(विश्वका धेरै पर्यटन गन्तव्यमा दुर्लभ मानिने यस्तो बहुआयामिक अनुभव गण्डकीको सबैभन्दा ठूलो शक्ति हो)
मुक्तिनाथको उकालो चढ्दै गरेका भारतीय तीर्थयात्री, अन्नपूर्ण पदमार्गमा ट्रेकिङ ब्याग बोकेर हिँडिरहेका युरोपेली पदयात्री र फेवातालको किनारमा सूर्यास्तको तस्बिर खिचिरहेका स्वदेशी पर्यटक।
यी दृश्यहरू भौगोलिक रूपमा सयौँ किलोमिटर टाढा देखिए पनि एउटै कथाले बाँधेको छ। नेपालको पर्यटनको केन्द्रमा रहेको गण्डकी प्रदेशको कथा। नेपालको पर्यटनबारे चर्चा हुँदा एउटा रोचक तथ्य देखिन्छ। पर्यटकहरू नेपालमा विभिन्न कारणले आउँछन्। कोही हिमालको दृश्यावलोकनका लागि, कोही आस्थाका लागि, कोही संस्कृतिसँग रमाउन र कोही साहसिक अनुभव संगाल्न। यसरी आउने अधिकांश बाटाहरू अन्ततः गण्डकीतर्फ मोडिन्छन् जसले गण्डकी प्रदेश नेपालको पर्यटन अर्थतन्त्रको सबैभन्दा सक्रिय भूगोल बनेको छ।
वि.सं २०८० चैत ४ गते गण्डकी प्रदेशलाई नेपालको पहिलो ‘पर्यटन राजधानी’ घोषणा गरियो। यो घोषणा कुनै आकस्मिक राजनीतिक निर्णय थिएन। दशकौंदेखि निर्माण हुँदै आएको पर्यटन पहिचानको औपचारिक स्वीकारोक्ति थियो। हिमाल, ताल, तीर्थस्थल, संस्कृति, साहसिक खेल र ग्रामीण जीवनशैलीको दुर्लभ संयोजनले गण्डकीलाई लामो समयदेखि नेपालको पर्यटनको केन्द्रमा राख्दै आएको थियो। तर पर्यटन राजधानी घोषणा भएको केही वर्षपछि एउटा महत्वपूर्ण प्रश्न अझै जीवित छ। के यो उपाधि ‘ब्रान्डिङ’ मात्रैको सफलता हो? विश्वस्तरीय गन्तव्य बन्न अझै के कस्ता संरचनागत चुनौती पार गर्न बाँकी छन् भन्ने बारेमा जिम्मेवारी निकायको ध्यान जान जरूरी छ।
-1783147280.jpg)
विडम्बना के छ भने, नेपालको पर्यटन अर्थतन्त्रको केन्द्र मानिने गण्डकीको वास्तविक आर्थिक योगदान सम्बन्धी धेरै विवरण अझै अनुमान र प्रक्षेपणमै भर पर्नुपर्ने बाध्यता छ। यही तथ्यांकीय कमजोरी स्वयं पर्यटन व्यवस्थापनको एउटा महत्वपूर्ण चुनौती बनेको छ। राज्यको अरबौं लगानी भएको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्नु र गन्तव्यहरूको पर्याप्त प्रचारप्रसारको अभाव अर्को चुनौती बनेको छ।
नेपालको पर्यटनको केन्द्रका रूपमा गण्डकीको चर्चा भइरहँदा राष्ट्रिय तथ्यांकले पनि पर्यटन क्षेत्रको बढ्दो महत्व देखाउँछ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१६ देखि २०२५ सम्मको दशकमा ८३ लाख ८४ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यस अवधिमा वार्षिक औसत पर्यटक आगमन करिब ८ लाख ३८ हजार पुगेको छ। सन् २०२५ मा विदेशी पर्यटकबाट प्राप्त कुल पर्यटन आय ८७ अर्ब ३७ करोड १६ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.७७ प्रतिशत बढी हो। तीमध्ये कति पर्यटक गण्डकी प्रदेशसम्म पुग्छन्, भन्ने यकिन प्रदेशगत तथ्यांक उपलब्ध छैन। तर, पर्यटन क्षेत्रका सरोकारवालाका अनुसार नेपाल भ्रमण गर्ने कुल विदेशी पर्यटकमध्ये ठूलो हिस्सा—कतिपयको अनुमानमा ७० देखि ८० प्रतिशतसम्म—कुनै न कुनै रूपमा पोखरा, अन्नपूर्ण, मुस्ताङ, मनास्लु वा मुक्तिनाथ क्षेत्रसँग जोडिने गरेका छन्।
गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार प्रदेशको कुल गार्हस्थ उत्पादन ५.८३ खर्ब रहेको छ भने आर्थिक वृद्धिदर ४.८३ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा १६३६ डलर रहेको प्रदेशको प्रतिव्यक्ति आय आ.व. २०८२/८३ मा १६५१ डलर पुगेको तथ्यांकले देखाउँछ।
नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय, अनुसन्धान एकाईले २०८१ मा गरेको एक अनुसन्धानका अनुसार गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको यस प्रदेशमा औसत बसाइँ अवधि १२ दिन र पर्यटकहरूको भारतीय औसत दैनिक खर्च ८ हजार ३ सय ५५.२९ रुपैयाँ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ।
प्रकृतिले कोरेको पर्यटनको खाका
नेपालका अधिकांश पर्यटकीय प्रतीकहरू एउटै प्रदेशमा भेटिनु संयोग होइन। अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमशृंखला, फेवाताल, बेगनास, रूपा, कालीगण्डकीको गहिरो उपत्यका, मुस्ताङको मरूभूमिजस्तो भूगोल, मनाङका उच्च हिमाली बस्ती। म्याग्दीको रूप्से झरना, बागलुङको ढोरपाटन क्षेत्र, नवलपुरको वनजंगल, लमजुङको दूधपोखरी तथा तनहुँको सिद्धगुफा। त्यसैले त गण्डकी पुग्ने पर्यटकले दृश्यावलोकन मात्रै होइन अनुभवहरूको शृंखला बटुल्छन्। पोखरा यी सबै पर्यटन गतिविधिको प्रवेशद्वार बनेको छ। फेवातालमा प्रतिबिम्बित माछापुच्छ्रे हिमालको दृश्य, सराङकोटबाट देखिने सूर्योदय, सेती नदीको गहिरो गल्छी, विश्वशान्ति स्तूप र पोखराको हरियालीले देशभित्र र बाहिरका पर्यटकलाई समान रूपमा आकर्षित गर्दै आएको छ।
पर्यटक बिहान तालको किनारमा हुन सक्छन्। दिउँसो हिमाली पदमार्गतर्फ उकालो लाग्न सक्छन्। अनि साँझ सांस्कृतिक गाउँमा स्थानीय परिवारसँग बस्न सक्छन्। सराङकोटबाट चराजस्तै आकाशमा उड्ने प्याराग्लाइडिङ होस् वा बन्जी जम्प, फेवाताल माथिको कायाकिङ होस् वा अल्ट्रालाइट उडान। यिनै गतिविधिका कारण पोखरा साहसिक खेलको एउटा जीवन्त खेलमैदान हो। विश्वका धेरै पर्यटन गन्तव्यमा दुर्लभ मानिने यस्तो बहुआयामिक अनुभव गण्डकीको सबभन्दा ठूलो शक्ति हो। तर प्राकृतिक सौन्दर्य आफैमा पर्याप्त हुँदैन। गण्डकीको कथा प्रकृतिको उपहारको कथा मात्र नभई अवसरलाई उपयोग गर्ने प्रयासको कथा पनि हो।
-1783147279.jpg)
पोखराका पर्यटन व्यवसायी एवं प्रसिद्धी ट्राभल्सका सञ्चालक युवराज हमाल आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘पोखरा र अन्नपूर्ण क्षेत्र प्राकृतिक रूपमा वरदान नै सावित भएका छन्। सराङकोटबाट देखिने सूर्योदय र प्याराग्लाइडिङको रोमाञ्चकता लिन संसारका मानिस लालायित छन्।’
तर, पछिल्लो समय जथाभावी सडक खनिँदा परम्परागत पदमार्गहरूमा असर परेको छ, छोटिएका छन्, जसले गर्दा पर्यटकको बसाइ अवधि घट्दो छ। वैकल्पिक पदमार्गहरू जस्तै ‘मिलेनियम ट्रेक’ र ‘राउन्ड फेवा’ जस्ता अवधारणालाई तत्काल प्रवर्द्धन गर्नुपर्छ।
उनका अनुसार मौसमअनुसार फरक–फरक देशका नागरिकहरू गण्डकी प्रदेश घुम्न आउँछन्। अहिले भने स्थलमार्ग हुँदै धेरै भारतीय पर्यटक आइरहेका छन्।
हिमाल र पदमार्गले बनाएको पहिचान
नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने सबभन्दा शक्तिशाली माध्यममध्ये एक हो पदयात्रा। विश्वको सातौं अग्लो धौलागिरि र आठौं अग्लो मनास्लु र दशौं अग्लो अन्नपूर्ण हिमाल यही प्रदेशमा छन्। यिनै हिमालका काखमा चल्तीमा रहेका पदमार्गले गण्डकीलाई विश्व पदयात्रा पर्यटनको प्रमुख गन्तव्य बनाएका छन्।
