नेपालले २०८३ साउनमा ३८ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। गत वर्ष साउनमा २३ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएको थियो।
२०८२ साउनको तुलनामा निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको छ। यो ६१.७ प्रतिशतको वृद्धि हो।
तर निर्यात बढ्नुमा तेलको मुख्य भूमिका छ।
नेपालले विदेशबाट अर्ध प्रशोधित वनस्पति तेल ल्याउँछ। त्यसलाई नेपालमा प्रशोधन गर्छ। त्यसपछि भारत लगायतका बजारमा पठाउँछ।
यसरी आयातित वस्तु प्रशोधन गरेर हुने निर्यात बढ्दा समग्र निर्यात पनि बढेको हो। यस वर्ष यस्तो तेलको हिस्सा झन् बढेको छ।
वनस्पति तथा पशुजन्य बोसो र तेलको निर्यात साउनमा २१ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष १२ अर्ब ३२ करोड रुपैयाँको निर्यात भएको थियो।
यो समूहमा सोयाबिन तेल, पाम तेल, सूर्यमुखी तेल लगायत पर्छन्।
सोयाबिन तेलको निर्यात परिमाण ७ करोड ४१ लाख किलो पुगेको छ। गत वर्ष १ करोड ८० लाख किलो थियो।
प्रशोधित पाम तेल १७ लाख ६७ हजार लिटर निर्यात भएको छ। गत वर्ष ३ लाख ५४ हजार लिटर थियो।
पाम ओलिनको निर्यात २१ लाख ३४ हजार लिटर पुगेको छ। गत वर्ष १२ लाख ९३ हजार लिटर थियो।
सूर्यमुखी तथा सनफ्लावर तेल ५३ लाख ९० हजार लिटर निर्यात भएको छ। गत वर्ष १२ लाख ८ हजार लिटर थियो।
यस समूहको निर्यात मूल्य गत वर्षको तुलनामा ८ अर्ब ८५ करोड रुपैयाँले बढेको छ। साउनमा भएको कुल निर्यात वृद्धिको ठूलो हिस्सा तेलबाट आएको छ।
तेलपछि मानव निर्मित स्टेपल फाइबरको निर्यात धेरै छ। यसको मूल्य १ अर्ब ६६ करोड रुपैयाँ छ। गत वर्ष १ अर्ब ८ करोड रुपैयाँ थियो।
चिया, कफी र मसालाको निर्यात १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ८४ करोड ७२ लाख रुपैयाँ थियो।
खाद्य उद्योगबाट निस्कने अवशेष तथा पशु आहारको निर्यात १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ४७ करोड २८ लाख रुपैयाँ थियो।
फलाम तथा स्टिलका सामानको निर्यात १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ थियो।
वनस्पतिजन्य फाइबर तथा कागजको धागोको निर्यात १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ४२ करोड ८८ लाख रुपैयाँ थियो।
काठ तथा काठजन्य वस्तुको निर्यात १ अर्ब १ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ७१ करोड ८९ लाख रुपैयाँ थियो।
कार्पेटको निर्यात ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष ८७ करोड ५५ लाख रुपैयाँ थियो।
नबुनेका कपडा तथा कपडाका सामग्रीको निर्यात ८४ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष ७० करोड ३३ लाख रुपैयाँ थियो।
फलामको निर्यात ८२ करोड ७९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष २९ करोड ९५ लाख रुपैयाँ थियो।
तरकारी तथा जरा–कन्दको निर्यात १ अर्ब ५९ करोडबाट घटेर ९३ करोड ८ लाख रुपैयाँमा आएको छ।
औषधिजन्य वस्तुको निर्यात १ अर्ब ९७ करोडबाट घटेर ८२ करोड ५९ लाख रुपैयाँमा आएको छ।
मेसिन तथा यान्त्रिक उपकरणको निर्यात २२ करोड २७ लाखबाट घटेर १ करोड ३५ लाख रुपैयाँमा आएको छ।
यसरी हेर्दा साउनमा निर्यात बढ्नुको मुख्य कारण तेलजन्य वस्तु देखिन्छ। विदेशबाट अर्धप्रशोधित तेल ल्याएर नेपालमा प्रशोधन गरी निर्यात गर्ने व्यापार बढेको छ।
त्यसैले कुल निर्यात ३८ अर्ब ७० करोड रुपैयाँ पुगे पनि यसको ठूलो हिस्सा नेपालभित्र उत्पादन भएको वस्तुको निर्यातबाट आएको होइन। आयातित वस्तु प्रशोधन गरेर पुनः निर्यात हुने तेलको हिस्सा ठूलो छ।
प्रशोधित तेलमा नेपालले पाएको लाभ
भारतको भन्सार नीतिको प्रभाव यसरी तेलको व्यापार बढ्नुमा भारतीय भन्सार नीतिको प्रभाव देखिएको छ। भारतले पटक पटक कच्चा तेलको भन्सारदर परिवर्तन गरिरहेको छ।
पछिल्लो पटक भने नेपालबाट हुने निर्यात घट्न सक्नेगरी तेस्रो अन्य मुलुकबाट हुने आयातको भन्सार कम गरेको थियो। तर हालसम्म त्यसको प्रभाव देखिएको छैन।
२०८२ जेठमा भारतले खाने तेलको भन्सार घटाएको थियो। १४ सेप्टेम्बर २०२४ मा मात्रै अत्यधिक भन्सार बढाइएकोमा ३० मे २०२५ मा घटाएको हो। त्यसबेला खाने तेल (भटमास, सूर्यमुखी र पाम) को भन्सार २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको हो।
भन्सार १० प्रतिशतमा झरेसँग समग्र तेल आयतको कर भने १७ प्रतिशत कायम गरिएको थियो। त्यसअघि २७ प्रतिशत थियो। यद्यपि अन्य देशको तुलनामा भने नेपाली व्यवसायीहरूलाई अझै लाभ छ। अन्य देशबाट आयात हुँदा १० प्रतिशत भन्सार लाग्नेछ भने नेपालबाट निर्यात हुँदा भने शून्य भन्सार सुविधा छ।
व्यवसायीहरूका अनुसार ८ प्रतिशत माथिको भन्सारमा नेपाली उद्योग प्रतिस्पर्धा गर्न सक्छन्। सन् २०२२ को मेबाट २०२४ सेप्टेम्बरसम्म भारतले अन्य देशलाई पनि तेलको भन्सार शून्यमा झारेको थियो। त्यसपछि नेपालबाट हुने तेलको निर्यात नगन्य मात्रै थियो।
भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट किनिएको छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ। सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेन लगायतका देशबाट किनिन्छ।
रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ। सहायक उद्योगलाई लाभ तथा स्थानीय स्रोतको उपयोग अर्धप्रशोधित तेल प्रशोधन गर्ने क्रममा स्थानीय स्रोत, विशेषगरी बिजुलीको उपयोग भएको छ। उत्पादन एकाइहरूले बिजुली खपत गर्दा राज्यलाई अतिरिक्त राजस्व प्राप्त हुन्छ। निर्यातको क्रममा प्याकेजिङ गर्नुपर्ने हुन्छ।