न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयमा नीति तथा रणनीति सम्बन्धी काममा नेपाल रमिल अधिकारीको पनि जिम्मेवारी जोडिएको छ।
स्वास्थ्य नीति सम्बन्धी विषयमा सुझाव दिनु, योजना निर्माणमा सहजीकरण गर्नु र तयार भएका नीति तथा रणनीति कार्यान्वयनमा लैजाने प्रक्रियामा जोडिनु उनको जिम्मेवारी हो।
उनी मन्त्रालयमा प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। रमिलले यो जिम्मेवारी सम्हालेको पाँच वर्ष भइसक्यो।
जिम्मेवारी र दायित्व धेरै भए पनि आफ्नो पढाइ सम्बन्धित विषयमा काम गर्न पाउँदा रमिल खुसी छन्।
'यहाँ जिम्मेवारी र दायित्व त धेरै छ। तर आफ्नो रूचि र पढाइकै क्षेत्रमा काम गर्न पाउँदा रमाइलो लाग्छ,' उनले भने।
रमिल परिवारसहित वेलिङ्टन क्षेत्रको अपर हट सहरमा बस्छन्। न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयमा प्रमुख सल्लाहकारका रूपमा काम गर्ने आफू एक्ला नेपाली भएको उनको दाबी छ।
रमिलको घर पोखरा हो। उनी परिवारका एक्ला सन्तान हुन्। उनको बाल्यकाल राम्रैसँग बित्यो। उनकी आमा किराना पसल चलाउँथिन् भने बुबा भारतीय सेनामा कार्यरत थिए।
पोखराकै डायमन्ड बोर्डिङ स्कुलबाट एसएलसी दिएका रमिलले कक्षा १२ पोखरा माउन्ट अन्नपूर्णमा विज्ञान विषयमा पढे।

उनको पाइलट वा डाक्टर बन्ने सोच थियो। तर पाइलट पढ्न पोखरामै अवसर नभएकाले बाहिर जानुपर्थ्यो। त्यसैले कक्षा १२ सकेपछि उनले डाक्टर बन्ने बाटो रोजे।
डाक्टर पढ्ने तयारीकै क्रममा हृदयाघातका कारण उनका बुबाको अचानक निधन भयो। त्यसपछि आमा–छोरा एकअर्काका सहारा बने।
केही समयपछि मात्र रमिल डाक्टर पढ्ने तयारीका लागि काठमाडौं आए।
'काठमाडौंमा तीन महिना कोठा लिएर बसेँ। तयारी कक्षा सकेपछि डाक्टर पढ्न चीन गएँ,' उनले सुनाए।
रमिल चीनको सिन्स्याङ इन्टरनेसनल मेडिकल युनिभर्सिटीमा पढ्न थाले। पढाइसँगै अभ्यास पनि हुन्थ्यो। त्यहाँ पढ्दा सबै खर्च आफै बेहोर्नुपर्थ्यो।
पढाइ पूरा भएपछि उनी नेपाल फर्किए। त्यसपछि ओम अस्पतालमा काम गर्ने अवसर पाए। ओममा उनले दुई वर्ष काम गरे।
त्यसपछि उनले थप पढ्ने सोचे। सोही अनुरूप जनस्वास्थ्यमा विशेषज्ञता हासिल गर्न सन् २०१० मा न्युजिल्यान्ड पुगे। उनले विश्वविद्यालयबाट आंशिक छात्रवृत्ति पाएका थिए।
त्यहाँ रमिलले जनस्वास्थ्यको दुईवर्षे कोर्स पूरा गरे। त्यसपछि आफ्नो व्यावसायिक क्षमता बढाउन र अवसरको दायरा फराकिलो बनाउन थप एक वर्ष पढे।
पढाइ पूरा गरेसँगै रमिलले स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर पाए। उनी साल्भेसन आर्मी–ओएसिसमा सार्वजनिक स्वास्थ्यकर्मीका रूपमा आबद्ध भए।
त्यहाँ उनको मुख्य जिम्मेवारी स्वास्थ्य सम्बन्धी विषय हेर्नु थियो। कामका क्रममा सम्बन्धित मन्त्रालयसँग समन्वय गर्नुपर्थ्यो भने समुदायसँग नजिक रहेर पनि काम गर्नुपर्थ्यो।
'समुदायसँग नजिक भएर काम गर्न पाइन्थ्यो। स्वास्थ्य सम्बन्धी विषयमा काम गर्दा प्रत्यक्ष रूपमा मन्त्रालयसँग समन्वय हुन्थ्यो,' उनले सुनाए।
समुदायसँगको यही सम्बन्धका क्रममा उनी स्थानीय तहको चुनावमा पनि सहभागी भए।
सन् २०२२ को स्थानीय तहको चुनावमा उनी काउन्सिलर पदमा उम्मेदवार बने। चुनाव जित्न नसके पनि त्यसले अन्य समुदायसँग सम्बन्ध विस्तार गर्न सघाउ पुर्याएको उनको भनाइ छ।
'त्यति बेला जम्मा तीन जना नेपाली मतदाता थिए,' उनले सुनाए, 'चुनाव जित्नुभन्दा पनि चुनाव लड्छु भन्ने साहस गर्नु ठूलो थियो।'

सन् २०२५ मा पनि उनले काउन्सिलर पदमै उम्मेदवारी दिएका थिए। त्यसमा पनि थोरै मतान्तरले पराजित भएको उनी बताउँछन्।
यसबीच उनले गर्दै आएको काममा स्वास्थ्य मन्त्रालयका अधिकारीको पनि ध्यान गएको थियो। त्यही क्रममा मन्त्रालयबाट प्रमुख सल्लाहकारको भूमिकामा काम गर्न उनलाई प्रस्ताव आयो।
उनले उक्त प्रस्ताव स्वीकार गरे र अन्तर्वार्तामा सहभागी भए। दुई चरणको अन्तर्वार्तापछि उनी स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहकार पदमा छनोट भए।
यो सन् २०२० को कुरा हो।
विदेशमा आफ्नै सीप र अनुभवका आधारमा जागिर पाउनु खुसीको कुरा भएको उनी बताउँछन्।
'यहाँ सोर्सफोर्स चल्दैन। यो पदमा काम गर्ने अवसर पाउनु मेरा लागि धेरै ठूलो अवसर हो,' उनले भने।
रमिल बेला बेला आमालाई भेट्न नेपाल आइरहन्छन्। कहिलेकाहीँ आमालाई नै न्युजिल्यान्ड बोलाउँछन्।
पछिल्लो समय विद्यार्थी भिसामा न्युजिल्यान्ड जाने नेपालीको संख्या केही बढेको छ। तर अन्य देशको तुलनामा न्युजिल्यान्डको भिसा मापदण्ड कडा रहेको उनी बताउँछन्।
'ठूला सहरतिर नेपाली परिवारको संख्या धेरै भए पनि म बस्ने ठाउँमा पाँच जति परिवार छन्,' उनले भने।
रमिल जनस्वास्थ्य क्षेत्रको पेसागत संस्था पब्लिक हेल्थ एसोसिएसन अफ न्युजिल्यान्डका अध्यक्ष पनि हुन्।
स्वास्थ्य क्षेत्रबाहेक उनको रूचि लेखन र संगीतमा छ। उनी गजल, गीत र कविता लेख्छन्। उनका गीतका म्युजिक भिडिओ पनि निस्किएका छन्।
'कला र साहित्य क्षेत्रमा राष्ट्रिय स्तरका चार वटा अवार्ड पाइसकेँ,' रमिलले भने।