कीर्तिपुरका मेघराज बुढाथोकी १७ वर्षदेखि ऊनको हस्तकला व्यवसायमा छन्।
बुढाथोकीले ललितपुरमा खोलेको ओम साइराम फेल्ट प्रोडक्ट प्राइभेट लिमिटेडमा १ हजारभन्दा धेरैले रोजगारी पाएका छन्।
नियमित बाहेकका पनि जोड्ने हो भने यो संख्या १५ सयको हाराहारीमा पुग्छ, जसमा १ हजारभन्दा धेरै महिला छन्। उनले ४० भन्दा धेरै देशमा हस्तकलाका सामान पठाउँछन्। यस वर्ष मात्र उनको कम्पनी नेपालबाट सबभन्दा धेरै हस्तकलाका सामान विदेश पठाउनेमध्ये दोस्रो भएको छ।
३५ वर्षीय बुढाथोकीले यो सफलता कसरी पाए होलान्, अनि उनको कम्पनीले कस्ता सामग्री बनाउँछ त भन्ने जिज्ञासा आउनु स्वाभाविक हो। यही जिज्ञासा हामीले बुढाथोकीसमक्ष राखेका थियौँ।
‘सुरूमा मैले सानो स्केलमा काम सुरू गरेको थिएँ। काम गर्दै जाँदा विस्तारै सहज हुँदै गयो। हामीले पनि व्यवसाय बढाउँदै गयौँ,’ उनले भने, ‘सर्लाहीबाट एसएलसी सकेर काठमाडौं आएपछि दाइको कारण यो काम सिक्न सफल भएँ। मैले हस्तकला बाहेक अरू काम गरेको छैन। कहिलेकाहीँ त यसकै लागि जन्मिएको रहेछु जस्तो लाग्छ।’

केही समय हस्तकलाका सामग्री बनाउने काम गर्दैगर्दा उनलाई यस क्षेत्रमा आफैले केही गरौँ भन्ने लागेको थियो। एकातिर विदेशमा नेपाली पहिचान पुर्याउन सकिने, अर्कोतिर धेरैभन्दा धेरैलाई रोजगारी दिन सकिने भएकाले उनलाई यस क्षेत्रमा लगानी गर्ने सोच आएको थियो। त्यसैले उनले साहस बटुले अनि काम सुरू गरे। २० वर्ष नपुग्दै काम सुरू गरेकै कारण ४० वर्ष नपुग्दै उनले यति धेरैलाई रोजगारी दिन सकेका छन्।
‘हस्तकला भन्नासाथ हातको सहयोगबाट बनाइने सामग्री हो भनेर सबैले बुझेकै छन्। तर यसको महत्व कति छ भन्ने थोरैलाई मात्र थाहा हुन सक्छ,’ उनले भने, ‘मेसिनको प्रयोग नहुने भएपछि धेरै जनाले काम पाउने नै भए। अनि यस क्षेत्रमा महिलाले धेरै काम गर्न सक्छन्। जसले गर्दा उनीहरू आर्थिक रूपमा आत्मनिर्भर हुन सक्छन्।’
आफ्नो कम्पनीले झोला, जुत्ता, चप्पल, टोपी,बच्चाका लागि खेलौना, सजावटका सामग्री, कुकुर–बिरालाका लागि आवश्यक सामान, लगायत बनाउने उनले बताए। क्रिसमस, इस्टर लगायतका चाडपर्वका लागि चाहिने सजावटका सामग्री समेत बनाइन्छ।
बुढाथोकीका अनुसार झन्डै ९९ प्रतिशत सामग्रीको बजार विदेश हो। नेपालमा पर्यटकीय क्षेत्रमा उनको कम्पनीका सामग्री राखिन्छन् भने कतिपय मेला तथा प्रदर्शनीमा पनि राखिन्छ। अमेरिका, जापान, जर्मनी, बेलायत, अस्ट्रेलिया सहित ४० भन्दा धेरै देशमा सामान पठाइन्छ।
‘विदेशबाट सप्लायर्सले अर्डर गरेपछि हामीले नमूना सामग्री पठाउँछौँ। उनीहरूले मन पराएर थप बनाउन भनेपछि मात्र हामीले उत्पादन गर्ने हो। हामीले बनाउने अधिकांश सामग्री मागअनुसारका हुन्छन्,’ उनले भने, ‘उनीहरूले यहाँ कसरी उत्पादन हुन्छ, सरसफाइमा ध्यान दिइएको छ कि छैन, अनि काम गर्नेहरूको सुरक्षा लगायतका विषयमा पनि चासो देखाउँछन्। हामीले यस्ता पक्षलाई समेत ख्याल गर्नुपर्छ।’

कम्पनीमा प्रयोग हुने सबै ऊन न्युजिल्यान्डबाट ल्याइन्छ। भेँडाको ऊन बाहेक अरू प्रयोग हुँदैन। उताबाट ल्याएको ऊनलाई रङ लगाउने, सरसफाइ गर्ने, अर्डरअनुसार सामग्री बनाउने, गुणस्तर जाँच गर्ने, अन्तिम रूप दिने र प्याकिङ गर्ने लगायतका काम गरिन्छ। हातैले गर्ने काम भएकाले कतिपयले आफ्नै घरमा लगेर पनि अर्डरअनुसारको काम गर्छन्। यसको सबैभन्दा ठूलो फाइदा महिलाहरूलाई भएको उनको बुझाइ छ।
‘महिलाले घरपरिवारको ख्याल गर्दै केही आयआर्जन पनि गर्न पाएका छन्। यसले घर चलाउनेदेखि बच्चा पढाउनसम्म सहयोग पुगेको छ,’ उनले भने, ‘महिला सशक्तीकरणका कुरा गर्ने धेरै होलान्। तर हामीले थोरै भए पनि व्यवहारमा लागू गर्न पाएका छौँ भन्ने लाग्छ।’
उनलाई जतिसक्दो हस्तकलाकै क्षेत्रमा काम गर्न मन छ। यसलाई अझै विस्तार गर्दै लैजाने बुढाथोकीको योजना छ। काम गर्ने क्रममा विभिन्न अप्ठ्यारा आए पनि इमानदार तरिकाले मेहनत गर्यो भने सहज हुने उनको अनुभव छ।
‘यो बीचमा कहिले भूकम्प त कहिले कोभिड लगायतका कारण समस्याहरू नआएका होइनन्। मैले आत्मबल गुमाएँ भने मसँगै हजारौँको रोजीरोटी खोसिन्छ भन्ने लाग्थ्यो,’ उनले भने, ‘स्वदेशमै स्वतन्त्र तरिकाले काम गर्न पाइएको छ। रोजगारी दिने मात्र होइन, नेपाललाई पनि विदेशमा चिनाउन पाइएको छ भनेर गर्व लागेकै कारण मलाई अघि बढ्ने हिम्मत आयो।’