सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खल्तीबाट झिकेर प्रधानन्यायाधीश बनाउन लागेको आरोप नेपाली कांग्रेसका सभापति गगन थापाले लगाएका छन्।
प्रधानमन्त्री बालेन शाहले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बिहीबार संवैधानिक परिषदको बैठक डाकेपछि थापाले नियुक्ति प्रक्रियामै प्रश्न उठाएका हुन्।
'प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे रास्वपाले सोच बनाएको छ। पात्र प्रस्तुत गरेर, तर्क गरेर, परिषदबाट निर्णय गरेर होइन। प्रस्ताव ल्याउने र पारित गर्ने तयारी गरेको छ,' थापाले सिंहदरबारमा पत्रकारहरूलाई भने, 'प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री सहित तीन जनाले पारित गरेको विषय बहुमत हुन्छ भनेर प्रधानन्यायाधीश खल्तीबाट झिकेर बनाउने तयारी छ।'
उनले संवैधानिक परिषदमाथि नियन्त्रण गर्न सरकारले अध्यादेश ल्याएको आरोप पनि लगाए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख नगरी उनले प्रस्ताव गरेजस्तै व्यवस्था अध्यादेशमा ल्याइएको सभापति थापाले बताए। त्यति बेला पनि आफूहरूले विरोध गरेको तर अहिले रोक्न नसकेको उनको भनाइ छ।
'संवैधानिक परिषदमाथि नियन्त्रण राख्न संसद आह्वान र बन्दको प्रपञ्च रचिएको छ। अगाडिका प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको हो,' थापाले भने, 'हामीले त्यो बेला रोक्यौं, अहिले रोक्न सकेनौं। अध्यादेश बनेर गयो।'
उनले अघिल्लो प्रधानमन्त्रीले नियुक्तिका लागि जालझेल गरेको उल्लेख गर्दै अहिलेका प्रधानमन्त्रीले पनि आफ्ना मान्छे नियुक्त गर्न जालझेल गरेको बताए।
'यो आपत्तिजनक छ। यसमा हाम्रो असहमति छ,' कांग्रेस सभापति थापाले भने, 'यो कुरा हाम्रा साथीहरूले संसदमा राख्नुहुन्छ।'