प्रथम बागमती पर्यामहोत्सव छ। जिरीको यात्रामा छु। नेपालको स्विट्जरल्याण्ड नयनभरि समेट्ने रहर छ। जिरीलाई प्रत्यक्ष पिउने प्यास बढ्दो छ।
युरोपको सुन्दर सहरसँग दाँजिएको जिरीको रूप कस्तो होला भन्ने तृष्णा झन् झन् उठ्दो छ।
सिम्लेमा खाना खाएर अगाडि बढेका छौँ। गाडी नै साहित्यिक चौतारी भएको छ। साहित्यको विमर्श चल्दो छ। संगीत बज्दो छ। कविता वाचन पनि बेलाबेला छुटेको छैन।
सिम्लेबाट हिँडेको केही बेरमा भारती दिदी सोध्नुहुन्छ, 'कहाँ आइपुगेछौँ अनिता!' झ्यालबाट पढ्छु बफेली खोला।
केही नसोची प्वाक्क बोल्छु ‘बफेली खोला’।
अचानक हाँसोको मुस्लो उठ्छ। प्रतीक दाइ हाँस्दै भन्नुहुन्छ, ‘अनिताले बफेलोलाई नै स्त्रीलिंगी बनाइन्। नेपालीकरण गरेर बफेली नै भनिन्।’
पढ्न त मैले बफेली नै पढेकी थिएँ तर तीव्र गतिमा दगुरेका आँखाको भर नहुने रहेछ। बलेनीलाई नै बफेली पढेपछि दोष मेरै हो। यस्तो किसिमको भ्रान्ति मलाई मात्र हुन्छ कि अरूलाई पनि हुन्छ होला! हाँस्दै गुडेका छौँ खाँडीचौरलाई भेट्न।
खाँडीचौर छिचोल्दै कोसी तरेका छौँ। छुट्छ तातोपानीतिरको बाटो। अब हाम्रो गाडी मुडे ताकेर गुडेको छ। बसन्त बोकेको प्रकृति हेरिरहूँ जस्तो छ। होचा अग्ला पहाडहरू स्निग्ध छन्। मौसम सफा छ। नीलो आकाशमा सेता कपासका थुम्काहरू भर्खरै दही मथेर ठेकीबाट झिकेका आला नौनीका डल्ला झैँ लाग्छ। घरी लाग्छ कपाल फुलेको सुन्दर फूलबारी देखिँदैछ। सडक किनाराका वनफूलहरूले हामीलाई लोभ्याउँदै छन्।
मन कल्पिन्छ लालीगुराँस पनि होलान् नि यी वनमा। अनेक घुम्ती, ओरालो, उकालो हुँदै प्रकृतिको सुन्दर छहारीमा स्वच्छ वायु तान्दै गुडेका छौँ।
मुडे बजार आएपछि पुनः आलुको प्रसंग आयो। सडकभन्दा ठिकमुनि प्लास्टिकका छाना ओढेर बसेका छाप्राहरू देखिन्छन्।
भवानी दिदी बताउनुहुन्छ हाइटेकको चमत्कार, ‘थाहा छ अनिता यहाँ आलुको बियाँ उत्पादन हुन्छ नि! गोलभेँडाको बियाँ जस्तै। यो आलुबारी विकास केन्द्रको क्षेत्र हो। आलुको टिस्यु कल्चर, उन्नत विजन। दुई ग्राम आलुको बियाँ एक रोपनी जग्गामा रोप्न सकिन्छ।’
दिदीको कुराले दिङ्गिएकी छु। आलु रोप्न त आलुका दाना नै प्रयोग गरेको सम्झिन्छु। टेक्नोलोजीमा हामी कति अगाडि आइपुगिसकेछौँ। हाम्रो जस्तो मुलुकमा आलुको बियाँ नै उत्पादन हुन थालेपछि के नै चाहियो र! दुर्गम क्षेत्रमा त यो किसिमको बीज त वरदान नै हुने रहेछ। अब प्रश्नको फँडा उठ्छ। के यो किसिमको उन्नत बीज साधारण किसानसम्म पुग्छ होला? यदि पुग्छ भने त नमन छ प्रविधिलाई। हिमाली भेगका कापकापमा, पहाडका उचाइमा र तराईका फाँटहरूमा गोजीमै राखेर बियाँ कति सजिलै लैजान सकिन्छ।

