दिक्पाल देव पंगेनी हाल अस्ट्रेलियाको मेलबर्नमा बस्छन्। उनी त्यहाँ घरजग्गा क्षेत्रमा काम गर्दै आएका छन्।
उनको कम्पनीको नाम हो नेस्ट फाइन्डर्स हो।
सामान्यतया घरजग्गा कारोबार किन्ने र बेच्ने पक्षबीच हुन्छ। अस्ट्रेलियामा पनि अधिकांश एजेन्ट कम्पनीहरू घर बेच्ने ग्राहकलाई केन्द्रमा राखेर सञ्चालन भइरहेका छन्।
दिक्पालले भने घर किन्न चाहने ग्राहकलाई सहयोग गर्ने उद्देश्यले बायर्स एजेन्ट कम्पनी सञ्चालन गरेको बताए।
'यहाँ धेरैजसो रियल–इस्टेट कम्पनी घर बेच्न केन्द्रित छन्। हामी भने घर किन्न चाहने ग्राहकलाई सही निर्णय लिन सहयोग गर्ने उद्देश्यले काम गर्छौं,’ दिक्पालले भने।
उनको कम्पनीमा हाल तीन जनाले रोजगारी पाएका छन्। उनीहरूले डेटा एनालाइसिस, ठाउँ अध्ययन, उपयुक्त क्षेत्र छनोट, घरको प्रकार निर्धारण तथा संरचनात्मक पक्ष लगायत विषयमा अनुसन्धान गर्न सघाउँछन्।
कुन क्षेत्रमा घरजग्गा किन्न उपयुक्त हुन्छ, कस्तो प्रकारको रोज्ने र दीर्घकालीन मूल्यका आधारमा निर्णय लिनुपर्ने भएकाले बायर्स एजेन्टको भूमिका महत्वपूर्ण भएको उनी बताउँछन्।
'मेरो कम्पनीले बायर्स एजेन्टका रूपमा सेवा दिँदै घर तथा जग्गा किन्न चाहनेलाई सहयोग गर्दै आएको छ। बजारबारे जानकारी नभएका ग्राहकलाई उपयुक्त घरजग्गा छनोट र खरिद प्रक्रियामा सहजीकरण गर्नु मुख्य काम हो,' उनले भने।
दिक्पाल ९ वर्षदेखि रियल–इस्टेट क्षेत्रमा सक्रिय छन्। उनी सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएका हुन्। नेपालमा हुँदा उनी रेडियो पत्रकारितामा जमेका थिए।
अस्ट्रेलिया गएपछि उनले दुई वर्ष 'कम्युनिटी सर्भिसेज’ कोर्स अध्ययन गरे। त्यसपछि विभिन्न संस्था र कम्पनीमा काम गर्दै स्थानीय सरकारको स्वास्थ्य विभागमा समेत अनुभव हासिल गरे।
'मैले एजुकेसन कन्सल्टेन्सी पनि खोलेको थिएँ। सन् २०१७ देखि भने रियल–इस्टेट क्षेत्रमा प्रवेश गरेको हुँ,’ दिक्पालले भने।
रियल–इस्टेटमा प्रवेश गर्ने प्रेरणा उनलाई परिवारबाट आएको हो। उनका बुबा नेपालमा घर बनाउँथे र बेच्थे।
सन् २०१२ तिर अस्ट्रेलियामा दिक्पालले पछि आफै जग्गा किनेर घर बनाए। त्यसले उनलाई यो क्षेत्रबारे थप जानकार बनायो।
घर बनाएपछि साथीहरू कसरी गर्ने भनेर उनलाई सोध्न आउँथे। दिक्पाल उनीहरूलाई आफूले र जानेको बुझाउँथे।

'त्यो बेला यहाँ जग्गा किन्ने तथा घर बनाउने प्रक्रिया धेरैलाई थाहा रहेनछ। यसपछि यही क्षेत्रतर्फ व्यवसायिक रूपमा लागेको हुँ,' उनले भने।
त्यसपछि उनले औपचारिक तालिम र लाइसेन्स प्रक्रिया पूरा गरे र रियल–इइस्टेट क्षेत्र प्रवेश गरे।
दिक्पालका अनुसार यो क्षेत्रमा आउन छोटो कोर्स पूरा गर्नुपर्छ। त्यसका साथै कामको अनुभव र लाइसेन्स भएपछि एजेन्टको काम गर्न पाइन्छ।
उनले आफ्नै कम्पनी खोलेको भने एक वर्ष भयो।
'यसअघि एउटा घरजग्गा कम्पनीमा सेल्स एजेन्टका रूपमा ८ वर्ष काम गरेँ। त्यसपछि यो कम्पनी खोलेको हुँ,’ उनले भने।
उनले पहिले करिब ८ वर्ष काठमाडौं प्रपर्टिज एजेन्सी मार्फत घरजग्गा बिक्री र व्यवस्थापनको काम गरेका थिए। उनी त्यस कम्पनीकाे संस्थापक पनि हुन्।
