फिनटेक शृंखला– १२
एउटा पुरानो कहावत छ — जिन्दगीमा शत्रु र ऋण कहिल्यै नलागोस्!
हामीकहाँ यो कहावत कतिसम्म प्रचलित छ भने, आज पनि ठूलाले सानालाई आशीर्वाद दिँदा यही कामना गर्छन्।
यस्तो कामनाका पछाडि शत्रु र ऋणलाई एकै दृष्टिले हेर्ने हाम्रो सामाजिक मनोविज्ञान मुख्य कारण हो।
ऋणले घेरेको मान्छे आर्थिक रूपमा कंगाल हुन्छ, सामाजिक रूपले तिरस्कृत हुन्छ र परिवारिक रूपमा बर्बाद हुन्छ भन्ने हाम्रो सामाजिक सोच रहँदै आएको छ।
हुँदाहुँदा हाम्रा बाजे–बराजुले 'ऋणले मान्छेको आय र आयु दुवै खान्छ' भनेको पनि हामीले धेरै सुन्यौं, सुनिरहेकै छौं।
रोचक कुरा के भने, जुन ऋणलाई हाम्रो समाजले यति साह्रो लाञ्छित गर्यो, शत्रुकै दर्जामा राख्यो; त्यही समाजमा हुर्के–बढेका एक ३८ वर्षीय युवाले ऋण लिने–दिनेबीच सहजीकरणको काम गरेर अर्बौं मूल्यको डिजिटल साम्राज्य खडा गरेका छन्।
त्यो पनि भारतको आर्थिक राजधानी र संसारकै एक प्रमुख वित्तीय गन्तव्य 'मायानगरी' मुम्बईमा।
हामी कुरा गर्दैछौं दिपेश कार्कीको, जो दक्षिण एसियाकै सबभन्दा ठूलो डिजिटल पुँजी बजार 'लेनदेन क्लब' का सह–सञ्चालक हुन्।
व्यक्ति–व्यक्तिबीच हुने कर्जा लेनदेनमा समन्वय गर्दै आएको यो डिजिटल प्लेटफर्मले पछिल्लो एक दशकमा ३ खर्ब नेपाली रूपैयाँ (१९ हजार करोड भारतीय रूपैयाँ) भन्दा बढी रकमको ऋण लेनदेन गराइसकेको छ। यसले वार्षिक करिब ६० अर्ब भारूको ऋण सहजीकरण गर्छ।
कम्पनीको पछिल्लो तथ्यांक अनुसार यो डिजिटल सञ्जालबाट तीन करोडभन्दा बढी व्यक्तिले सानो–ठूलो रकम ऋण लिएका छन् भने ४४ लाखभन्दा बढीले ऋण दिएका छन्।
नेपालको एउटा सानो सहरबाट सपनाको पखेटा चाल्दै 'सपनाको सहर' मुम्बईमा सफलताको पताका फहराएका दिपेशसँगको कुराकानीमा हामीले पहिलो प्रश्न नै यही सोध्यौं — नेपालको परम्परागत कहावत विपरीत ऋण लेनदेनमा सहजीकरण गरेर यत्रो ठूलो कम्पनी खडा गर्नुभयो, आज फर्केर हेर्दा सानैदेखि सुन्दै आएको त्यो कहावतलाई कसरी लिनुहुन्छ?
मुम्बईको आफ्नो व्यस्त कार्यतालिकाबीच गत आइतबार छुट्टीको दिन हामीसँग ह्वाट्सएप कुराकानीमा आएका दिपेशको जबाफ थियो, 'मेरो विचारमा यस्तो सोचाइ नै हाम्रो विकासको सबभन्दा ठूलो बाधक हो। विकसित पश्चिमा देशहरू यस्तो धारणा सुनिँदैन। त्यहाँ त पाइला पाइलामा ऋण लेनदेन भइरहेको हुन्छ। मान्छेको घरव्यवहार नै ऋणबाट चल्छ। धेरैले ऋण लिएरै डिग्री गर्छन्। तपाईं आफै पश्चिमा देश र हाम्रो देशको विकास स्तर तुलना गरेर हेर्नुस् — उनीहरू कहाँ छन्, हामी कहाँ छौं? ऋणको महत्त्व यसैबाट थाहा हुन्छ।'
उनले अगाडि भने, 'सबै मान्छे धनी परिवारमा जन्मिएको हुँदैन। सबैसँग आफ्नो सपना पूरा गर्न पुर्ख्यौली सम्पत्ति हुँदैन। त्यसैले जिन्दगीमा उँभो लाग्न केही न केही खुड्किलो टेक्नैपर्छ। कसै न कसैको हात थाम्नैपर्छ। आड लिनैपर्छ। ऋण भनेको पनि जिन्दगीमा उँभो लाग्नलाई चाहिने खुड्किलो नै हो।'
दिपेशको यो भनाइ व्यावसायिक दर्शन मात्र होइन, संसारभरिको सर्वस्वीकार्य मान्यता हो।
बंगलादेशमा ग्रामीण बैंक खोलेर वित्तीय क्रान्ति ल्याएका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले 'ऋण पाउनु प्रत्येक नागरिकको आधारभूत हक हो' भनेका छन्। एक गरिब मानिसलाई पुँजी दिनु भनेको उसलाई आफ्नो खुट्टामा उभिने आत्मबल दिनु हो भन्ने उनको भनाइ छ। उनले यसलाई बंगलादेशको गाउँ–गाउँमा प्रमाणित गरेर देखाएका छन्।
दिपेशले पनि भारतको मुम्बईमा बसेर डिजिटल प्रविधिका माध्यमबाट मध्यम तथा निम्नमध्यम वर्गको 'आत्मबल' जगाउने काम गरिरहेका छन्।
ऋणको खाँचो परेका र ऋण दिने क्षमता भएकाहरूलाई उनले आफ्नो 'लेनदेन क्लब' को सञ्जालमा जोडेका छन्।
मान्छेका थुप्रै आर्थिक गर्जो टारेका छन्।
र, मान्छेको जीवनमा आइपर्ने थुप्रै अड्चनहरूमा आड बनेका छन्।