आलुको बीउ जोगाउन आमाले गरेको हत्ते देख्छु अतीतको उज्यालो चित्रमा। खाटमुनि लडाएर राखेका आलुको डङ्गुर देख्छु। आलु कुहेर डुङ्डुङ्ती गनाएको आफ्नै सुत्ने खाटमुनि हेर्छु, नाक थुनेको हात अझै ताजै छ। बीउ राखेको आलु भुसुक्क कुहियो भन्दै थाप्लोमा हात राखेर निसार भएका गाउँकै बाआमाहरूका अनुहार देख्छु। यसरी हाइटेकबाट आलुको बियाँ तयार हुँदा त कृषकहरूलाई कति काइदा। आलुको बीउ बोकेर हिँडेको कसैलाई थाहै नहुने। गोजीमै हजारौँ धार्नी आलु बोक्न सकिने। बीउभित्रको विशालताले मलाई रोमाञ्चित पार्दैछ।
आलु रोप्ने बेलामा बीउ बोक्ने खेताला नै खोज्नु नपर्ने, न त बीउ जोगाउन सुरक्षित ठाउँको पिरलो। दिदीले हाइटेकको शक्ति, सहजता र उपलब्धि बताउँदा हामी दंग परेका छौँ। सम्भावनाका अनेक पकेट क्षेत्र हेर्दै अगाडि बढेका छौँ।
खरिढुङ्गा हुँदै केहीबेरमै हामी चरिकोट पनि आइपुग्यौँ। गाडी चार्ज गर्न राखेपछि हाम्रा पाइलाहरू दगुरेका छन् चरिकोटको सडकमा। देखिन्छ बजारको चहलपहल। मकै पोल्दैछन् कर्मवीर हातहरू। काँक्रो पनि चिरिएर मगमगाएका छन्। यात्रीको प्यास मेट्न सुन्तलाहरू पनि छन् चाउरिएर बसेका। केहीबेर हेर्छौँ चरिकोटको भूसंरचना। मुडेबाट हेर्दा देखिएको थियो खस्लान् जस्ता चरीकोटे बस्तीहरू। तर यहाँ आइपुग्दा त सम्मै रहेछ जमिन। पहाडको जादु सायद यही हो।
मकै खाने तृष्णाले ठेलानेर पुर्याउँछ मलाई। ४० रुपैयाँको दरले किन्छु पाँच घोगा मकै। लेकको मकै चपाउँदै अझ अगाडि बढ्छौँ। शान्त, स्वच्छ चरिकोट बजार ठूलो रहेछ। सवारी साधनको आवागमन पातलो छ। ध्वनि प्रदूषण छैन। वेला वेला सडकको बीचबाट हिँड्दा पनि फरक नपर्ने देखिन्छ। चरिकोटलाई पछाडि छोड्दै हामी अगाडि बढ्छौँ।
सल्लाको जंगल हुँदै अगाडि बढेको छ यात्रा। सडक निकै सुगम छ। हरियाली ओढेको वातावरण लोभलाग्दो। अनेक गाउँ छिचोल्दै अगाडि बढेका छौँ। कोसी देखिन्छ बडो सुन्दर। रामेछाप जाने बाटो रहेछ छेउबाट। जङ्गलको छातीबाट हिँडेका छौँ। सुन्दर बस्ती देखिन्छ। मैनापोखरी लेखेको देख्छु तर अघिको भ्रान्तिले डर लाग्छ कतै पुनः गलत त पढिनँ! गाडीको गति तीव्र छ।
अनि सोध्छु, 'कुन ठाउँ हो यो?'