अन्नपूर्ण सर्किट, अन्नपूर्ण आधार शिविर, घोरेपानी–पुनहिल, मनास्लु सर्किट, नार–फु उपत्यका, तिलिचो ताल र माथिल्लो मुस्ताङ जस्ता पदमार्ग विश्वभरका पदयात्रीका ‘हट लिष्ट’ मा छन्।
विदेशी पर्यटक नेपालमा हिमाल हेर्न मात्र होइन हिमालभित्र हिँड्न आउँछन्। त्यसैले गण्डकीको पदयात्रा पर्यटन दृश्यावलोकनमा सीमित छैन। अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रमा जारी हुने पदयात्रा अनुमति पत्रको संख्या हेर्दा गण्डकी प्रदेशको पदयात्रा पर्यटनको प्रभाव स्पष्ट देखिन्छ। गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयको सर्वेक्षण अनुसार गत आवमा २ लाख ५१ हजार १ सय ८८ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। यसरी भ्रमण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतीय पर्यटक (१ लाख ४५ हजार ३ सय ४८) छन्।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण आचार्यका अनुसार गण्डकीमा आउने अधिकांश विदेशी पर्यटक कुनै न कुनै रूपमा पदमार्गसँग जोडिएका हुन्छन्।
उनका अनुसार पर्यटनले सिर्जना गर्ने आर्थिक प्रभाव होटल वा ट्राभल एजेन्सीसम्म सीमित हुँदैन। एउटा पदयात्री अन्नपूर्ण क्षेत्रमा पुग्दा त्यसको लाभ गाइड, भरिया, होटल, यातायात व्यवसायी, तरकारी किसान, स्थानीय पसल, हस्तकला व्यवसायी र ग्रामीण समुदायसम्म पुग्छ। गण्डकी आउने धेरै पर्यटक पदमार्गकै कारण आउँछन्।
दुई दशकदेखि ट्रेकिङ गाइडको काम गर्दै आएका राजकुमार श्रेष्ठ आफू गाइडको रूपमा चिनिन पाउँदा खुसी व्यक्त गर्छन्। अन्तिम समयसम्म पनि यही पेसामै रहने सोचमा रहेको उनी बताउँछन्।
उनी भन्छन्, ‘विदेशी पर्यटकको आगमनकै कारण हामीजस्ता धेरै गाइडहरूले रोजगारी पाएका छौं र आफ्नै देशमा बसेर सम्मानपूर्वक जीवनयापन गर्न सकेका छौं। यसले मलाई निकै खुसी र गर्वको अनुभूति गराउँछ।’
आस्थाको केन्द्र
धार्मिक पर्यटनलाई गण्डकीको पर्यटन अर्थतन्त्रको दोस्रो बलियो आधार मानिन्छ। मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र हो। नेपाल र भारतका हजारौं श्रद्धालु हरेक वर्ष यहाँ पुग्छन्। मुक्तिनाथ दर्शनका लागि आएका भारतीय पर्यटक दुर्लभ रोय चौधरीले मुक्तिनाथको धार्मिक महत्व मात्र नभई हिमाली वातावरणले पनि आफूलाई प्रभावित बनाएको बताए।
‘हामी दर्शनका लागि आएका हौं, तर यहाँको प्रकृति पनि अविस्मरणीय रहेछ। यदि सडक र सेवा अझ सहज भए धेरै भारतीय पर्यटक आउन सक्छन्,’ उनले भने।
गोरखाको मनकामना मन्दिरमा केबलकार सञ्चालनपछि वर्षभरि आउने पर्यटक जसले पर्यटनको मौसमी निर्भरता घटाउन सक्ने सम्भावना बोकेको छ।
पछिल्ला वर्षहरूमा स्याङ्जाको अर्जुनचौपारीमा निर्माण गरिएको नवग्रह मन्दिर धार्मिक पर्यटनको नयाँ आकर्षणका रूपमा उदाएको छ।
शनिबार र विशेष पूजाका अवसरमा हजारौँ भक्तजन यहाँ पुग्ने गरेका छन्। अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार मुक्तिनाथ, नवग्रह र अन्य धार्मिक केन्द्रहरूलाई जोडेर धार्मिक पर्यटन करिडोर विकास गर्न सकिए पर्यटकको बसाइँ अवधि बढाउन र आर्थिक गतिविधि विस्तार गर्न सकिन्छ।
गाउँको बदलिँदो अनुहार