हुन त ऋणको लेनदेन भन्नेबित्तिकै हामी बैंक तथा वित्तीय संस्थाहरूलाई सम्झने गर्छौं। तर मध्यम तथा निम्न–मध्यम वर्गले घरव्यवहारको गर्जो टार्न सानो–सानो रकमका लागि बैंकसँग ऋण लिन सक्दैनन्। उनीहरूले चाहे पनि बैंकबाट सजिलै ऋण पाउँदैनन्। कागजपत्रको चाङ हुँदै गुज्रनुपर्छ, ऋण बराबरको धितो राख्नुपर्छ। त्यो उनीहरूका लागि चट्टाने पहाड फोड्नुजत्तिकै कठिन हुन्छ।
यही कठिनतामा दिपेश र उनका साझेदार भाविन पटेलले सुरू गरेको 'लेनदेन क्लब' ले ऋण लिन–दिन व्यावहारिक रूपमा सहज बाटो निर्माण गरेको छ, जसलाई संसारले व्यक्ति–व्यक्तिबीच हुने लेनदेन अर्थात् 'पिटूपी लेन्डिङ' (Peer–to–Peer Lending) का रूपमा चिन्छ।
दिपेश कार्की (बायाँ) र उनका साझेदार भाविन पटेल
दिपेशको सफलताको कथाले भारतको मुम्बईमा वृक्ष हाले पनि यसको जरा नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको विकट गाउँ हौंचुरसँग जोडिएको छ।
आजभन्दा करिब साढे तीन दशकअघि, जब दिपेशको पुर्ख्यौली गाउँ हौंचुर बैंक वा वित्तीय संस्थाको पहुँचमा थिएन, त्यहाँका स्थानीय आपतविपत पर्दा छरछिमेक वा साहु–महाजनबाट ऋण लिएर आफ्नो गर्जो टार्ने गर्थे।
त्यो बेला दिपेशको घर पनि स्थानीय गाउँलेहरूका लागि आर्थिक सहयोगको एउटा भरपर्दो स्रोत थियो।
दिपेशका आमाबुबा दुवै गाउँको स्कुलमा शिक्षक थिए। त्यति बेला सरकारी जागिरे हुनुले एउटा खास अर्थ राख्थ्यो — महिना मरेपछि तलब आउनु। यही कारण गाउँलेहरू पैसाको खाँचो पर्दा ऐँचोपेँचो गर्न दिपेशको घर आउँथे।
'म सानैदेखि विराटनगरमा बसेर पढेको भए पनि आमाबुबाको त्यो ग्रामीण लेनदेनबारे जानकार थिएँ,' दिपेशले अतीततिर फर्किँदै भने, 'कहिलेकाहीँ छुट्टीमा घर जाँदा मलाई पनि आमाले ऋण लिएका आफन्त र छरछिमेककहाँ किस्ता उठाउन पठाउनु हुन्थ्यो।'
सानै उमेरमा देखेको त्यो ग्रामीण वित्तीय लेनदेन दिपेशलाई एकदमै रोचक लाग्थ्यो — एउटा मान्छेलाई पैसा चाहिएको छ, अर्कोले दिन्छ। काम टरेपछि उसले पैसा फिर्ता गर्छ, फेरि अर्कोले पाउँछ।
यस्तो लेनदेनले स्थानीय स्तरको आर्थिक आवश्यकता पूरा गर्ने मात्र होइन, समाजलाई एउटा डोरीमा बाँधेर राख्छ भन्ने दिपेशलाई लाग्थ्यो।
ऐँचोपैँचोको त्यही बाल्यकालीन स्मृति दिपेशको मस्तिष्कमा यस्तरी गडेर बस्यो, उनले उच्च शिक्षाका लागि भारत जाँदा पनि त्यो स्मृति आफूसँगै लिएर गए। 'लेनदेन क्लब' लाई उनी त्यही बाल्यकालीन स्मृतिको व्यावसायिक रूप मान्छन्।
'आमाबुबाले गाउँलेहरूको आर्थिक आवश्यकता पूरा गर्न जसरी सानो सानो रकम ऋण दिनुहुन्थ्यो, त्यही अनुभव र सम्झनाले नै लेनदेन क्लबको जग हाल्यो भन्ने मलाई लाग्छ,' दिपेशले भने।
बाल्यकालीन स्मृतिबाट व्यावसायिक साम्राज्य स्थापनासम्म आइपुग्दा दिपेशले सफलता र असफलताको लामो यात्रा तय गरेका छन्।
विराटनगरमा प्लस–टूसम्म अध्ययन गरेपछि उनी उच्च शिक्षाका लागि सबभन्दा पहिला काठमाडौं आए।
खासमा उनी पाइलट पढ्न चाहन्थे। सानोमा विराटनगरबाट घर फर्किँदा नेपाल वायुसेवा निगमको जहाज चढेर लामिडाँडा ओर्लिनुपर्थ्यो, अनि त्यहाँबाट ६ घन्टा हिँडेर हौंचुर पुग्नुपर्थ्यो। उनी जहाजको पहिलो सिटमा बसेर पाइलटले के गर्छन्, कसरी जहाज उडाउँछन् भनेर हेरी बस्थे। त्यसले रोमाञ्चित भएका दिपेशमा कुनै दिन त्यसरी नै जहाज उडाउँछु भन्ने कल्पना जागृत भएको थियो।
तर त्यो कल्पना, कल्पना नै रह्यो।
पाइलट पढ्न ३०–४० लाख रूपैयाँ लाग्छ भन्ने थाहा पाएपछि उनले आफ्नो क्षमताभन्दा ठूलो आकाशमा उडान नभर्ने निश्चय गरे।
'म सामान्य शिक्षकको छोराले कहाँबाट ल्याउनु त्यत्रो पैसा!' दिपेशले भने, 'बरू त्यसको सट्टा इन्जिनियरिङ पढ्छु भनेर पुल्चोक क्याम्पसमा आवेदन भरेँ। तर त्यहाँ पनि मेरो इच्छा पूरा भएन। मलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङमा रूचि थियो, नाम निस्क्यो सिभिल इन्जिनियरिङमा।'
कहिलेकाहीँ जिन्दगीको एउटा असफलताले मान्छेलाई नयाँ दिशा दिन्छ, जुन दिशा सफलताको मुकामसम्म पुग्छ!
