रोल्पाको घर्ती गाउँ दुर्घटनामा ज्यान गुमाएकामध्ये चालकको शव निकाल्न नेपाल आर्मी खटिएको छ।
दुर्घटनास्थल निकै अप्ठ्यारो तथा भिरालो रहेका कारण मानिस हिँडेर जान सम्भव नरहेको हुँदा मृतक तीन जनामध्ये चालकको शव निकाल्न आर्मी दिउँसो साढे १ बजेतिरै घटनास्थल पुगेको थियो।
घटनास्थलबाट जिल्ला प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुले मृतक तीनमध्ये श्रीमान–श्रीमतीको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले घन्टौंको प्रयासपछि माथि बाटोमा निकाले पनि चालकको शव भएको ठाउँमा जान सम्भव नभएको हुँदा आर्मीलाई बोलाउनु परेको हो।
आर्मीले घिर्नी, पुल्ली लगायतका सामग्रीको प्रयोग गरी चालकको शव माथि निकाल्नका लागि प्रयास गरिरहेको डिएसपी बाखुले सेतोपाटीलाई बताए।
डिएसपी बाखुका अनुसार प्रहरीले बिहान ८ बजेमात्रै स्थानीय मार्फत सूचना पाए पनि दुर्घटना बुधबार राति ११ देखि १२ बजेको बीचमा भएको हो।
‘यो घना जंगल र सुनसान ठाउँमा रातिमा भएको दुर्घटनाबारे कसैलाई थाहा भएन,’ बाखुले भने, ‘बिहान यात्राका क्रममा स्थानीयले माथिबाट भीरमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका रहेछन्।’
स्थानीयले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी हवल्दार लालप्रसाद चुदालीको नेतृत्वमा ट्राफिक सहित ५ जनाको टोली बिहान ९ बजेतिर घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रमुख बाखुको नेतृत्वमा पौने १० बजेतिर ९ जनाको टोली आवश्यक उद्धार सामग्री सहित घटनास्थल पुगेको थियो।
डिएसपी बाखुले दुर्घटनास्थलमा सडक राम्रो अवस्थामा पाइएको बताए।
‘दाङ लगायत बाहिरी जिल्लाका लागि नाइट बस चल्ने मुख्य सडक यही हो,’ उनले भने, ‘दुर्घटनास्थलमा कुनै उकालो, घुम्ती वा मोड छैन। रातिको दुर्घटना भएकोले चालक निदाएको आशंका भइरहेको छ।’
दुर्घटनामा गाडी चालक घोराही उपमहानगरपालिका – ७ देसाहीका २५ वर्षीय वीरबहादुर चौधरी, दाङको दंगीशरण गाउँपालिका – ७ श्रीगाउँ घर भई हाल घोराही–१४ मा बस्दै आएका ४० वर्षीय जिउधन चौधरी, उनकी ३० वर्षीया श्रीमती कमला चौधरीको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेका हुन्।
शहिद मार्ग अन्तर्गतको व्याङखोला माडी गाउँपालिका – २ घर्ती गाउँको व्याङखोलाबाट अस्थायी नम्बर प्लेट एमएच १४ टिसीजे ४७१ नम्बरको सिंगल पिकअप बोलेरो झन्डै ६०० मिटरमुनि खसेको थियो।
जिल्लाका निमित्त प्रवक्ता कृष्ण श्रेष्ठका अनुसार जेठ २० गते राति साढे १० बजेतिर चालक वीरबहादुरले इलाका प्रहरी कार्यालय होलेरीको चेक पोष्टमा इन्ट्री गराएका थिए। त्यसमा उनले पिकअप गाडी घोराहीस्थित ‘सिद्धबाबा सप्लायर्स’ बाट होलेरीका लागि सामान लगेर आएको विवरणहरू टिपाएका थिए। सोही आधारमा प्रहरीले दाङमा आफन्तहरूको पहिचान गरी सनाखतका लागि रोल्पा बोलाएको थियो। त्यही भएर मृतकहरूको पहिचान खुल्न धेरै समय लागेको हो।
घटनास्थल व्याङखोला इलाका प्रहरी कार्यालय घर्ती गाउँदेखि झन्डै ४ किलोमिटर पूर्व दक्षिणमा पर्छ। दुर्घटनाको कारण खुलिसकेको छैन।