क्यामरामा कैद गरिएका तस्वीर हराउन सक्छन्। फिका भएर उडेर जान सक्छन्। पानीले बिगार्न सक्छ। मनको आँखाले कैद गरेका तस्वीरहरू हृदयको एल्बममा बसेपछि केहिले पनि नबिग्रँदो रहेछ। मेरो हृदयको एल्बमको पानामा सजिएको छ – इलामको नयाँ बजारको सप्रेम तस्वीर र थुम्केरानीको अलौकिक सौन्दर्य।
म खुब यात्रा मन पराउने यात्री हुँ। जान पाए पनि नपाए पनि मनमा कतै न कतैको यात्राबारे योजना बुनिरहेकै हुन्छु। समय मिलाउन सकेँ भने फाट्टफुट्ट यात्रामा निस्किन्छु। कहिले स्वास्थ्यले साथ दिँदैन त कहिले कार्य व्यस्तताले। सोचेजति यात्र गर्ने अवसर पनि जुरेको छैन अहिलेसम्म। यस पटक जेठ महिनामा कतै पनि यात्रा नगर्ने सोचले बसेकी थिएँ। आफ्नै विशेष लेखनको कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता मनमा बोकेर छुट्टीलाई सदुपयोग गर्ने योजना तयार गरेँ। अनायासै एउटा कार्यक्रमको निम्तो आयो, त्यो पनि कार्यक्रम हुन थोरै दिन बाँकी हुँदा।
योजनाबद्ध गरिएका कार्य त हार मिलाएर रोपिएका सुपारी, नरिवल, आँप, लिची, फूल या कुनै बोटबिरुवाका लहर या कुनै कलाकारले मिलाएर लगाएको पर्खाल जस्ता सुन्दर हुन्छन्। अचानक तय भएका कार्यक्रम त झन् प्रकृतिको सुन्दर बनावटमा सजिएका थुम्का थुम्की झैँ सुन्दर पो बन्दा रहेछन्। वनमा जतासुकै उम्रिएका बोटबिरूवाले दिने प्रकृतिको अलौकिक सौन्दर्य छर्दा रहेछन् अनायोजित यात्राले।
‘थुम्के साहित्यिक समाज’ र ‘माईजोगमाई गाउँपालिका’ द्वारा आयोजना गरिएको काव्य उत्सवमा अतिथि कविको रूपमा निमन्त्रणा गर्नुभयो डा. हेम भण्डारी सरले।
नाइँ भन्न सकिनँ तर स्वीकार गर्न सक्ने अवस्था पनि मसँग खास थिएन। विशेष कामका लागि छुट्ट्याएको समय मैले इलाम नयाँ बजारलाई दिनु थियो भनौँ हेम सरको आतिथ्य स्वीकार्नु पनि थियो। वरिष्ठ कवि, आख्यानकार तथा विश्लेषक अनिता कोइराला प्रमुख आतिथि हुनुहुने उक्त कार्यक्रममा सुभाष ढुङ्गेल सर र मलाई अतिथि कविको रूपमा बोलाइएको रहेछ। कसोकसो आफ्नो कामलाई एकतिर पन्छाएर मैले यात्रा तय गरेँ।

मनले भन्दै थियो, 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।' आफ्नो जरूरी काम छोडेर कता जान्छेस् भारती भन्दै थियो मन।
तर पनि मित्रताको सम्मान गर्दै लामो यात्राको तय भयो। एक हप्ता त पूरै दिनुपर्ने थियो। हेम सरलाई कार्यक्रमबारे केही चासो राखेर सोधेँ। पाउन मिल्ने जति कार्यक्रमको विवरण प्राप्त गरेपछि लाग्यो, निकै सुन्दर कार्यक्रम रहेछ। छुटाउन नहुने कार्यक्रमबारे दोमन गर्न उचित लागेन। अघिल्लो वर्ष डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम यस पटक अनिता कोइरालाको प्रमुख आतिथ्यमा हुन लागेको थियो।
आफू पनि त्यस कार्यक्रममा सहभागी हुन पाउनु निकै भाग्यमानी महसुस गरेँ। बसबाट पूरा एक रात जानुपर्ने पूर्वको यात्राले निकै रोमाञ्चित थियो मन।