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्न नपाउनु दिपेशका लागि त्यस्तै असफलता बन्यो।
उनी त्यसपछि छात्रवृत्तिमा विदेश गएर पढ्न काठमाडौंका विभिन्न दूतावास धाउन थाले।
'मैले त्यो बेला काठमाडौंका हरेक एम्बेसी (दूतावास) को ढोका चहारेको छु। खल्तीमा पैसा हुँदैन थियो, म हरेक एम्बेसी हिँडेरै पुग्थेँ,' उनले हाँस्दै भने, 'मलाई आज पनि काठमाडौंमा कुन देशको एम्बेसी कहाँ छ भन्ने कन्ठै छ।'
निरन्तर प्रयासपछि उनले भारतको कुरूक्षेत्रस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआइटी) मा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाए।
सन् २०११ मा इन्जिनियरिङ पढाइ पूरा गरेपछि उनको जीवनमा पहिलो 'टर्निङ प्वाइन्ट' आयो।
धेरै नेपाली युवाजस्तै दिपेशले पनि आफ्नो करिअर बनाउन अमेरिका जाने सपना देखे र आवदेन पनि दिए। प्रक्रिया अघि बढिसकेको थियो, तर एकाएक उनको मन बदलियो।
'मसँग अमेरिका जाने विकल्प खुला थियो, तर मैले भारतमै करिअर बनाउने निधो गरेँ,' उनले भने।
किन त?
हाम्रो यो प्रश्नमा दिपेशले भने, 'पाँच–छ वर्ष भारत बसेर इन्जिनियरिङ पढेकाले हुनसक्छ, मलाई यहीँ आफ्नो सपना पूरा गर्न सक्छु जस्तो लाग्यो। आर्थिक रूपले निकै अघि बढेको भारतमा मैले आफ्नो सपना पूरा गर्ने सम्भावनाहरू धेरै देखेँ। त्यसमाथि भौगोलिक रूपले यो ठाउँ नेपालसँग नजिक छ। मन लागेको बेला घर गइरहन सकिन्छ।'
त्योभन्दा ठूलो कुरा, नेपालीहरूप्रति भारतमा जुन आमधारणा सुनिन्छ, त्यो बदल्न पनि त्यहीँ बसेर काम गर्नुपर्छ भन्ने हुटहुटी जागेको उनी बताउँछन्।
त्यही हुटहुटीका कारण दिपेशले अमेरिका जाने विकल्प त्यागे, र भारतलाई नै आफ्नो कर्मभूमि बनाउने निधो गरे।
त्यसमा पनि दक्षिण एसियाभरि 'सपनाको सहर' भनेर चिनिएको मुम्बई दिपेशको पनि सपना पूरा गर्ने गन्तव्य बन्यो।
उनले सबभन्दा पहिला सन् २०१३ मा कलेजका सिनियर साथीहरूसँग मिलेर 'पाइप आइएसओ' भन्ने स्टार्टअप कम्पनी सुरू गरे।
उनी पनि सह–संस्थापक रहेको उक्त कम्पनीले विभिन्न औद्योगिक पावर प्लान्ट, पानीजहाज, पनडुब्बी, लडाकू विमान लगायतका लागि पाइपको डिजाइन तयार पार्थ्यो।
यो कम्पनी अहिले पनि सफलतापूर्वक चलिरहेकै छ। दिपेश भने सन् २०१५ मै त्यो कम्पनीबाट अलग भए।
यहाँनिर उनको जिन्दगीमा अर्को 'टर्निङ प्वाइन्ट' आयो।

त्यो वर्ष नेपालमा गएको ७.६ म्याग्निच्युडको भुइँचालोले दिपेशको जिन्दगीमा ठूलो कम्पन ल्याइदियो। उनी भुइँचालोले प्रभावित गोरखाका केही पहाडी गाउँहरूको पुनरूत्थानमा स्वयंसेवक भएर हिँडे।
भुइँचालोले आहत गाउँलेहरूको जीवन पुनर्स्थापना गर्न र क्षतिग्रस्त स्कुलहरू पुनर्निर्माण गर्न उनले आफ्नो तर्फबाट सक्दो सहयोग गरे।
त्यो घटनाले समुदायको हितका लागि समुदायसँगै जोडिएर काम गर्नुपर्छ भन्ने प्रेरणा पाएको उनी बताउँछन्।
'ठुल्ठूला औद्योगिक पावर प्लान्टका लागि पाइप डिजाइन गर्दा अप्रत्यक्ष रूपले त समुदायलाई योगदान नै भइरहेको थियो, तर प्रत्यक्ष रूपमा समुदायसँग जोडिएर काम गर्न पाएको थिइनँ। एउटा पाइपको डिजाइन बिक्री गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्थ्यो। त्यो कामसँग समुदायको प्रत्यक्ष सरोकार पनि केही थिएन,' उनले भने, 'नेपालको भुइँचालो अनुभवले मलाई कुनै यस्तो काम गर्न मन लाग्यो, जसले समुदायलाई सिधै छुन्छ, जसले मान्छेको जीवनलाई सिधै प्रभाव पार्न सक्छ।'
यही सोचका साथ दिपेशले त्यति बेलै नेपालमा 'राइड–सेयरिङ' को अवधारणा ल्याएका थिए।
अहिले पठाओ, इन्ड्राइभ लगायतका 'राइड–सेयरिङ' कम्पनीले जसरी मोटरसाइकल र ट्याक्सीको सञ्जाल निर्माण गरेका छन्, दिपेशले यही अवधारणाको कम्पनी आजभन्दा ११ वर्षअघि नै नेपालमा सुरू गर्न खोजेका थिए।
उनको त्यो अवधारणा अहिलेको राइड–सेयरिङभन्दा अलि बृहत् थियो। काठमाडौंमा चल्ने सार्वजनिक ट्याक्सीहरूलाई आकस्मिक अवस्थाका बिरामी ओसार्ने एम्बुलेन्सका रूपमा पनि प्रयोग गराउने उनको योजना थियो।
तर उनको योजनाले सार्थक रूप लिएन।
त्यति बेला नेपालमा स्टार्ट–अप सुरू गर्न खोजेजस्तो वातावरण नपाएको उनको भनाइ छ।
मान्छेले कोसिस गर्न छाडेन भने हरेक असफलताले नयाँ दिशा दिन्छ र त्यो दिशाले नै अन्तत: सफलताको मुकामसम्म पुर्याउँछ भन्ने भनाइ दिपेशको जिन्दगीमा फेरि एकचोटि लागू भयो।
नेपालमा अनुकूल वातावरण नदेखेर भारत फर्केका दिपेशले आफ्ना पुराना साथी भाविन पटेलसँग मिलेर यस्तो डिजिटल प्लेटफर्म सुरू गरे, जसले आज ११ वर्षपछि व्यक्तिगत ऋण लेनदेनमा क्रान्ति नै ल्याएको छ।
