काभ्रेपलाञ्चोक कात्तिके देउरालीका राजकुमार गौतम पश्चिम अस्ट्रेलियाको पर्थमा रहेको खानी उद्योगमा काम गर्छन्।
उनी काम गर्ने वेस्ट गोल्ड रिसोर्समा सुन उत्खनन हुन्छ। यहाँ उनी प्लानिङ इन्जिनियरका रूपमा काम गरिरहेका छन्।
राजकुमार सन् २०१९ मा अस्ट्रेलिया गएका हुन्। उनले कर्टिन युनिभर्सिटीबाट स्नातकोत्तर सकेका छन्।
'म पढेको विश्वविद्यालयमा खानी सम्बन्धी पढाइ हुन्छ। र, यो क्षेत्रमा खानी पनि धेरै छन्,' उनले भने।
अस्ट्रेलिया जानुअघि राजकुमार इलेक्ट्रिकल इन्जिनियर थिए।
यहाँ खेतान समूहमा काम गरिरहेका उनले नपाली सेनामा प्राविधिक अधिकृतको नाम निकालेका थिए। अन्तिम चरणमा उनी घाइते भए। सैनिक अधिकृत हुने यात्रा रोकियो।
त्यसपछि राजकुमारलाई विदेश जाने रहर लाग्यो।
'२०१९ अक्टोबरमा कर्टिन युनिभर्सिटीका केही लेक्चररहरू नेपालमा सेमिनारमा आएका थिए। पर्थमै रहेका मेरा केही सिनियरहरूले भनेपछि म पनि सेमिनार पुगेँ,' राजकुमारले भने।
सेमिनारमा खानीबारे देखाइएको प्रस्तुतिले उनको मन लोभियो। त्यसपछि उनलाई पनि खानी इन्जिनियर हुन मन लाग्यो।
'उनीहरूले पनि नेपाली विद्यार्थी अहिलेसम्म पढ्न आएका छैनन् भनेपछि मलाई झन् चासो लाग्यो,' उनले भने, 'मैले डकुमेन्ट बनाएर पठाएँ। डकुमेन्ट पठाएको ११ दिनमै भिसा आएको थियो। त्यसयता म पर्थमै छु।'

कलेज पढुन्जेल उनले खानीमै काम गरे। सन् २०२२ डिसेम्बरमा खानी इन्जिनियरको पढाइ सके। तर इन्जिनियरकै काम पाउन सहज थिएन। त्यसैले केही समय ट्रक चलाए।
खानीभित्र ट्रक चलाउनु सजिलो नभए पनि खानी म्यानेजर बन्ने लक्ष्य रहेकाले सबै खालका काम सिकेको उनले बताए।
'ट्रक चलाउँदा धेरै गाह्रो भयो। सामान, पानी बोकेका गाडी आउजाउ गरिरहन्थे। रेडियो सेटमा कुरा गरिरहनुपर्थ्यो,' उनले भने, 'अंग्रेजी बुझे पनि त्यसलाई नेपालीमा सोचेर जबाफ दिनुपर्ने भएकाले केही समय बुझ्नै गाह्रो हुन्थ्यो। मैले न्युजिल्यान्डका साथीसँग संगत गरेर त्यसलाई सहज बनाएँ।'
चार महिना काम गरेपछि उनलाई अर्को खानीबाट कामको प्रस्ताव आयो। त्यसपछि उनले म्यानेजरसँग आफ्नो पढाइ अनुसारको काम दिन आग्रह गरे। नदिए जागिर छोड्ने बताए।
म्यानेजरले राजकुमारलाई प्रोडक्सन इन्जिनियरको काम दिए। एक वर्षपछि नै उनी प्लानिङ इन्जिनियर भए।
तीन वर्षदेखि उनी वेस्ट गोल्ड रिसोर्सेसमा प्लानिङ इन्जिनियरका रूपमा काम गरिरहेका छन्। उनको काम दैनिक, मासिक, वार्षिक र दुईवर्षे योजना बनाउने हो।