यस पटकको यात्रा एकदम अनायोजित तर असाध्यै सुन्दर र ऊर्जाशील थियो। केही जोर गर्मीका लुगा र जाडोका केही जोर लुगा राखेर जेठ २२ गते हामी निस्कियौँ सुदूर पूर्वको यात्रामा।
आफ्नै जन्मभूमि झापाको श्रीपेज बनेर बसेको इलामको थुम्केरानीले मेरो हृदयलाई पुलकित बनायो। हाम्रो पहिलो पाइलो नयाँबजारमा झरेपछि थाहा पाएँ – हामी त कति सम्पन्न पो रहेछौँ – प्रकृति र प्रेमले। नयाँ बजारमा पाहुनालाई स्वागत गर्न उभिनुभएका हाम्रा दाजु, दिदी, भाइ र बहिनीहरू कति सहृदयी र स्नेही हुनुहुन्थ्यो, त्यति नै प्राकृतिक सौन्दर्य छरेर थुम्केरानी हामीलाई नियालिरहेथ्यो। यस्तो अवर्णनीय दृश्यको वर्णन गर्न सक्दिनँ म।
मैले झट्ट ताना शर्मालाई सम्झेँ। उनी वरिष्ठ समालोचक, आख्यानकार, निबन्धकार पनि। जब उनी सुदूर पश्चिमको यात्रामा थिए, तब मध्यरातमा भोकै र प्यासै एउटा पसलमा पुग्दा किनेर खानेकुरा खान खोज्दा खाने, किन्ने सामानसमेत नपाएका, बास बस्न खोज्दा भत्किएको गोठमा दाउरा किनेर रात कटाएको व्यथा उनले पोखेका थिए। आज म आएको छु सुदूर पूर्वको यात्रामा। हुन त उनी कुनै कार्यक्रमका पाहुना थिएनन्। विशेष कामका सिलसिलामा उनी यात्रामा निस्किएका थिए। म भने आमन्त्रित थिएँ। फरक थियो। तुलना हुन सक्ने थिएन तर मेरो मनले भन्यो, यद्यपि उनलाई त्यो गाउँमा पुग्दा कसैले ताना शर्मा पो हुनुहुँदो रहेछ भनेर घरमा राखेर सत्कार र सम्मानसहित खाना खुवाएका भए घनघस्याको उकालो कसरी लेखिन्थ्यो होला?
म आज एउटा परिचय बोकेर उक्लिएकी थिएँ आफ्नै आमाको काँधमा। झापाको सिरान इलामको माईजोगमाईस्थित नयाँबजार। मनले अनेक अनेक तर्कना चलायो। गाउँ त अझै मानवताको पुजारी भएर बसेको रहेछ। हामी मनवता हरायो भन्दै सहरमा कुर्लन्छौँ। हामीले आफ्नोपनलाई गाउँमा छोडेर हिँडेका रहेछौँ। अहिले मानवता चुपचाप गाउँमा बाँचेको रहेछ। मेरा पाइला इलाम पुग्दा आफ्नै माइतीको आँगनमा उभिएको महसुस भयो। मलाई मेरो जन्मघरको आँगनमा खेलेको यादले सताइरह्यो। यसै पनि झापा र इलामका मानिस काठमाडौँमा देख्दा, भेट्दा माइती भेटेको आभास हुने मेरो मनले झापासँग जोडिएको इलामलाई प्रिय नजरले नियालिरह्यो। फराकिलो आँगन, हरियो दुबो र वरिपरि सुपारी र नरिवलका अग्ला रूखहरू, आँगनमा मिलाएर रोपिएका विविध जातका फूल, फलका बोट, धुपी र सल्लाका बुटा सबै सबै आँखाअगाडि मारुनी झैँ नाचिरहेछन्।
कोटेश्वरबाट महालक्ष्मी ट्राभल्समा हेम सर र म उक्लियौँ। अनिता र सुभाष सरको स्टेशन भने गुर्जुधारा थियो। सवारीले आफ्नो बाटो समात्यो। हामीले साहित्यका कुराकानी बढायौँ। यात्राबारे, भोलिको कार्यक्रमबारे किनकि हेम सर आफै आयोजक हुनुहुन्थ्यो।
