ग्लोबल नेपाली
काठमाडौंको महाबौद्धका रञ्जन वैद्यको विदेश यात्रा सुरू भएको करिब ४० वर्ष भयो।
उनी सन् १९८६ मा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न भारत गएका थिए। स्नातक तहको पढाइ पूरा गरेर सन् १९८९ मा नेपाल फर्के।
नेपालमा करिब साढे एक वर्ष काम गरेर थप पढाइका लागि थाइल्यान्ड गए। एआइटी (एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी) मा मास्टर्स तहको पढाइ सकेर त्यहीँ काम गरे।
एआइटीमा पाँच वर्ष कन्सल्ट्यान्टका रूपमा जागिर गरेपछि रञ्जन सन् १९९९ मा अस्ट्रेलिया गए। त्यसपछिको करिअर उतै अघि बढाए।
उनले निकै लामो समय अस्ट्रेलियाको विद्युतीय ऊर्जा क्षेत्रमा काम गरे।
'मैले झन्डै २० वर्ष अस्ट्रेलियाको ऊर्जा क्षेत्रमा काम गरेँ। निकै लामो समय विद्युत वितरणमा बिताएँ,' उनले भने, 'अस्ट्रेलियामा विद्युत उत्पादनको मुख्य स्रोत कोइला हो। अहिले नवीकरणीय ऊर्जा भनेर सोलार र वायु विद्युत उत्पादनमा प्राथमिकता छ।'
सन् २०१९ यता भने रञ्जन 'इन्नोभेटिभ एसेट इन्जिनियरिङ' नामको कम्पनीमार्फत् काम गर्दैछन्। उनले यो कम्पनी एक जना अस्ट्रेलियन साझेदारसँग संयुक्त लगानीमा स्थापना गरेका हुन्।
कम्पनीका निर्देशक रञ्जनका अनुसार यो कम्पनीले विद्युत, टेलिकम्युनिकेसन र सडक पूर्वाधारको क्षेत्रमा काम गर्छ। बढी ध्यान ऊर्जा र टेलिकम्युनिकेसनमा छ।
'हाम्रो मुख्य काम पूर्वाधार व्यवस्थापन नीति निर्माण गर्ने हो। विद्युतमा पोल, पावर हाउस, ट्रान्सफर्मर, प्रसारण लाइन लगायत काम हुन्छ,' उनले भने, 'यस्ता पूर्वाधार निर्माण गर्दा दुर्घटना हुन नदिने र नयाँ ग्राहकलाई सेवा दिने मुख्य प्राथमिकता हुन्छ। मैले अस्ट्रेलियामा लामो समय काम गरेको क्षेत्र यही हो।'
उनको कम्पनीले पूर्वाधारका कारण हुने दुर्घटना न्यूनीकरण र दुर्घटना भइहाले क्षति न्यूनीकरणको रणनीति बनाउने काम गर्छ। कुनै पूर्वाधार निर्माण भइसकेपछि हरेक दुई वर्षमा त्यसको पुनरवलोकन हुन्छ।
'हामी भिक्टोरियाको ऊर्जा क्षेत्रमा काम गर्ने कम्पनीहरूका लागि रणनीति बनाउँछौं,' उनले भने, 'न्युजिल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया र साउदी अरेबियामा पनि काम गरिरहेका छौं। केन्यामा कामको तयारी हुँदै छ।'
इन्डोनेसियामा विश्व बैंकको एउटा प्रोजेक्टमा काम गर्दा नेपालको एक कम्पनीसँग सहकार्य गरेको उनले बताए।
उनको कम्पनीले पूर्वाधार आयोजनाको 'कन्सेप्ट' डिजाइन बनाउँछ र डिजाइन अनुसार कामको अनुगमन पनि गर्छ। त्यस्तै पूर्वाधार संरक्षण र दिगोपनका लागि रणनीति बनाउँछ।
अस्ट्रेलियामा रञ्जनको चासो आफ्नो व्यवसाय र आधुनिक प्रविधिमा मात्र छैन, उनी नेपालको मौलिक परम्परा र संस्कृति जगेर्नामा पनि सक्रिय छन्।
उनकै सक्रियतामा अस्ट्रेलियाको मेलवर्नमा सन् २०१४ मा 'अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)' स्थापना भएको थियो। संस्थापक अध्यक्ष उनी नै थिए।
एएनएमसी स्थापना भएपछि मेलवर्नमा नेपालीका लागि विभिन्न काम भएको छ। भिक्टोरियाका नेपाली समुदायको साथ र सहयोगमा १२० रोपनी जग्गा किनेर मन्दिर, गुम्बा, स्तूप आदि बनाउने काम हुँदै छ।
'केही पूर्वाधार बनिसकेको छ, केही बन्दैछन्। केही योजना अलिक पछिका लागि छन्,' रञ्जनले भने, 'नेपाल झल्किने संग्रहालय बनाउने र त्यहाँ मिनी नेपाल देखाउने लक्ष्य छ। मिनी नेपाल हेरेर नयाँ पुस्तालाई नेपाल जान प्रेरित गर्ने हाम्रो प्रयास हो।'
एनएनएमसी भिक्टोरियामा बस्ने नेपाली समुदायका लागि संस्कृति आदानप्रदान गर्ने थलो बनेको उनले बताए। त्यहाँ नेपालीहरू चाडपर्व मनाउन र धार्मिक कार्यक्रम गर्न भेला हुन्छन्। रञ्जन यसपालि इन्द्रजात्रा कार्यक्रम आयोजना गर्ने योजनामा छन्।
'रथ बनाएर बाजागाजासहित लाखे नाच गर्ने, भोज गर्ने योजना छ,' उनले भने, 'व्यवसायसँगै नेपाली संस्कृति र पहिचान विस्तारका लागि काम गर्नु मेरो ध्येय हो।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com