फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले युवा व्यवसायी गोकर्ण लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ।
क्यानडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्थाका रूपमा विगत ६ वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले क्यानडा र नेपालबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका निकायहरूसँग समन्वय र पहल गर्दै आएको छ।
आइतबार सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्। त्यसैगरी बोर्ड सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन्।
कार्यक्रममा निर्वाचन अधिकृत डा. तुल्सी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। संस्थाका पूर्व अध्यक्ष विजय पौडेलले संस्थालाई अझ मजबुत बनाउन सबै सदस्यहरूले सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए।