‘संयुक्त जनआन्दोलन समिति’ र ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीको नेतृत्व अस्वीकार गरेका राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा बोकेका दल तथा समूहहरू अन्तत: सुवेदीकै नेतृत्वमा एकत्रित भएका छन्।
सुवेदीले आफ्नै नेतृत्वमा जेठ १५ गतेदेखि अनिश्चितकालीन ‘जनआन्दोलन’ को घोषणा गर्दा विगतमा उनको नेतृत्व अस्वीकार गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट उठेर ताली बजाउँदै स्वागत गरेका थिए।
गत चैत ४ गते सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गर्दा लिङ्देन, थापा र विष्टलाई सदस्य राखिएको थियो। आफूहरूलाई सोध्दै नसोधी समितिमा सदस्य राखिएकोमा उनीहरूले आपत्ति जनाउँदै तत्काल उक्त समितिमा नबस्ने अभिव्यक्ति दिएका थिए।
तर यसको दुई महिना नहुँदै उनीहरू बिहीबारदेखि संयोजक सुवेदीकै नेतृत्वमा आन्दोलनमा होमिन तयार भएका छन्। उनीहरूका भनाइमा 'षड्यन्त्रपूर्वक चुँडाइएको राजा र जनताको बीचको एकताको धागोलाई फेरि जोड्ने' संकल्पसहित एकजुट हुनुपरेको हो।
राजावादीहरूले ‘जनआन्दोलन’ को थालनी गणतन्त्र घोषणा भएको दिन पारेर गर्नेछन्। २०६५ जेठ १५ गते तत्कालीन संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो।
राजसंस्था फर्काउने मूल एजेन्डामा एकजुट देखिएकाहरू जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ गर्ने र राजसंस्था नफर्केसम्म आन्दोलन जारी राख्नेमा तयारीमा छन्।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर संयोजक सुवेदीले ‘जनआन्दोलन’ कै बलमा मुलुकमा उन्नत प्रजातान्त्रिक प्रणाली स्थापना गरिने बताए। अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था निरंकुश भएको दाबी सुवेदीको थियो।
संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, सुशासन र भ्रष्टाचार अन्त्यका एजेन्डा लिएर राजावादीहरू एक ठाउँमा उभिएका छन्।
यी एजेन्डा अहिलेकै संविधानभित्रबाट हासिल गर्न सकिने तर्क उनीहरूको छ।
संयोजक सुवेदीले भने, ‘राजनीतिक दलहरूले चाहने हो भने सहमति र सहकार्यका आधारमा वर्तमान संविधानबाटै यो हासिल हुन्छ। होइन भने व्यापक जनदवाव सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चिलकालीन जनआन्दोलन गर्छौं।’
'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी।संयोजक सुवेदीले ‘जनआन्दोलन’ शान्तिपूर्ण हुने बताए। कुनै दल वा सरकारविरूद्ध भन्दा पनि सर्वसत्तावाद अन्त्य गर्न आन्दोलन गर्न लागेको उनको भनाइ छ।
यसअघि गत चैत १५ गते ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालयहरू र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका समितिका सदस्य सचिव रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। उपचारका लागि भन्दै प्रहरीले हाजिरी जमानीमा महामन्त्री राणालाई छाडेको थियो। मुम्बई पुगेर उनले उपचार गरेर फर्किसकेका छन्।
चैत १५ गतेदेखि हुने ‘जनआन्दोलन’ भने शान्तिपूर्ण हुने संयोजक सुवेदी बताउँछन्।
‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुनेछ। हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरूद्ध होइन। निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामानिहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिकरूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य ध्येय हुनेछ,’ आन्दोलनको स्वरूपबारे जानकारी दिँदै संयोजक सुवेदीले भने।
राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति, कांग्रेस (बिपी), शिव सेनालगायतको साथ पाएका सुवेदीले यस आन्दोलनमा सहभागी हुन र साथ सहयोग गर्न नेपाली दिदीबहिनी र दाजुभाइमा अपिल पनि गरेका छन्।
संयोजक सुवेदीले ‘जनआन्दोलन’ का लागि प्रतिबद्धता, घोषणा र समझदारी पनि सार्वजनिक गरे भने यो कार्यान्वयनमा सबै प्रतिबद्ध रहेकोसमेत जनाए।
यस्ता छन् प्रतिबद्धता, घोषणा र समझदारी;
१) परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारको बीचमा सामाञ्जस्यता कायम गर्दै सबै विचारधारा र शक्तिहरू अटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना,
२) सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापना।
३) केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यता अनुरूप अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकारको स्थापना,
४) राजनीतिक दलहरूले चाहने हो भने उपरोक्त उदेश्यहरू सहमति र समझदारीको आधारमा वर्तमान संविधान कै परिधि भित्रबाट हासिल हुन सम्भव छ। त्यसैले संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उदेश्यहरू प्राप्तिको निम्ति सशक्त जनदवाव सिर्जना गर्न २०८२ जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं। यो आन्दोलनको संयोजन र परिचालन वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित 'संयुक्त जनआन्दोलन समिति' मार्फत हुनेछ। हामी सबै दल र समुहहरू संयुक्त जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल तुल्याउने संकल्प गर्दछौं।
५) २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनको वहानामा थुनामा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत सबै आस्थाका बन्दीहरूको तत्काल रिहाइको निम्ति हामी जोडदार माग गर्दछौं।
६) हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुनेछ। हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरूद्ध होइन। निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिकरूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य ध्येय हुनेछ।
७) षडयन्त्रपूर्वक चुँडाइएको राजा र जनताको बीचको एकताको धागोलाई फेरि जोड्ने तथा सनानत धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने हाम्रो प्रयास हो। भ्रष्ट शासकहरूबाट देशलाई मुक्त तुल्याइ सुशासन र कानुनी राज्यको स्थापना गर्नु आन्दोलनको उदेश्य हुनेछ।
८) भ्रष्टाचारप्रति शुन्य सहनशीलता कायम गर्दै देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउने क्रममा २०४७ साल यता उच्च सार्वजनीक पदमा रहेकाहरूको सम्पति छानबिन गर्न उच्चस्तरीय अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।
९) देशभित्रै रोजगारीको अवसर सिर्जना गरी सामान्य रोजगारीको निम्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्न एवं सुशासन र कानुनी राज्यको पूर्ण प्रत्याभूति दिलाउँदै आमजनतामा राज्यप्रतिको भरोसमा अभिवृद्धि गर्नु हाम्रो अभिष्ट हुनेछ।
१०) आन्दोलनको माध्यमबाट संकटग्रस्त सहकारीहरूको राष्ट्रियकरण गरी बचतकर्ताहरूको रकम फिर्ता गराउन तथा लघुवित्त, मिटरव्याजी तथा विभिन्न बैंक र वित्तीय संस्थाबाट पीडितहरूलाई यथासंभव चांडो र जुनसुकै हालतमा पनि राहत दिलाइने छ।
११) प्रत्येक व्यक्ति भित्रको क्षमता, दक्षता र उत्कृष्टता प्रस्फुटित हुने अवसर एवं वातावरण सिर्जना गरी कल्याणकारी तथा उदार आर्थिक चिन्तनको धरातलमा पिछडिएका समुह, साना किसान, साना र मझौला उद्यमलाई प्रोत्साहित गर्दै समावेशी आर्थिक बिकास र समृद्धिको नवजागरण र नयाँ युग सुरू गरिने छ।
१२) मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालको अस्तित्वको रक्षा र नेपाली जनताको समग्र हित र समुन्नति नै हाम्रो आन्दोलनको लक्ष्य हो। बाह्य शक्तिहरूको संलग्नता नरहने यो आन्दोलन नेपाली जनताको लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुनेछ।
१३) २०८२ जेठ १५ देखि सुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन। आन्दोलनको विस्तृत कार्यक्रम उपयुक्त समयमा जानकारी गराइने छ।
१४) आन्दोलनलाई सफल तुल्याउन देशको प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समितिहरू गठन गर्न यस आन्दोलनमा सम्बद्ध दल र समूहहरूलाई हामी आह्वान गर्दछौं। साथै जेठ १५ गते देखि नै देशको विभिन्न भागहरूमा स्वस्फूर्त रूपले जुलुस, धर्ना लगायतका जनप्रदर्शनहरू गर्न सबैमा अपिल गर्दछौं।
