नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न सर्वोच्च अदालतले नमानेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष छुट्टै महाधिवेशन गर्ने तयारीमा जुटेको छ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसले भदौ २४ गतेदेखि गाउँ/नगर अधिवेशन सुरू गर्दै विभिन्न तहका अधिवेशन सकेर असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्दैछ।
देउवा नेतृत्वको संस्थापनइतर पक्ष यो महाधिवेशनमा सहभागी नहुने भएको छ। छुट्टै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारीमा देउवा पक्ष लागेको हो। त्यसका लागि बैठकसमेत आह्वान भइसकेको छ।
नेता मीनबहादुर विश्वकर्माका अनुसार १५ औं महाधिवेशन कार्यतालिकालगायत विषयमा छलफल गर्न भदौ १७ गते बैठक बोलाइएको बताए।
‘गगन थापा नेतृत्वको सानेपा कांग्रेसले असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएपछि रोक्नुपर्यो भनेर हामी अदालत गयौं तर अदालतले महाधिवेशन रोक्नु पर्दैन भनिदियो, महाधिवेशन रोक्न नपर्ने भए हामी पनि महाधिवेशन गर्ने भनेर तयारी सुरू गरिएको छ,’ नेता विश्वकर्माले सेतोपाटीसँग भने, ‘त्यसका लागि भदौ १७ मा बैठक बस्छ।’
उक्त बैठकले महाधिवेशन कार्यतालिका ल्याउने उनको भनाइ छ।
‘गगन थापा नेतृत्वको कांग्रेसले भदौ २४ देखि गाउँ/नगर अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएर तयारी अघि बढाएका छन्, हामी त्यो अधिवेशनमा सहभागी हुँदैनौं, यही मिति आसपास रहेर महाधिवेशन कार्यतालिका ल्याउँछौं,’ उनले भने, ‘सानेपा कांग्रेसले महाधिवेशनको धेरै तयारी गरिसकेको छ, त्यसअनुसार हामीले गरेका त छैनौं, हामीले धेरै तयारी गर्नै बाँकी छ। त्यसैले केन्द्रीय महाधिवेशन मंसिर नकट्ने गरी कार्यतालिका ल्याउँछौं र महाधिवेशन गर्छौं।’
कांग्रेसले २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन गरेको थियो। विधानअनुसार ४ वर्षमा नियमित महाधिवेशन गर्नुपर्छ। तर नियमित महाधिवेशन नभएका खण्डमा विधानअनुसार १ वर्ष कार्यकाल थप गर्न सकिन्छ। त्यो समय मंसिरमा सकिनेछ। त्यसैले मंसिरभित्रै महधिवेशन गरिसक्नुपर्ने बाध्यता रहेको विश्वकर्माले बताए। गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन।
निवर्तमान सभापति देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि पनि गर्दै आएको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन अनुमति दिएकोले त्यसको टुंगो नहुँदासम्म १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहने दाबी देउवा पक्षको छ। साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गरी उनीहरूले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुनुपर्ने निर्णयसमेत गरेका थिए।
देउवा नेतृत्वको यो समूहका गतिविधिहरूमा निवर्तमान सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पनि सहभागी हुने गरेका छन्। हङकङ र सिंगापुरमा ५ महिना उपचार गराएर साउन २८ मा देउवा स्वदेश फर्केका थिए। त्यसपछि देउवा पनि चुनदेवी सम्पर्क कार्यालय बेलाबेला जाने गरेका छन्। त्यहाँ देउवाका लागि बेग्लै कोठा छ र नेमप्लेटमा 'सभापति' लेखिएको छ।
अहिले नेपाली कांग्रेसकै नाममा दुई वटा महाधिवेशन हुने अवस्था सिर्जना भएको छ।
महाधिवेशन सम्पन्न गरेपछि त्यसको केन्द्रीय समिति निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्छ। देउवा समूह पनि महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेर अद्यावधिकका लागि आयोग जाने पक्षमा छ।
