प्रेस युनियन नेपालले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने भएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष शिव लम्सालले समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रूपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताए।
समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुनेछ।
समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या र दक्षिण एशियामा पत्रकारिताको प्रभावबारे विभिन्न ६ मुलुकका विषय विज्ञहरूको प्रस्तुती रहने उनले बताए।
समिटमा ‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए।
साथै मुस्ताङको आमसोममा स्थानीयको सहभागीतामा ‘जलवायु संकटमा मिडियाको भूमिका’ बारे अन्तरक्रिया हुनेछ।
वैशाख २७ गते ललितपुरको होटल हिमालयमा बिहान ९ बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले समिटको उद्घाटन गर्ने तय भएको छ।
उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, परराष्ट्र मन्त्री आरजु राणा देउवा र विभिन्न मुलुकका पत्रकारहरूले सम्बोधन गर्नेछन्।
उद्घाटनपछि राजनीतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा भन्ने विषयमा प्रस्तुति हुनेछ।
विदेशी पत्रकारसहित करिब एक सय पचास जना पत्रकार सहभागी हुने समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म हुनेछ।
लोमान्थाङ घोषणा–पत्र जारी गर्दै कार्यक्रम समापन हुने प्रेस युनियनले जनाएको छ।