सखिला घिमिरे विगत १४ वर्षदेखि जर्मनीको रेगेन्सबपर्ग सहरमा बसोबास गर्दै आएकी छन्। पेसाले उनी इम्युनोलोजिस्ट तथा रिसर्च साइन्टिस्ट हुन्।
उनी युनिभर्सिटी हस्पिटल रेगेन्सबर्गमा पोस्टडक्टरल अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत छिन्।
'मैले यहाँ अनुसन्धान सम्बन्धी काम गरेको साढे १३ वर्ष भयो,' सखिलाले भनिन्।
उनको मुख्य जिम्मेवारी विभिन्न वैज्ञानिक अनुमान (हाइपोथेसिस) तयार गर्नु, प्रयोगशालामा परीक्षण (एक्सपेरिमेन्ट) गर्नु, त्यसको नतिजा विश्लेषण गर्नु र नयाँ तथ्य पत्ता लगाउनु हो।
उनी विशेषगरी स्टेम सेल थेरापीसँग सम्बन्धित अनुसन्धानमा केन्द्रित छिन्। यो थेरापी रक्त क्यान्सरका बिरामीको उपचार तथा जीवन बचाउन प्रयोग गरिने विधि हो।
नेपालमा पनि यो उपचार पद्धति करिब ६–७ वर्षदेखि प्रयोग हुँदै आएको उनले जानकारी दिइन्।
'स्टेम सेल थेरापीपछि केही बिरामीमा जटिल समस्या देखिन सक्छ। विशेषगरी आन्द्रामा हुने इन्फ्लामेसन (सुन्निने समस्या) निकै गम्भीर मानिन्छ,' उनले भनिन्।
उनका अनुसार कलेजो र छाला सम्बन्धी समस्या केही हदसम्म नियन्त्रण गर्न सकिए पनि आन्द्राको समस्या बढी जटिल हुन्छ। आन्द्राभित्र रहेका अर्बौं सुक्ष्म जीवाणुले इम्युन सिस्टम सन्तुलित राख्न मद्दत गर्छन्। तर स्टेम सेल थेरापीपछि केही बिरामीमा आन्द्रा सुन्निने, ज्वरो आउने, संक्रमण बढ्ने र धेरै एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था देखिन सक्छ।
'यही समस्या किन हुन्छ, यसलाई कसरी कम गर्न सकिन्छ र स्टेम सेल थेरापीपछि बिरामीलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्छु,' उनले आफ्नो कामबारे बताइन्।
काठमाडौंको कलंकीमा हुर्किएकी सखिलाको बाल्यकाल सुखमय थियो। आमाबुबा जागिरे भएकाले आर्थिक अभाव महसुस भएन।
घर नजिकैको निजी स्कुल पढेकी उनी कक्षामा प्रथम हुन्थिन्। एसएलसी (एसइई सरह) मा स्कुलमा सर्वोत्कृष्ट भएकी थिइन्।
'आमाबुबाले दुःख गरेकै हामीलाई पढाउन हो, त्यसैले पढ्नुपर्छ जस्तो लाग्थ्यो,' उनले सुनाइन्।
उनले बर्नहार्ट कलेजबाट विज्ञान संकायमा कक्षा १२ सकेपछि विदेश यात्रा सुरू भएको हो।
उनी सन् २०१० अगस्टमा विद्यार्थी भिसामा नर्वे पुगिन्। युनिभर्सिटी अफ बर्गेनमा छात्रवृत्तिमा मेडिकल सेल बायोलोजीमा मास्टर्स पढिन्।
पढाइ निःशुल्क भए पनि बसोबास र खानाको खर्च आफै जुटाउनुपर्थ्यो। काम, पढाइ र ल्याबको जिम्मेवारी सँगै सम्हाल्न उनलाई निकै गाह्रो भयो।
काठमाडौंको अनुकूल मौसममा हुर्किएकी सखिलाई नर्वेको वातावरणसँग घुलमिल हुन पनि उत्तिकै गाह्रो थियो।
'त्यहाँको चिसो त म कहिल्यै बिर्सिन्नँ। कोठा र ट्रेनभित्र न्यानो हुन्थ्यो, बाहिर अति चिसो,' उनले सम्झिइन्।
सखिलाले खर्च जुटाउन स्थानीय पत्रिका घर घरमा पुर्याउने काम गरिन्। त्यसैगरी भारतीय रेस्टुरेन्टमा वेटर तथा सुपरमार्केटमा सफाइ काम पनि गर्थिन्।
