गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष बद्री केसी नियुक्त भएका छन्।
अध्यक्ष बद्री केसीलाई महासचिव चिरञ्जीवी खड्काले प्रमुख संरक्षकमा नियुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
केसीलाई १३ औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न नभएसम्मका लागि प्रमुख संरक्षकमा नियुक्त गरिएको एनआरएनएले जनाएको छ।
केसी यसअघि ११ औँ र १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए।
विभिन्न समूहमा विभाजित भएको एनआरएनएलाई एक ठाउँमा ल्याएर १२ औँ महाधिवेशनमार्फत सहमतिका आधारमा नेतृत्व चयन गर्न केसीले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
साधारण सदस्यका रूपमा एनआरएनएमा प्रवेश गरेका केसी सन् २००९ र २०११ मा केन्द्रीय सदस्य बने। त्यसपछि उनी कोषाध्यक्ष भए। त्यसपछिका दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाले। सन् २०२१ मा उनी पहिलो पटक अध्यक्ष बनेका हुन्। २०२१ देखि २०२३ र २०२३ देखि २०२५ सम्म उनी अध्यक्ष रहे।
सन् १९९० मा रसिया पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजीमा स्नातकोत्तर र सन् २००१ मा पिएचडी (विद्यावारिधि) तह पूरा गरे।
पढाइपछि भने उनी व्यवसायमा सक्रिय भए। सुरूमा इलेक्ट्रोनिक्स सामानको व्यापार गरे। त्यसबाट केही आम्दानी भएपछि मेडिकल सामग्रीको खरिद–बिक्रीमा लागे। हाल उनले रसियामा चिया र कफीको आफ्नै ब्रान्ड स्थापना गरेका छन्।
रसियामै उनले चियाको कारखानासमेत खोलेका छन्। कफी नेपाल, भारत र श्रीलंकाबाट लैजान्छन्। भियतनाम, केन्या, चीन र इन्डोनेसियालगायतका देशबाट पनि कच्चा चिया आयात गर्छन्।
नेपालमा पनि केसीले जलविद्युत् क्षेत्रमा लगानी गरेका छन्।