उनका अनुसार अस्ट्रेलियामा बायर्स एजेन्ट सेवा अझै पनि धेरै विकसित भइसकेको छैन। युरोप र अमेरिकामा यस्तो सेवा व्यापक भए पनि यहाँ यसको चलन कम छ। सही सल्लाह र मार्गदर्शन नहुँदा घरजग्गा खरिद गर्ने बायर्सलाई निर्णय लिन कठिन अवस्था छ।
सोही समस्या लक्षित गर्दै उनले कम्पनी खोलेका हुन्।
'यो क्षेत्रमा आर्थिक सम्भावना राम्रो छ। र, नेपाली समुदायलाई उपयोगी सेवा दिन सकिन्छ,' उनले भने।
दिक्पालका अनुसार एउटै कम्पनीले कानुनी रूपमा किन्ने र बेच्ने दुवै पक्षसँग काम गर्न सके पनि ग्राहकलाई स्पष्ट रूपमा जानकारी दिनुपर्ने नियम छ।
'एउटै कम्पनीले किन्ने र बेच्ने दुवै एजेन्टको काम गर्न सक्छ। तर एउटै एजेन्टले दुवै काम गर्दा स्वार्थ बाझिने हुन्छ। त्यसैले ग्राहकलाई जानकारी दिनुपर्छ,' उनले भने।
बायर्स एजेन्टले घरजग्गा किन्ने ग्राहकबाट सेवा शुल्क लिन्छ। सेलिङ एजेन्टले घरधनीबाट कमिसन प्राप्त गर्छ। सामान्यतया यो कमिसन बिक्री मूल्यको करिब २ प्रतिशत (जिएसटी बाहेक) राखिएको उनले बताए।
सेलिङ एजेन्ट र घरधनीबीचको कमिसन तथा सर्तहरू एजेन्ट सम्झौतामा स्पष्ट उल्लेख हुने पनि दिक्पालले जानकारी दिए।
'अस्ट्रेलियामा घरजग्गा कारोबार पारदर्शी छ। एजेन्ट भनेर नराम्रो व्यवहार पनि गरिँदैन,’ उनले सुनाए।
घर किन्दा ग्राहकले राखेको डिपोजिट रकम छुट्टै रियल–इस्टेट ट्रस्ट अकाउन्टमा राखिन्छ जुन बैंकमा कम्पनीकै नाममा खोलिएको हुन्छ। यो अकाउन्ट खोल्न कम्पनी दर्ता कागजात र अनुमति पत्र चाहिन्छ।
सो रकम सरकारी अनुमति प्राप्त अकाउन्टेन्टहरूको निगरानीमा रहन्छ र वार्षिक रूपमा अनिवार्य अडिट हुन्छ।
'ट्रस्ट अकाउन्टको पैसा व्यक्तिगत वा कम्पनीको अन्य काममा प्रयोग गर्न पाइँदैन। प्रयोग गरिएको पाइएमा एजेन्टको लाइसेन्स खारेज हुने मात्र होइन, कानुनी सजाय वा जेलसम्म हुन सक्छ,’ उनले सुनाए।
घरजग्गा कारोबार व्यवस्थित र विश्वासिलो बनाउन एजेन्ट कम्पनीले साताको दुई पटक घर तथा जग्गा किन्ने ग्राहकलाई फिल्डमै लगेर देखाउँछन्।
रियल–इस्टेट एजेन्टहरू घर घर पुगेर डेटा विश्लेषण गरेर तथा सामाजिक सन्जालमा विज्ञापन मार्फत सम्भावित बिक्रेतासम्म पुग्छन्।
'एजेन्टहरू ग्राहकको घरमै पुग्छन् र के तपाईं आफ्नो घर बेच्न चाहनुहुन्छ भनेर सोधपुछ गर्छन्। बेच्न चाहने ग्राहकको घरबारे विज्ञापन दिन्छौं,’ दिक्पालले भने।
घरको प्रचारका लागि फोटो, भिडिओ बनाएर अनलाइन प्लेटफर्ममा राखिन्छ र सम्बन्धित घरमा सूचना टाँसिन्छ। सामान्यतया ओपन हाउस कार्यक्रममार्फत ग्राहकलाई करिब आधा घन्टा घर देखाएर घुमाइन्छ पनि।
घरजग्गाको मूल्य बजार मागले निर्धारण गर्छ। तर प्रणालीमा ठेगाना प्रविष्ट गरेपछि सोही प्रकृतिको घर पहिले बिक्री भएको मूल्यका आधारमा अनुमानित मूल्य देखाउने दिक्पालले जानकारी दिए।
दिक्पालका अनुसार उपभोक्तालाई झुक्क्याउने वा गलत जानकारी दिने उद्देश्यले घरजग्गा किनबेच गर्न पाइँदैन। एजेन्टले गलत जानकारी दिएको प्रमाणित भएमा उजुरी लाग्ने र लाइसेन्स खारेज हुनेसम्मको कारबाही हुन्छ।
'घरजग्गा व्यवसायमा सही घर छनोट गर्नु नै सबभन्दा ठूलो चुनौती हो,' दिक्पालले भने।