'कहिलेकाहीँ ट्वाइलेट सफा गर्दा पानीका छिटा मुखमा आउँथ्यो। त्यतिखेर म नर्वे किन आएँ जस्तो लाग्थ्यो,' सखिलाले सुनाइन्, 'यहाँ बस्न र खान गर्नैपर्छ भनेर आफैलाई सम्झाउँथे पनि।'
यसरी मेहनत गरेर सखिलाले दुई वर्षमै विदेश आउँदाको ऋण तिरिन्।
मास्टर्समा राम्रो नतिजा आएपछि उनी र परिवार निकै खुसी भए। ग्र्याजुएसनमा आमाबुबा नर्वे पुगे।
'बुबा कामले गर्दा नेपाल फर्किनुभयो, तर आमालाई हेलसिन्की र पेरिस घुमाएँ। पेरिसको न्यानो घाम देखेर आमाले त्यो चिसोमा किन बस्ने भन्नुभयो। त्यसपछि म पिएचडीका लागि जर्मनी आएँ,' उनले भनिन्।
सन् २०१२ अन्त्यतिर उनी पिएचडी गर्न जर्मनी गइन्।
'मेरी क्युरी' छात्रवृत्ति अन्तर्गत अस्पतालसँग आबद्ध भएर अध्ययन, अनुसन्धान र काम एकसाथ गर्दै उनले पारिश्रमिकसमेत पाउँथिन्।
पिएचडी क्रममा सखिलाले 'ग्राफ्ट भर्सेस होस्ट डिजिज' सम्बन्धी अनुसन्धान गरिन्। यो स्टेम सेल थेरापीपछि देखिन सक्ने जटिल समस्या हो।

उनीहरू बिरामीको आन्द्राको सानो टुक्रा परीक्षण गरेर त्यहाँ रहेका विभिन्न प्रकारका इम्युन सेल कति कम वा बढी छन्, आन्द्राको कुन भागमा छन् भन्ने अध्ययन गर्थे।
पढाइपछि भिसा थप गर्न भने निकै झमेला खेप्नुपरेको उनी बताउँछिन्।
'जति समयको कन्ट्र्याक्ट, त्यति नै अवधिको भिसा पाइन्थ्यो। पटक पटक भिसा थप्न जाँदा कहिले जर्मनी छोड्नुपर्ला भन्ने डर लाग्थ्यो,' उनले सुनाइन्, 'तर भिसा नहुँदैमा फर्किहाल्नुपर्ने भन्ने नहुँदो रहेछ भन्ने पछि थाहा पाएँ।'
पछि उनले अनुसन्धान अनुदान (ग्रान्ट) का लागि आवेदन दिइन्। ग्रान्ट पाएपछि दुई वर्षको कन्ट्र्याक्ट पाइन् र भिसा पनि दुई वर्षकै आयो। त्यस बेला आफू निकै खुसी भएको उनी बताउँछिन्।
'भिसामा समस्या हुँदा युरोपियन केटी साथीहरूलेमसँग बिहे गर, भिसा सजिलो हुन्छ भन्दै जिस्काउँथे,' उनले हाँस्दै सुनाइन्।
अहिले पनि उनलाई छोटो अवधिका कन्ट्र्याक्ट नै मिल्छ, तर काम भने निरन्तर चलिरहेको छ।
अहिले सखिला पोस्टडक्टरल अनुसन्धान (पोस्टडक) गरिरहेकी छन्।
हाल उनको अनुसन्धान आन्द्रामा एन्टिबायोटिकले पार्ने प्रभावबारे केन्द्रित छ। विशेषगरी आन्द्राको टिस्यूमा एन्टिबायोटिकले कसरी असर गर्छ भन्ने विषयमा उनी अध्ययन गरिरहेकी छन्।
उनी कार्यरत विभागमा डाक्टर र वैज्ञानिक गरी १५० जनाभन्दा बढी छन्। त्यसमध्ये नेपाली सखिला मात्रै हुन्।
जर्मनीमा अध्ययन, अनुसन्धानसँगै आर्थिक सुविधा पनि हुने तथा पढाइपछि रोजगारीका अवसर पनि पाइने भएकाले सखिला त्यहाँको बसाइमा रमाएकी छन्।
हालसम्म उनका नाममा सात वटा रिसर्च पेपर प्रकाशन भइसकेका छन्। अन्य अनुसन्धानकर्तासँगको सहकार्यमा २५ भन्दा बढी वैज्ञानिक अनुसन्धानपत्र प्रकाशन भइसकेको उनले बताइन्।
'ग्रान्ट पाएसम्म अर्को वर्ष ह्याबिलिटेसन गर्ने योजना छ,' सखिलाले भनिन्, 'ह्याबिलिटेसन पिएचडीपछिको उच्च शैक्षिक प्रक्रिया हो, जसले स्वतन्त्र रूपमा अनुसन्धान तथा विश्वविद्यालयस्तरीय अध्यापन गर्न सक्षम भएको प्रमाणित गर्छ।'