त्यो प्लेटफर्म हो — लेनदेन क्लब।
भारतको 'पिटूपी लेन्डिङ' अर्थात् व्यक्ति–व्यक्तिबीच हुने ऋण लेनदेनमा बजारको ९५ प्रतिशत हिस्सा ओगेटको लेनदेन क्लब दक्षिण एसियाकै यस्तो सबभन्दा ठूलो प्लेटफर्म हो।
'मान्छेलाई पैसाको खाँचो कहाँ हुँदैन? कसलाई हुँदैन? खोटाङको गाउँमा बिरामी उपचार गर्न पैसा चाहिएजस्तै मुम्बई सहरमा पनि बिहेबारी गर्न पैसा नै चाहिन्छ। पढ्न पैसा चाहिन्छ, घरव्यवहारका साना साना आवश्यकता पूरा गर्न पैसा चाहिन्छ,' दिपेशले लेनदेन क्लब स्थापनासँग जोडिएको कथा सुनाए, 'जसरी मेरो गाउँमा हजार–दुई हजार रूपैयाँका लागि मान्छेहरू बैंक जान सक्दैनन्, त्यसरी नै मुम्बई सहरमा पनि दस–बीस हजारका लागि बैंक जाने कुरा आउँदैन। म आफैले यस्तो संकट धेरैचोटि भोगेको छु। यस्तै भोगाइ मेरो पार्टनर भाविन पटेलको पनि रहेछ।'
'लेनदेन क्लब हाम्रो त्यही भोगाइको परिणाम हो,' उनले भने।
व्यक्तिगत भोगाइ र खोटाङदेखि बोकेर आएको बाल्यकालीन स्मृति मात्र होइन, लेनदेन क्लब स्थापनासँग सामाजिक यथार्थ पनि जोडिएको दिपेश बताउँछन्।
'हामीकहाँ कसैलाई तत्काल दस–बीस हजार रूपैयाँ चाहियो भने ऊ बैंक जाँदैन, साथीभाइ वा आफन्तसँग सरसापट लिन्छ,' उनले भने, 'नेपाल मात्र नभएर भारतमा पनि यस्तो व्यक्तिगत लेनदेन वा ऐँचोपैँचोको संस्कृतिले गहिरो जरा गाडेको छ। हामीले त्यही संस्कृतिलाई डिजिटल प्लेटफर्मका माध्यमबाट व्यावसायिकतामा ढाल्न खोजेका हौं।'
त्यति बेला अमेरिकामा 'लेन्डिङ क्लब' र बेलायतमा 'जोपा' जस्ता प्लेटफर्मले व्यक्ति–व्यक्तिबीच लेनदेनमा तहल्का मच्चाइरहेका थिए। भारतमा भने त्यस्तो कुनै प्लेटफर्म थिएन। यो क्षेत्रका लागि नयाँ आइडिया भएकाले पनि आत्मविश्वास जागेको दिपेशको भनाइ छ।
'हामीले सोच्यौं — यदि पश्चिमा देशहरूमा, जहाँ मानिसहरू छिमेकीलाई पनि चिन्दैनन्, जहाँ व्यक्ति–व्यक्तिबीच विश्वासको कमी छ, त्यहाँ प्रविधिको भरमा यति ठूलो लेनदेन चल्न सक्छ भने हाम्रो एसियाली समाजमा त झन् बढी चल्नुपर्छ,' दिपेशले भने, 'किनभने हाम्रो रगतमै परापूर्वकालदेखि सरसापट गर्दै आएको संस्कार छ।'
दिपेश र भाविनको जोडीले यही आत्मविश्वासका साथ 'लेनदेन क्लब' को सुरूआत त गरे, तर उनीहरूका अगाडि चुनौतीका दुई अजंग पहाड उभिएका थिए।
एकातिर व्यक्ति–व्यक्तिबीच डिजिटल माध्यमबाट लेनदेन गराउन कानुनी संरचनाको अभाव थियो भने अर्कातिर देख्दै नदेखेको, चिन्दै नचिनेको व्यक्तिलाई ऋण दिलाउन कसरी विश्वास आर्जन गर्ने भन्ने प्रश्न पनि थियो।
यी दुवै चुनौतीबीच नयाँ व्यवसाय सुरू गर्नु आँधीबेहरीमा बिनाकम्पास पानीजहाज चलाउनु जत्तिकै खतरनाक छ भन्ने दिपेश र भाविनले बुझेका थिए।
कतिपयले उनीहरूलाई कानुन नै नबनेका बेला यस्तो काम सुरू नगर्न सुझाव पनि दिए।
तर उनीहरू डराएनन्।
चुनौतीका पहाड जतिसुकै अजंग भए पनि विचलित भएनन्।
'हामीलाई आफ्नो आइडिया र योजनामाथि विश्वास थियो। दस–बीस हजार रूपैयाँको खाँचो टार्न सरसापट गरिरहने भारतीय उपभोक्तालाई ढिलोचाँडो आकर्षित गर्न सकिन्छ भन्ने हामीलाई विश्वास थियो। सबभन्दा ठूलो कुरा त, अमेरिका र बेलायततिर लोकप्रिय भइसकेको यो आइडियालाई भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) ले पनि ढिलोचाँडो मान्यता दिन्छ भन्नेमा हामी ढुक्क थियौं,' दिपेशले भने।
आखिरमा उनीहरूको विश्वास सही साबित भयो।
रिजर्भ बैंक अफ इन्डियाले लेनदेन क्लबको व्यावसायिक यात्रामा तगारो लगाउने कोसिस कहिल्यै गरेन। बरू त्यहाँका अधिकारीले आफै अग्रसर भएर छलफल अघि बढाए।
करिब दुई वर्षपछि सन् २०१७ अक्टोबरमा पिटूपी लेन्डिङले कानुनी मान्यता पायो।
त्यसै अनुसार लेनदेन क्लब लगायतका लेन्डिङ प्लेटफर्महरूले सन् २०१८ मा कानुनी लाइसेन्स प्राप्त गरे।
कानुनी बाटो खुले पनि अर्को त्यत्तिकै ठूलो चुनौती थियो, उपभोक्ताको विश्वास जित्नु।
एघार वर्षअघि अनलाइनबाटै ऋण पाइन्छ वा कसैको ऋणमा लगानी गरेर बैंकभन्दा बढी ब्याज कमाउन सकिन्छ भन्दा मान्छेहरू पत्याउँदैनथे।
धेरैको मानसिकतामा बैंक भनेको एउटा ठूलो भौतिक संरचना मात्र थिएन, वित्तीय सुरक्षाको आधार पनि थियो। यस्तोमा 'हाम्रो प्लेटफर्ममा आउनुस्, हामी बिनाधितो ऋण दिँलाउँछौं' भन्दा धेरैले पत्याएनन्।
लगानीकर्ताको हकमा त चुनौती झनै ठूलो थियो — आफूले कहिल्यै नदेखेको मान्छेलाई केवल एउटा मोबाइल एपको भरमा कसरी पैसा दिने?
