ग्लोबल नेपाली
सन् २००९ मा ललितपुरका सन्तोष कुँवरले त्रिचन्द्र क्याम्पसबाट वातावरण विज्ञानमा स्नातक पूरा गरे।
त्यसपछि नेपालमै स्नातकोत्तर गर्ने कि विदेश जाने भन्ने सोचमा परे। अन्ततः विदेश जाने निर्णय गरे। अस्ट्रेलियामा फुपूका छोरा भएकाले उनी उतै गए।
सिड्नी पुगेपछि मास्टर्स अफ अकाउन्टिङमा भर्ना भए।
सुरूआती समयमा उनलाई काम पाउन निकै गाह्रो भयो। काम नपाएपछि घरबाटै खर्च माग्नुपर्ने अवस्था आयो।
'६ महिनाको शुल्क पहिल्यै तिरेको थिएँ। अर्को ६ महिनाको तिर्न गाह्रो भएपछि नेपाल घरबाट खर्च मगाएँ,' सन्तोषले भने, 'घरबाट फेरि खर्च पठाउनुपर्यो भने चाहिँ नेपाल फर्किनुपर्छ भन्नुभएको थियो। धन्न मैले काम पाएँ। नभए नेपाल फर्किनुपर्थ्यो।'
उनले दूध, दही, घ्यू, चीज लगायत उत्पादन हुने डेरी उद्योगमा काम पाए। उनी बिहान डेरीमा काम गरेर दिउँसो सिधै कलेज पुग्थे।
'डेरीको गन्ध अरूलाई नआओस् भनेर म कक्षामा पछाडि बस्थेँ। अरूले होच्याउँछन् कि भनेर सचेत हुन्थेँ,' उनले भने।
काम गर्दै, पढ्दै उनले सन् २०११ मा स्नातकोत्तर तह सके। त्यसपछि स्थायी आवास अनुमतिपत्र (पिआर) को तयारी गरे।
सन्तोषका अनुसार त्यो बेला अकाउन्टिङ सकेकाले अंग्रेजी भाषा परीक्षा आइइएलटिएसमा ७ अंक ल्याए पिआर पाउन सजिलो हुन्थ्यो। उनले एक वर्ष तयारी गरेर ७ अंक ल्याए। पिआर पनि पाए।
पिआर पाएपछि उनी ब्रिसबेन सरे। दुई वर्ष नर्सिङ होममा काम गरे अनि कन्सल्टेन्सी व्यवसायमा लागे।
सन् २०१४ यता उनले ब्रिसबेनमा आफ्नै कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन्। सन् २०१८ मा उनी रजिस्टर्ड माइग्रेसन एजेन्ट पनि बने।
हाल इसान एजुकेसन ब्रिसबेनका सञ्चालक समेत रहेका सन्तोष हस्पिटालिटी, रियल–इस्टेट र मोर्गेज लगायत व्यवसायमा संलग्न छन्।
यसबीच उनी सामाजिक गतिविधिमा पनि सक्रिय भए। गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न पदमा रहेर काम गरे। एनआरएनए अस्ट्रेलियाको सदस्य, आइसिसी (अन्तर्राष्ट्रिय समन्वय परिषद) का केन्द्रीय सदस्य, एनआरएनए ओसियानाका सह–संयोजक, क्विन्सल्यान्डको सचिव र संयोजक हुँदै अस्ट्रेलियाको महासचिवसम्मको यात्रा पूरा गरे।

यही यात्राको निरन्तरता स्वरूप सन् २०२३ जुलाई २६ मा सम्पन्न निर्वाचनमा उनी एनआरएनए अस्ट्रेलियाका अध्यक्ष निर्वाचित भए।
विश्वका ९० भन्दा धेरै देशमा एनआरएनएका शाखा छन्। एनआरएनए अस्ट्रेलिया 'कर्पोरेट सिस्टम' मा गइसकेकाले यसलाई नेतृत्व गर्न सजिलो भएको उनले दाबी गरे।
'मेरा लागि अध्यक्ष पद नयाँ भए पनि एनआरएनए नयाँ होइन। हामीले गर्न सक्ने काम र हाम्रा चुनौतीबारे म जानकार छु,' उनले भने, '६ वर्षअघि के भएको थियो भन्ने पनि सजिलै हेर्न सकिन्छ। हामी पारदर्शी छौं, त्यसैले काम गर्न सहज छ।'
