नेपाल–ईयू टेक फोरम २०२६ ले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा बढ्दो सम्भावना र लगानीका अवसरबारे बहस अघि बढाएको छ।
बेल्जियमको ब्रसेल्समा सोमबार आयोजित बेल्जियम र युरोपेली संघका लागि नेपाली राजदूतावास र विश्वस्तरीय नेपाली प्रविधि कम्पनी जेनिसी सोलुसन्सको सहकार्यमा सम्पन्न फोरमले नेपाल र युरोपबीच डिजिटल प्रविधि क्षेत्रमा सहकार्यलाई बलियो बनाउने र नेपालमा लगानीमैत्री वातावरण बनाउने विषयमा छलफल भएको थियो।
कार्यक्रममा नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि, प्राविधिक विज्ञ तथा प्रवासी नेपालीहरूको सहभागिता थियो।
उद्घाटन सत्रमा राजदूत सेवा लम्सालले नेपाल डिजिटल रूपान्तरणका लागि तयार रहेको र प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध रहेको बताइन्।
उनले दक्ष जनशक्ति, बढ्दो आइटी सेवा निर्यात र नीतिगत सुधारलाई नेपालको मुख्य बलका रूपमा लिनुपर्ने धारणा राखिन्।
युरोपका विभिन्न देशहरूमा रहेर प्रविधि क्षेत्रमा काम र व्यवसाय गरिराखेका नेपाली विज्ञ तथा नेपालमार्फत काम गरिराखेका विदेशी प्रविधि कम्पनीका सञ्चालकहरूले नेपालको डिजिटल नीति, डेटा सुरक्षा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षा सम्बन्धी प्राथमिकतामा जोड दिनुपर्ने बताएका थिए।
कार्यक्रमका आयोजकमध्ये एक जेनिस सोलुसन्सका प्रमुख अन्जनी फुयालले नयाँ जनादेश प्राप्त सरकारले स्थायित्वसँगै प्रविधि क्षेत्रको विकास मार्फत आर्थिक रूपान्तरणको योजना राखेकोले नेपालमा लगानी वातावरण सुधार हुँदै जाने अपेक्षा व्यक्त गरे।
उनले वैदेशिक प्रत्यक्ष लगानी (FDI) मा सरलीकरण भएको, प्रविधि क्षेत्रमा लगानी सीमा हटाइएको र नीतिगत सुधार हुँदै गएको र हरित र स्वच्छ ऊर्जाको उपलब्धता र विकासले नेपालमा सम्भावना उच्च रहेको बताए।