नेता मीनबहादुर विश्वकर्माले महाधिवेशन गरी आयोगमा अद्यावधिक गरिने बताए।
‘गगन थापा नेतृत्वको र देउवा नेतृत्वको कांग्रेसले फरक-फरक महाधिवेशन गरी नेतृत्व चयन गरी अद्यावधिक गर्न निर्वाचन आयोग जानेछन्, त्यसबेला कुनलाई अद्यावधिक गर्ने भन्ने विवाद उत्पन्न हुने अवस्था रहन्छ,’ विश्वकर्माले भने, ‘आयोगले जसलाई मान्यता दिन्छ त्यो नेपाली कांग्रेस हुनेछ। जसलाई मान्यता दिँदैन त्यो परिवर्तित अवस्थामा नेपाली कांग्रेस रहन्छ।’
सर्वोच्चमा विशेष महाधिवेशन मुद्दा पुनरवलोकन अनुमति पाएको अवस्थामा रहेकोले यसरी महाधिवेशन गर्नुपर्ने अवस्था रहेको उनले बताए।
कांग्रेसले भने भदौ २४ देखि वडा अधिवेशन हुने जनाएको छ।
कांग्रेसमा करिब ८ लाख जनाले क्रियाशील अद्यावधिक गरिसकेका छन्। छुटेकाहरूलाई क्रियाशील अद्यावधिक गर्न अन्तिम अवसरका रूपमा भदौ १९ गतेसम्मको समय दिइएको केन्द्रीय कार्यालयले जनाएको छ।
भदौ १५ देखि १९ गतेसम्म क्रियाशील नवीकरण र अद्यावधिक गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको हो।
‘नेपाली कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा भदौ १४ गते बसेको समितिको बैठकले— पार्टीको बृहत्तर हित, एकता र साथीहरुको अनुरोधलाई ध्यानमा राखी नवीकरण र अद्यावधिक गर्न छुट हुनु भएका क्रियाशील सदस्यहरूले २०८३ भदौ १५ देखि १९ गतेसम्ममा आफ्नो क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने गरी समयावधि कायम गर्ने निर्णय गरेको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निवर्तमान सभापति शेरबहादुर देउवासहित अधिकांश पूर्वपधिकारीहरू र संस्थापनइतर पक्षका केही जिल्ला सभापतिसहित कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन्।
उनीहरूले गत पुस १० गतेभित्रै नवीकरण भने गरेका थिए। गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका कतिपय नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन्।
देउवा पक्षले भने गत पुस १० गतेसम्म नवीकरण भएका सदस्यहरूलाई आधार मानेर महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसबेला नवीकरण गरेकामध्ये ८० प्रतिशतभन्दा बढीले क्रियाशील अद्यावधिक गरिसकेका छन्।
गत पुसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा मतभेद हुँदा कांग्रेसमा विवाद सुरू भएको थियो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा बहुमत बढी महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन भएको थियो।
पछिल्लो समय देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा कार्यक्रमहरू गर्ने गरेको छ। देउवाको निर्देशनमा रहेर कोइरालाले १५ औं महाधिवेशन तयारी गर्ने पनि समझदारी नेताहरूका बीचमा छ। विधानअनुसार देउवा अब सभापति उम्मेदवार हुन मिल्दैन। छुट्टै १५ औं महाधिवेशन गर्ने भए संस्थापनइतर पक्षबाट को को सभापति उठ्छन् भन्ने पनि यकिन भइसकेको छैन।
संस्थापनइतर पक्षमा अधिकांश पूर्वपदाधिकारीहरू छन्। जसमध्ये नेता विमलेन्द्र निधि र प्रकाशमान सिंह १४ औं महधिवेशनमा पनि सभापति पदमा उठिसकेका थिए। बेग्लै महाधिवेशन हुने स्थितिमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला सहभागी हुन्छन् कि हुँदैनन् पनि अहिले नै यकिन भइसकेको छैन।
कार्यतालिकामा हेरफेर नभए कांग्रेसभित्र मतभेदकै बीच अबको ११ दिनमा अधिवेशन सुरू हुनेछ।