विद्यार्थीका अपेक्षा र आफूहरूको सीमितताबीच भने सन्तुलन मिलाउनुपर्ने उनले बताए।
'कोही दुर्घटनामा पर्यो, कोही ठगियो वा अरू केही भयो भने सबभन्दा पहिले हाम्रैमा आउँछन्। यसलाई विश्वासको सूचकका रूपमा लिनुपर्छ। तर विद्यार्थीले धेरै अपेक्षा गर्ने भएकाले असन्तुष्टि पनि हुन्छ। त्यसलाई बुझाउने काम हाम्रो हो,' उनले भने, 'अस्ट्रेलियामा प्रत्येक दिन नयाँ नेपाली आइपुग्छन्। समस्या पनि नयाँ नै थपिन्छन्।'
गैर–नाफामूलक संस्थाका कारण सीमितता हुने भएकाले आफ्नो भूमिका प्रायः समन्वय र सहजीकरणमै रहने उनले बताए। साथै अस्ट्रेलियाको परिवेशबारे नेपाली समुदायलाई बुझाउन जरूरी रहेको उनको भनाइ छ।
सन्तोषका अनुसार अस्ट्रेलियामा सरकारी स्तरबाट विद्यार्थी र आप्रवासी कामदारलाई अनुदान उपलब्ध हुन्छ। पिआर लिएकाहरूलाई पनि विभिन्न सुविधा र अवसर छन्। तर नेपाली विद्यार्थी र समुदाय प्रायः यसबारे अनभिज्ञ हुने भएकाले उनीहरूलाई जानकारी दिन आवश्यक छ।
'अस्ट्रेलियाको दोस्रो पुस्तालाई एनआरएन र नेपाल चिनाउने चुनौती छ। यसलाई जोड्ने दायित्व हाम्रो हो,' उनले भने, 'कतिपय ठाउँमा नेपाली व्यवसायीहरू चोरी–डकैतीको मारमा परेका छन्। उनीहरूको मुद्दा उठाउने पनि हाम्रो चासो हो।'
एनआरएनएको कार्यक्षेत्र के हो भन्दा पनि कस्तो बेला कति गर्न सकिन्छ भन्ने आधारमा काम गर्नुपर्ने उनी बताउँछन्। अस्ट्रेलिया आएका विद्यार्थीलाई सीपमूलक तालिम दिएर सक्षम बनाउन सकिने उनको विश्वास छ।
विद्यार्थीकेन्द्रित सामाजिक काम धेरै भए पनि उनीहरूको विश्वास जित्न नसक्नु भने दुःखद रहेको उनको गुनासो छ।
'म विद्यार्थी हुँदा पनि एनआरएनए भनेको धनीहरूको क्लब हो भन्ने लाग्थ्यो। एनआरएनए हाम्रो हो भन्ने महसुस हुँदैन थियो,' उनले भने, 'बुझ्दै गएपछि थाहा भयो। अब त्यस्तो धारणा तोड्नुपर्छ।'
सन् २०२३–२०२५ कार्यकालमा एनआरएनए अस्ट्रेलियाले सामाजिक कामका लागि झन्डै ७०–८० हजार डलर खर्च गरेको उनले जानकारी दिए। यसको धेरै लाभ विद्यार्थीले लिएको उनले बताए।
तर विद्यार्थीहरू संस्थाको सदस्य नभएकाले अब उनीहरूलाई पनि सदस्य बनाउन जरूरी भएको उनको भनाइ छ। यसो गर्दा संस्थाको सदस्य संख्या र आम्दानी बढ्ने मात्र होइन, विद्यार्थीले अझ बढी लाभ लिन सक्ने उनको विश्वास छ।
त्यस्तै सामाजिक सञ्जालमार्फत एनआरएनएले गरेका कामको जानकारी दिनुपर्छ भन्ने उनलाई लाग्छ। संस्थाले जुन तहको काम गरेको छ, त्यो स्तरको प्रचार भएको छैन भन्ने उनलाई लागेको छ। त्यसैले त्यसतर्फ पनि ध्यान दिन जरूरी रहेको उनले बताए।
'मेरो दुई वर्षे कार्यकालमा एनआरएनए सबैको हो भन्ने सोच विकास गराउन लागि पर्नेछु। व्यवसाय, छोराछोरी र परिवारसँगको समय बचाएर समुदायका लागि लागेको छु,' सन्तोषले भने।