ट्रेकमा सबैभन्दा मन परेको ठाउँ हो। नर्वे जस्तो लाग्ने यो गाउँ पहाडहरूका बिच अवस्थित छ। तिल्जे हुँदै धारापानी पुगेर हाम्रो पदयात्रा सकिन्छ। अन्नपूर्ण पदयात्रामा पर्ने यो ठाउँमा सडक सुविधा उपलब्ध छ। हामी त्यहीँ बसेर भोलिपल्ट काठमाडौँको गाडी चढी फर्कन्छौँ।
-1779617145.jpg)
-1779617145.jpg)
-1779617143.jpg)
-1779617143.jpg)
-1779617142.jpg)
-1779617142.jpg)
-1779617142.jpg)
-1779617141.jpg)
-1779617141.jpg)
-1779617140.jpg)
-1779617140.jpg)
-1779617140.jpg)