चर्चित अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स।
सन् १९३३ जुलाई २९ को अंकमा लेखिएको छ, 'सिकागोमा आगामी महिना आयोजना हुने विश्व आस्था मैत्री सम्मेलनमा सम्बोधन गर्ने व्यक्तित्वहरूमध्ये राजा जयपृथ्वी बहादुर सिंह सबैभन्दा आकर्षण हुनेछन्। उनी बिशप फ्रान्सिस, जे. म्याक कोनेल, न्युटन डी. बेकर र प्रोफेसर जोन डेवेले आयोजना गरेको सम्मेलनमा सहभागी हुन न्युयोर्क आइपुगेका छन्।
ब्रिटिस इन्डिया र तिब्बतका बीच हिमालको दक्षिण मोहडामा अवस्थित नेपालका राज्यहरूमध्ये बझाङ राज्यका राजा जयपृथ्वीले सन् १९१४ मा सबै राजपाट परित्याग गर्दै जीवन चलाउन चाहिने नगदी लिई, बाँकी सम्पत्ति त्याग्दै सिंहासन समेत भाइलाई सुम्पिएर मानववादको प्रचारका लागि विश्व भ्रमणमा निस्किएका छन्।'
झन्डै एक शताब्दीअघि कसले कल्पना गरेको थियो— पश्चिम नेपालको सानो राज्य बझाङका राजा विक्रमबहादुर सिंह तथा रानी रूद्रकुमारीको जेष्ठ सुपुत्रका रूपमा १९३४ भदौ ७ गते जन्मिएका जयपृथ्वी बहादुर सिंह राजकाज मोह त्यागेर 'मेरो जात मानव, मेरो धर्म मानवता अनि मेरो सिद्धान्त मानववाद' भन्दै विश्वमा मानववादी सन्देश छर्लान् भनेर! विश्वमा नेपाललाई चिनाउन सफल होलान् भनेर!
उनै जयपृथ्वीको स्मृतिमा सारा नेपालीले उनलाई चिन्नु, उनले नेपाली समाजमा गरेको योगदानको कदर गर्दै उनको दर्शनलाई विश्वमा फैलाउनु आजको पुस्ताको गहन जिम्मेवारी भएको छ।
सबभन्दा पहिले जयपृथ्वीलाई चिनौं पढाइको कुराबाट।
काठमाडौंको थापाथली दरबारमा प्राथमिक शिक्षा अनि दरबार हाइस्कुलमा माध्यमिक शिक्षा। त्यो बेला पनि शिक्षा पाउनुको कारण थियो, राणा परिवारसँग नातासम्बन्ध हुनु। त्यसमाथि पढाइमा तीक्ष्णता। कलकत्ता विश्वविद्यालयबाट मेट्रिक उत्तीर्ण गरे।
इलाहावाद कलेजबाट समाज–विज्ञानमा प्रवीणता प्रमाणपत्र तह र फेरि कलकत्ता विश्वविद्यालयबाटै कानुनमा स्नातक उपाधि सजिलै लिए।
राजपरिवार भएपछि विवाह पनि उच्च घरानियासँग हुन कुनै कुराले रोक्ने भएन, त्यसमाथि बौद्धिक व्यक्तित्व। श्री ३ चन्द्रशमशेरकी छोरी खगेश्वरीसँग वैवाहिक जीवनमा बाँधिए।
हुन त उनकी मुमा पनि श्री ३ जंगबहादुर राणाकी छोरी थिइन्। तत्कालीन राज्य सञ्चालनमा सबभन्दा बलियो पकड भएका राणाहरूसँग उनको नातासम्बन्ध गाँसियो।
उमेरले १२ वर्षमै राजगद्दीमा बसे पनि राजकाजभन्दा जयपृथ्वीको रूचि अन्य क्षेत्रमा देखिएकाले सिंहासनमा खासै रमाएनन्। बरू बझाङ राज्यको र समग्र देशको शिक्षा, रोजगारी, भौतिक पूर्वाधार विकास, नागरिक हकको रक्षा, गोरखापत्र पत्रिकाको विकासदेखि ओजिलो अन्तर्राष्ट्रिय छविमार्फत नेपालको परराष्ट्र सम्बन्ध विकास गरी नेपाली समाजमा अतुलनीय योगदान गरे।
शिक्षातर्फ
