प्रकृतिमा फर्कनु बाहेकको विकल्प हामीसँग छैन। मनुष्य सम्पूर्ण रूपले आफूलाई बुझ्ने र सहज हुने कला खोज्दै हिँडेको हुन्छ। त्यो सबै प्रकृतिमा नै रहन्छ। अँध्यारा कोठाहरूको उल्झन बिसाउने ठाउँ प्रकृति नै हो। आफ्ना रिसहरूलाई सेलाउने ठाम पनि प्रकृति नै हो। च्याठिएर मनका बोझहरूलाई एउटा नवीन खोजमा पुर्याउने काम पनि प्रकृतिबाटै हुन्छ।
गोरखाको अजिरकोट गाउँपालिकामा रहेको नागे पोखरी जाने इच्छा धेरै पहिल्यै देखिको भएता पनि मौका जुरेको थिएन। शनिबार र आइतबार दुई दिन बिदाको अवसर पारेर हामी जेठ २९ मा हिँड्ने निधो गर्यौँ।
शुक्रबार कार्यालय समय पश्चात् सुदीप सर, सौरभ सर, किरण सर र म मिलेर बाइकमा गएर भच्चेक बस्यौँ। निकै नै रमणीय भच्चेक मेरा लागि भने नयाँ थिएन। एक रात भच्चेक बसिसकेपछि हामी भोलिपल्ट नागेपोखरीका लागि लाग्यौँ।
बाटोमा खानका लागि केही सामानहरू किन्यौँ। झरी परिराख्ने अवस्था हेरेर छाता र ओढ्ने प्लास्टिकको प्रबन्ध गर्यौँ। धेरै बेरको हिँडाइ पश्चात् २५७० मि.को उचाइमा रहेको पाउदु खर्क पुग्यौँ।
बाटोमा पाइने फूलहरूले मन सुगन्धित बनाइरहेकै थिए। त्यसमाथि जुकाको निर्मम आक्रमण तारिफयोग्य नै थियो। त्यसलाई सहर्ष स्वीकार गर्दै हामी पदयात्री बाटो खोजिरहेका थियौँ। गफ गर्दै बाटोलाई छोटो बनाउँदै केहीबेर पश्चात् ओडार पुग्यौँ हामी।
२८८० मि.मा रहेको ओडारमा झरी पर्दा ओत लाग्ने ठाउँ रहेछ। ४५३५ मि.मा रहेको दुध पोखरी र ४१०० मि.मा रहेको नारद पोखरी जाने बाटो बिचबाटै छुट्टिने रहेछ, हामीले सूचना पाटी हेरेर थाहा पायौँ।
भच्चेकको सिरानडाँडाबाट करिब चार घण्टाको पैदल यात्रापछि नागे पोखरी पुग्यौँ। त्यहाँबाट प्राकृतिक एवं मनोरम दृश्यसँगै बुद्ध र गणेश हिमाललाई नजिकबाट नियाल्न पाइयो। पुग्नै लाग्दा ठाडै बाटो बाहेक अन्य असहज बाटाहरू थिएनन्। अजिरकोट गाउँपालिकाले ठाउँ ठाउँमा गन्तव्य र उचाइ सूचित हुने बोर्ड राख्दाराख्दै पनि हामी एकछिन हुस्सुमा अल्मलिएका थियौँ। चार प्रकारका गुराँस (रातो, सेतो, गुलाफी र निलो) फुल्ने रहेछन् यहाँ वसन्त ऋतुमा। वरपर ढकमक्क फुलेको गुराँसले पोखरीको सौन्दर्य थप बढाउने रहेछ। ट्रेकिङ रूटका लागि प्रख्यात यस स्थलको धार्मिक एवं ऐतिहासिक महत्त्व पनि छ।
-1781942365.jpg)
अजिरकोट गाउँपालिका-१ मा रहेको यस नाग पोखरी समुद्री सतहबाट ३२५५ मि. उचाइमा रहेको छ। उच्च पहाडमा रहेको नाग पोखरीमा हालैका दिनमा आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको हामीले पायौँ।
स्थानीय विश्वास अनुसार यस पोखरीमा एक दिव्य नाग देवताको निवास रहेको र गोरखाका राजपरिवारले यस पोखरीको पवित्र जल विभिन्न पूजा अर्चनाका लागि प्रयोग गर्ने गरेको भन्ने छ।
भच्चेक बजारदेखि सिरानडाँडा हुँदै नाग पोखरीसम्म पुग्दा घना जङ्गल, घाँसे मैदान र पहाडी बाटो साथसाथै ठामठाममा बस्ने पाटी र पानीको धाराको व्यवस्था छ। सरकारले दुई दिन बिदा दिएसँगै नागेपोखरीमा गएर नाइट स्टे गर्ने जमात पनि बढिरहेका छन्।
जिल्ला भित्रका आन्तरिक भक्तजनहरू तथा हिन्दु धर्ममा आस्था राख्ने मानिसहरू नागपञ्चमी, श्रावण शुक्ल पक्षको पञ्चमीका दिन प्रत्येक वर्ष विधिपूर्वक दूध, दही, धूप, नैवेद्य चढाएर नागको पूजा गर्ने पहिले देखिको चलन रहेको रहेछ। तर हामी पूजाआजा भन्दा पनि पर्यटकीय हिसाबले गएका थियौँ। अनि एक फन्को लाएर पोखरीको फोटो खिच्यौँ, फोहोरहरू उठायौँ र तल झर्ने मेसो गर्यौँ। छिनछिनमै हुस्सु र पानी परिराख्ने हुनाले हामी भच्चेक पुग्न हतारिएका थियौँ।
फर्कँदै गर्दा मेरो मनमा एउटा छोटो कविता फुर्यो-
ए मनुष्य!
तिमी फर्क अब
प्रकृति तिरै फर्क
घुम्ने रहर हुँदाहुँदै
निसासिएको जिन्दगीको के अर्थ?
तन मन धन तौलिएर हेर
घरबाट निस्क अनि
जङ्गलको सास फेर
छोडिदिनेछ पिर व्यथाले
तिमीलाई खै! कति खेर?
ओहो! धुन मिठो भञ्ज्याङको
सुसेली गाएर
छुट्नेछ हेर अहंकार
प्रकृतिकै समीप आएर।
भच्चेक पुगिसकेपछि हामी आ-आफ्ना सवारी साधनमा गोरखा सदरमुकामका लागि हुइँकियौँ।