उनका अनुसार खानीमा ८ दिन लगातार काम गर्नुपर्छ। खान र बस्न कामकै ठाउँमा सुविधा हुन्छ। त्यसपछि ६ दिन छुट्टी हुन्छ।
'मैले खानीभित्र ट्रक चलाउने, बमहरू चार्ज गर्नेदेखि पड्काउनेसम्मको लाइसेन्स लिएको छु। त्यस्तै सर्भिस क्रू र ग्राउन्ड सपोर्टको तालिम पनि लिइसकेँ। खानी म्यानेजर हुन चाहिने सबै तालिम र कोर्स पूरा गरेको छु,' उनले भने।
खानीको काम चुनौतीपूर्ण हुन्छ। राजकुमारले भने यसमै मजा मानेका छन्। सुरक्षाका सबै उपाय अपनाइने भएकाले धेरै डराउनुपर्ने अवस्था नभएको उनी बताउँछन्।
उनी कार्यरत खानीमा पहिले ब्याट्री बनाउन चाहिने सामान पनि उत्खनन हुन्थ्यो। अहिले भने सुन मात्र उत्खनन हुन्छ।
राजकुमारका अनुसार ड्रिल गरेर बम पड्काएपछि रिमोट कन्ट्रोलबाट चल्ने लोडरहरूले सफा गर्छन्। सामान्यतया खानीबाट सुनको कच्चा पदार्थ निकालेर त्यसलाई प्रशोधन गरिन्छ। कहिलेकाहीँ सुनको डल्ला नै भेटिने उनले बताए।
'वर्ष कम्तीमा एउटा सुनको डल्ला भेटिएको देखेको छु,' उनले भने, 'भेटिएको सुनको डल्लो लिएर फोटो पनि खिचाएको छु।'

राजकुमार कुनै बेला रत्नपार्कमा क्यालेन्डर बेच्दै हिँड्थे।
८/९ वर्षको उमेरदेखि हरेक वर्ष फागुन–चैतमा उनी क्यालेन्डर बेच्न काठमाडौं आउँथे। एसएलसी (एसइई सरह) पास गरेर काठमाडौं आएपछि उनले पेटी, चस्मा, घडी लगायत सामान बेचे।
२०६६ सालमा एसएलसी पास गरेर इन्जिनियरिङ पढ्न सुरू गर्दासम्म पनि उनी सडकमा सामान बेच्थे। इन्जिनियरिङ पढ्दै गर्दा भने उनले मोबाइल पसलमा काम सुरू गरेँ अनि पछि आफै पसल गरे।
राजकुमारका बुबा २०४० सालदेखि नै काठमाडौंमा भारी बोक्थे। उनले काठमाडौंको महाबौद्धमा भारी बोक्दै छोराछोरी पढाए।
मोबाइल पसलमा काम गर्दै उनले इन्जिनियरिङ सके।
तीन वर्षदेखि उनले नेपालमा आरबी रिदम कन्सट्रक्सन सुरू गरेका छन्। यो कन्सट्रक्सनले काठमाडौं महानगरपालिका अन्तर्गतका भवन बनाउने र अरू काम गर्छ। कन्सट्रक्सन उनका भाइ राजीव गौतमले हेर्छन्। राजीव सिभिल इन्जिनियर हुन्।
'गरिब परिवारबाट यहाँसम्म आइपुगेँ। हजुरआमाले अरूको खेती कमाएर घरबारी जोड्नुभयो। बुबाले भारी बोकेर हामीलाई पढाउनुभयो,' उनले भने, 'म अहिले अस्ट्रेलियाकै प्रतिष्ठित खानी कम्पनीमा काम गरिरहेको छु। हाइड्रोजन इन्धनबारे पिएचडी पनि गरिरहेको छु।'
नेपालमा पनि सुन खानी उद्योगको सम्भाव्यता अध्ययनका लागि प्रयास गरिरहेको उनले बताए।
'सम्भाव्यता अध्ययनका लागि विभिन्न देशमा रहेका खानी इन्जिनियर र भूगर्भविदहरूको टिम बनाउन म लागिरहेको छु। हेरौं, यसमा कति सफल हुन्छु,' उनले भने।