नेपाली प्रिमियर लिग (एनपिएल) मेलवर्न पहिलो पटक (२०२५ को अगष्ट २४ देखि अक्टोबर २६ सम्म) भएकाले यसमा हाम्रो धेरै अपेक्षा थिएन। तर यो जुन तरिकाले सम्पन्न भएर त्यसको प्रतिक्रिया आयो सामाजिक सञ्जालमा जुन खालको चर्चा भयो त्यसले हामीलाई उत्साही बनाएको छ।
भिक्टोरियाको नेपाली समुदायमा यति ठूलो प्रतियोगिता अहिलेसम्म भएको थिएन भन्ने लाग्छ।
म आफै पनि विगत ६/७ वर्षदेखि भिक्टोरियामा क्रिकेट खेल्दै आएको भएर पनि मैले यसको महत्व बुझेको थिएँ। अनि नेपाली समुदायले कस्तो खेल चाहेको छ र खेलाडीले के चाहेका छन् भनेर मैले बुझेको थिएँ।
हामीले अस्ट्रेलियामा रहेका व्यावसायिक संस्थाहरूलाई आयोजनाबारे बुझाउन सक्यौं।
७ वटा व्यावसायिक संस्थासँग कुरा गरेपछि हामीले ७ वटा टिमको लागि १ सय ५ जना खेलाडी चयन गर्यौं।
हामीले झण्डै ८ घण्टाको अक्सन नै गराएका थियौं। ३ महिनासम्म चलेको यो प्रतियोगिताका सबै खेलाडीले धेरै/थोरै पारिश्रमिक पाएका थिए।यसकारण पनि यो प्रतियोगिता विशेष रह्यो भनेर दाबी गर्न सकिन्छ।
पहिलो पटक आयोजना गरेको भएर हामीलाई चुनौती पनि उत्तिकै थियो। खेलका लागि ग्राउण्ड मिलाउनेदेखि अन्य व्यवस्थापन गर्न सजिलो थिएन। ७ वटा टिम हरेकले हरेकसँग खेल्ने अनि त्यसपछि सेमिफाइनल र फाइनल गरेर २१ वटा 'गेम' भयो।
प्रतियोगितामा नेपालको राष्ट्रिय प्रतियोगिता खेलेका केही खेलाडी पनि थिए। जसले गर्दा खेललाई अझै रोमाञ्चक बनायो। आइतबारको दिन काम गर्न जाँदा अस्ट्रेलियामा अरू दिनभन्दा धेरै पारिश्रमिक पाइन्छ। तर यस्तो दिनमा पनि औसतमा ५ सयको संख्यामा दर्शक हुनु भनेको धेरै राम्रो हो।
पहिलो पटक आयोजना गरिएको हुनाले हामीले यसलाई व्यावसायिक भन्दा पनि क्रिकेटको गुणस्तरमा ध्यान दिएका थियौं। त्यही भएर हामीले खेल हेर्नको लागि कुनै शुल्क राखेनौं।
अरू प्रतियोगिताभन्दा यो फरक हो भनेर पुष्टि गर्नु आफैमा चुनौतीपूर्ण थियो। १८/२० वटा क्रिकेट टिम अहिले पनि भिक्टोरियामा सक्रिय छन्।हामीले यसलाई व्यावसयिक बनाउँदैछौं भनेर सन्देश दिन सफल भएका छौं।
हामीले अर्को पटकदेखि अण्डर-१९ का खेलाडीलाई नेपालबाट लैजान सकिन्छ कि भनेर योजना बनाएका छौ।
आफ्नो कामसँगै क्रिकेटमा पनि कसरी योगदान दिन सकिन्छ भनेर योजना बनाएका छौं। यो काममा मसँगै ट्राइकुन कन्सल्टिङका साथीहरू सन्जोक दाहाल र भिष्म भट्टराई पनि हुनुहुन्छ। म आफूले पनि मेलवर्नमा प्रोडक्सन हाउस समेत चलाएको छु। जसले गर्दा समुदायमा केही न केही गर्नुपर्छ भन्ने सोच मलाई आइरहन्छ।
यसपटकको आयोजना पूर्ण रूपमा सफल भएको छ। अझै भन्ने हो भने हामीले सोचेभन्दा राम्रो भएको छ। यसबाट हामी उत्साहित छौं।
हाम्रो लक्ष्य एकदिन नेपाली राष्ट्रिय टिमका खेलाडीलाई एनपिएल मेलवर्नमा खेलाउने हो। हामीले त्यसका लागि काम गर्नुपर्छ। अहिले हामीले क्रिकेट भिक्टोरियाको नजरमा परिसकेका छौं।
कुनै दिन क्रिकेट अस्ट्रेलियाको नजरमा पर्न सकिन्छ भन्ने हाम्रो आशा छ। त्यसपछि हाम्रो लागि थप अवसरहरू हुनेछन्। त्यो अवसर आउनु भनेको नेपाली समुदायमा क्रियाशील क्रिकेट खेलाडी अनि नेपालकै खेलाडीले अवसर पाउनु हो।
यसलाई पूर्ण रूपमा व्यावसायिक बनाउने अनि खेलाडीको पनि महत्व होस् भन्ने हो। खेलाडीको महत्व बढ्नसाथ आफै व्यावसायिक हुने रहेछ।हाम्रो क्लब क्रिकेट भिक्टोरियाअन्तर्गत पर्छ।
यो कुरा क्रिकेट अस्ट्रेलियासँगै पुगेको छ। हामी विस्तारै क्रिकेट अस्ट्रेलियासँग जोडिन सक्छौं भन्ने हो।
एनपिएल मेलवर्न भनेर दर्ता छ। हामीले सबै कुरा पुर्याएर व्यावसायिक तरिकाले अघि बढाएका छौं। ट्राइकुन कन्सल्टिङ ग्रुपको नाममा। मेरो अध्ययन फिल्म प्रोडक्सनमा भएको भएर मैले २/४ वटा छोटा फिल्महरू पनि बनाएको छु। मेरो आफ्नै प्रोडक्सन हाउस पनि छ। हो।
भोलिका दिनमा एनपिएललाई नेपालको राष्ट्रिय खेलाडीलाई खेलाउन मन छ।
(अस्ट्रेलियाको भिक्टोरियामा २०२५ को अगष्ट २४ देखि अक्टोबर २६ सम्म पहिलो पटक भएको एनपिएल मेलवर्नका सेक्रेटरी उत्सव पोखरेलसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)