उहाँले कार्यक्रमको रूपरेखा सुनाउनुभयो। हामीले कार्यक्रमबारे कुरा गरिरहँदा मलाई आफू आयोजक टिममै भएको जस्तो लागिरहेथ्यो। हेम सरलाई भनेँ, 'सर म त आफ्नै ठाउँ जाँदैछु, लागिरहेछ म अतिथि होइन आयोजक हुँ।'
मलाई इलामले हार्दिकतापूर्वक आमन्त्रण गरिरहेको छ। म आफ्नै गाउँ फर्किँदै छु। चालचलन, रीतिरिवाज, भाषा, लवज, खानपान सबै कुरा उस्तै छन् झापा र इलामका। त्यसैले होला मनले इलामसँग समन्वय गरिरहेको छ।

'सर हामीबाहेक अरू को–को सहभागी हुनुहुन्छ ?' मैले जिज्ञासा राखेँ।
हेम सरले हाँस्दै भन्नुभयो, 'मोरङबाट वरिष्ठ कवि रेखा सुवेदी र सविता भण्डारी हुनुहुन्छ।'
'अनि सर उहाँहरू कहिले जानुहुन्छ त ? रेखा सुवेदीलाई त म चिन्छु नि! हामी साथी छौँ फेसबुकमा।' मैले प्रश्न सोधेँ।
'रेखा म्यामबारे मैले सुनाएको हुँ नि हजुरलाई। त्यसैले चिन्नुभएको हो। भेट त भएको छैन नि !' सरले रेखा म्यामबारे धेरै पटक मसँग कुरा गर्नुभएको थियो। लगभग ९०% उहाँलाई मैले चिनिसकेकी थिएँ। औपचारिक भेट हुन बाँकी थियो।
हामी गुर्जुधारा आउनुअघि नै अनिता र सुभाष सरलाई फोन गर्नुपर्छ भन्ने कुरामा सचेत थियौँ। कलङ्की पुग्नासाथ हेम सरले सम्झाउँदै भन्नुभयो, 'भारतीजी अनिताजीलाई सम्पर्क गर्नू त'
मैले हतार हतार फोन लगाएँ। 'अनिता, हामी कलङ्कीबाट घुम्यौँ।'
'दिदी नैकाप आएपछि गर्नू ल एक पटक। हामी पाँच मिनेटमा बाटोमा निस्कन्छौँ।' उनले तयारी भएको कुरा बताइन्।
म अनिताको प्रतीक्षामा थिएँ, हेम सर सुभाष सरको। मेरो छेउको सिट अनिताका लागि थियो। हेम सर आफ्नो छेउको सिट सुभाष सरका लागि सम्हाल्दै हुनुहुन्थ्यो। नभन्दै गुर्जुधाराको पेट्रोलपम्पबाट उक्लिए दुइटा हर्षित मुहार। हाम्रो टिम बलियो भयो। सामान्य कार्यक्रमका कुराकानीले बाटो काटिरहेको थियो अघिसम्म। अब भने भिन्नै रमाइलो, भिन्नै खुसी, यात्राको यात्री झैँ उत्साहित मन सबैसबै हाम्रा दुइटा सिटमा अघि र पछि जम्मा भए।
झोलाभरि खानेकुरा थिए ताकि बाटामा जथाभावी खानेकुरा किनेर खानु नपरोस्। एउटा उत्साहको भव्य पोको अनिताले खोलिन्, 'सर म त पहिलो पटक यति लामो यात्रामा छु त्यसमा पनि पूर्वी नेपाल मेरो यात्राको महत्त्वपूर्ण गन्तव्य। आज साकार हुन लाग्दैछ। अझ भन्नु न म आफू प्रमुख अतिथि भएर जान पाउनु मेरो अहोभाग्य हो। होइन त दिदी' उनले मतिर हेरिन्। मैले मुसुक्क हाँसेर सहमती जनाएँ।
'तपाईंको साहित्यिक चेत निकै उच्च छ। त्यही उचाइले तपाईंलाई यो अवसर प्राप्त गरायो। तपाईं शान्त र इमानदार पनि हुनुहुन्छ। त्यो तपाईंको शक्ति हो। नेपाली साहित्यमा इमानदार मानिस पाउन मुस्किल छ। तपाईंका शक्तिशाली कविता, आख्यान, निबन्ध र सशक्त विश्लेषणले तपाईंलाई यहाँ पुर्यायो।'
हेम सरले अनितालाई स्पष्ट पार्नुभयो। सुभाष सर र म ध्यानपूर्वक हेम सरलाई सुनिरहेका थियौँ।
