लक्जम्बर्गमा नोभेम्बर २९ र ३० मा आयोजना हुने नेपाल–युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) ले सम्मेलन आयोजना गर्न लागेको हो।
'नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६' नाममा आयोजना हुने सम्मेलन लक्जम्बर्गस्थित डबलट्री बाई हिल्टन होटलमा हुनेछ।
सम्मेलन बेल्जियम, नेदरल्यान्ड्स, लक्जम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा आयोजना हुँदैछ।
सम्मेलनमा प्रतिनिधिसभा सदस्य मनिष झा, नेपाली राजदूत सेवा लम्साल, युरोपेली लगानी बैंकका प्रतिनिधि एडभार्डस बुम्स्टाइनस तथा युरोपेली संघको बाह्य कार्य सेवाका प्रतिनिधिसहित नेपाल र युरोपका व्यवसायी, लगानीकर्ता तथा विभिन्न क्षेत्रका विज्ञ सहभागी हुनेछन्।
नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
'नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य' भन्ने मूल भावनासहित आयोजना हुने सम्मेलनमा व्यापार तथा लगानी, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन र व्यावसायिक सहकार्य गरी पाँच प्रमुख विषयमा छलफल हुनेछ।
युवा उद्यमशीलता तथा सूचना प्रविधि नवप्रवर्तनसम्बन्धी सत्रको नेतृत्व चिरन खवासले गर्नेछन्।
सम्मेलनमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल ज्ञान साझेदार, जेनेस सोलुसन प्रविधि साझेदार, निर्यात उद्यमी महासंघ नेपाल (एफइएन) महासंघ साझेदार, युरोपियन इकोनोमिक चेम्बर नेपाल आर्थिक साझेदार तथा काठमाडौं–नेपालको स्वाद कार्यक्रम साझेदारका रूपमा जोडिएका छन्।
सम्मेलनले नेपाली उत्पादनको युरोपेली बजारमा पहुँच विस्तार, प्रविधि तथा लगानी साझेदारी, पर्यटन प्रवर्द्धन र नेपाली तथा युरोपेली व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापना गर्ने विषयलाई प्राथमिकता दिने आयोजकले जनाएको छ।
नेबा युरोपका अध्यक्ष याम निरौलाका अनुसार सम्मेलनलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ठोस व्यावसायिक सहकार्य र दीर्घकालीन साझेदारीको आधार बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रम संयोजक हरि खत्रीले अतिथि व्यवस्थापन तथा विषयगत सत्रहरूको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
संघका सचिव मदन दवाडीका अनुसार सम्मेलनमा प्राप्त सुझाव र निष्कर्ष समेटेर 'नेपाल–युरोप सेमिनार रिजोलुसन एन्ड पोलिसी रेफरेन्स डकुमेन्ट २०२६' तयार गरिनेछ।
उक्त दस्तावेजले आगामी दिनमा व्यापार, लगानी तथा संस्थागत सहकार्यलाई निरन्तरता दिन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
आयोजकले सम्मेलनलाई नेपाल र युरोपबीच आर्थिक सम्बन्ध विस्तार तथा नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने महत्वपूर्ण पहलका रूपमा लिएको छ।