कोशी प्रदेशको नामकरणविरूद्धको आन्दोलनका कारण सांसदहरू प्रदेश सभाको बैठक सुरू हुनु अगाडि नै उपस्थित भएका छन्।
कोशी प्रदेश सभाको बजेट अधिवेशनको लागि आइतबार दिउँसो दुई बजेको लागि बैठक डाँकिएको थियो। त्यसैलाई लक्षित गरी प्रदेशका पहिचानवादीहरूले विराटनगर केन्द्रीत प्रदर्शन गरेका छन्।
जसलाई प्रहरीले विफल पार्ने प्रयास गरिरहेको छ। यसरी प्रदर्शन हुने भएपछि सांसदहरू बिहानै प्रदेश सभामा उपस्थित भएका हुन्।
नेकपा एमालेका सांसदहरू आइतबार बिहान ९ बजे नै प्रदेश सभा परिसरमा उपस्थित भएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए। सांसदहरू अहिले संसदीय दलको बैठक बसिरहेको पनि उनले बताए।
ढिलो गर्दा आन्दोलनका कारण अवरोध हुनसक्ने भएकाले उनीहरू संसद सुरू हुनु अगावै प्रवेश गरेका थिए।
यस्तै प्रहरीले भने २६ जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइसकेको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट आउँदै गरेकाहरूलाई पनि प्रहरीले बाटोमै रोकिरहेको छ।
तेह्रथुमबाट आउँदै गरेका चार जनालाई प्रहरीले बाटोमा पक्राउ गरेको आन्दोलनकारीले जनाएका छन्।