गण्डकीको पर्यटन कथासँगै जोडिएर आउँछन्, यहाँका गाउँका कथा। होमस्टेमा गरिने आत्मीय स्वागत, आतिथ्यता र सांस्कृतिक कार्यक्रमबाट विशेष रूपमा प्रभावित हुने गरेका छन्। स्थानीय उत्पादनबाट बनेका अर्गानिक परिकारको स्वादले उनीहरूलाई निकै आकर्षित गर्छ।
स्याङ्जाको सिरूबारी, लमजुङको घलेगाउँ, कास्कीको घान्द्रुक, सिक्लेस र धम्पुस, गोरखाको बारपाक र लाप्राक, मुस्ताङको मार्फा तथा तनहुँको बन्दीपुरजस्ता गाउँले पर्यटनको केन्द्र सहर मात्र नभई समुदाय पनि हुन सक्छ भन्ने प्रमाणित गरेका छन्।
सिरूबारीलाई नेपालको सामुदायिक होमस्टे अवधारणाको अग्रणी उदाहरण मानिन्छ। सिरूबारी सामुदायिक होमस्टेकी अगुवा उर्मिला गुरूङ भन्छिन्, ‘सिरूबारी होमस्टेको सुरूआती चरण त्यति सहज थिएन। पाहुनाको संख्या कम हुन्थ्यो, गाउँमा पर्यटनको सम्भावनामाथि धेरैलाई विश्वास पनि थिएन। विस्तारै पर्यटकको आगमन बढ्दै गयो र त्यससँगै पोखरा तथा काठमाडौंमा बसेका युवाहरू पनि गाउँ फर्किएर होमस्टे व्यवसायमा आबद्ध हुन थाले। यसले गाउँको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्थानीयलाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने अवसर दिएको छ।’
-1783147279.jpg)
होमस्टे सञ्चालन, हस्तकला, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको बजारीकरणमा महिलाको सक्रिय भूमिका देखिन थालेको छ।
एउटा पर्यटकले खर्च गरेको रकम होटलको खातामा मात्र सीमित नभई गाउँका किसान, सवारी चालक, गाइड, पसले र स्थानीय उत्पादकसम्म पुग्ने हुँदा व्यापार, व्यवसायमा समेत टेवा पुगेको छ।
पर्यटकीय राजधानीका चुनौती
गण्डकी प्रदेशलाई पर्यटन राजधानी घोषणा गर्नु सम्मान मात्र नभई ठूलो जिम्मेवारी पनि हो। तर जिम्मेवारीसँगै आएको सबभन्दा ठूलो चुनौती हो, अन्तर्राष्ट्रिय पहुँचको सीमितता। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन राजधानी घोषणापछिको सबैभन्दा ठूलो पूर्वाधार उपलब्धि मानिन्छ। तर विमानस्थल सञ्चालनमा आएको लामो समय बित्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन्।
पर्यटन व्यवसायीका अनुसार विमानस्थलको पूर्ण उपयोग हुन सके गण्डकीको पर्यटन अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ। तर हालसम्म यसको सम्भावना र वास्तविक उपलब्धीबीच दूरी छ। यही दूरी बीचमा संयुक्त अरब इमिरेट्स (यूएई) को विमान कम्पनी ‘फ्लाई दुबई’ ले आगामी असोज ७ गतेदेखि पोखरा–युएई सिधा उडान गर्ने समझदारीले पर्यटनमा आशाको दियो बालेको छ।
गण्डकी प्रदेशको मात्र नभई देशभरकै समस्याका रूपमा गाइड, होटल कर्मचारी, आतिथ्य क्षेत्रका दक्ष कामदार र पर्यटन व्यवस्थापनसँग सम्बन्धित जनशक्ति विदेश पलायन भइरहेका छन् जसले पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ।
धेरै पर्यटक पोखरामा केन्द्रित भएर छोटो समयमै फर्किन्छन्। यसले प्रदेशका अन्य जिल्लामा पर्यटन लाभ समान रूपमा फैलिन नसकेको अवस्था देखाउँछ। गण्डकी प्रदेशमा आउने पर्यटकहरूले भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, फोहोरको अव्यवस्थापन, उच्च भिसा लागत, ठगी, इन्टरनेटको समस्या, विमानस्थलमा लामो समय होल्ड लगायतका समस्या समेत छन्।
सरकार र सरोकारवालाको पहल
