भदौ १० गते बिहान अप्पर त्रिशूली ३ 'बी' जलविद्युत आयोजना परिसर अरू दिन जस्तै सामान्य थियो। घाम लागेको थियो। आकाश सफा थियो।
सदाझैं आयोजना निर्माणको नियमित काम चलिरहेको थियो।
आयोजनाको किचनमा देवी पौडेल बिहान ७ बजेदेखिको ड्युटीमा थिइन्। डोलराज भण्डारी गाडीमा तेल हाल्न लागेका थिए। हिमलाल भण्डारी आयोजनाकै परिसरमा थिए।
भोटेकोशी र त्रिशूलीको सीमा भएर बगेको त्रिशूली नदीमा निर्माणाधीन ३७ मेगावाटको अप्पर त्रिशूली ३ 'बी' जलविद्युत आयोजनाका सिभिल इन्जिनियर गणेशकुमार यादव सुरूङभित्र काम गरिरहेका थिए।
त्यो क्षणसम्म कसैलाई भोटेकोशीमा के आउँदैछ भन्ने थाहा थिएन। एकाएक गड्याङगुडुङ सुनियो।
त्यसपछि कोही चिच्यायो— बाढी आयो!
आयोजनाका अधिकारीहरू कामदार बचाउन भन्दै दौडिन थाले।
'सबै जना छिरलविरल भयौं। को कता जानुभयो, साध्य नै भएन,' देवीले त्यो क्षण सम्झिइन्।
देवी आयोजना कार्यालयको मुख्य गेटबाट बाहिर निस्किइन्। अगाडि डिजेल राख्ने ठूलो ट्यांकी थियो। उनी त्यही ट्यांकीतिर दौडिइन्। ट्यांकीमाथि चढेर हात ठड्याइन्।
बाढी नजिकै आइसकेको थियो। उनले बाढीमा पानी देखिनन्। धुवाँको मुस्लोजस्तो दृश्य तीव्र बेगमा उडिरहेको देखिन्।
'बाढी आउँदा पानी नै देखिएन। बिजुलीको पोल, हाइटेन्सन लाइन नाघेर आएको थियो,' देवीले भनिन्, 'मैले त कालो मुस्लो मात्रै देखेँ, धुवाँको जस्तो मुस्लो।'
त्यो कालो मुस्लो पानी, ढुंगा, लेदो, रूख र संरचनाहरू बोकेर तल झरिरहेको थियो। हावा पनि बेस्सरी चलेको थियो। देवी जंगलतिर भागिन्। उनले पछाडि फर्केर हेर्ने हिम्मतसमेत गरिनन्।
देवी पौडेल
'बाढी मोडिएका बेला म भागेर बाँचेँ। जति बाँचेका छौं, बाँच्यौं। क्षतिको कुरा गरिसाध्य छैन। खोलाभरि केही पनि बाँकी रहेन,' उनले भनिन्।
उनीसँग भाग्दा आफ्नो सामान उठाउने समय थिएन। लगाएको लुगाबाहेक केही थिएन।
'भाग्दा भाग्दा कसैको जुत्ता थिएन। कसैको कपडा थिएन। मेरो पनि कपडा जंगलमा च्यातियो,' उनले भनिन्, 'गाउँलेहरूले दिएको लुगा लगाएर पोखरा आइपुगेँ।'
दिउँसो करिब २ बजेतिर उनले जंगलमा अरू साथी भेटिन्।
'अरू साथीहरू पनि त्यसरी नै भागेर बाँचेका रहेछन्,' उनले भनिन्।
बाढी आउनुअघि सप्तरीको तिरहुत गाउँपालिका–३ का सिभिल इन्जिनियर गणेशकुमार यादव आयोजनाको सुरूङभित्र थिए। बिहान करिब ९ बजेको थियो। बाहिर निस्किएर गाडी बोलाउने र कामदारलाई खाना खान लैजाने सोचमा थिए। त्यही बेला अचानक बाढी आयो। सुरूङको मुख थुनियो।