उत्तर सही नै आउँछ मैनापोखरी।
यो नामसँग म परिचित छु। भिमानकी भ्यान्टी ठूलीलाई बिहे गरेर दिएको गाउँ हो यो मैनापोखरी। अहो! कति पर आएकी रहिछन् हाम्री दिदी। सम्झिएँ हृदयभरि भ्यान्टी ठूलीलाई। जसले मलाई बाल्यकालमा हुर्काइन्। धाईआमा बनेर खेलाइन्, खुवाइन् आज कता होलिन्। खोज्यो त्यो स्नेही हात। सुरक्षित काख। स्मृतिको झिल्का बल्झिन्छ छातीमा। दसैंमा सधैँ प्रतीक्षारत हुन्थे आँखा मैनापोखरीबाट आउने भेनाको। तिहारसम्म बस्थे प्रायः दिदी भेना नै। तिहारमा च्याँखे थाप्न हामी जिन्डाजिन्डीहरूलाई निकै सहयोग गर्ने। आज तुलना गर्छु सेयर बजारसँग। त्यो बेला गाउँमा अस्थायी सेयर मार्केट बन्थ्यो जुवाको अखडा। भर्खरैको पाँच रुपैयाँ सियसम्म पुग्थ्यो। भर्खरको सय, पाँच रुपैयाँ पनि बन्न सक्थ्यो। मैनापोखरीका भेनाले दाउ लगाउन राखिदिएको मेरो पैसा दोब्बर उठेको पलले वर्तमानमा पनि रोमाञ्चित हुन्छु। चौका दाउमा च्याँखे थाप्दा चौका दाउ नै। छक्कामा लगाउँदा छक्का नै।
मनभरि मैनापोखरी आएर समेटिन्छ। गाडीले छिचोल्छ भ्यान्टी ठूलीको गाउँ। हामी अझ अगाडि गुडेका छौँ। सल्लाको घना जंगल देखिन्छ तलतलसम्म। मनमोहक प्रकृतिका बीचबीचमा सुन्दर बस्तीहरू देखिन्छन्। हरियाली ओढेर मुस्कुराएको जिरी तल देखिन्छ।
साँच्चै सिनेमामा मैले देखेको स्वीट्जरल्याण्डको जस्तै हरियाली ओछ्याएका हरिया फाँटहरू देखिन्छन्। माथिबाट तल फैलिएको जिरी बजार पनि मलाई हेरेर मुस्कुराउँछ। हाटडाँडामा देखिन्छ स्वागतद्वार। लेखिएको छ ‘प्रथम बागमती पर्या साहित्य महोत्सव-२०८२’।
अहो! सफा नीलो आकाश, कलाकारले कोरेको तस्बिर जस्ता छाँट मिलेका आकर्षक पहाड र घना जङ्गल। देखिन्छ कर्कटपाताका नीला र राता छाना ओढेर बसेका पृथक् पहिचान बोकेका जीवन्त बस्तीहरू।
लालीगुराँस र चिमालले ढकमक्क फुलेका वनहरू। चराको चिर्बिर। प्रकृतिको अमर चमरले हम्किँदै गरेको शीतलता। पर्यावरण र भूगोल व्याख्यातीत छन्। मलाई त लाग्दै छ मेरा शब्दहरू जिरीको सौम्यतामा समाहित हुँदैछन्। मौनताको माला लगाउन हतारिएकी छु। आनन्दमा डुबुल्की मार्न चाहन्छु। कविता कोर्ने जाँगर छैन। अक्षर टिप्ने रहर छैन। जिरीको भूगोल आँखामा समेट्न खोज्छु। उत्साहमा बहकिन्छु। मलाई नसा चढ्दै छ प्रकृतिको। शस्यश्यामलको अर्थ भेटेर हर्षित छु।
अपलक हेर्न चाहन्छु स्वीसहरूलाई पनि मोहित पार्ने शक्तिशाली जिरीको धरा। स्वर्गको टुक्रामा उभिएर हेर्दैछु सिङ्गो संसार। जिरीमय हुने वाञ्छा जागृत हुँदैछ। पहाडको खोँचमा सजिएको ग्रीन जिरी क्लिन पनि अनुभव गर्छु। सडकको छेउछेउमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ। चिजको ठूलो प्रतीक सडकका दुवै छेउमा स्वादिला देखिन्छन्। एक नजरमा लागेको थियो हाम्रो स्वागतमा जिरीले कति भव्य केक काट्दै रहेछ। क्रिम कलरको केक त चिज पो रहेछ। अर्गानिक चिज। जिरीको उत्पादन। जिरीको पहिचान। जिरीको विशेषता र स्थानीय उत्पादनको सम्मानित र सुरक्षित व्यापार।
