पश्चिम बंगालको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक ल्याएको ऐतिहासिक जितप्रति कंग्रेसका राहुल गान्धी, आम आदमी पार्टीका अरविन्द केजरीवाल लगायतले शंका व्यक्त गरेका छन्।
केन्द्रीय संसद लोकसभामा विपक्षी दलका नेता रहेका गान्धीले पश्चिम बंगालको चुनावी नतिजापछि ममता बनर्जीको भनाइसँग सहमति जनाउँदै भाजपामाथि गम्भीर आरोप लगाएका हुन्।
यसअघि तृणमूल कंग्रेस (टिएमसी) की अध्यक्ष बनर्जीले निर्वाचनमा आफ्नो दलको हारपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। भाजपाले चुनावमा बेइमानी गरेको उनको आरोप छ।
यसमा सहमति जनाउँदै राहुलले भनेका छन्, 'लोकसभा चुनाव २०२४ मा मध्य प्रदेश, हरियाणा र महाराष्ट्रमा पनि यस्तै तरिका अपनाइएको थियो।'
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'टिएमसीलाई भएको घाटामा कंग्रेस र बाहिरका केही मानिस भित्रभित्रै खुसी देखिन्छन्। उनीहरूले बुझ्नुपर्छ, असम र बंगालमा जनादेशको लुट र भारतीय लोकतन्त्र समाप्त गर्ने भाजपाको अभियानतर्फ ठूलो कदम हो।'
उनले थपेका छन्, 'सानातिना राजनीतिक स्वार्थ अलग राख्नुपर्छ। यो कुनै एक पार्टीको विषय होइन, यो भारतको विषय हो।'
यद्यपि राहुल गान्धीले यसअघि नै राज्यमा भाजपाको बढ्दो प्रभावका लागि ममता बनर्जी नेतृत्वको सरकारलाई जिम्मेवार ठहर्याउँदै आएका थिए। उनले टिएमसीमाथि भ्रष्टाचार र हिंसालाई प्रश्रय दिएको आरोप लगाएका थिए। यसको जबाफमा टिएमसीले कंग्रेस आफ्नै कमजोर उपस्थितिको दोष अरूलाई थोपर्न खोजिरहेको आरोप लगाएको थियो।
यसबीच आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामाथि प्रश्न उठाएका छन्।
भाजपाले 'मोदी वेभ' को चरम अवस्थामा पनि दिल्ली र बंगाल जित्न नसकेको सन्दर्भ उल्लेख गर्दै केजरीवालले भनेका छन्, 'सन् २०१५ मा दिल्ली र २०१६ मा बंगालमा भाजपाको तीन–तीन सिट मात्र आएको थियो। त्यही दिल्ली र बंगाल अहिले कसरी जितियो, जब मोदीजीको लोकप्रियता देशभर घटिरहेको छ?'
केजरीवालले पश्चिम बंगालमा ममता बनर्जीका लागि चुनावी प्रचार समेत गर्दै उनलाई भारतीय राजनीतिमा 'परम्परागत ढर्रा तोड्ने' नेताका रूपमा व्याख्या गरेका थिए। यद्यपि गोवाजस्ता क्षेत्रीय चुनावमा उनीहरू आमनेसामने पनि भएका थिए।
समाजवादी पार्टीका नेता अखिलेश यादवले पनि पश्चिम बंगालको नतिजालाई लिएर भाजपामाथि कटाक्ष गरेका छन्।
'जब नतिजा मनपरी ढंगले निकालिएको छ भने भाजपाको परम्परा अनुसार मुख्यमन्त्री पनि मनपरी ढंगले नै चयन हुनेछ,' उनले भने।
उनले व्यंग्यात्मक शैलीमा अगाडि थपे, 'यसपटक 'पर्ची' त्यही नाममा निस्कनुपर्छ, जो पौराणिक कालदेखि महिलाप्रति पुरूषवादी सोच र शोषणको प्रतीक रहँदै आएका छन्। आशा छ 'महिला आरक्षण' का सन्दर्भमा यसमा ध्यान दिइनेछ।'
अखिलेश यादव र ममता बनर्जीले विधानसभा चुनाव क्रममा एकअर्काको पार्टीलाई समर्थन गरेका थिए। दुवै दलले भाजपालाई लोकतन्त्रका लागि खतराका रूपमा चित्रण गर्दै आएका छन्। यसपालि पश्चिम बंगाल चुनाव क्रममा यादवले केन्द्रीय सुरक्षा बल दुरूपयोग भएको आरोप समेत लगाएका थिए।
पश्चिम बंगालमा १५ वर्षदेखि सत्तामा रहेको तृणमुल कंग्रेस (टिएमसी) ले यसपालि २९४ सिटमध्ये ८० सिट मात्र ल्याएको छ भने भाजपाले २०७ सिट जितेर सरकार बनाउँदैछ।
ममता आफै भवानीपुर सिटमा पराजित भएकी छन्।
'हारको प्रमाण भए राजीनामा दिन्थेँ, तर जबर्जस्ती कसैले भन्नु भनेको स्वीकार्य हुँदैन,' उनले मंगलबार पत्रकार सम्मेलनमा भनिन्।