'सुरूङभित्र ढलानको काम भइरहेको थियो। बाहिर बाढी आइसकेको थियो। भित्र २२ जना कामदार फलामका डण्डी बाँध्ने काम गरिरहेका थिए,' उनले भने।
यादवले चिच्याएर उनीहरूलाई बोलाए। आफ्नो साइटका सबै कामदारलाई बाहिर निकाल्न उनी सफल भए।
अरूलाई अघि लगाएर पछाडि बसेका यादवलाई भने बाढीले भेट्यो। उनी घाइते भए।
'मेरो साइटमा सुरुङभित्र भएका सबै कामदार निकाल्न सफल भएँ। सबै सकुशल निस्किए,' उनले भने, 'म भने घाइते भएँ। मेरो हात र खुट्टामा चोट लागेको छ। बाढीमा घाँटीसम्म डुबेको थिएँ।'
गणेशकुमार यादव
त्यसपछि उनले पनि जंगलतिर दौडिएर ज्यान जोगाए।
गणेशका अनुसार आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको थियो। उनकै काम करिब चार महिना मात्र बाँकी थियो। केही मिनेटको बाढीले दुई वर्षभन्दा बढी समय लगाएर गरिएको निर्माण बढारियो।
डोलराज भण्डारी कम्प्रेसर चलाउँथे। बाढी आउँदा उनी गाडीमा तेल हाल्न लागेका थिए। त्यही बेला आयोजनाका केही अधिकारीहरू मानिसहरूलाई सुरक्षित ठाउँतिर लैजान भन्दै हिँडिरहेका थिए।
'अफिसका सरहरू बाढी आउँदैछ, मान्छे हटाउन जानुपर्यो भनेर जाँदै हुनुहुन्थ्यो,' डोलराजले भने, 'सरहरू पुलमा नपुग्दै बाढीले बगायो।'
भण्डारीले खरका गाँज समाउँदै माथि जंगलतिर भागेर ज्यान जोगाएका थिए।
बाढीको दृश्य सम्झिँदा अहिले पनि उनको ओठ काँप्छ। बिजुलीका पोल र हाइटेन्सन लाइन ढलाउँदै आएको बाढीमा उनले पनि पानी देखेनन्। धुवाँको मुस्लोजस्तो मात्र देखे।
उनले आगोको झिल्कासमेत देखेको बताए।
'जलविद्युत आयोजनाका गाडी र पेट्रोलपम्पको आगो हो कि,' उनले भने।
बाढी आउने जानकारी केही ढिलो आएको हो कि भन्ने उनलाई लाग्छ। जानकारी पाउनेबित्तिकै साइट इन्चार्जहरूले सबै कर्मचारीलाई भाग्न भन्दै गर्दा बाढी आइपुगेको उनले बताए।
एकछिन ढिला भएको भए सबैलाई बचाउन नसकिने अवस्था आउन सक्थ्यो भन्ने उनको बुझाइ छ।
सोही जलविद्युत आयोजनाबाट ज्यान जोगाउन सफल भएका हिमलाल भण्डारीले बाढीमा जीवन र मृत्युको दुरी निकै छोटो देखेका छन्।
एक सेकेन्डले ज्यान जोगाउन सफल भएको बताउने उनी बाढी केहीबेर पावर हाउसमा ठोक्किएर रोकिएको क्षण सम्झिन्छन्। त्यही बेला उनी भाग्न सफल भए।
'बाढी पावर हाउसमा ठोक्किएर एकैछिन नरोकिएको भए आज म यहाँ हुन्थिनँ,' उनले भने।
हिमलाल भण्डारी
डोलराज भण्डारी
बाढी खोलाभन्दा निकै माथिबाट आएको हिमलालले बताए। यसअघि देखेका र अहिलेको बाढी नितान्त फरक रहेको उनको अनुभव छ।
यसपालि बाढी निकै ठूलो र माथिबाट आएको उनको बुझाइ छ।
'बाढी त खोला खोलै आउनुपर्ने। बिजुलीको पोल, हाइटेन्सन लाइनको टावरभन्दा माथिमाथिबाट आयो,' उनले भने।