प्रथम पाइला जिरीमा पर्दा एक हुल परेवाहरू हुरूरू उड्छन् टाउकैबाट। म देख्छु जिरीको कणकणमा टोनी हेगन, एडमण्ड हिलारीका प्रथम पाइला। लालीगुराँस स्वयम् स्वागत गर्न झरेका छन् डाँडाबाट। सल्लाका जङ्गल गाउँदैछन् स्वागत गान। प्रकृति स्वयम् परी बनेर आगन्तुकका हातहातमा लालीगुराँस चिमालका फूल राख्दैछिन्। माला लगाउँदै छिन् हार्दिकताको।
अक्षत जिरीको स्पर्शमा सम्मोहित भएछन् टोनी हेगन। बग्दै गरेको स्वच्छ जिरी खोलाबाट अञ्जुलिभरि पानी उठाएर पक्कै पिउँछन् टोनी। प्रकृतिले आफ्ना वरदानी अङ्गालो फैल्याएर अङ्गालेकी थिइन् दूरका अतिथिलाई।
आकाश निक्खर नीलो छ। कोइली चरी सोध्दै छिन्, ‘को... हो... को हो?’ हेगन बुझ्छन् कोइलीको बोली र मुस्कुराउँदै भन्छन्, ‘म टोनी हेगन हुँ। नेपाल भ्रमणमा आएको एक स्वीस। भूगर्भविद् हुँ। नेपालका दुर्गम क्षेत्रहरूको अन्वेषण गर्न आएको। म सम्मोहित भएको छु जिरी तिम्रो प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनको यो अद्भुतता देखेर। भौतिक विकासबाट टाढा भए पनि तिम्रो सुन्दरता र आकर्षण शक्तिशाली छ। तिमी प्राकृतिक दृष्टिले निकै समृद्ध छौ जिरी। यो त मेरो देशको ज्यूरिचभन्दा पनि सुन्दर छ। प्राकृतिक छ। अक्षत छ। म चाहन्छु स्वीट्जरल्याण्डका अनेकौँ ठाउँलाई जिरी बनाउन सकूँ। मेरो देश गएपछि म पक्कै भन्ने छु ‘नेपाल हेर्ने भए स्वीट्जरल्याण्डको ग्रामीण भेगतिर जाऊ, स्वीट्जरल्याण्ड हेर्ने भए नेपालको जिरी नै जाऊ।’
आँखै अगाडि तेन्जिङ आएर हाँस्दै भन्छन्, ‘नमस्कार! चिन्छ हामीलाई? हामी सगरमाथा आरोहणमा हिँडेका। उः उहाँ सर एडमण्ड हिलारी हुनुहुन्छ न्युजिल्याण्डका प्रसिद्ध पर्वतारोही। उहाँलाई सगरमाथाको यात्रामा सहयोग गर्न जिरीको बाटो भएर हिँडेको हुँ। कि भुलिसक्यौ तिमीहरूले हामीलाई?’ बेसुरले बेरेको छ। म देख्छु खिरिला, हँसिला एडमण्डलाई। अहो! कति मिठो तन्द्रामा रहेछु।
मलाई लाग्दैछ प्रकृति प्रेम जस्तो पवित्र प्रेम सायद अरू केही होला र! कठिनाइ मोलेर नेपालको प्रकृतिमा मोहित हुने यी महान् दार्शनिकहरूलाई नमन छ। यात्री, आरोही र अन्वेषक त आफ्नो ठाउँमा होलान् तर यिनको हृदय सन्तको जस्तो लाग्दैछ। नेपालका दुर्गम क्षेत्रको कत्रो चिन्ता। यहाँका नागरिकको शिक्षा र स्वास्थ्यप्रति कत्रो चासो र लगाव।
मानवतावादी नभई कोही पनि प्रकृति प्रेमी हुन सक्दैन। यिनीहरूमा कत्रो सेवा भाव। कति साहस। कति सम्यक् विचार। म उभिएकी छु नेपाललाई विश्वमाझ चिनाउने सन्तहरूले टेकेको धरामा। मलाई घोप्टिएर चुम्न मन लाग्छ ती महान् यात्रीका पाइतालाका डोबहरू। मान्छे हुनुको परिभाषाले म पुलकित भएकी छु। आफ्नो महिमा गान त जो कोहीले गाउँछ। अरूको शक्ति र सौन्दर्यको बखान गर्न त ठूलै छाती चाहिन्छ। हामी त आफ्नो परिचयमा मात्र रमाउँछौँ। सगरमाथाको देशमा बसेर पनि मानसिक उचाइको यात्रामा हामी निकै पछि छौँ। सगरमाथा केवल एउटा निश्चित भूगोल मात्र पनि त होइन। नेपाली हुनु भनेको सगरमाथा झैँ उच्च हुनु पनि त हो। सगरमाथा विचारको उचाइ पनि त हो।
