ग्लोबल नेपाली
२०४५ सालमा एसएलसी पास गर्दै गर्दा बागलुङका हेमराज शर्मालाई हेल्थ असिस्टेन्ट (एचए) बन्न मन थियो। बागलुङ जिल्लाका टपर ७३ प्रतिशत ल्याएका शर्माले थोरै नम्बर नपुगेर एचए पढ्न पाएनन्।
विभिन्न उतारचढावका बीचमा उनले भौतिक शास्त्रमा मास्टर्स पास गरे। उनी १९९७ मा भौतिक शास्त्रतर्फ त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट हुन्।
स्नातकोत्तर सकेलगत्तै उनी जापान गए। स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमअन्तर्गत रिक्यो युनिभर्सिटी टोक्योमा छात्रवृत्तिमा एक वर्षे रिसर्च डिग्रीका लागि जापान गएका उनी एक वर्षपछि इटाली गए।
इटालीमा छात्रवृत्तिमा एक वर्षे इन्टेन्सिभ कोर्स सकेर उनी पिएचडीका लागि जर्मनी गए।
फ्री युनिभर्सिटी बर्लिनमा सन् १९९९ देखि २००२ सम्म भौतिक शास्त्रमा पिएचडी सकेपछि हेमराज शर्मा डा. हेमराज शर्मा बने। जर्मनीमा पिएचडी सकेर शर्मा फेरि जापान फर्किए।
पोस्ट डक्टरल फेलोसिपका लागि जापान गएका शर्माले जापान सरकारकै मातहतमा रहेको राष्ट्रिय प्रयोगशालामा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा काम गरेका थिए।
जापान बसाइँकै क्रममा सन् २००६ मा उनको भेट तत्कालीन गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष उपेन्द्र महतो अनि भीम उदास, जीवा लामिछाने सहितका अभियन्ताहरूसँग भयो।
‘सन् २००६ मा मैले उहाँहरूलाई भेटेपछि विदेशमा रहेर पनि नेपालका लागि केही गर्न सकिन्छ भनेर म त्यता लागेको हुँ। त्यसैले एनआरएनएमा म फिजिक्सको विद्यार्थी भन्ने कमैलाई थाहा छ,’ उनले भने, ‘एनआरएनए जापानको अधिवेशनमा मलाई एनआरएनएको महासचिव भएर काम गर्न भनियो। सन् २००७ मा म बेलायत गएँ, त्यसपछि पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ।’
एनआरएनए अभियानमा जोडिएदेखि नै संस्थाका दस्तावेज लेख्नेदेखि विभिन्न खालका बौद्धिक क्रियाकलापमा सक्रिय शर्मा सन् २०१३ मा एनआरएनएको महासचिव भए, जतिबेला एनआरएनएको अध्यक्ष जीवा लामिछाने थिए। त्यसपछि नै हो, शर्माको एनआरएनएमा सक्रिय यात्रा सुरू भएको।
सन् २०१९ को अधिवेशनबाट शर्मा महासचिव निर्वाचित भएका हुन्। त्यसपछि दुई कार्यकाल उपाध्यक्ष हुँदै यसपटक अध्यक्ष बन्न उनी सफल भए।
महासचिवबाट उपाध्यक्ष अनि अध्यक्ष भन्दै गर्दा जति सजिलो देखिएको छ, तर यो अवस्थासम्म आइपुग्दा भने एनआरएनएमा धेरै खालका उथलपुथल भए। अदालतमा मुद्दाको चाङ अनि समानान्तर संस्था कुन आधिकारिक हो भन्ने लडाइँमै एनआरएनए अभियन्ताहरूको शक्ति खर्च भयो। फागुन ३० देखि चैत २ गतेसम्म भएको अधिवेशनले भने सबैतिर फर्किएका एनआरएनएहरू एक ठाउँमा भएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण मंसिरमा एक भएको एनआरएनए यसपटक संस्थागत रूपमै एक भएको छ।
