जीवनमा के सोचिरहेको छु, के भइरहेको छ, केही थाहा भइरहेको छैन! जे गरिरहेछु, के त्यो नै मेरो वास्तविक जीवन हो? के त्यो नै मेरो बन्नुको वास्तविकता या भ्रम हो?
जुन भ्रमको भूमिकामा सिङ्गो समाज या सभ्यता नै भौंतारिरहेको छ! हामी प्रायः समाजले कोरिरहेको एउटा निश्चित खाकामा बाँचिरहेका हुन्छौँ—पढ्ने, जागिर खाने, जिम्मेवारी निभाउने र एउटा स्थापित प्रणालीको हिस्सा बन्ने। यो सामाजिक 'सभ्यता' को एउटा पाटो हो, जसमा सिङ्गो समाज नै भौँतारिरहेको छ। के यो मेरो वास्तविकता हो? म के हुँ? मेरो गन्तव्य के हो!? यी तथा यस्ता प्रश्नहरूका छालले हो कि चर्किलो मधेसको गर्मीले हो, मलाई निथ्रुक्क भिजाइरहेको थियो! उत्तरको सही उत्तर खोज्न, तर पाइनँ!
भनिन्छ नि, जब प्रश्नहरूको उत्तर थाहा हुँदैन, तब कि त विद्वान्लाई सोध्नुस् कि एकान्तमा एक्लै आफूभित्रको आफैलाई! अवश्य उत्तर उपलब्ध हुन्छ!
लाओ त्सु (Lao Tzu) ले भनेका छन्, 'एक राम्रो यात्रीको कुनै निश्चित योजना हुँदैन र ऊ कतै पुग्ने उद्देश्यमा मात्र केन्द्रित हुँदैन।'
ठिक त्यसै गरी यात्रामा हिँड्न मन लाग्थ्यो, तर बा-आमाका प्रेमको भारीले मेरो पाइतालाहरू थिचेका थिए! कहिलेकाहीँ प्रेम बढी हुँदा त्यसले सन्तानको स्वतन्त्रताप्रतिको हक हनन हुन सक्छ! ठिक त्यस्तै त्यस्तै!
एकल बाइक राइड, बन्जी जम्पिङ, स्काइडाइभिङ र सोलो ट्रेकिङ जस्ता कुराहरू मेरो मनमा रहिरहे। त्यससँग मागिएको स्वीकृति कहिल्यै एप्रुभल नै पाइएन बाबाट! बाले जीवनलाई वास्तविकतामा बुझेका हुन्छन् कि बाको छोराप्रतिको अथाह प्रेमले हो!? बाले सधैं नाइँ नै भनिरहे! यसको उत्तर बालाई नै थाहा होला!? तर प्रत्येक एप्रुभलको एक कमजोर पक्ष हुन्छ। प्रत्येक बाको भनसुन गर्ने एक घरको गृहमन्त्री हुन्छिन् आमा!
यसपटक उहाँसँग बिन्ती बिसाउँदा पाइयो, अनुमति एकल पदयात्राको! तर थोरै सहमतिको साथमा! प्रत्येक दुई घण्टामा घरमा फोनकल गर्ने, रातमा एक्लै नहिँड्ने, लेकमा ननुहाउने! यस्तै यस्तै! कहिलेकाहीँ पूर्ण सहमतिको पर्खाइमा बस्नुभन्दा थोरै सहमतिबाटै काम सुरू गरेर बिस्तारै आफ्नो विश्वास र पकड बलियो बनाउँदै लैजानु बढी बुद्धिमानी हुन्छ।

यहाँबाट सुरू हुन्छ, मेरो एकल पदयात्रा गोसाइँकुण्डको!
बाले जिस्किँदै सोध्नुहुन्छ, 'कहाँ जाने हो, हाकिम सा'ब?!'
म: 'गोसाइँकुण्ड!'
बा प्रतिप्रश्न गर्नुहुन्छ, 'को को?'
