बाराका डा. कौशल किशोर तिवारी इटालीको मिलानस्थित सान डोनातो अस्पतालमा कार्डियाक सर्जन छन्।
उनको विशेषज्ञता काखीमा सानो प्वाल पारेर 'ओपन हार्ट सर्जरी' गर्नु हो। उनले मुटु प्रत्यारोपण बाहेक मुटु सम्बन्धी सबै प्रकारका अपरेसन गर्छन्।
उनी काम गर्ने अस्पताल इटालीको प्रतिष्ठित सान डोनातो ग्रुपले सञ्चालन गरेको हो।
कौशलले नेपालदेखि बेलारूस, इटाली, स्कटल्यान्ड, भारत, अस्ट्रिया, अमेरिका, प्लेस्टाइन, माल्दिभ्स र सुडानसम्म पुगेर कार्डियाक सर्जरी पढाइ, तालिम तथा अनुभव बटुलेका छन्।
बाराको कलैयाबाट एसएलसी (एसइई सरह) पास गरेका उनले काठमाडौंमा आइएससी पूरा गरे। सन् १९९४ मा डाक्टरी पढ्न बेलारूस पुगे।
एमडी सकेपछि सन् २००१ मा नेपाल फर्किए अनि युनाइटेड मिसन अस्पताल, तानसेनमा काम गरे। त्यसपछि स्कटल्यान्ड पुगेर भास्कुलर सर्जरीमा फेलोसिप गरे र नेपाल फर्किएर वीर अस्पतालमा करिब आठ महिना काम गरे।
वीर अस्पतालमा काम गरिरहेकै बेला इटालीको इन्टरनेसनल हार्ट स्कुलबाट मास्टर इन कार्डियाक सर्जरीका लागि छात्रवृत्ति पाए। सन् २००७ मा इटाली पुगे।
'त्यही क्रममा इटालीको लाइसेन्स लिने अवसर मिल्यो,' उनले भने, 'इटालीमै कार्डियाक सर्जरीमा पिएचडी गर्ने अवसर पाएँ।'
इटालीमा करिब दुई वर्ष काम गरेर फर्केपछि उनी सन् २०१४ मा चितवनको कलेज अफ मेडिकल साइन्सेस भरतपुर गए।
'त्यहाँ कार्डियाक सर्जरी सुरू गरेर हाम्रो टिमले सन् २०१४ डिसेम्बरमा काठमाडौं बाहिर पहिलो पटक ओपन हार्ट सर्जरी गरेको थियो,' कौशलले भने, 'चितवनमा चार वर्ष बसेँ। जिरोबाट सुरू गरेर राम्रो सेवा प्रवाह गर्यौं।'
उनका अनुसार नेपालमा मुटुको उपचारमा आर्थिक चुनौती ठूलो थियो। गरिब बिरामीका लागि राज्यको कार्यक्रम पर्याप्त नहुँदा उपचार गर्न कठिन भए पनि त्यस बेला दाताको सहयोग जुटाएर उपचार भइरहेको थियो। पछि त्यो सहयोग क्रमशः कम हुँदै गयो।
त्यही बेला काठमाडौंका गंगालाल र टिचिङ अस्पतालमा कतिपय मुटु रोगको शल्यक्रिया निःशुल्क हुन थाल्यो। त्यसपछि चितवनमा बिरामी कम हुँदै गए।
'एक वर्ष त मुटुको अपरेसन नै भएन। यता काम नहुने अवस्था आएपछि म निराशजस्तै बनेको थिएँ,' कौशलले भने, 'त्यही बेला माल्दिभ्सबाट कामको प्रस्ताव आयो।'
उनले सन् २०१९ देखि २०२३ सम्म माल्दिभ्समा काम गरे।
कामकै सिलसिलामा उनी पटक पटक सुडान पुगे। सन् २०१० देखि एउटा इटालियन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आबद्ध उनले त्यसकै माध्यमबाट सुडानका कार्डियाक सर्जरी सेन्टरमा काम गरेका हुन्।
सन् २०२४ मा सुडानमा ५ महिना काम गरेर नेपाल फर्किने तयारीमा थिए उनी। उनी चढेको बस दुर्घटनामा पर्यो। त्यसपछि आफूलाई एयरलिफ्ट गरेर इटाली पुर्याइएको उनी सम्झिन्छन्।
विभिन्न देशमा काम गर्दा उनले फरक फरक बिरामी र रोग देखेका छन्। विकसित देशका अस्पतालमा आवश्यक सबै सुविधा हुन्छ। सामाजिक सुरक्षाको प्रावधान हुनाले बिरामीले पैसाको बारेमा चिन्ता लिनु पर्दैन। चिकित्सकले पनि सोच्न पर्दैन।
'अस्पतालले पारिश्रमिक दिने हो। जसले गर्दा न डाक्टर निराश हुनुपर्छ, न बिरामीलाई आर्थिक भार पर्छ,' उनले भने।
धेरै देश पुगे पनि नेपालमा काम गर्दाको आनन्द बेग्लै हुने उनी बताउँछन्।
'जहिल्यै पनि नेपाल आएर केही गरौं भन्ने हुन्छ,' कौशलले भने, 'म खासगरी काठमाडौं बाहिरका अस्पतालमा मुटुको उपचारको काम गर्नुपर्छ भन्छु। मैले कुरा गरेका अस्पतालहरूलाई म सघाउन तयार छु पनि भनेको छु।'