वीरगन्जका अरूण ठाकुर सन् २००८ मा अस्ट्रेलिया गएका हुन्। उनी नेपालमा मेकानिकल इन्जिनियर थिए।
उनले थापाथली इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर र भारतबाट मेकानिकल इन्जिनियरिङ सकेका हुन्। नेपालबाटै अस्ट्रेलियाको स्थायी आवास अनुमतिपत्र (पिआर) लिएर गएका हुन्।
सुरूको ६ साता उनले सिड्नीमा जे–जस्तो काम पाइन्छ, त्यही गरे। त्यसपछि दुई वर्ष होटलसहित विभिन्न क्षेत्रमा टेक्निसियन भएर काम गरे।
उनी टेक्निसियनकै रूपमा काम गर्न चाहन्थे। आफ्नै व्यवसाय सुरू गर्ने सोच पनि थियो। उनले एसी कुलर मर्मत गर्ने टेक्निसियन हुने सोचे।
एसी कुलर टेक्निसियन हुन लाइसेन्स चाहिन्थ्यो। यसका लागि उनले धेरै मेहनत गर्नुपर्यो।
'लाइसेन्सका लागि काम गरेको अनुभव चाहिन्छ भनियो। त्यो नभएकाले यो विषय पढ्न खोजेको, फेरि काम गरिरहेको हुनुपर्छ भनियो। म यो चक्करमा परेर केही समय हैरानै भएँ,' उनले भने।
त्यसपछि उनले एक जना फिलिपिनी नागरिकलाई विश्वासमा लिए। उनीसँगै काम गर्ने मौका पाए। केही समयपछि उनको लाइसेन्सको प्रक्रिया अघि बढ्यो।
एसी कुलर टेक्निसियन लाइसेन्स लिएपछि उनले सन् २०१२ मा आफ्नै व्यवसाय सुरू गरे— युनिक एयर कन्डिसनर एन्ड सर्भिसेस।
'सुरूमा घरमा एसी आपूर्ति र मर्मत र बत्तीको काम गर्थ्यौं। पछि होटलमा चुह्लो मर्मतदेखि डिसवासर, एसी, बत्तीसम्मको काम गर्यौं,' अरूणले भने।
अहिले उनले अर्को कम्पनी युनिक फ्यासिलिटी म्यानेजमेन्ट पनि सुरू गरेका छन्।

कतिपय अवस्थामा सामान बिक्रेता कम्पनीका टेक्निसियन नआउँदा उनले काम गरिदिन्छन्।
'त्यस्तो सम्झौतामा पनि म काम गर्छु। अहिले अटोमेसन पनि थपेका छौं। मासु बनाउनेदेखि कुखुरा काट्ने मेसिनसम्म आपूर्ति र मर्मत गर्छौं,' उनले भने।
सुपर मार्केटका गोदामहरूमा पनि अरूण सेवा दिन्छन्।
एसी, कुलरको आपूर्ति र मर्मत आफ्नै कम्पनीबाट गरे पनि फ्रिज, वासिङ मेसिन लगायत अन्य विद्युतीय सामग्रीको मर्मत तथा आपूर्तिका लागि अन्य आपूर्तिकर्तासँग जोडिदिने काम गर्छन् उनी।
अरूणका दुई छोरा पनि प्राविधिक क्षेत्रमै छन्।
जेठा छोरा सिड्नीमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा सिभिल इन्जिनियर छन्।
कान्छा छोरा इलेक्ट्रिक इन्जिनियर हुन्।
अहिले अरूणको व्यवसाय राम्रै चलिरहेको छ। छोराहरू पनि काम गर्न थालिसके। सुरूआती दिनमा भने आफूलाई टेक्निसियनका रूपमा अस्ट्रेलियामा पत्याउन मुस्किल भएको उनले बताए।
'पहिला–पहिला नेपाली भन्नासाथ होटल र रेस्टुरेन्टमा मात्र काम गर्छन् भन्ने मानसिकता थियो। मैले इलेक्ट्रिसियन काम गर्ने प्रस्ताव लिएर जाँदा अस्ट्रेलियनहरूले मलाई किचनमा काम गर्ने मान्छे कसरी यता भनेर जिस्क्याउँथे,' उनले भने।
अरूणले थपे, 'अहिले सम्झिँदा रमाइलो लाग्छ। त्यो बेला त मन भारी हुन्थ्यो। अब त नेपालीहरू अस्ट्रेलियाको हरेक क्षेत्रमा काम गर्ने भइसकेका छन्।'
अरूणले आफ्नो व्यवसाय विस्तार गर्ने सोचेका छन्। तर विश्व बजारमा आएको समस्याले तत्कालका लागि रोकिएको उनले बताए।
सिड्नीमा व्यवसाय गरिरहेका अरूण त्यहाँ नेपाली समुदायमा पनि सक्रिय छन्।
सन् २०११ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) मा जोडिएका उनी एनआरएनएको कार्यसमिति सदस्य र एनआरएनए ओसियाना क्षेत्रको उपसंयोजक भइसकेका छन्।
झन्डै दुई दशकदेखि अस्ट्रेलियामा बसेर काम तथा व्यवसाय गरिरहेका उनले नयाँ पुस्ताका लागि केही सुझाव दिएका छन्।
प्राविधिक काम सिकेर अस्ट्रेलिया गए दुःख नहुने र कमाइ पनि राम्रो हुने उनी बताउँछन्।
'इलेक्ट्रिसियन, प्लम्बर, सिकर्मी, डकर्मी जे काम सिकेर आए पनि हुन्छ। केही नभए इँटा जोड्न मात्र भए पनि जानेर आउनुपर्छ। सीपमा केन्द्रित भए सजिलो हुन्छ,' अरूणले भने।