साहस र शक्तिको आधार हो। व्यवहारको अग्लाइ पनि त हो सगरमाथा। तर विडम्बना हामी खुलेर अरूको प्रशंसा गर्न लोभ गर्छौं। अरूको राम्रो भन्न आउँदैन हामीलाई। मपाईं नै कर्णप्रिय लाग्छ। उदारता, सेवा, सहयोग र मानवताका ठूला ठूला कुरा छाँट्छौँ त्यसैले स्रष्टा कहलिएका छौँ। तर स्वव्यवहारको मीमांसा कतिको गरेका छौँ हामीले। जिरी यात्रामा हेगन र हिलारीको महानता, उदारतालाई मूल्याङ्कन गर्न सके मात्र पनि हाम्रो यात्रा सफल हुने थियो।
जिरीको कणकणले भन्दैछ, 'हे स्रष्टाहरू हो स्वार्थभन्दा माथि उठ। तिमी अरूभन्दा पृथक् सोच लिएर हिँड। स्वार्थको माखेसाङ्ग्लो तोड। सेवाको क्षेत्रमा आएर पनि किन स्वार्थी हुन्छौ। कति छली बन्छौ। जिरीमा आएका छौ सिक हिलारीबाट, हेगनबाट। अरूको प्रशंसा गर्नु भनेको त आफ्नो उचाइ पनि बढाउनु हो रहेछ नि!' दुर्गमता दुर्भाग्य होइन। हिजोको जिरी आज जस्तो सुगम थिएन तर पनि टोनीको आँखाले देख्यो जिरीको दिगो सम्भावना।
पवित्रता पावरफुल हुन्छ। मौलिकताको मुस्कान मनमोहक हुन्छ। स्वीसहरू मौलिकतामा रमाए। विकासको मुख नदेखेको हिजोको जिरी स्वीसहरूलाई ज्यूरिचभन्दा पनि प्यारो लाग्यो। छक्क परेकी छु जिरेलीहरूको सरलताबाट। सरलता कमजोरी होइन। सरलता त शक्ति हो। सरल बन्न अध्ययन चाहिँदैन। सरलताले झुकाउँछ अजङ्गका पहाडहरूलाई पनि। तर हृदयमा अहङ्कार मौलाउनु हुँदैन। मलाई यस्तो लाग्दैछ स्वीसहरूले जिरीमा शिवलाई देखे। सत्यको निकट आफूलाई पाए। सरलताको मधुशालामा आफूलाई तैरिरहेको भेटे। शुद्धताको हावामा शान्तिको सागर पाए र आफैलाई बिर्सिए। पुनः परेवा उडे। म यार्सा होटल अगाडि उभिएकी छु। मुस्कुराएका छन् मेरा ओठहरू, हेगन र हिलारी आउँदा पक्कै यी परेवाहरूले नेपाल गाथा सुनाएका थिए।
म पुनः सोही गाथा सुन्छु शान्तिदूतहरूबाट, ‘अब नेपालमा सुशासन कायम हुन्छ। शान्ति सुव्यवस्था हुन्छ। नेपालीहरू विश्वमाझ सम्मानित भएर बाँच्ने दिन पुनः आउँदै छ। नेपाल अब साँच्चै नेपाल भएर हाँस्छ।
नेपालको स्विट्जरल्याण्ड जिरी भए जस्तै। नेपालका जिरीहरू अब उठ्छन् आफ्नै शक्तिले। जिरी मात्र होइन अब सम्पूर्ण नेपाल जिरीमय हुनेछ।’
जिरीको आँगनमा हिँड्दै गरेका आँखाहरूले सुन्दर सपना देख्छन्। सम्पूर्ण शरीर रोमाञ्चित हुन्छ। आँखाबाट हर्षका पानी तप्प खस्छ। लिङ्कन बजारको बीच भागमा परपरसम्म हाँसिरहेका झण्डाहरू सजीव भएर संगीत आलापे झैँ लाग्छ, ’रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...’ साहस र वीरताको प्रतीकले ऊर्जावान् हुन्छु। नेपालीहरूको छातीको विशालता देख्छु। राष्ट्रिय फूललाई नजिकैबाट हेर्न खोज्छु। लाग्छ जिरीको लिङ्कन बजार भर्खर शृङ्गार गरेर बसेकी नवयुवती हुन्। सम्पूर्ण जिरी भर्खरै स्नान गरेर हाम्रो स्वागत गर्दैछ... क्रमशः