नेपाली भाषामा पठनपाठनका लागि अक्षरांक शिक्षा, स्रेस्ता दर्पण, शिक्षा दर्पण–पहिलो, दोस्रो र तेस्रो भाग, पदार्थ तत्व विवेक, व्यवहारमाला, भूगोलविद्या, प्राकृत व्याकरण, तत्व प्रशंसा जस्ता पुस्तकहरू विभिन्न कालखण्डमा लेखे। प्रकाशन गरे। प्रयोग गरे। नेपाली सेनालाई कमान्डिङ एवं परेडमा सहजताका लागि 'ब्रिगेड' नामक अंग्रेजी सैनिक पुस्तक नेपालीमा अनुवाद गरे।
वि.सं. १९६२ मा काठमाडौंको नक्सालमा सत्यवादी पाठशाला स्थापना गरे। पछि १९७० सालमा उक्त पाठशालालाई बझाङमा स्थानान्तरण गरे। नेपाल मात्र होइन, भारतको देहरादून र नैनीतालमा नेपाली भाषा स्कुल खोले। बर्मामा समेत नेपाली भाषा पाठशाला स्थापनामा योगदान गरे।
सीप तथा रोजगारतर्फ
बझाङ राज्यको आर्थिक, सामाजिक र शैक्षिक अवस्था र सम्भावनाबारे उनले विस्तृत अध्ययन गरे। त्यसका लागि अनेक काम गरे।
बझाङबाट पिछडिएका वर्गलाई महिनौंको यात्रा गराएर काठमाडौंसम्म ल्याए। प्राविधिक तालिम दिलाए। उनीहरूकै सहयोगमा बझाङमा छाला प्रशोधन गराए।
तामा, फलाम तथा ढलोट उत्खनन गराए।
नेपाली हाते कागज, जडीबुटी प्रशोधन, घरेलु कपडा र सिलाइ उद्योग स्थापना गरे।
नागरिक हक तथा सेवातर्फ
जयपृथ्वीले वि.सं. १९६४ मा नेपालको न्याय हेर्ने र प्रशासनिक निर्णय गर्ने एक उच्च निकाय भारदारी अड्डा प्रमुखको जिम्मेवारी पाए। पछि सोही पदलाई प्रधानन्यायाधीश बनाइएको मानिन्छ।
उनले नागरिक अधिकारका लागि बझाङमा छुट्टै न्यायालय समेत खडा गरेको, भूमिसुधार लागू गरी राजारजौटाका नाममा दर्ता जग्गामा मोहियानी हक दिलाई सर्वसाधारणका नाममा दर्ता गराएको र बंगालबाट डाक्टरहरू झिकाएर बझाङमा आयुर्वेद औषधालयहरू स्थापना गरेको बताइन्छ।
गोरखापत्र यात्रा
जयपृथ्वीले नेपालको पहिलो अखबार गोरखापत्रका लागि पनि उल्लेखनीय काम गरे। कलकत्ताबाट हाते प्रेस ल्याई सरकारलाई उपलब्ध गराएका थिए।
उनी गोरखापत्रका तालुकवाला (व्यवस्थापक) पनि बने। पत्रकारिता गरे।
भौतिक पूर्वाधार विकास
बझाङलाई रणनीतिक रूपमा गोरेटो घोडेटोले जोड्ने प्रयास गरे। बझाङबाट डाँसे–फडिल्ले डडेलधुरा हुँदै भारतको टनकपुर। बित्थड बैतडी हुँदै भारतको झुलाघाट। बाजुरा हुँदै जुम्ला।
बझाङबाट मानसरोवरसम्मको घोडेटो बाटो र धर्मशाला निर्माणमा उनले योगदान गरे।
ओजिलो अन्तर्राष्ट्रिय छवि निर्माण
भारतको कलकत्तामा नेपालका काउन्सिलर भएर काम गरे। गोरखापत्रको व्यवस्थापकका हैसियतले चन्द्र शमशेरसँग बेलायत जाँदा बेलायतका सम्राट एडवार्ड सातौंबाट मानार्थ कर्नेल उपाधि पाए।
सन् १९१४ मा अस्ट्रियाका राजकुमार आर्क ड्युक फर्डिनेन्डको हत्याको निहुँमा सुरू भएको पहिलो विश्व युद्धमा लाखौं मानिसको मृत्युको घटनाले उनलाई विश्व मानव जगतबारे सोच्न बाध्य गरायो। त्यसपछि आफूले पाएका सबै जिम्मेवारी त्यागेर ६ वर्ष भारतमा बसे।
