गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गतको स्किल, नलेज एण्ड टेक्नोलोजी ट्रान्सफर डिपार्टमेन्टले आयोजना गरेको 'ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण' विषयक वेबिनारमा विदेशमा रहेका नेपाली विज्ञहरूको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा विभाग प्रमुख तथा एनआरएनएका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले विभागको कार्यपत्र र भावी कार्ययोजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा एनआरएनएका अध्यक्ष हेमराज शर्माले संघले स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको बताए।
उनले संस्थालाई समयानुकूल पुनःसंरचना गर्दै दोस्रो पुस्ताका गैरआवासीय नेपाली, महिला, युवा तथा विश्वभरका नेपाली विज्ञहरूलाई जोड्ने अभियान अघि बढाइएको जानकारी दिए।
सन् २०१८, २०२० र २०२३ मा सम्पन्न ग्लोबल नलेज कन्भेन्सनले सहकार्यको वातावरण सिर्जना गरेको उल्लेख गर्दै चौथो ग्लोबल नलेज कन्भेन्सन जनवरी २०२७ मा आयोजना गर्ने तयारी भइरहेको पनि उनले बताए।
उपाध्यक्ष रेग्मीले ठूलो संख्यामा नेपाली दक्ष जनशक्ति विदेशमा स्थापित भइरहेका बेला 'ब्रेन ड्रेन' लाई 'ब्रेन गेन' मा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।
विश्वभर करिब दुईदेखि तीन लाख नेपाली दक्ष जनशक्ति विभिन्न क्षेत्रमा कार्यरत रहेको उल्लेख गर्दै उहाँले नियमित वेबिनार, चौथो ग्लोबल नलेज कन्भेन्सन, नेपाली विशेषज्ञहरूको डिजिटल डाटाबेस निर्माण, विश्वविद्यालयसँग सहकार्य विस्तार तथा 'ब्रेन गेन' अभियानलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।
एनआरएनए प्रोफेसनल एण्ड एकेडेमिक युनिटका संयोजक डा. देवीबहादुर बस्नेतले विश्वभर रहेका नेपाली चिकित्सक, इन्जिनियर, वैज्ञानिक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूलाई एउटै सञ्जालमा आबद्ध गर्न स्वतन्त्र प्रोफेसनल एण्ड एकेडेमिक युनिट गठनको प्रक्रिया अघि बढाइएको बताए।
टेक्नोलोजी, इन्जिनियरिङ तथा नेचुरल रिसोर्स कमिटीका संयोजक डा. ज्ञानेन्द्र प्रसाद जोशीले राष्ट्रियस्तरको डिजिटल विशेषज्ञ डाटाबेस निर्माण गरी सरकार, विश्वविद्यालय र अनुसन्धान संस्थालाई विश्वभर रहेका नेपाली विज्ञसँग जोड्ने योजना रहेको जानकारी दिए।
नेपाल साइन्स फाउन्डेसनका संस्थापक अध्यक्ष डा. राजु अधिकारीले सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रबीच प्रभावकारी सहकार्यबाट मात्र ज्ञान तथा प्रविधि हस्तान्तरणलाई परिणाममुखी बनाउन सकिने बताए।
कृषि समितिका संयोजक डा. जगदीश तिमिल्सिनाले कृषि आधुनिकीकरणका लागि कृत्रिम बुद्धिमत्ता, डिजिटल कृषि र वैज्ञानिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै रबर खेतीसम्बन्धी पाइलट परियोजनाको प्रस्ताव कार्यान्वयनमा लैजान आग्रह गरे।