पहिले नवराज सुवेदीको नेतृत्व अस्वीकार गरेका राप्रपा, राप्रपा नेपाललगायत दलका अध्यक्षहरू नै अहिले किन उनकै नेतृत्वमा आन्दोलन गर्न राजी भए भन्ने प्रष्ट भइसकेको छैन। तर यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा र राप्रपा नेपालका नेताहरूसँग भेटघाट भने गरेका थिए। सुवेदीलाई पूर्वराजाकै आशीर्वादमा राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिको संयोजक बनाइएको चर्चा राप्रपालगायत दलहरूभित्र हुने गर्दथ्यो।
सुवेदी नेतृत्वको समितिको सदस्य बस्न सुरूमा अस्वीकार गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीबाट भने उक्त समितिमा प्रतिनिधित्व गराएका थिए। चैत ५ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेर राप्रपा नेपालले सुवेदी नेतृत्वको समितिमा पार्टीबाट उपाध्यक्ष तारानाथ लुइँटेलले प्रतिनिधित्व गर्ने निर्णय गरेको थियो।
तर राप्रपाभित्र सुवेदी नेतृत्वमा रहेको समितिमा सदस्य सचिव रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणाको भूमिकामाथि प्रश्न उठेको थियो। पार्टीका पदमा बसेका नेताहरू अरू कुनै अभियान वा समूहका पदमा बसे स्वत; पद रिक्त गर्नेसम्म राप्रपाले निर्णय गरे पनि अन्तत: अध्यक्ष राजेन्द्र लिङ्देन नै नवराज सुवेदी नेतृत्वमा रहेको समितिकै अगुवाइमा हुने ‘जनआन्दोलन’ घोषणाको साक्षी बस्न पुगेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, समिति संयोजक नवराज सुवेदी र राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर: नेपाल फोटो लाइब्रेरी।वैशाख १५ गते कार्यक्रम गरेर पनि राजावादीहरूले आफूहरू राजसंस्था पुनर्स्थापनालगायत एजेन्डमा एकजुट भएको सन्देश दिन खोजेका थिए।
राप्रपा नेपालको आयोजनामा काठमाडौंको शान्तिबाटिकामा 'जनप्रदर्शन' गर्दै उनीहरूले सँगै हात उठाएर एकजुट भएको सन्देश दिएका थिए।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तारन्तारको फोनपछि राप्रपा अध्यक्ष लिङ्देन पनि उक्त कार्यक्रममा पुगे र बोले पनि।
वैशाख १५ मा शान्तिबाटिकामा राप्रपा नेपालले गरेको कार्यक्रममा एकजुट रहेको सन्देश दिँदै नेताहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।त्यसअघि राप्रपा अध्यक्ष लिङ्देन र ‘संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदीबीच भेटवार्तासमेत भएको थियो।
चैत १५ को तीनकुने घटनापछि सुवेदीको घरबाहिर प्रहरी बसेको थियो भने आफूलाई नजरबन्दमा राखिएको भन्दै सुवेदीले जगमान गुरूङलाई कार्यवाहक संयोजक तोकेका थिए। गुरूङले पनि राजसंस्था पुनर्स्थापनाका लागि प्रतिबद्धता सभालगायत कार्यक्रम गरे तर लिङ्देन अनुपस्थित थिए।
राजावादीहरूको आन्दोलनमा राप्रपा सामेल हुन्छ कि हुँदैन भन्ने अर्थ राख्छ। किनकि संसदमा राप्रपा १४ सांसदसहित पाँचौं ठूलो दल छ। राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिमार्फत् आन्दोलन गर्दै आएको छ। राप्रपाले चैत २६ गते बल्खु क्षेत्रमा शान्तिपूर्ण तरिकाले ‘खबरदारी सभा’ समेत गरेको थियो।
यसबीचमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वैशाख ५ गते निर्मल निवासमा ‘लन्च मिटिङ’ गरेका थिए। त्यसबेला तीनकुने घटना, नवराज सुवेदीलाई ‘संयुक्त जनआन्दोन समिति’ संयोजक बनाइएका लगायत विषयमा राप्रपा नेताहरू र पूर्वराजाबीच कुराकानी भएको थियो।
यो पनि: पूर्वराजाले राप्रपाका ७ नेतालाई निवासमा बोलाएर गरे 'लञ्च मिटिङ'
यस्ता विभिन्न घटनाक्रमपछि अध्यक्ष लिङ्देन पनि नवराज सुवेदी नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि ‘जनआन्दोलन’ गर्ने निष्कर्षमा पुगेको राप्रपाकै नेताहरू बताउँछन्।