वि.सं. १९८० मा बझाङ राज्यको राजपाट, सुखसयल र सर्वस्व त्यागेर मानव जातिको संरक्षण एवं मानवत्वका लागि भारतको बैंगलोर गई बसे। त्यहाँ 'ह्युमनिस्टिक क्लब' स्थापना गरे।
'द ह्युमनिस्ट' मासिक पत्रिका र 'ह्युमनिजम' नामक पुस्तक प्रकाशन गरे।
विश्व यात्रा
विश्व र युरोपमा शान्तिको एजेन्डासहित जयपृथ्वीले सन् १९२९–३० मा मानववादी दर्शन र भाइचाराको नारा बोकेर एसिया हुँदै युरोप, अमेरिका यात्रा गरे।
विश्व शान्ति स्थापनार्थ विश्वभर प्रवचन दिने सिलसिलामा द्वन्द्वग्रस्त अफ्रिकी मुलुकहरूमा समेत पुगे।
प्रवचनकै लागि चीनको सांघाई, जापानको टोकियो, स्वीट्जरल्यान्डको जेनेभा, जर्मनीको बर्लिन, चेक गणतन्त्रको प्राग, अस्ट्रियाको भियना, हंगेरीको बुडापेस्ट, सर्वियाको बेलग्रेड, रोमानियाको बुखारेस्ट, पोल्यान्डको वार्सा र फ्रान्सको पेरिस जस्ता सहरमा पुगे।
बेलायतको लण्डनस्थित क्याक्सटोन हलमा मानववाद र विश्व शान्तिको प्रवचन दिए।
देहावसान
भारतको मेघालयबाट प्रकाशित गोरखा सेवक पत्रिका १९९२ माघ ३० को अंकमा लेख्छ, 'डाँकबाट खबर आयो कि नेपालका जयपृथ्वी बहादुर सिंह यति बेला अविसिनियामा छन्। ती बाहेक एसियाका अन्य कुनै पनि व्यक्ति...अविसिनियामा छैनन्।'
अविसिनिया (हालको इथियोपिया) उनको अन्तिम विश्वयात्रा बन्यो।
त्यहाँबाट फर्किएपछि राणा शासकहरूको अनुरोधमा अंग्रेज सरकारले उनलाई एक वर्षसम्म बैंगलोरबाट अन्यत्र जान नपाउने गरी नजरबन्दमा राख्यो।
उनी नेपालको आधुनिक शिक्षाका जनक। पत्रकार। व्यवस्थापक। लेखक। व्याकरणकार। कानुनविद। कूटनीतिज्ञ। समाजसुधारक। मानववादका प्रतिपादक। विश्व शान्तिदूत।
एक व्यक्ति अनेक परिचय बोकेका जयपृथ्वी नजरबन्दमै रहँदा संसारबाट बिदा भए।
ढिलै भए पनि नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरूप जयपृथ्वी बहादुर सिंहलाई २०७९ असारमा नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गर्यो।
ठूलो योगदान गरेका तर कम चर्चा भएका नेपालका अठारौं राष्ट्रिय विभूति जयपृथ्वीका मानववादी सिद्धान्तको प्रचारप्रसार र कार्यान्वयन अहिले अझ सान्दर्भिक भएको छ।
उनको कर्म चर्चा भएको पाटो हो 'लार्जर देन लाइफ' व्यक्तित्त्व। अन्तर्राष्ट्रिय छवि। यसबारे पर्याप्त खोज र अध्ययन हुन अत्यावश्यक छ।
उनी प्रथम नेपाली दार्शनिक हुन् जो प्रवचनका लागि विश्वभर बोलाइन्थे। भारतको द हिन्दु पत्रिकाले त जयपृथ्वीलाई 'दोस्रो गौतम बुद्ध' को उपनाम समेत दिएको छ।
जयपृथ्वीको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई देशको हितमा प्रयोग गर्नु आवश्यक छ।
(लेखक गोकर्ण प्रसाद उपाध्याय नेपाल सरकारका उपसचिव हुन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)