सब कुरा एकातिर छोडेर, हामी जहाँ पुग्छौं, त्यहीँ आउँछ खुसी दौडेर। साँच्चै नै गाडीभरि सबैभन्दा रमाइलो हामी नै गरिरहेका थियौँ। आफूअनुसार नै समाज बन्दो रहेछ। झोलामा भएका खानेकुरा गाडीभरि बाँड्दै हामीले स्वाद लिएर खायौँ। सहयात्रा, सहभाव, मित्रता जीवनका महत्त्वपूर्ण पाटा रहेछन्। कलमकै शक्ति कति हुने रहेछ। कलमका साथीका रूपमा चिनिएका हामी आज कलमकै शक्तिले भव्य कार्यक्रमको अतिथि भएर जाँदैछौँ। धन्य छ कलमको साथ।
पहिलो पटक 'कलमका साथी' ले विमर्शको कार्यक्रम राखेको बेला हेम सरले भन्नुभएको थियो, 'तपाईंहरूमा उच्च प्रकारको साहित्यिक चेतना छ। यो टिमले साहित्यका क्षेत्रमा निकै सुन्दर कार्य गर्ने सामर्थ्य राख्छ। साँच्चै आज अनिताले त्यो उचाइ छोएकी छिन्। वरिष्ठ कवि उमेश अकिञ्चन सर, नेपाली साहित्यमा निकै राम्रो पहिचान बनाइसक्नुभएकी वरिष्ठ कवि ज्योति जङ्गल म्याम, नेपाली साहित्यकी सशक्त समालोचक, वरिष्ठ कवि डा.गीता त्रिपाठी दिदी र कवि, निबन्धकार तथा वरिष्ठ समालोचक डा. हेम भण्डारी सरलाई अतिथिको रूपमा निमन्त्रणा गरेर पहिलो पटक 'कलमका साथी'ले 'उत्तरावर्तीचरणका कविता' विषयक विमर्श कार्यक्रम आयोजना गरेर साहित्यिक कार्यको प्रारम्भ गरेको थियो।
कलमका साथीको साथ र ऊर्जाले आजसम्म निकै उपलब्धिको बाटो हिँडिसकेको छ। त्यस दिन हेम सरले भन्नुभएको कुरा सम्झिएँ।
साँच्चै हो रहेछ जस्तो लाग्यो। कार्यको निरन्तरताले नै जीवनमा सही बाटाहरू आउने रहेछन्। विभिन्न बाधा र अड्चनले सामूहिक कार्यलाई घेरे पनि हामी पछाडि फर्किएनौँ। एक्लै उभिने आँट बोकेर हिँडिरहेका बेला अझ वरिपरि साथ दिने साथ भेट्दा त्यसै पनि बलवान् महसुस हुने रहेछ। हामी असल बन्यौँ भने निरन्तर सहयोग र साथ मिल्छ। भ्याउने साथीहरू र सहयोगी मनका साथ पुस्तक विमर्शको कार्य निरन्तर चलिरह्यो। पुस्तक विमोचनका कार्य गर्यौं। साथ त पहिले आफ्नो हुँदो रहेछ आफूलाई, अनि बल्ल अरूबाट प्राप्त हुने रहेछ। आफ्नो विचारलाई जब आफूले साथ दिइन्छ अनि बाटामा अरू साथ पनि भेटिने रहेछन्।
श्री अमरकल्याण मा.वि.को फराकिलो सभाहलमा चलिरहेको भव्य कार्यक्रमका बीच ससाना भाइबहिनीहरू कविताका हरफ बोकेर उभिएका छन्। रेखा म्याम र सुभाष सरको बीचमा म बसेकी छु।
लगातार कविता वाचन, नृत्य, मन्तव्यका कार्य चलेकै छन्। प्रतियोगी कविताले मेरो ध्यान खिचेर एउटा अग्लो थुम्कोमा उभ्याइदियो। यताउता हेरेँ, त्यही थुम्कोमा रेखा म्याम र सर पनि हुनुहुन्छ। सुभाष सर पुलुक्क मलाई हेर्नुहुन्छ।
म आफूलाई रोक्न सक्दिनँ र भन्छु, 'सर कविता त भयंकर आए त! काठमाडौंमा गरिएको ठूला प्रतियोगिता पनि यति भव्य हुन्न होला। बालबालिका त निकै सचेत रहेछन्।'
सुभाष सरले सानो स्वरमा सहमति जनाउनुभयो।
प्रकृतिको अलौकिक सौन्दर्य बोकेको थुम्केरानीको काख नयाँबजारमा छौं हामी।
(क्रमशः ...दोस्रो भाग)