'यस्तो अविश्वासको पर्खाल भत्काउन हामीलाई धेरै समय लाग्यो,' दिपेशले संघर्षका दिन खोतल्दै भने, 'पहिलो ऋण स्वीकृत गर्दा हामीले आफ्नै साथीभाइ गुहारेका थियौं। आफूले चिनेजानेका मान्छेबीच नै ऋण लेनदेन गराएका थियौं। प्रविधिलाई विश्वास नगरे पनि हामीलाई व्यक्तिगत रूपमा विश्वास गरेर उनीहरूले लेनदेन क्लबमार्फत कारोबार गरेका थिए।'
डिजिटल व्यवसायको नीब भनेकै विश्वास हो। चिनजानका व्यक्तिबाट सुरू गरिएको भए पनि यसले विश्वासको माहोल बढाउँदै लग्यो। त्यही विश्वासका कारण साथीभाइको सञ्जालबाट सुरू भएको कारोबार 'एक कान दुई कान मैदान' हुँदै गयो।

अब हामी यो डिजिटेल प्लेटफर्मले ऋण लेनदेनमा कसरी सहजीकरण गर्छ, त्यसबारे चर्चा गरौं।
सर्वसाधारणले बुझ्ने सरल भाषामा भन्दा, लेनदेन क्लब आफैले कसैलाई ऋण दिँदैन। न त यसले कसैको पैसा बैंकले जस्तो जम्मा गरेर राख्छ।
यो एउटा यस्तो बजार हो, जहाँ दुईथरी मानिसहरू डिजिटल माध्यमबाट एकअर्काको सम्पर्कमा आउँछन्। तपाईं–हामीले गाउँघरमा वा पछिल्लो समय सहर बजारमा समेत हाट चलेको त देखेकै छौं। जसरी हाटले विभिन्न उपभोग्य वस्तुका क्रेता र बिक्रेतालाई एकठाउँ ल्याउँछ, लेनदेन क्लब भनेको पनि ठ्याक्कै डिजिटल हाट बजार जस्तै हो, जहाँ ऋण लिने र दिनेहरू एकठाउँ आउँछन्।
जसलाई ऋण चाहिएको छ, उसले लेनदेन क्लबको एपमा गएर 'मलाई बीस हजार चाहियो' भनी आवेदन दिन्छ। त्यसपछि कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिन सक्रिय हुन्छ। यसले बैंकले जस्तो धितो माग्दैन। बरू ऋणीको मोबाइल बैंकिङ इतिहास, उसको मासिक आम्दानी र खर्च गर्ने तौरतरिका सूक्ष्म विश्लेषण गरेर एउटा 'क्रेडिट स्कोर' निकाल्छ।
त्यो स्कोरका आधारमा आवेदकले पैसा तिर्न सक्छ र तिर्छ भन्ने विश्वास भयो भने उसको आवेदन स्वीकृत हुन्छ।
त्यसपछि एपले नै ऋण दिन चाहने व्यक्तिसँग उसको सम्पर्क गराइदिन्छ।
यहाँ लगानीकर्ताको पैसा सुरक्षित गर्ने मोडल पनि अपनाइएको हुन्छ। मानौं, तपाईंले लेनदेन क्लबमार्फत एक लाख रूपैयाँ ऋण लगानी गर्न चाहनुभयो भने यो एपले तपाईंको पूरै ऋण एकै व्यक्तिलाई दिँदैन। त्यसो गर्दा ऋणी भाग्यो वा पैसा तिरेन भने तपाईंको सबै पैसा डुब्ने खतरा हुन्छ।
यस्तो जोखिम टार्न लेनदेन क्लबले तपाईंको एक लाख रूपैयाँलाई सानो सानो टुक्रे ऋणमा विभाजन गर्न र फरक फरक व्यक्तिमा बाँड्न सुझाव दिन्छ। कम्पनीले यो काम आफै गर्दैन, गर्न पनि पाउँदैन।
नियम अनुसार एउटा ऋणमा २५० देखि चार हजार भारूसम्म लगाउन पाउने प्रबन्ध छ। यसका लागि लेनदेन क्लबले ऋणदातालाई धेरै ऋणीहरूको विकल्प दिन्छ। तिनै विकल्पमध्ये ऋणदाताले आफै छनोट गरेर लगानी गर्छन्।
यसो गर्दा ऋण लिएका केही व्यक्तिले कुनै कारणवश तिर्न सकेनन् वा ढिलो गरे भने पनि बाँकीले ब्याजसहित नियमित पैसा तिर्छन्। यसले लगानीकर्ताको सावाँ र ब्याज सुरक्षित रहन्छ।
यी सबै आधारमा लगानीकर्ताले पैसा दिन चाहेको व्यक्ति छनोट गरेपछि ऋण स्वीकृत हुन्छ।
र, स्वीकृत रकम ऋणीको बैंक खातामा जम्मा हुन्छ।
यहाँ ऋण दिनेले लिनेलाई चिन्नु पर्दैन, न त लिनेले दिनेलाई भेट्नुपर्छ। सारा काम एउटा मोबाइल स्क्रिनको क्लिकमै सम्पन्न हुन्छ। त्यो पनि एकाध घन्टामै।
ऋण भुक्तानीको प्रक्रिया पनि यस्तै सहज छ।
ऋणीले प्रत्येक महिना बुझाउने किस्ता लेनदेन क्लबको एप्लिकेसनमार्फत संकलन हुन्छ र सिधै लगानीकर्ताको खातामा जान्छ। कसैले ऋण तिर्न ढिला गर्यो भने केन्द्रीय बैंकको नियमभित्र रहेर ताकेता गर्ने र पैसा उठाउने कानुनी र डिजिटल संयन्त्र पनि लेनदेन क्लब आफैले परिचालन गर्छ।
यस्तै चरणबद्ध सुरक्षाका कारण आज ठुल्ठूला वाणिज्य बैंकहरू खराब कर्जाको मारले थलिएका बेला र अर्बौंको धितो जफत गर्दा पनि ऋण उठाउन नसकेर वित्तीय संकटमा परेका बेला लेनदेन क्लबको खराब कर्जा दर भने ३.४७ प्रतिशत मात्र छ।
यहाँ एउटा प्रश्न उठ्छ — लेनदेन क्लब आफैले कसरी कमाउँछ त? यसको आम्दानीको मोडल के हो?