म भन्छु, 'एक्लै!!'
बा मेरै उत्तर टिपेर ठूलो प्रश्नचिह्नको स्वरमा, 'एक्लै???'
बाले यो गरेको प्रश्न, उत्तर थियो कि प्रश्न! मलाई नै बुझ्न गाह्रो भयो! तर बाका मुखारविन्दबाट गरिएका शब्दको भाव चाहिँ अचम्मित थियो! एक्लै!?
हाहा, अहिले सोच्दा हाँसो लागेर आउँछ!
म एकछिन मौन बस्छु!
बा मोबाइल चलाइरहनुभयो अनि भन्नुहुन्छ, 'कहिले जाने त एक्लै??' यतिबेला जिज्ञासा र प्रेम मिश्रित प्रश्न थियो!
'भोलि नाइटमा!' म भन्छु।
'ल ल!' को भावमा सुस्त सहमति! को स्वीकृतिको आधारमा रातको पर्खाइको परेलीमा अल्झिएको ट्रेकिङ सपनाको भविष्य मिलाउन लागेँ। केही छरिएका पहिरन, सँगै बोकेका केही विगतका यादहरू पालोपालो केलाउन थालेँ। परिकल्पित यात्राका कल्पनामा रम्न थालेँ। सोहर्न थालेँ एक जोड यात्राका अनेक जोड साथीहरू! वर्तमानमा भविष्यको भोगचलन गर्न पुगेछु। त्यतिमै बा आउनुभयो!
बा: 'बेलुका दिनेश अङ्कलको बसमा सिट भन्द्या'छु, जानू। त्रिशूलीसम्म जान्छ! त्यहाँबाट धुन्चेको बस समात्नु, बिहान खुल्छ बस!'
म (खुसीसहितको हाँसोमा): 'हस्,' भन्छु।
बाले बसपार्कसम्म पुर्याइदिनुभयो! बाले भनेझैँ बस त्रिशूलीमा रातको अन्तिम जुन खस्दै गर्दा पुग्यो। अलि माथि एक चौतारोबाट बाटो छुट्टियो। एक पुरानो बस यात्रु कुरेर बसिरहेको देखेँ। बसको गन्तव्य र मेरो सेम रहेछ! एकछिन काँधको ब्याग त्यहीँ बिसाएँ। अगाडिको पहिलो सिटमा ब्याग राखेँ। रातको निद्रा नबिउँझिँदै पुगेको म! सहर सुतिरहेको थियो! पसलहरू भर्खर आङ् तान्दै बिउँझिन खोज्दै थिए। एक छेउको होटलमा फ्रेस भइयो र बस खुल्ने पालो कुरिरहेँ।
समयको शान्त सन्नाटामा, बिउँझिएको पसल, यात्रु र बिस्तारै त्यस ठाउँमा थोरै चलहल भयो। बस आफ्नो नियमित समयभन्दा धेरै नै ढिलो हिँड्यो। बजारको भारी गाउँमा बिसाउन हिँडेको एक यात्रु बसझैँ! बसमा यात्रुभन्दा बढी खाद्यान्न सामग्री थियो। मानव बस यस्तो लागिरहेको थियो—अल्पमतको सरकार जस्तै! प्रत्येक स्टेसनमा रोकिनुपर्ने!
निकै ढिलो मलाई धुन्चे छोडेको बस! बस आफ्नै गन्तव्यतिर लाग्दछ, म मेरो यात्राको पूर्णतातर्फ!
