केही समयअघि २९०० विन्दुमाथिको प्रतिरोध पार गर्न नसकेको नेप्से परिसूचक अहिले २७८० विन्दु आसपासको अवरोध क्षेत्रमा केन्द्रित छ।
पछिल्लो एक महिनायता नेप्सेले पटक पटक यही क्षेत्र परीक्षण गरे पनि त्यसलाई पार गरेर माथि जान सकेको छैन।
वैशाख २१ गते २७०४ विन्दुमा रहेको नेप्से त्यसयता तीन पटक २७८० विन्दु आसपास पुगेर फर्किएको छ। वैशाख २८, जेठ ११ र पछिल्लो कारोबार दिनमा समेत बजार यही क्षेत्रसम्म पुगेर फर्किएको देखिन्छ। यसले २७८० विन्दु क्षेत्र अहिलेको प्रमुख प्रतिरोधका रूपमा देखिएको छ।
प्रतिरोध परीक्षण भइरहँदा बजारको उतारचढावको दायरा क्रमशः साँघुरिँदै गएको छ। प्राविधिक विश्लेषणका आधारमा हेर्दा नेप्से अहिले 'सिमेट्रिकल ट्रायंगल' प्रवृत्तिभित्र चलिरहेको जस्तो देखिन्छ।
यस्तो संरचनामा माथिल्ला विन्दुहरू क्रमशः तल झर्दै जान्छन् भने तल्ला विन्दुहरू क्रमशः माथि सर्दै जान्छन्। परिणाम स्वरूप बजारको चाल एक निश्चित बिन्दुतर्फ खुम्चिँदै जान्छ।
पछिल्लो एक महिनामा बजारले बनाएका न्यून र उच्च विन्दुहरू हेर्दा यो प्रवृत्ति स्पष्ट देखिन्छ।
जस्तो— वैशाख १४ गते अघिल्लो दिनको कारोबार २७८७ बाट बढेर २७९६ पुग्यो। तर वृद्धि टिकेन र वैशाख २२ गते २७०४ को न्युन विन्दुसम्म पुग्यो। त्यहाँबाट भने बजार फर्किन थालेको थियो।
सो समय बढेर २७८३ विन्दुसम्म पुगेको नेप्से त्यसपछि भने त्यसपछि फेरि घट्यो। यो क्रममा जेठ ५ मा २७२४ सम्म आएर फेरि बढ्न थाल्यो।
त्यसपछि बुधबार २७७७ विन्दुसम्म पुगेको बजार बिहीबार केही घटेर २७६६ सम्म आएको छ।
यहाँ हेर्ने हो,भने २७०४ मा पहिलो न्युन, २७२४ मा दोस्रो न्युन र २७७७ मा तेस्रो न्युन बनाएको छ। यसरी बजारले क्रमशः माथिल्ला न्यून विन्दु बनाइरहेको छ।
अर्कोतर्फ, बजारले प्रतिरोध क्षेत्र नजिक पुग्दा भने नयाँ उच्च विन्दु बनाउन सकेको छैन। यसले माथिल्लो भागमा बिक्री दबाब कायम रहेको संकेत गर्छ। यही कारण बजारको उतारचढावको दायरा क्रमशः साँघुरिँदै गएको छ।
सामान्यतया सिमेट्रिकल ट्रायंगल लामो समय टिक्ने प्रवृत्ति होइन। बजार जति साँघुरो दायराभित्र पुग्दै जान्छ, त्यति नै चाँडो प्रवृत्ति परिवर्तन हुने सम्भावना बढ्दै जान्छ।
तर यो प्रवृत्ति माथि गएर अन्त्य हुन्छ वा तलै भन्ने निश्चितता 'ब्रेकआउट' पछि मात्र अनुमान योग्य हुन्छ।
हालको अवस्थामा २७८०–२८०० विन्दु क्षेत्र नेप्सेको महत्वपूर्ण प्रतिरोध बनेको छ। यो ब्रेक आउट हुनसक्ने विन्दु पनि हो। यो क्षेत्रमा उच्च कारोबार रकम सहित पार भएमा बजारले बढ्ने प्रवृत्ति समात्ने सम्भावना बलियो हुनेछ।
त्यसपछि पनि बजारलाई अन्य माथिल्ला विन्दुमा प्रतिरोध त आउने नै छ। अहिलेको अवस्थामा २७८० कटेपछि पहिलो प्रतिरोध २८७० विन्दु आसपास र त्यसपछि २९२६ विन्दु क्षेत्र अर्को महत्वपूर्ण प्रतिरोध बन्न सक्छ।
यद्यपि, ब्रेक आउटबाट बढेर माथि जान सक्छ सक्दैन भनेर ध्यान दिनुपर्ने देखिन्छ।