परम्परागत बैंकहरूले निक्षेपकर्तालाई थोरै ब्याज दिन्छन् र ऋणीसँग धेरै ब्याज लिएर बीचको नाफा आफू राख्छन्। बैंकहरूले गर्ने कमाइको आधार यही ब्याज दरबीचको अन्तर हो।
लेनदेन क्लबले भने त्यसो गर्दैन।
भारतको केन्द्रीय बैंकको नियम अनुसार यो 'मार्केटप्लेस' मात्र भएकाले यसले ब्याजबाट नाफा कमाउन पाउँदैन। यसले ऋण दिने र लिने दुवै पक्षबाट सानो सेवा शुल्क वा कमिसन मात्र लिन्छ। बाँकी सबै ब्याज र वास्तविक नाफा सिधै ऋण दिने लगानीकर्ताको खल्तीमा जान्छ।
'आज लेनदेन क्लब केवल एउटा एप होइन, यो अत्याधुनिक वित्तीय इन्जिन हो। कुनै ग्राहक प्लेटफर्ममा आउने, आवेदन दिने, उसको क्रेडिट जाँच हुने र ऋण स्वीकृत भएर बैंक खातामा पैसा पुग्ने सम्पूर्ण प्रक्रिया १८ मिनेटमै सम्पन्न भएको रेकर्ड छ,' दिपेशले भने, 'यो दक्षिण एसियाकै सबभन्दा तीव्र डिजिटल लेन्डिङ सेवा हो। यहाँ ऋण दिने र लिने दुई पक्षले एकअर्कालाई चिन्न पर्दैन। सबै काम रेटिङ र डेटाका आधारमा हुन्छ।'
लेनदेन क्लबले गर्ने यस्तो डिजिटल कारोबारलाई वित्तीय क्षेत्रका विशेषज्ञहरूले हिजोआज नयाँ परिभाषा दिँदै भनेका छन् — भविष्यको बैंकिङ भौतिक सम्पत्ति वा जग्गाको धितोमा होइन, मानिसको डिजिटल व्यवहारमा टिकेको हुनेछ।
प्रविधिको युगमा डेटा नै नयाँ धितो हो भन्ने उनीहरूको भनाइ छ।
दिपेश र उनका साझेदार भाविनले डिजिटल वित्तीय कारोबारको यही सिद्धान्त भारतमा लागू गरेका छन्।
केन्द्रीय बैंकको नियम अनुसार लेनदेन क्लबले लगानीकर्तालाई कुनै प्रत्यक्ष 'वित्तीय ग्यारेन्टी' दिन मिल्दैन। त्यसैले सारा सुरक्षा संयन्त्र एआई एल्गोरिदममा आधारित हुने उनी बताउँछन्।
'हामी ऋणीको क्षमता र नियतको गहिरो विश्लेषण गर्छौं,' दिपेशले प्राविधिक पाटो बुझाउँदै भने, 'क्षमता जाँच्न त्यति कठिन पनि छैन — कसैले १०० रूपैयाँ कमाउँछ र ८० रूपैयाँ खर्च गर्छ भने उसको बचत २० रूपैयाँ हो। हामी उसको मासिक किस्ता २० रूपैयाँभित्रै हुने गरी मात्र ऋण स्वीकृत गर्छौं।'
'तर क्षमताभन्दा ठूलो समस्या नियतमा हुन्छ। मान्छेहरू कहिलेकाहीँ झूटो विवरण दिन्छन्। त्यसलाई समात्न हाम्रो एआईले ग्राहकको डिजिटल व्यवहार, उसको पुराना कर्जाको स्थिति र सामाजिक प्रोफाइल मूल्यांकन गर्छ,' उनले भने।
लेनदेन क्लबले पछिल्ला एक दशकमा थुप्रै उतारचढाव बेहोरेको छ। अहिले यो प्लेटफर्मबाट सानो सानो रकमको ऋण लेनदेन भए पनि सुरूआतमा यसले एकैचोटि दुई लाख भारू ऋण सहजीकरण गरेको थियो। त्यसका लागि पैसा जुटाउन दिपेश र उनका साझेदारले कम संघर्ष गर्नुपरेन।
एक जना व्यक्तिलाई दुई लाख ऋण उपलब्ध गराउन लगभग १० जनाबाट २०–२० हजार रूपैयाँ उठाउने अवस्था आएको दिपेश सम्झन्छन्।
'त्यो अनुभवबाट पाठ सिकेर हामीले सानो सानो आकारको ऋणमा मात्र सहजीकरण गर्न थाल्यौं,' उनले भने, 'यसो गर्दा कम्पनीलाई ऋण व्यवस्थापन गर्न सजिलो भयो।'
उनका अनुसार कम्पनीले सन् २०२१ मा लगानी संकलन पनि गरेको थियो। त्यसका लागि कम्पनीको मूल्यांकन ४ अर्ब भारूभन्दा बढी गरिएको उनी बताउँछन्।
त्यसयता कम्पनीले आफ्नो मूल्यांकन गराएको छैन। तर यसबीच वार्षिक तीन गुणा व्यवसाय विस्तार भइरहेको उनको दाबी छ।
'अहिले हाम्रो प्लेटफर्मबाट मासिक करिब ५ अर्ब भारूका दरले ऋण लेनदेन भइरहेको छ,' उनले भने, 'यस आधारमा वार्षिक ६० अर्ब भारू जतिको कर्जा प्रवाह हुन्छ।'