'यात्राले मानिसलाई विनम्र बनाउँछ। तपाईंले देख्नुहुन्छ कि संसारमा तपाईंको स्थान कति सानो छ।'—गुस्ताभ फ्लाउबर्ट (Gustave Flaubert) ले भनेझैँ! एक्लै यात्रा गर्दा हामी आफ्नो परिचित परिधि र 'कम्फर्ट जोन' भन्दा बाहिर निस्कन्छौँ। जब सहयोगी हातहरू वा चिनिएका अनुहारहरू हुँदैनन्, तब मात्र मानिसले आफ्नो वास्तविक क्षमता, धैर्यता र अस्तित्वको गहिराइ थाहा पाउँछ।
सहरको कोलाहलबाट टाढा, प्रकृतिको शान्त धुनमा हराउनुको मज्जा नै बेग्लै छ। त्रिशूलीको कलकल बगेको प्राकृतिक सुन्दर स्वर, कुनै बेग्लै प्रकारको हिलाउने पारासिटामोलझैँ महसुस भइरहेको थियो!
-1783754096.jpg)
पहिलो दिनको यात्रा, चन्दनबारीसम्म पुग्ने भने पनि यात्राले बेग्लै बहाना देखाएर अपर देउरालीसम्मको मात्र रह्यो!
एक्लै हिँड्नुको बेग्लै रमाइलो हुँदो रहेछ! यहाँ तपाईंको सारथी भनेकै तपाईं र तपाईं भित्रको आत्मविश्वास हुँदो रहेछ। जसरी जीवनमा केही प्राप्तिको निमित्त आत्मविश्वास चाहिन्छ, त्यसै गरी यहाँ सहानुभूतिको छाहारी हुँदैन! यहाँ जिउनका लागि हिँडिन्छ, जीवनलाई गहिरो गरी बुझ्न हिँडिन्छ र केही सिक्न हिँडिन्छ! आफैँ रित्तिएर केही भरिन हिँडिन्छ। रित्तिनुको अर्थ खाली हुनु वा शून्य हुनु मात्र होइन, त्यो त पछि फेरि केही नयाँ विचार, विमर्श, तर्क र ज्ञानको लागि ठाउँ फराकिलो गर्नु पनि हो!
दोस्रो दिन! होटलको एक दाजुले प्रश्न गर्छन्, 'घोडा चढ्ने हो? घोडा! माथि सम्म लान्छ।'
म: 'नाइँ, नचढ्ने!' पशुपतिको तीर्थमा उनकै गणको माथि चढेर दर्शन गर्नु, के त्यस्तो दर्शन उहाँले स्वीकार गर्नुहुन्छ? के त्यागबिनाको तीर्थयात्राको कुनै औचित्य हुन्छ? एक मनले सोच्यो, शरीर ठिक छ, बिचरा ती निर्दोष प्राणीलाई किन दुःख दिनु, आफ्नो स्वार्थको निम्ति!
गोसाइँकुण्डको सबैभन्दा ठूलो पहिचान यसको धार्मिक पृष्ठभूमि हो, जुन सिधै भगवान् शिवसँग जोडिएको छ।
पौराणिक कथाअनुसार देवता र असुरहरू मिलेर समुद्र मन्थन गर्दा संसारै ध्वस्त पार्न सक्ने भयानक 'कालकुट विष' निस्कियो। ब्रह्माण्डको रक्षाका लागि भगवान् शिवले उक्त विष आफ्नो कण्ठ (घाँटी) मा लिए। विषको तीव्र डाह र जलनलाई शान्त पार्न उनी हिमालय क्षेत्रमा आए र आफ्नो त्रिशूलले पहाडमा प्रहार गरे। त्यहाँबाट शीतलता प्रदान गर्ने जलधारा निस्कियो, जसले गोसाइँकुण्डको रूप लियो। शिवले त्यहीँ पानी पिएर आफ्नो दाह शान्त पारेका थिए र त्यही त्रिशूलबाट निक्लिएको जल हालको त्रिशूली नदी हो!
बिस्तारै प्रकृतिको स्वरमा एक्लै रम्दै, मधुर गीत सुन्दै, थोरै जीवनका थकाइ तथा यात्राका थकाइ बिसाउँदै, बादलहरूको लुकामारी हेर्दै, नयाँ मानिससँग बोल्दै, गफ गर्दै चन्दनबारी पुगेछु निकै छिटो!