यी चुनौतीका बीच सरकार र निजी क्षेत्र दुवैले पर्यटन विकासका विभिन्न प्रयास अघि बढाइरहेका छन्। गण्डकी प्रदेश सरकारले हालसालै सार्वजनिक गरेको बजेट कार्यक्रममा ‘पहिला घर देश, अनि परदेश’, ‘लेक टु लेक’ र ‘एक जिल्ला, एक गन्तव्य’ जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ। धार्मिक पर्यटन सर्किट, ग्रामीण होमस्टे स्तरीकरण र साहसिक पर्यटन प्रवर्द्धनका योजनाहरू पनि अघि सारिएका छन्।
पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेशभर पर्यटन पूर्वाधार र गन्तव्य विकासलाई थप सशक्त बनाइनेछ।
यसअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिका–६ स्थित त्रिवेणीधामलाई प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने योजना छ।
बागलुङलाई विशेष पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, स्याङ्जाको अर्जुनचौपारीस्थित नेपालकै पहिलो नवग्रह मन्दिरलाई प्रवर्द्धन गर्न अल्ट्रा म्याराथन जस्ता साहसिक गतिविधि सञ्चालन गर्ने र स्याङ्जाकै अन्धाअन्धी दहलाई नयाँ पर्यटकीय आकर्षणका रूपमा उजागर गर्ने योजना अघि सारेको लामिछाने बताउँछन्।
पर्यटन राजधानीको उपाधिलाई व्यावहारिक उपलब्धिमा रूपान्तरण गर्न डिजिटल युगअनुसार वेबसाइट, मोबाइल एप, भर्चुअल टुर, डिजिटल नक्सा र सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय प्रचारलाई व्यवस्थित बनाउनुपर्ने देखिन्छ।
पोखरा, कुश्मा, मनाङ र मुस्ताङलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय स्तरका साहसिक पर्यटन महोत्सव आयोजना गर्ने, ‘स्वच्छ गन्तव्य, समृद्ध पर्यटन’ अभियानमार्फत् वातावरण संरक्षणलाई प्राथमिकता दिने तथा गाइड, होटल व्यवस्थापन, विदेशी भाषा र डिजिटल मार्केटिङ सम्बन्धी तालिम स्थानीय तहसम्म विस्तार गर्ने आवश्यकता पनि उत्तिकै देखिन्छ।
गण्डकी प्रदेशसँग हिमाल, ताल, पदमार्ग, तीर्थस्थल, संस्कृति र साहसिक पर्यटनको दुर्लभ संयोजन छ। यही कारण यो प्रदेश लामो समयदेखि नेपालको पर्यटनको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ र अहिले ‘पर्यटन राजधानी’ को औपचारिक पहिचान पाएको छ। तर यो पहिचान आफैमा अन्तिम उपलब्धि भने होइन। यो पहिचान अझ ठूलो यात्राको सुरूआत हो। पर्यटन राजधानी घोषणा भएपछि पूर्वाधार विकास, प्रचारप्रसार लगायतका केही प्रयास थालिएको छ। अबको बाटो भनेको घोषणालाई आर्थिक रूपान्तरणमा बदल्ने ठोस योजना, बलियो पूर्वाधार, दिगो व्यवस्थापन र अन्तर्राष्ट्रिय हवाई पहुँचको सुनिश्चितता हो।
पर्यटन क्षेत्रको सफलता पर्यटकको संख्याले मात्र मापन गर्न सकिँदैन। गण्डकीको पर्यटन कथा ‘कहाँ जाने’ भन्ने प्रश्न र यसको जबाफले मात्रै स्पष्ट हुँदैन। यसमा ‘कसले कमाइरहेको छ’, ‘कसको जीवन बदलिएको छ?’ र ‘भविष्यका पुस्ताले के पाउनेछन्?’ ‘के गण्डकीले पर्यटकहरूको उपस्थितिलाई दिगो आर्थिक समृद्धिमा रूपान्तरण गर्न सक्छ?’ सक्यो भने ‘पर्यटन राजधानी’ उपाधिमा सीमित हुने छैन गण्डकीको विकासको नयाँ अध्याय बन्नेछ र पर्यटन राजधानी घोषणा पर्याप्त हुनेछ। गण्डकीको पर्यटकीय भविष्य यही प्रश्नको उत्तरमा निर्भर हुनेछ।
-1783147279.jpg)
-1783147279.jpg)
-1783147278.jpg)
-1783147278.jpg)