यही योगदानका कारण लेनदेन क्लबले पछिल्लो समय विभिन्न फिनटेक महोत्सवमा अवार्ड पनि जित्दै आएको छ।
यसले बिजनेस वर्ल्ड फेस्टिभल अफ फिनटेक अवार्ड–२०२५ मा 'बेस्ट फिनटेक प्रडक्ट अफ द इअर' जितेको थियो। इकोनोमिक टाइम्स फिनटेक अवार्ड २०२५ मा 'बेस्ट पिटूपी लेन्डिङ प्लेटफार्म' अवार्ड जितेको थियो। त्यसबाहेक कम्पनी र दिपेशले व्यक्तिगत रूपमा गरी दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाइसकेका छन्।
कुनै पनि कम्पनीको सफलताको मापन नाफा–घाटाको 'ब्यालेन्स सिट' ले मात्र गर्दैन। कम्पनीले जित्ने अवार्ड र सम्मानले पनि गर्दैन।
कम्पनीको सही मापन यसले मान्छेका ओठमा छर्ने मुस्कानले गर्छ।
लेनदेन क्लबले ११ वर्षको यात्रामा अर्बौंको कारोबार गरे पनि दिपेशका लागि आफ्नो महत्त्वपूर्ण सम्पत्ति भनेको सेवाग्राहीहरूका साना साना खुसीका पल हुन्, जसले उनको मनलाई सधैं छोइरहन्छ।
'आजको मितिमा तीन करोडभन्दा बढी मानिसले हाम्रो प्लेटफर्म प्रयोग गरेर ऋण प्राप्त गरेका छन्। हाम्रो कारणले ती तीन करोड मानिसको जीवनयापनमा केही न केही सहयोग पुगेको छ। हाम्रो निम्ति सबभन्दा खुसीको कुरा यही हो,' उनले भने, 'सामुदायिक योगदानको जुन उद्देश्य लिएर हामीले यो कम्पनी सुरू गरेका थियौं, त्यो उद्देश्य केही हदसम्म पूरा भएको छ भन्ने मलाई लाग्छ।'
यसो भन्दै गर्दा दिपेशले आफूलाई खुसी दिने सफलताका केही कथा सुनाए —
मुम्बईको झुपडपट्टीमा बस्ने एक महिला थिइन्। उनको पहिलो बच्चा हुँदै थियो। बच्चा जन्मिनुअघि उनी आफ्नो सानो घरको मर्मतसम्भार र रंगरोगन गर्न चाहन्थिन्। ताकि, बच्चाले राम्रो वातावरण पाओस्। त्यसका लागि उनलाई १५ हजार भारू ऋण चाहिएको थियो।
उनी ऋण लिन बैंक गइन्। तर बैंकले १५ हजार दिन मानेन।
त्योभन्दा बढी ऋण लिनु उनको क्षमताभन्दा बाहिरको कुरा थियो। उनलाई त्यति रकम चाहिएको पनि थिएन।
ती गर्भवती महिलाले लेनदेन क्लबमा १५ हजार ऋणको निम्ति आवेदन दिइन्। उनको क्रेडिट रेटिङ राम्रो थियो। त्यसैले तुरून्तै ऋण स्वीकृत भइहाल्यो।
'हाम्रो सानो कोसिसका कारण ती महिलाको जिन्दगीको ठूलो सपना पूरा भयो,' दिपेशले भने, 'लेनदेन एपका कारण उनको मुहारमा जुन खुसी आयो, त्यो नै हाम्रो सबभन्दा ठूलो सफलता हो।'
यस्तै अर्को एउटा कथा पनि उनले सुनाए।
मुम्बईकै एउटा अफिसमा सहयोगीको काम गर्ने २२–२३ वर्षका एक युवाकी दिदीको बिहे हुँदै थियो। उनी आफ्नी दिदीलाई सुनको सानो गहना उपहार दिन चाहन्थे। सानो उमेर र थोरै तलबका कारण उनलाई कसैले पनि ऋण दिन पत्याएनन्।
'उनी सामाजिक सञ्जालमार्फत हाम्रो लेनदेन क्लबमा जोडिए र सजिलै ऋण पाए,' दिपेशले भने, 'दिदीको बिहेमा सुनको गहना उपहार दिने उनको सपना पूरा भयो। ती भाइको मुहारमा आएको खुसी नै हाम्रो सबभन्दा ठूलो सफलता हो।'
खुसीका यस्ता साना साना 'मोती' ले नै व्यावसायिक रूपमा अघि बढ्ने 'मोटिभ' दिएको दिपेश बताउँछन्।
यो 'मोटिभ' मा निरन्तर अघि बढ्न शारीरिक र मानसिक रूपले सधैं ऊर्जावान रहनुपर्छ भन्ने दिपेशलाई लाग्छ।
मुम्बईको कर्पोरेट दुनियाँ भनेको चौबीस घन्टाको दौडधुप र मानसिक थकानको पर्याय हो। यस्तोमा दिनभरि ल्यापटपमा घोत्लिएर अंकको हिसाब गर्नुपर्ने दिपेश कसरी आफूलाई ऊर्जावान र फुर्तिलो राख्छन् त?