शर्मा सर्वसम्मत रूपमा अध्यक्ष हुँदै गर्दा उनको कार्यसमिति भने जम्बो बनेको छ। वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरू नै २४ जना छन्। महासचिव र कोषाध्यक्ष बाहेकका पदमा दाबी गर्ने जति सबैलाई राखिएको छ।
जम्बो कार्यसमिति भए पनि यसले काम गर्न कुनै अप्ठ्यारो नपर्ने शर्माको दाबी छ।
‘बाहिरबाट हेर्दा मेरो नेतृत्वको कार्यसमिति जम्बो देखिन्छ तर यसलाई सम्पत्ति मान्न पनि सकिन्छ। किनकि संस्थामा लागेको भनेर कसैलाई लगानी गर्नु पर्ने होइन। उहाँहरूले नै संस्थालाई दिने हो,’ उनले भने, ‘आ-आफ्नो ठाउँबाट सबैले काम गर्न सकियो भने हामीले गर्न सक्ने धेरै छ। त्यसैले संस्थालाई एक बनाउने क्रममा कमिटी ठूलो भयो भनेर यसलाई भार मान्नु पर्ने केही छैन। यसलाई अवसरमा परिणत गर्न सकिन्छ।’
आफूहरूका बीचमा कुनै सैद्धान्तिक विवाद नभएकाले आफ्ना इगो र राजनीतिक आबद्धतालाई भुल्ने हो भने कुनै जटिलता नहुने उनको बुझाइ छ। एनआरएनएको इतिहासमा उनी एकमात्र अध्यक्ष हुन् जो गैर-व्यावसायिक पृष्ठभूमिका छन्। उनको व्यापार व्यवसाय छैन। उनी पेशाकर्मी हुन्।
बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चरर रहेका शर्मा आफू अध्यक्ष भएकै कारण थुप्रै पेशाकर्मीहरू एनआरएनएमा जोडिन सक्ने दाबी गर्छन्।
विदेशमा रहेर व्यवसाय गरिरहेकाहरू एनआरएनएमा आकर्षित भएजस्तै विभिन्न पेशामा लागेकाहरू पनि जोडिनुपर्ने उनको भनाइ छ।
त्यति मात्र होइन, उनी एनआरएनएका सदस्यहरूको संख्या दोब्बर पार्ने योजनामा छन्।
‘नेपाल बाहिर ८० लाख नेपाली छन् भनिन्छ। तर एनआरएनएमा डेढ लाख मात्र छन्। मेरो नेतृत्वमा कम्तीमा ३ लाख सदस्य पुर्याउने लक्ष्य छ,’ उनले भने, ‘अबको अधिवेशनमा सबै पञ्जीकृत सदस्यले भोट हाल्न पाउने गरी काम गर्छौँ। यस्तो हुँदा सबैको अपनत्व पनि हुन्छ अनि काम गर्न समेत सजिलो हुन्छ।’
अहिलेसम्म प्रतिनिधि छानिएर ती प्रतिनिधिले नेतृत्व चयन गर्ने प्रावधान छ।
उनले दोस्रो पुस्ताका नेपालीलाई पनि एनआरएनएमा जोड्ने बताए। त्यस्तै अवकाश लिने क्रममा रहेकाहरूलाई पनि यो अभियानमा सहभागी गराएर नेपालका लागि काम गर्ने उनको योजना छ।
अर्को कुरा, विगतदेखि उठाउँदै आएका नागरिकता, दोहोरो कर प्रणाली, नाफा फिर्ता लैजान र सेयरमा लगानी गर्न सहज बनाउनुपर्ने लगायतका क्षेत्रमा काम गर्न बाँकी रहेको उनले बताए।
‘नेपालमा लगानीको वातावरण नभएको भन्ने मलाई लाग्दैन। हाम्रा अग्रजहरू उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतले देखिने गरी लगानी ल्याउनुभएको छ,’ उनले भने, ‘कुनै त्यस्तो एनआरएन छैन होला जसले धेरै थोरै लगानी नेपालमा गरेको छैन। त्यसैले लगानीको वातावरण छैन भन्ने होइन। तर केही व्यावहारिक र कानुनी समस्यालाई भने सम्बोधन गर्नै पर्ने हुन्छ।’