करिब आधा घण्टासम्म निरन्तर त्यही दृश्य देखेको हिमलाल बताउँछन्। खोलाको करिब २०० मिटर दायाँबायाँ बाढीले ढाकेको मात्र थिएन, बढारेर पनि लग्यो।
'हामीले देख्दादेख्दै गाडीहरू बगायो। प्रहरीका गाडी, स्कुल बसहरू पनि बगाएको देख्यौं,' उनले भने, 'सबै उछिट्टिएका थिए।'
आयोजनाबाट यसरी भागेर ज्यान जोगाएका ३२ जना एकै ठाउँ भेटिए। उनीहरू जम्मा भएर रातभर जंगलको बाटो हिँडे।
स्थानीय गाउँपालिकाले खाना खुवाएर सुत्ने व्यवस्था गरिदियो। उनीहरूले सरकारसँग उद्धारका लागि आग्रह गरे। तर उनीहरूलाई उद्धार गर्न हेलिकप्टर आउँदैन भनेर स्थानीय जनप्रतिनिधिले जानकारी दिए।
त्यसपछि उनीहरूले रसुवाबाट धादिङ हुँदै गोरखासम्म हिँडेर पोखरा आउने निधो गरे।
'हामी दिनरात हिँडेर धादिङबेसी हुँदै गोरखा आयौं। त्यहाँबाट हाम्रो पोखराको अफिसले बस पठाएको थियो। त्यही बस चढेर पोखरा आइपुग्यौं,' देवीले भनिन्।
आयोजनाका पोखरास्थित प्रोजेक्ट कोअर्डिनेटर प्रेमराज तिम्सिनाका अनुसार आयोजनामा काम गर्ने १५१ जना सम्पर्कविहीन भएका छन्। अहिलेसम्म ८७ जना मात्रै सम्पर्कमा आएका छन्।
अप्पर त्रिशूली–३ 'बी' ३७ मेगावाट क्षमताको रन–अफ–द–रिभर जलविद्युत आयोजना हो। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा उक्त आयोजना निर्माणाधीन थियो। आयोजना निर्माणको ठेक्का दुई वर्षअघि पोखराको फेवा कन्स्ट्रक्सन प्रालिले लिएको थियो।
यसको विशेषता माथिल्लो त्रिशूली–३ एबाट विद्युत उत्पादन भएपछि निस्किने पानीलाई पुनः प्रयोग गरेर विद्युत उत्पादन गर्नु हो। त्यसैले यो क्यास्केड आयोजना हो।
निर्माणको अन्तिम नौ महिनातिर आइपुग्दा आयोजनाले सबभन्दा ठूलो प्राकृतिक विपत्ति सामना गरेको छ। तिब्बतबाट हिमनदीसहित पहाड खसेर आएको पहिरोले यस जलविद्युत आयोजनाको नाम निशाना केही बाँकी राखेको छैन।
बाढीले आयोजनाका संरचनामा मात्र होइन, त्रिशूली–२२० केभी प्रसारण लाइनको ३ 'बी' हबमा समेत क्षति पुर्याएको छ। भौतिक तथा आर्थिक क्षतिको विस्तृत मूल्यांकन अझै हुन बाँकी छ।
पोखरा आइपुगेका देवी, गणेशकुमार, डोलराज र हिमलाल अहिले आफ्नो–आफ्नो घर फर्किने तयारीमा छन्।
उनीहरूका शरीरमा बाढीका चोट छन्। कसैको हातखुट्टामा र सबैको स्मृतिमा। तर उनीहरूको मन भने अझै त्रिशूलीको त्यही किनारमा छ।
उनीहरू भन्छन्, 'उद्धार किन पुगेन? गाउँभरि रूवाबासी छ। बस्नेखाने अवस्था छैन। सयौं मान्छे हराएका छन्। हामी त हिँडेर पनि घरसम्म पुग्न सक्छौं। त्यहाँ हराएकाहरूको खोजी छिटो होस्।'