साथै, उनले निर्वाचन प्रक्रियामा भारतीय निर्वाचन आयोग मुख्य दोषी रहेको आरोप समेत लगाइन्।
उनले अब पार्टीभित्र छलफल गरेर आगामी रणनीति तय गरिने र भाजपाको 'अत्याचार' विरूद्ध सडकमा फर्किने चेतावनी दिइन्।
भाजपाले भने बनर्जीको अभिव्यक्तिलाई असंवैधानिक र हास्यास्पद भन्दै आलोचना गरेको छ।
पार्टी प्रवक्ता देवजीत सरकारले संवैधानिक प्रक्रियामा विश्वास गर्ने कुनै पनि व्यक्तिले यस्तो कुरा गर्न नसक्ने बताएका छन्।
पश्चिम बंगालमा पहिलो पटक भाजपा उदय हुनुमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले चारवटा कारण औंल्याएको छ।
१) सत्ता-विरोधी लहर वा हिन्दू मतहरूको ध्रुवीकरण
कतिपय सांसदले टिएमसीको १५ वर्षको शासनपछि सत्ता-विरोधी लहर हुनु सामान्य भए पनि खासगरी हिन्दू मतदाता भाजपातर्फ एकजुट हुनुले यो जित हासिल भएको बताएका छन्।
कलकत्ता विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक हिमाद्रि चटर्जी भने बंगालमा भाजपा जित्नुको श्रेय केवल हिन्दू मतको ध्रुवीकरणलाई दिनु गलत बुझाइ भएको बताउँछन्।
उनका अनुसार, भाजपाको जित हिन्दू ध्रुवीकरणभन्दा पनि टिएमसीविरूद्धका मत एकजुट हुनु हो।
कांग्रेसले ती मत आफ्नो पक्षमा ल्याउन सक्थ्यो तर सक्रिय भएन। भाजपाले यहाँ सन् २०१४ पछि लगातार आफ्नो मत प्रतिशत बढाउँदै आएको छ। २०१६ देखि २०२६ सम्म हेर्दा मत र सिट दुवै बढेका छन्।
'ममता सरकारप्रति जनतामा असन्तुष्टि थियो। विकल्पका रूपमा भाजपा देखियो,' उनले भने, 'त्यसैले जनताले भाजपा रोजे। धार्मिक ध्रुवीकरणको कुरा गर्नेहरूका लागि तथ्य के हो भने १९५० पछि बंगालमा दंगा भएको छैन।'
वरिष्ठ पत्रकार प्रसून आचार्य भने यस्तो नतिजाको अनुमान नभएको बताउँछन्।
'सत्ता-विरोधी लहर त थियो, तर भाजपा जित्नुको कारण केवल त्यही होइन। स्थानीय नेता र कार्यकर्ताबाट जनता निकै आजित थिए। साथै हिन्दू मतहरूको एकजुटताबाट पनि भाजपालाई फाइदा भयो,' उनले भने।
२) एसआइआरको भूमिका
थिंक ट्यांक 'सबर इन्स्टिच्युट' ले पश्चिम बंगालमा एसआइआर (स्पेसल इन्टेन्सिभ रिभिजन) को तथ्यांक विश्लेषण गरेको छ।
संस्थाका निर्देशक साबिर अहमदका अनुसार, यो चुनावमा करिब ३१ लाख मानिसले मतदान गरेनन्। धेरै सिटमा हार-जितको अन्तर कम हुने भएकाले एसआइआरले पनि भाजपालाई फाइदा पुर्याएको देखिन्छ।
उनले भने, 'धार्मिक ध्रुवीकरण पनि भएको छ, विशेषगरी सहरी क्षेत्रमा। मानिसहरूमा अल्पसंख्यक बहुसंख्यक हुने डर फैलाइएको थियो।'
३) कमजोर वाम मोर्चा र कंग्रेस
यस चुनावमा मुख्य प्रतिस्पर्धा टिएमसी र भाजपाबीच मात्र देखियो। कांग्रेस र सिपिआई (एम) प्रभावहीन देखिए। जनतामा टिएमसीलाई यी दलहरूले हराउन सक्दैनन् भन्ने धारणा थियो। त्यसैले टिएमसीविरोधी मत सबै भाजपातर्फ गए।
कंग्रेसका प्रदेश अध्यक्ष शुभांकर सरकार आफ्नै क्षेत्रमा चौथो स्थानमा थिए। प्रियंका गान्धीले पनि बंगालमा कुनै सभा गरिनन्।
४) मुस्लिम मत विभाजन
विश्लेषक पार्थ दासका अनुसार, टिएमसी हार्नुको कारण हिन्दू मत ध्रुवीकरण होइन, मुस्लिम मतको विभाजन हो।
मुस्लिम मत विभाजित भएका कारण भाजपा लाभान्वित भएको विश्लेषक अभिजीत मजुमदार बताउँछन्।
तर जादवपुर विश्वविद्यालयका प्राध्यापक अब्दुल मतीन यससँग सहमत छैनन्।
उनका अनुसार, मुस्लिम मत विभाजित भएको भन्नु गलत हो। मतदाताले आफूलाई मनपर्ने उम्मेदवारलाई मतदान गरेका हुन्।