हाम्रो यो प्रश्नमा दिपेशले आफ्नो दैनिक जीवनको यस्तो तालिका सुनाए, जुन अरूका लागि पनि अनुकरणीय हुन सक्छ।
उनी जतिसुकै व्यस्त दिनमा पनि हरेक बिहान कसरत र हरेक आइतबार फुटबल खेल्न गएकै हुन्छन्। सप्ताहन्तमा परिवार र साथीभाइसँग हाइकिङ र साइक्लिङ पनि जान्छन्।
यति मात्र होइन, हरेक साताको बीचमा खासगरी बुधबारको दिन उनको अफिसमा फुटबल लगायतका विशेष कार्यक्रम आयोजना हुन्छ, जसमा कम्पनीको सबै तहका इच्छुक कर्मचारी सरिक हुन्छन्। सायद यही कारणले, लेनदेन क्लबले सन् २०२२ देखि २०२६ सम्म लगातार चार वर्ष 'ग्रेट प्लेस टू वर्क' अवार्ड जितेको छ।
'कुनै पनि व्यक्तिका लागि चारवटा कुराको सन्तुलन जरूरी छ — शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक,' उनले भने, 'शारीरिक र मानसिक स्वास्थ्यका लागि म कसरत गर्छु, फुटबल खेल्छु। सामाजिक रूपमा सन्तुलित रहन मानिसहरूसँग भेटघाट गर्छु। र, आध्यात्मिक सन्तुलनका लागि हरेक दिन केही समय आत्मचिन्तन गर्छु।'
'त्यसो भए आज पनि फुटबल खेलेर आइसक्नुभयो?' हामीले सोध्यौं।
उनले हाँस्दै भने, 'आज बिहानै मुम्बईमा पानी परेकाले फुटबल म्याच क्यान्सिल भयो। त्यसैले परिवारलाई लिएर नेसनल पार्कमा हाइकिङ गएँ। भर्खरै फर्किएको।'

हामीले उनीसँग नेपालको बजारमा पनि व्यक्ति–व्यक्तिबीच ऋण लेनदेन गराउने डिजिटल प्लेटफर्मको सम्भाव्यताबारे कुरा गर्यौं।
उनी डिजिटल ऋण लेनदेनका लागि नेपालको बजार एकदमै परिपक्व भइसकेको बताउँछन्।
'नेपालको जनसंख्या करिब तीन करोड छ। सक्रिय नेपालीहरूको संख्या गणना गर्ने हो भने करिब डेढदेखि दुई करोड छन्। आजको मितिमा नेपालका बैंकहरूले जग्गा किन्न, गाडी किन्न वा वैदेशिक रोजगारीका लागि धितो राखेर कर्जा दिन्छन्। बिनाधितो मान्छेको क्षमता पत्याउने चलन छँदै छैन,' उनले भने, 'ऋणका लागि बैंकहरूको मात्र भर पर्ने हो भने त्यस्तो चलन सुरू हुनेवाला पनि छैन।'
हुन पनि सहरमा सानो ठेला पसल सुरू गर्न होस् वा किराना पसलमा सामान थप्न, गाउँका किसानलाई मल किन्न होस् वा छोराछोरीको पढाइमा भरथेग गर्न — यस्ता अनेक कामका लागि दस–बीस हजारदेखि पचास–साठी हजार रूपैयाँ ऋणको खाँचो पर्ने मानिस लाखौं छन्।
'आर्थिक पिरामिडको मध्यम तथा तल्लो तहमा रहेका लाखौं नेपालीको वित्तीय खाँचो बैंकबाट पूरा हुँदैन। उनीहरूलाई प्रविधिका माध्यमबाट पुँजीसँग जोड्न सकिन्छ,' उनले भने, 'आजको मितिमा नेपालको आर्थिक विकासका लागि पुँजीमा पहुँच बढाउन जरूरी छ। यो डिजिटल माध्यमबाट पूरा हुन सक्छ।'
यसका लागि केही प्रयास नभएका होइनन्। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पिटूपी लेन्डिङबारे दिपेश र उनको टोलीसँग पनि कुराकानी गरिसकेको छ। तर ठोस काम भइसकेको छैन।
नेपालका पछिल्ला नीतिहरूबाट उनी आशावादी भने छन्।
'यसपालिकै बजेटमा फिनटेक प्रवर्द्धन गर्ने कुरा परेको छ, जुन सकारात्मक कदम हो,' उनले भने।
दिपेशका अनुसार नेपालमा अहिले लागू भइरहेको राष्ट्रिय परिचयपत्रले डिजिटल 'केवाइसी' लाई अत्यन्तै सजिलो बनाउनेछ। त्यसमाथि अधिकांश नेपालीका हातमा स्मार्टफोन र इन्टरनेट छ। यस आधारमा सजिलै डिजिटल प्रोफाइल बनाउन सकिने र डिजिटल लेनदेन प्रवर्द्धन गर्न सकिने उनी बताउँछन्।
'नेपालमा पनि पिटूपी लेन्डिङ गर्न सक्नेहरूको कमी छैन, नियामक निकायहरूले यो कारोबारलाई अलि खुला दृष्टिले हेरिदिए मात्र पुग्छ,' उनले भने।
'के तपाईं लेनदेन क्लबलाई नेपालमा विस्तार गर्न चाहनुहुन्छ?'
खोटाङको एक शिक्षक परिवारमा देखेको ग्रामीण वित्तीय लेनदेनको बाल्यकालीन स्मृतिलाई आज भारतकै सफल डिजिटल वित्तीय प्लेटफर्ममा रूपान्तरण गरेका दिपेशले भावुक हुँदै जबाफ दिए, 'नेपाल मेरो मातृभूमि हो। नेपालका लागि केही न केही गर्ने इच्छा त अवश्य छ। तर म नेपाल आउँदा कुनै 'अनफेयर एड्भान्टेज' लिन चाहन्नँ। बरू नेपालकै स्थानीय प्लेयरहरू, युवा डिजिटल बैंकर्स र फिनटेक स्टार्टअपहरूलाई टेक्नोलोजीको ब्याक–अप दिन र एउटा गतिलो मोडेल देखाउन बढी इच्छुक छु। नियामक निकायहरूसँग सहकार्य गर्न पनि इच्छुक छु।'
पक्कै पनि नेपालका फिनटेक स्टार्टअपहरूले दिपेशको सफलताबाट सिक्नुपर्ने कुरा धेरै छन्।
दिपेशले आफ्नो अनुभवका आधारमा उनीहरूलाई सिकाउन सक्ने कुरा पनि धेरै छन्।
सबभन्दा ठूलो कुरा त, 'जिन्दगीमा कहिले पनि ऋण नलागोस्' भन्ने परम्परागत सामाजिक मानसिकताको पर्खाल भत्काएर पुँजीको उपयोग र वितरण कसरी गर्ने भन्ने नै उनीसँग सिक्नुपर्ने छ।
'कसैले ऋण लिएर व्यवसाय गर्छ, डिग्री हासिल गरेर एउटा मुकाममा पुग्छ भने त्यस्तो ऋण कसरी गलत भयो?' उनको प्रश्न छ, 'आज हाम्रो देशले एसियाली विकास बैंक, विश्व बैंक र छिमेकी मुलुकहरूबाट ऋण लिएर बाटोघाटो, पुल र स्वास्थ्य पूर्वाधारहरू निर्माण गरेको छ। यदि त्यो ऋण सही हो भने मान्छेले आफ्नो जीवनस्तर उकास्न ऋण लिनु पनि सही हो।'
दिपेशको सन्देश यही छ — 'हामीले तेरो थाप्लोमा ऋण नलागोस् भनेर आसिक दिने होइन, बरू आफ्नो क्षमता अनुसार ऋण लिन र त्यसको राम्ररी व्यवस्थापन गरेर आर्थिक तरक्की गर्न सिक्नुपर्नेछ।'
***