राप्रपाभित्र गैरदलीय व्यक्ति (नवराज सुवेदी) नेतृत्वमा आन्दोलनमा होमिन हुन्न भन्ने मत पनि थियो। अध्यक्ष लिङ्देन र उनीपक्षका नेताहरू यसो भन्थे तर पूर्वराजासँग ‘लन्च मिटिङ’ लगायत सिलसिलाबद्ध घटनाक्रमले अध्यक्ष लिङ्देनलाई पनि सुवेदी नेतृत्वमै आन्दोलन गर्न लतारेर पुर्याएको छ।
‘सबै एकजुट भएर आन्दोलन गरुँन् भन्ने पूर्वराजाको पनि चाहना रहेको बुझियो,’ राप्रपाका एक पदाधिकारीले भने, ‘त्यसैले पनि हुनुपर्छ, हाम्रो पार्टी र स्वयम अध्यक्षज्यू पनि राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा मिलेका कार्यक्रमलाई समर्थन गर्ने लाइनमै हुनुहुन्छ। यसबीचमा केही भेटवार्ताहरू पनि भए त्यसले पनि फुटेर होइन जुटेर मात्र आन्दोलन अघि बढाउन सकिन्छ भन्ने विश्वास जगायो।’
त्यसैले पनि होला, हिजोआज अध्यक्ष लिङ्देनको बोली फेरिन थालेको छ।
उनले देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह र पूर्वाग्रह त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडि बढ्नुपर्ने कुरा गर्न थालेका छन्।
साथै राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षमा, संघीयता खारेजीको पक्षमा, सुशासन र विकासका पक्षमा गरिने सबै प्रकारका कार्यक्रमहरूमा आफूहरूको ऐक्यबद्धता हुने उनको प्रष्टीकरण हुने गर्छ।
बिहीबार नवराज सुवेदीले ‘जनआन्दोलन’ घोषणा गर्दा राप्रपा अध्यक्ष लिङ्देनले यस्तै कुरा दोहोर्याए।
उनले राजावादी समूह एकढिक्का रहेको उल्लेख गर्दै राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन सफल नभएसम्म एकजुट भइराख्ने बताए।
राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट, राप्रपा अध्यक्ष लिङ्देन र समिति संयोजक सुवेदी।‘यो आन्दोलन कुनै पार्टीको नभई सिंगो देशको आन्दोलन हो,’ उनले भने, ‘देशको भविष्य बनाउनका लागि आन्दोलन हो। यो आन्दोलन निष्कर्षमा नपुगी हामी छुट्टिने छैनौं।’
उनले आन्दोलनमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्नेहरूलाई मात्र होइन, गणतन्त्र पक्षधरलाई पनि सामेल हुन आग्रह गरेका थिए।
कार्यक्रममा बोलेकाहरूले राजावादीहरू एकजुट भएकै सन्देशमा जोड दिए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादीहरूको एकता अब नटुट्ने बताए।
‘राजावादीहरूको एकतालाई कसैले चाहेर पनि अब टुटाउन सक्दैन, हामी एकजुट छौं,’ उनले भने, ‘लाखौं मानिसहरूको सहभागीतामा शान्तिपूर्ण आन्दोलन गरौं।’
राप्रपा नेपालका अध्यक्ष कमल थापा।राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा कार्यगत एकता गरे पनि उनीहरू भिन्नभिन्न पार्टी र समूहमा छिन्नभिन्न छन्।
राप्रपा र राप्रपा नेपालबीच एकताबारे केही समयअघि छलफल भए पनि त्यसले गति लिन सकेन। राप्रपा नेपालका अध्यक्ष थापा पार्टी एकतामा आतुर देखिए पनि त्यही तवरको हतारो राप्रपा अध्यक्ष लिङ्देनमा देखिएन।
२०७८ मा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि निर्मल निवासलाई दोषारोपण गर्दै थापाले पार्टी परित्याग गरी केही समयभित्रै राप्रपा नेपाल ब्युँत्याएका थिए।
राप्रपा परित्याग गरेर लामो समयदेखि राष्ट्रिय शक्ति नेपालमा सक्रिय रहेका केशरबहादुर विष्टले मुलुकमा राजासहित प्रजातन्त्र पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
‘राजाले गद्दी त्यागेर वा राजाको वंशले यसमा अल्छी गरेर सुख पाइँदैन, राजा नभई यो देश चल्दैन,’ उनको दाबी छ, ‘हामीले १८ वर्षदेखि यो कुरा भन्दै आयौं। चाँडै नै सम्बर्द्धनवादी राजनीतिक नेतृत्व विश्वसामु प्रस्तुत गर्नेछ, राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास फेरि प्रारम्भ हुनेछ।’
संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी पनि केही समयअघिसम्म राप्रपामै थिए। राप्रपाबाटै अलगिएर बनेका विभिन्न पार्टी र समूहहरू प्रजातन्त्र दिवसका पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यपछि भने पुन: एकजुट हुने कोसिसमा छन्।
जनतामा देखा परेको निराशालाई आन्दोलनमा रूपान्तरण गर्ने जोडबल उनीहरूमा देखिन्छ।