गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै देश निर्माणमा हातेमालो गरेर अगाडि बढ्ने विश्वास दिलाएको छ।
एनआरएए अस्ट्रेलियका अध्यक्ष सन्तोष कुँवरले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायधीश कार्कीको नतृत्वमा नेपाल वर्तमान चुनौतीहरूबाट मुक्त हुनेछ र बलियो भएर उठ्ने आशा राखेका छन्।
विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारजनमा समवेदना व्यक्त गर्दै एनआरएनका विचारहरू दिवंगत आत्माका परिवार र साथीभाइहरूसँगै रहेको स्पष्ट पारेको छ।
साथै, घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेको छ। न्याय र सुशासनको लागि नेपालको संघर्षमा उनीहरूको बलिदान सधैं सम्झिने बताएको छ।
छोटो समयको आन्दोलनले अर्थपूर्ण परिवर्तन ल्याएको भन्दै एनआरएनले यसबाट नेपालको इतिहासमा नयाँ अध्याय कोरिएको स्पष्ट पारेको छ।
‘छोटो समयमा भएको आन्दोलनबाट तपाईंले धेरै सोचले गर्न नसकेको काम पूरा गर्नुभएको छ। तपाईंको दृढ संकल्प र एकताले अर्थपूर्ण परिवर्तन ल्याएको छ र नेपालको इतिहासमा नयाँ अध्याय खोलेको छ,’ विज्ञप्तिमा भनिएको छ।
आन्दोलनले आफ्नो प्राथमिक उद्देश्य हासिल गरिसकेकाले अब, नेपालका युवाहरू र विश्वव्यापी नेपाली समुदायमाथि नयाँ जिम्मेवारी आएको बताएको छ।
‘जेन-जी आन्दोलनले आफ्नो प्राथमिक उद्देश्य हासिल गरिसकेको छ। अब, हामी सबैमाथि, नेपालका युवाहरू र विश्वव्यापी नेपाली समुदायमाथि नयाँ जिम्मेवारी आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई थाहा छ हामी जे भएको छ त्यो परिवर्तन गर्न सक्दैनौं तर पुनर्निर्माणको लागि सँगै काम गरौं।’
एनआरएन अस्टेलियाले तीव्र विरोधको समय अब शान्तिपूर्ण राष्ट्रिय पुनर्निर्माणको समयमा परिणत भएको भनेको छ।