डिडिसीको जेठो शाखाको चिज र छुर्पीको स्वाद लिँदै, चिसो बतासमा तातो चिया खाँदै समयको आनन्द लिइरहेको छु।
एक जना अङ्कललाई मैले फोटो खिच्न अनुरोध गरेँ।
उहाँले सोही अनुरोध आफ्नो छोरीलाई गर्नुभयो, 'राम्रो खिच्छिन्, यिनले जान्या हुन्छन्' भन्दै! र उहाँहरू चार जनाको समूहको पनि मैले फोटो खिचिदिएँ! ती बाबा, छोरी र अंकल, आन्टीको समूह बाटोमै मिलेको रहेछ। जसरी मिल्छ हिमालबाट बगेका नदी, खहरे खोला तथा सँगसँगै गन्तव्यमा जाने नदीहरूलाई, म पनि मिलेँ त्यही समूहमा! यहाँ एक्लै हिँडे पनि बाटोमा अनेक साथीहरू अवश्य भेटिन्छन्!
यो समूहसँग यात्रा गर्दा बाटो कटेको थाहा नै भएन! केही साहित्यका कुरा, केही इतिहासका कुरा, धर्म, संस्कृति र परम्पराका कुरा त कतै संस्कृतिका श्लोकहरूको व्याख्या! यहाँ मलाई थाहा भयो, पर्सि 'गंगादशहरा' रहेछ। सो दिनमा कुण्डको स्नान गर्नु उत्तम हुन्छ भनी आचार्य अंकलले भन्नुभयो। यस विषयमा पाको ज्ञान थियो उहाँसित तथा निकै फराकिलो मन पनि! अंकल जस्तै छोरी पनि!
-1783754223.jpg)
गङ्गादशहरामा दर्शन गर्ने भनेर दोस्रो दिन हामी थोरै हिँडेर त्यतै बस्यौँ, तेस्रो दिनमा धेरै हिँड्ने। दोस्रो दिनमा ४००० मिटरमाथि हाइटमा बस्दा गाह्रो हुन्छ भन्ने सहमतिमा हामी १ बजे नै लौरीविनायकको तल बस्यौँ, भोलिपल्ट बिहान गोसाइँकुण्डको दर्शन गर्ने सहमतिमा!
रूपा आन्टी, आर्मी अंकल, दिवाकर अंकल, आर्या बहिनी र म! हामी गफमा भुल्यौँ। डाइनिङ हलमा पोर्टर दाजुहरूको मातृभाषाको संवाद मानौँ कुनै तेलुगू मुभि सबटाइटलबिना हेरेकोझैं लागिरहेको थियो!
डाँडालाई एकैछिनमा काला बादलले घेर्यो! हरिया बुट्यान चर्दै गरेको सेतो घोडा र एकैछिनमा कपास जस्तै परेको मसिनो हिउँ! भित्रको न्यानो तापमा बाहिरको दृश्य निकै सुन्दर थियो!
तेस्रो दिन! बिहान सुरू हुन्छ तालसम्मको यात्रा। घाम नझुल्किँदै हाम्रो समूह लौरीबिनायकको उकालो चढिसकेको थियो। त्यहीँ एक दाजुको गोठमा तातो चियासँग उदाउँदै गरेको सूर्योदय हेर्दै वास्तविक जीवनलाई तस्बिरमा कैद गर्यौँ, मनका यादमा कैद गर्यौँ! केहीबेर बैसाखी जस्तै लौरी टेकेर पुनः यात्रामा।
सुक्खा हिउँका डल्ला खेल्दै गोसाइँकुण्ड तालको शीतल दृश्यमा लुकेको शिवको आकृतिको दर्शन भयो! चिसो पानीमा न्यानो आस्थाको डुबुल्की र सन्तुष्टिको तृप्तिबाट हाम्रो यात्रामा कैयौँ स्मृतिका डोब छाडेर हामी फर्कियौं!